पाँच करोड महंगोमा खरिद हुन लागेको ट्रमा सेन्टरको एमआरआई टेण्डर रद्द, भरतपुर र भक्तपुरमा त्रुटी देखिए पनि रद्द नहुने

पाँच करोड महंगोमा खरिद हुन लागेको ट्रमा सेन्टरको एमआरआई टेण्डर रद्द, भरतपुर र भक्तपुरमा त्रुटी देखिए पनि रद्द नहुने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरमा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको एमआरआई मेसिनको टेण्डर रद्द भएको बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा उकेराको जिज्ञासामा मन्त्री बस्नेतले ट्रमा सेन्टरका हालका निर्देशकले एमआरआई खरिद प्रक्रियामा प्रवेश गर्न नचाहेकाले टेण्डर रद्द गरेको बताए।

‘त्यसकारणले त्यो (ट्रमा सेन्टरको एमआरआईको टेण्डर) रद्द भएको छ’, मन्त्री बस्नेतले भने।

ट्रमा सेन्टरका पूर्व निर्देशक डा. रुद्रप्रसाद मरासिनीले करिब २५ करोडभन्दा कम मूल्यमा आउने एमआरआई मेसिन ३० करोडमा खरिद गर्नका लागि टेन्डर प्रक्रिया अगाडि बढाएका थिए।

उनले युनाइटेड इमेजिङको चिनियाँ एमआरआई खरिद गर्ने तयारी गरेका थिए। डा. मरासिनी सरुवा भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पुगेका छन् भने ट्रमाको प्रमुखमा हाल डा. बद्री रिजाल छन्।

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रियाबारे छानबिन गर्न समिति गठन भएको थियो। सो समितिले अध्ययन गरेर मन्त्री बस्नेतलाई प्रतिवेदन समेत दिइसकेको छ।

समिति गठन हुँदा नै त्यसका संयोजक वीर अस्पतालका वरिष्ठ मेडिकल फिजिसिष्ट डा. कन्चन प्रसाद अधिकारी र सिमेन्सबीच निकट सम्बन्धमा रहेको दाबी आएका थिए। प्रतिवेदन पनि जहाँ–जहाँ सिमेन्सको मिलेमतो देखिएको छ, त्यहाँको टेन्डर प्रक्रियाबारे नरम देखिएको छ।

छानबिन समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका कानुन शाखाका (प्रमुख) उपसचिव रेशराज शर्मा, कर्मचारी प्रशासनका उपसचिव कृष्ण थापा, लेखा अधिकृत शालिग्राम चौधरी र स्वास्थ्य सेवा विभागका बायोमेडिकल इन्जिनियर आशीष चौहान थिए।

चार वटा अस्पतालमा मेसिन खरिदका विषयमा धेरै उजुरी परेपछि टिम गठन गरेर निष्पक्ष छानबिन गर्न पठाएको मन्त्रि बस्नेतले बताए। त्यो अध्ययन प्रतिवेदनले भरतपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको खरिदको विषयमा समेत केही त्रुटी भने देखिएको मन्त्री बस्नेतले स्वीकारे। तर, टेण्डर नै रद्द गर्नुपर्ने गरी त्रुटी नदेखिएको उनले तर्क गरे।

‘चार वटा अस्पतालमा त्यहाँ धेरै उजुरीहरू र सिकायतहरू आएपछि सम्बन्धित विषयको चिकित्सक, बायोमेडिकल इन्जिनियर र कानून विज्ञ लागायतको व्यक्तिको छानबिन समिति गठन गरेर निष्पक्ष छानबिन गरेर आउनुहोस् भनेर पठाएको हो’, मन्त्री बस्नेतले तर्क गरे।
सो समितिले भरतपुर, भक्तपुर र सुशील कोइरालको सवालमा पनि केही त्रुटी भने औंल्याएको स्वीकारे।

‘उहाँहरूले ल्याएको प्रतिवेदनमा अलिअलि फरक देखिन्छ’, उनले भने।

तर, भरतपुरको एमआरआई र भक्तपुरको सीटी स्क्यानको खरिदको सवालमा भने विज्ञहरुले केही त्रुटी देखिए पनि टेण्डर नै रद्द गर्नुपर्ने किसिमको नभएको उनको दाबी छ।

‘छलफल गरिसकेपछि उहाँहरूले थोरै केही त्रुटी पनि देखानउनुभयो। तर, त्यो त्रुटीचाहिँ (टेण्डर) खारेज नै गर्नुपर्ने खालको चाहिँ होइन,’ उनले भने, ‘त्यसकारणले सचेत गराउने हिसाबले हामीले पठाइदियौं।’

उकेराले प्राप्त गरेको प्रतिवेदनमा भरतपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालले एक कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरी मापदण्ड बनाएर अगाडि बढाएको एमआरआई र सिटी स्क्यानको टेन्डरबारे प्रतिवेदन मौन छ।

भरतपुर र भक्तपुरको टेन्डरमा प्राविधिक मापदण्डमा खेलेर सिमेन्सको मात्र उत्पादन मिल्नेगरी टेन्डरमा मिलेमतो भएको थियो। भरतपुरमा बढीमा २३ करोड पर्ने मेसिन ३१ करोड ४६ लाखमा किन्न प्रक्रिया अगाडि बढेको थियो। जुन खरिद प्रक्रिया अन्तिम चरणमा रहेको छ।

भक्तपुर क्यान्सर अस्पतालले भने तीन करोड बढी मूल्य तिरेर मिलेमतो गरेकै कम्पनीसँग सीटी स्क्यान मेसिन खरिद गर्ने निर्णय गरिसकेको छ। अस्पतालले इष्ट वेष्ट कन्सर्न प्रालिसँग १७ करोड २६ लाख ४६ हजार चार सय ६० रुपैयाँमा सीटी स्क्यान मेसिन खरिद गर्ने निर्णय गर्दै गत आइतबार (असार २४ गते) सूचना जारी गरेको हो।

तर प्रतिवेदनमा यी दुवै अस्पतालको व्यवस्थापन पक्षले मिलेमतो गरेर तयार पारेको प्राविधिक मापदण्डबारे केही उल्लेखै छैन।

समितिको प्रतिवेदनमा भक्तपुरको खरिदबारे भरतपुर जस्तै मौन छ। भरतपुरको सीटी स्क्यान पनि सिमेन्सले पारेको थियो। सुशील कोइराला क्यान्सर अस्पतालको करिब २३ करोडको खरिद प्रक्रियाबारे भने गम्भीर त्रुटीहरू देखाएको छ।

उकेरालाई प्राप्त प्रतिवेदन अनुसार असार १५ गते छानबिन समितिले प्रतिवेदन तयार गरी हस्ताक्षर गरेर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाइसकेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतले प्रतिवेदन अनुसार काम गर्न असार १७ गते नै निर्देशन समेत दिइसकेका छन्।

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रियाबारे छानबिन गर्न समिति गठन भएको थियो।

भरतपुर र ट्रमाको गरेर करिब ६० करोडको एमआरआई मेसिन खरिद प्रक्रिया र भक्तपुरको सिटी स्क्यानसँगै सुशील कोइरालाको लिन्याक मेसिन खरिद प्रक्रियाबारे छानबिन गर्न समिति गठन भएको थियो।

स्वास्थ्य सचिव डा. रोशन पोख्रेलको इन्ट्रेस्टमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले मेसिन उत्पादक कम्पनी सिमेन्सको नेपालस्थित सप्लायर्स कम्पनी इष्ट वेस्ट कन्सर्नलाई नै टेन्डर पर्ने गरी एमआरआई मेसिनको खरिद प्रक्रिया अगाडि बढाएका थिए।

भरतपुर अस्पतालले ३१ करोड ४६ लाख रुपैयाँ मूल्य बराबरको लागत अनुमान तयार गरेर थ्री टेस्ला एमआरआई मेसिन इष्ट वेस्ट कन्सर्न प्रालिसँग किन्ने गरी प्रक्रिया अगाडि बढाएको थियो। सो कम्पनीले त्यस्तै किसिमको मेसिन निजामती अस्पताललाई २२ करोड ७६ लाखमा दिएको थियो।

सो समितिले भरतपुर र ट्रमा सेन्टरमा खरिद प्रक्रियामा रहेको एमआरआई मेसिन र भक्तपुर अस्पतालमा खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिनमा देखिएको खरिद अनियमिताको विषयमा सुरुदेखि नै उकेराले समाचार सम्प्रेषण गर्दै आएको थियो।

बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भने तीन हप्ता मेसिन चल्न दिने र त्यसपछि रकम भुक्तानी गरे हुन्छ भनेर विज्ञहरुको सुझाव प्रतिवेदनमा आएको उनले बताए।

सम्बन्धित समाचार-

२५ असार, २०८०, २१:०४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।