एमआरआई खरिदमा अर्को लुट : अख्तियारको छानबिनमा रहेको टेन्डर खुलाउँदै ट्रमाका निर्देशक मरासिनी

एमआरआई खरिदमा अर्को लुट : अख्तियारको छानबिनमा रहेको टेन्डर खुलाउँदै ट्रमाका निर्देशक मरासिनी

काठमाडौं : चुनावको मौका छोपेर करिब ३० करोडको एमआरआई मेसिन खरिदको टेन्डर गरेका राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनी चाहेकै कम्पनीलाई टेन्डर दिने अन्तिम तयारीमा पुगेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको टेन्डर प्रक्रियालाई उनले निर्णय तहमा पूर्याउन लागेका हुन्।

स्वास्थ्य मन्त्री (पदम गिरी) हटेको अनि प्रधानमन्त्रीले नै मन्त्रालयको जिम्मेवारी सम्हालेको अवसर छोपेर उनले बजार मूल्यभन्दा न्युनतम पाँच करोड बढी मूल्यमा चिनिया कम्पनी युनाईटेड इमेजिङको एमआरआई किन्न लागेका हुन्। युनाइटेड इमेजिङको नेपालस्थित सप्लायर्स लुम्बिनी हेल्थ केयर हो।

उनले प्राविधिक मूल्याङ्कनमा लुम्बिनी हेल्थ केयर प्रालिलाई एमआरआई खरिदका लागि छनोट गरेर सूचना समेत निकालिसकेका छन्।

डा. मरासिनीले विवादकै बिच खरिद प्रक्रिया अगाडि बढाएका थिए। उकेराले ट्रमा सेन्टरमा एमआरआईको टेन्डर आह्वान भएदेखिनै टेन्डरको निगरानी सुरु गरेको थियो।

डा. मरासिनीले निश्चित कम्पनीको मात्रै एआरआइ मिल्ने गरी लक्ड स्पेशिफिकेशन ल्याएर २५ करोडमा आउने मेसिन ३० करोडमा किन्ने तयारी गरेको तथ्यको फेला परेपछि उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन सुरु गरेको थियो।

ट्रमा सेन्टरले प्राविधिक मूल्याङ्कनमा लुम्बिनी हेल्थ केयरलाई छनोट गरेर सूचना समेत निकालिसकेको छ। अब आर्थिक प्रस्ताव खोल्ने तयारी छ।

बोलपत्र पेस गर्दा ट्रमा सेन्टरले एमआरआई खरिदका लागि व्यवस्था गरेको बजेटको सीमाभित्र रहेर लुम्बिनी हेल्थ केयरले एमआरआई ल्याइदिने कबुल गरेको भए स्वतः लुम्बिनीलाई नै एमआरआईको टेन्डर पर्ने निश्चित छ।

टेन्डर आह्वान हुनअघि नै सेटिङ्मा डा. मरासिनीले युनाईटेड इमेजिङकै एमआरआईसँग मात्रै मिल्ने गरी लक्ड प्राविधिक स्पेशिफिकेशन बनाएको देखिएको थियो।

ट्रमा सेन्टरले फागुन १५ गते आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी जारी गरेको सूचनामा ई—विडिङमार्फत दर्ता हुन आएका बोलपत्रहरूको प्राविधिक प्रस्ताव २०७९-०९-१४ मा खोल्दा लुम्बिनी हेल्थ केयर प्रा.लि, काठमाडौं छनौट भएको उल्लेख छ।

सेटिङ गरेर खरिद हुन लागेको एमआरआईको प्राविधिक मूल्याङ्कन ट्रमा सेन्टरकी रेडियोलोजी विभाग प्रमुख डा. ममता भट्टराई संयोजक तीन सदस्यीय समितिले गरेको थियो।

डा. भट्टराईले आफू प्राविधिक मूल्याङ्कनमा बसेको स्विकारिन्। स्पेशिफिकेशन अनुसार मिलेकाले (लुम्बिनी हेल्थ केयर) छनोट भएको उनले बताइन्।

विवादकै बिच कसरी प्राविधिक मूल्याङ्कन गर्नु भयो? भन्ने जिज्ञासामा डा. भट्टराईले भनिन्,‘प्राविधिक रूपमा त्यही एउटै कम्पनी थियो। त्यसको सबै कुरा मिल्ने थियो।’

आइसकेको कुरालाई हेरिदेऊ भनेपछि हेर्दिन भन्न नमिल्ने भएकाले आफूले प्राविधिक मूल्याङ्कन गरेको उनको तर्क छ।

डा. मरासिनीले स्वास्थ्य सेवा विभागबाट एमआरआई खरिदका लागि प्राविधिक स्पेशिफिकेशन बनाएर ल्याएको बताउँदै आएका छन्।

ट्रमा सेन्टरले कार्तिक २८ गते एमआरआई खरिदका लागि टेन्डर आह्वान गरेको थियो। 

ट्रमा सेन्टरबारे उकेरामा प्रकाशित सामाग्री

२२ फागुन, २०७९, २३:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।