प्रदेश ठेक्कामा तानिएका स्वास्थ्यमन्त्री बस्नेत भन्छन्' कमिसनको चक्करमा ठुला उपकरण किनेर थन्क्याउने काम भयो'

प्रदेश ठेक्कामा तानिएका स्वास्थ्यमन्त्री बस्नेत भन्छन्' कमिसनको चक्करमा ठुला उपकरण किनेर थन्क्याउने काम भयो'

काठमाडौँ : तीन जिल्ला अस्पतालका लागि सिटी स्क्यान मेसिन किन्ने प्रक्रियामा भइरहेको मिलेमतोमा जोडिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले  ‘धेरैजसो अस्पतालहरूले कमिसनको चक्करमा परेर ठूला उपकरण किन्ने र थन्क्याउने गरिएको' बताए।

केन्द्रदेखि प्रदेश तहसम्मका स्वास्थ्य उपकरण खरिदमा निश्चित आपूर्तिकर्तालाई फाइदा हुनेगरी महँगोमा सामान किन्ने प्रक्रिया अगाडि बढाइरहेको छ मन्त्रालयले।

उनै मन्त्री बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरको दसौँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा शनिवार स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभएको दाबी समेत गरे।

ट्रमा सेन्टरका लागि यस अगाडि मिलेमतोमा एमआरआई मेसिन किन्ने प्रक्रिया अगाडि बढेको थियो। पाँच करोड बढी मूल्यमा एमआरआई मेसिन किन्न भएको मिलेमतोबारे उकेराले निरन्तर प्रमाणसहित समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्यो। मन्त्रीमा बस्नेत आएपछि ट्रमाको टेन्डर रद्द भयो तर उस्तै मिलेमतोमा भरतपुर अस्पतालमा भने खरिद भएको थियो।

त्रिशूली सहित तीन जिल्ला अस्पतालका लागि प्रदेशको बजेटमा किन्न लागेको सिटी स्क्यान मेसिनको टेन्डरमा केन्द्रदेखि प्रदेशसम्मका स्वास्थ्य मन्त्री र बनमन्त्री समेत सक्रिय देखिएका छन्। उनै मन्त्री बस्नेतले शनिवार ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताए।

‘धेरैजसो अस्पतालहरूले कमिसनको चक्करमा परेर ठूला उपकरण किन्ने र थन्क्याउने गरिएको पाइयो। त्यसैले अत्यावस्यक बाहेक ठूला उपकरण तत्काल किन्ने पक्षमा मन्त्रालय छैन। तर ट्रमा सेन्टरको हकमा अत्यावस्यक भइसकेको एमआरआई मेसिन खरिद गरिने छ। यसमा मन्त्रालय सकारात्मक छ’ उनले भने।

ट्रमा सेन्टरका तत्कालीन प्रमुख डा रुद्र मरासिनीले निश्चित कम्पनीको प्राविधिक स्पेशिफिकेशनमात्र मिल्ने गरी अधिकतम २५ करोडमा जडान हुने एमआरआई मेसिन ३० करोडमा किन्ने प्रयास गरेका थिए।

अनियमितताको खेलबारे उकेराले खुलासा गरेपछि अख्तियारले स्वास्थ्यसँग जानकारी माग्यो। मरासिनी जसरी पनि एमआरआई किन्ने पक्षमा थिए। त्यही समयमा मन्त्रालयको नेतृत्व बदलियो। मरासिनीको सरुवा भएसँगै ट्रमाको खरिद प्रक्रिया मन्त्रालयले रद्द गरेको थियो। 

स्वास्थ्यमा सेटिङ : उकेराको फलोअप

९ मंसिर, २०८०, १५:१८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।