कामु प्रधानन्यायाधीशको अभिव्यक्तिप्रति रवि लामिछानेको काउन्टर – वरिष्ठलाई नै बनाउने भए ६ जनाको नाम किन सिफारिस गरियो?

कामु प्रधानन्यायाधीशको अभिव्यक्तिप्रति रवि लामिछानेको काउन्टर – वरिष्ठलाई नै बनाउने भए ६ जनाको नाम किन सिफारिस गरियो?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 

आइतबार रास्वपा सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक प्रक्रियाअनुसार नै प्रधान न्यायाधीश सिफारिस भएको दाबी गरे। 

प्रधानन्यायाधीश सिफारिस परम्परा बाहिर र असंवैधानिक भएको भन्ने आरोपको खण्डन गर्दै लामिछानेले प्रश्न गरे, "प्रधान न्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो। एकजना कसैले भन्दिनुस्, कसरी असंवैधानिक भयो? कसरी ६/६ जना सिफारिस गरियो? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुने थियो नि। संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्ने थिएन।"

उनले थपे, "त्यसरी आएकाहरूको नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नु भयो। परम्परा भत्काइयो भनिएको छ। यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो।" 

उनले प्रधानन्यायाधीश सिफारिसमा ६ मध्ये चारजनाले चुनेको विषय कसरी संविधानविपरीत भयो भन्ने बुझाइदिन समेत आग्रह गरे। 

“संविधानले गरेको व्यवस्थालाई टेकेर भएको सिफारिस र सिफारिसमध्येबाट संविधानले तोकेको सदस्यहरूले गर्नुभएको भोटिङका आधारमा उपस्थित ६ मध्ये चारजनाले चुन्नुभएको विषय कसरी असंवैधानिक, संविधानविपरीत भयो ?”, उनले भने।

सभापति लामिछानेले न्याय प्रणालीमाथि जनविश्वास कायम रहनुपर्ने भन्दै अदालतलाई पनि जिम्मेवार बन्न आग्रह गरे।

‘चुनौतिपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? त्यो त जग हसाइ मात्र हो। हामी जग हसाइमा विश्वास गर्दैनौँ । मेरो कुरा गर्नुहुन्छ भने गर्धन अझै त्यहीँ छ। रिस उठेको छ भने चलाइदिनुस् हतियार। त्यहीं बुझाएर आएको छु गर्धन,’ उनले भने, ‘अदालतले पनि यसलाई सडकको बिषय, हाँसोको विषय नबनाओस्। आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्नेमा मध्यनजर गर्दै कागजमा बन्दी न्याय नहोस्।।’

उनले भूमिहीनले आफ्नो अधिकार नपाउँदासम्म आफू उनीहरूको पक्षमा उभिरहने र छाती थापिरहने प्रतिबद्धता समेत व्यक्त गरे।

वैशाख २७, २०८३ आइतबार १६:४६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।