ब्रिटिस कलेजद्वारा ‘इन्क्युबेशन सेन्टर’को सुरूवात

ब्रिटिस कलेजद्वारा ‘इन्क्युबेशन सेन्टर’को सुरूवात

काठमाडौं : थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले इन्क्युबेशन सेन्टरको सुरुवात गरेको छ।

नवप्रवर्तन र उदयमान स्टार्टअपहरूलाई बढावा दिन र उद्यमीहरूलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले बिहीबार आधिकारिक रूपमा इन्क्युबेशन सेन्टरको सुरुवात गरेको हो।

कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा स्रोत/साधनहरूको क्षेत्रमा काम गर्नेछ। जसले स्रोत तथा साधनहरूको उपलब्धतासँगै विशेष कार्यक्रमहरू, कार्यशाला गोष्ठी, विजनेस नेटवर्किङको अवसर लगायतका सेवाहरू प्रदान गर्नेछ।

सेन्टरले उद्यमीहरूलाई सहयोग गर्नको लागि सल्लाहकारहरू, विभिन्न पक्षहरूसँग समन्वय गर्ने अवसर, व्यापारिक समूहबीचको समन्वय वृद्धि तथा कार्यक्रम गर्नको लागि स्थान उपलब्ध गराउनेछ। 

इन्क्युबेशन सेन्टरको अनावरण कार्यक्रममा कलेजका डेप्यूटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडनले स्वागत मन्तव्य राखेका थिए। त्यस्तै, इन्क्युबेशन सेन्टरका लिड सुबोध रूपाखेतीले पनि आफ्ना भनाईहरू राखेका थिए।

रूपाखेतीले आगामी वर्षको लागि सेन्टरको योजना तथा कार्यक्रमहरूसँगै यसको विस्तार योजनाको रूपरेखा पनि प्रस्तुत गरेका थिए। कलेजले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘टीबीसी स्टार्टअप फेस्ट’ पनि यसै सेन्टर अन्र्तगत पर्ने उनको भनाइ छ।

इन्क्युबेशन सेन्टरमा मुख्यतः विज्ञहरू हुनेछन्, जसमा सबैलाई समेटेर विकसित डिजिटल परिदृश्यमा स्टार्टअपहरूको सुरक्षा र प्रत्याभुतिको सुनिश्चिताका लागि मिलेर काम गरिन्छ।

कार्यक्रममा गुगलको प्रोडक्ट म्यानेजमेन्टको प्रमुख भएर काम गरिसकेका जोन पार्क तथा टीबीसीका पूर्व छात्र तथा फेल्ट एण्ड यार्न प्रा.लि.का संस्थापक सुनिता शेर्पाले आफ्ना भनाईहरू राखेका थिए।

कार्यक्रमको उद्घाटन गरेका कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले कार्यक्रमको समापन पनि गरेका थिए।

मंसिर १५, २०८० शुक्रबार ०८:५२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।