२४ करोडको सिटी किन्न लक्ड स्पेशिफिकेशन, नौ करोडको कमिसनको खेलमा स्वास्थ्यमन्त्री बस्नेतदेखि प्रदेश बनमन्त्री खड्कासम्म

२४ करोडको सिटी किन्न लक्ड स्पेशिफिकेशन, नौ करोडको कमिसनको खेलमा स्वास्थ्यमन्त्री बस्नेतदेखि प्रदेश बनमन्त्री खड्कासम्म

काठमाडौं : नुवाकोटको त्रिशुली अस्पतालमा खरिद प्रक्रियामा रहेको आठ करोडको सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनको बुँदाहरू निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरी लक्ड गरिएको भेटिएको छ।

बागमती प्रदेशको बजेटमा तीन जिल्लाका लागि सिटी स्क्यान मेसिन किन्ने तयारी भइरहेको हो। सेटिङको प्रारम्भ नुवाकोटको त्रिशुली अस्पतालबाट हुँदैछ। त्रिशुलीमा सिटी किन्ने तयारी अन्तिम चरणमा पुगेको छ।

तीन अस्पतालमा मिलेमतोमा तीन वटा सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रियामा करिब नौ करोड कमिसनको खेल भएकोबारे उकेराले यस अगाडि नै सार्वजनिक गरिसकेको छ।

त्रिशुली अस्पतालका लागि सिटी स्क्यान मेसिन किन्न तयार पारिएको स्पेशिफिकेशनका प्राविधिक मापदण्डहरू निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्नेगरी बनाइएको छ। निश्चित कम्पनीको सप्लायर्ससँग मिलेर करिब पाँच करोडमा आउने सिटी उनीहरूले आठ करोडमा किन्ने तयारी गरिरहेका छन्।

त्रिशुली अस्पतालको सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनमा राखिएका बुँदाहरू क्यानोन/तोसिवाको सिटी स्क्यान मेसिनसँग मात्रै मिल्छ। त्रिशुली अस्पतालको खेल सफल भएमा सिन्धुली र भक्तपुर अस्पतालमा पनि सोही स्पेशिफिकेशन पारित गराएर सिटी खरिदको टेन्डर आह्वान गर्ने तयारीमा समूहका सदस्यहरू सक्रिय देखिएका छन्। क्यानोनको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रालि’ हो। यसका प्रमुख धिरज थपलिया हुन्।

सेटिङमा खरिद गर्ने समूहमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशकी बन तथा वातावरण मन्त्री मसिना खड्का समेत जोडिएकी छिन्। मसिना सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (क) की सांसद हुन्।

खड्काको श्रीमान् तथा मेडिकल व्यवसायी विकास सर्जिकलका अक्कल बहादुर भण्डारी र हेम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी सक्रिय देखिए। यी सबैलाई प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले समेत चलखेलमा सघाइरहेको देखियो।

टेन्डर सेटिङमा बिचौलियाको रूपमा मन्त्री बस्नेतका भान्जा पर्ने ज्ञानेन्द्र थापा सक्रिय छन्। उनको जिम्मेवारी सम्बन्धित अस्पतालका प्रमुख भेटेर सेटिङ मिलाउने देखिन्छ। उनी त्रिशुली अस्पतालको टेन्डर आफू अनुकूल बनाउन सक्रिय त छन् नै सिन्धुली अस्पताल समेत पुगेर आफू अनुकूल स्पेशिफिकेशन बनाउन दबाब दिइरहेको खुल्यो।

आफूले चाहेजस्तो स्पेशिफिकेशन बनाउन त्रिशुली अस्पतालको बायोमेडिकल इन्जिनियर हटाएर प्रदेशबाट इन्जिनियर सन्दीपा खड्कालाई जिम्मेवारी दिइयो। उनैले त्रिशुलीको स्पेशिफिकेशन बनाएकी थिइन्। बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिन्धुलीको सिटी किन्ने प्राविधिक स्पेशिफिकेशन बनाउने जिम्मा पनि उनैलाई दिएको छ। प्रदेश सचिव खड्काले उनलाई सिन्धुली पठाइसकेका छन्।

मेसिन खरिदको चलखेलमा त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंह समेत प्रत्यक्ष संलग्न देखिए। सिन्धुली र भक्तपुरका अस्पताल प्रमुख दबाबमा छन्। 

सेटिङमै सुरु भएको खरिद

डेढ वर्ष अघि बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सिटी स्क्यान मेसिन किन्ने प्रयास गरेको थियो। त्यो बेला प्रदेशले आह्वान गरेको टेन्डर समेत चाहेको कम्पनीलाई दिने प्रयास गर्दा कमिसनमा विवाद निम्तियो अनि रद्द भयो।

टेन्डरको जमानत रकमको आधारमा औसतमा करिब ३२ करोड मूल्यमा पाँच वटा सिटी स्क्यान मेसिन किन्ने तयारी भएको थियो। यसरी हेर्दा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा)ले डेढ वर्षअघि खरिद गर्न खोजेको एउटा सिटीको लागत मूल्य करिब ६ करोड ४० लाख थियो। अहिले आठ करोड पुर्याएका छन्।

प्रदेशले किन्ने प्रयास गरेको प्रक्रिया रोकियो। एकै ठाउँबाट ठुलो मूल्यको खरिदमा सेटिङ गर्दा अप्ठेरो परेको भन्दै बजेट छरियो। प्रदेश स्वास्थ्य मन्त्रालयले तीन अस्पतालले सिधै किन्न सक्ने गरी ८-८ करोडले दरले रकम निकासा गरिदियो। त्यसपछि प्रदेशमा भएको खेल अस्पताल सर्यो। केन्द्रबाटै सेटिङ भयो। स्वास्थ्यमन्त्री बस्नेतले सेटिङ मिलाउने जिम्मा प्रदेश स्वास्थ्य सचिव खड्कालाई दिए। मन्त्रीको नातामा भान्जा पर्ने थापाले खरिदको बिचौलियाको जिम्मेवारी पाए।

त्रिशुलीमा अन्तिम चरणमा, अन्त अध्ययन

त्रिशुली अस्पतालले २०८० असोज दुई गते (२०२३, सेप्टेम्बर १९) मा ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ। खरिद रकम आठ करोड हो। सिन्धुली र भक्तपुर अस्पतालले पनि आठ करोडकै दरले १६ करोडमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गर्ने तयारी अगाडि बढाएको छ।

तीनै अस्पतालमा सेटिङमा खरिद गर्न नयाँ अस्पताल प्रमुख लगियो। त्रिशुलीमा सिंह, सिन्धुली र भक्तपुरमा डा अभिषेक थपलिया र डा त्रिभुवन चन्द्र झा छन्।

त्रिशुलीको टेन्डर आह्वानको सूचनामा ‘प्रि-बिड मिटिङ’ हुने मिति कात्तिक एक गते बुधवार दुई बजे (अक्टोबर १८)  लाई तोकिएको थियो। तोकिएको समयमा अस्पतालले ‘प्रि-बिड मिटिङ’ पनि राखेको देखिन्छ।

टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति कात्तिक १९ गते (नोभेम्बर, ५) लाई तोकिएको थियो। त्रिशुली अस्पतालका लागि सप्लायर्स कम्पनीहरूले टेन्डर प्रस्ताव समेत गरिसकेका छन्। करिब चार वटा टेन्डर प्रस्ताव परेका छन्।

त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहले केही दिनअघि उकेरासँगको कुराकानीमा टेन्डर प्रस्ताव भएर अहिले प्राविधिक मूल्याङ्कनको चरणमा रहेको जानकारी दिएका थिए।

त्रिशुली अस्पतालको ‘प्रि-बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले खरिद हुने सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग गरेका थिए।

अस्पतालले क्यानन-तोसिवालाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको विषय सप्लायर्सहरूले अशन्तुष्टी जनाउँदै प्रिबिडको बैठकमा लक्ड गरिएको बुँदा संशोधनको माग गरेका थिए।

उकेरासँग डा. सिंहले प्रि-बिड मिटिङमा ४/५ वटा सप्लायर्स सहभागी भएको र प्रि-बिडमा आएको राय अनुसार स्पेशिफिकेशन थप खुला गरेर सबैजसोले टेन्डर हाल्न पाउने वातावरण बनेको दाबी गरेका थिए।

अस्पतालले कात्तिक १३ गते सोमबार (अक्टोबर, ३०) सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशनका केही सामान्य बुँदाहरू संशोधन गरेको देखिन्छ। तर, क्यानन/तोसिवाकै सिटी स्क्यान मेसिनको स्पेशिफिकेशनसँग मिल्नेगरी प्रमुख बुँदाहरू संशोधन गरियो।

यसरी गरियो प्राविधिक स्पेशिफिकेशन नै लक्ड

त्रिशुली अस्पतालले सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर गरेको प्राविधिक स्पेशिफिकेशनको केही बुँदा संशोधन त गर्यो तर, मूल बुँदा भने झुक्क्याउने किसिमले निश्चित एउटा कम्पनीलाई मात्रै मिल्नेगरी राख्यो।

अस्पतालले नै सार्वजनिक गरेको टेन्डर सम्बन्धी कागजात हेर्दा निश्चित कम्पनीको मात्रै मेसिनसँग मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर चाहेकै कम्पनीलाई टेन्डर पार्नेगरी काम भइरहेको प्रस्टै देखिन्छ।

त्रिशुली अस्पतालले खरिद गर्न लागेको सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर क्यानोन/तोसिवासँग मिल्ने गरी बनाएको देखिन्छ।

सिटीको प्राविधिक स्पेशिफिकेशन संशोधन गरेपछि अधिकांश मेसिन उत्पादकका सप्लायर्सले टेन्डर प्रस्ताव गर्न सक्ने त देखिन्छ तर, संशोधन गरिसकेपछि पनि प्राविधिक तथा आर्थिक मूल्याङ्कनको चरणमा चाहेकै कम्पनीलाई टेन्डर पर्ने देखिन्छ।

अस्पतालले टेन्डर गरेको प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘२.१’ मा १२८ वा सो भन्दा बढी स्लाइसको सिटी स्क्यान मेसिन हुनुपर्ने उल्लेख छ।

बुँदा नं. ‘२.१’ मा भनिएको छ, ‘दी प्रोभाइडेल एआई बेस्ड स्पाइरल मल्टी-स्लाइस सिटी स्क्यानर सुड बी एबल टु अक्वायर प्रोसेस एन्ड फाइनल्ली रिप्रोड्युस १२८ स्लाइसेस् अर मोर पर ३६० डिग्री रोटेशन वीदआउट अण्डरगोइङ एनी एक्जियल मोशन इन बडी एन्ड अदर ह्युम्यान अर्गान। दी सिटी स्क्यानर सुड ह्याभ प्रोभिजन फर स्टोरेज, प्रोसेसिङ एन्ड पोस्ट प्रोसेसिङ अफ दी अक्वाइर्ड स्लाइसेस्। दी युनिट मस्ट बी हाई इण्ड मोडल अन्डर करेन्ट प्रोडक्शन।’

त्यसैगरी अस्पतालले टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको प्राविधिक स्पेशिफिकेशनमा बुँदा नं. ‘३.१०’ थिएन। तर, प्रि-बिड मिटिङपछि यो बुँदा थप्दै अस्पतालले आवश्यक बिजुली आपूर्ति र सम्पूर्ण प्रणालीमा अर्थिङ हुनुपर्ने उल्लेख गरेको छ।

संशोधित स्पेशिफिकेशनमा बुँदा नं. ‘३.१०’ थप गर्दै लेखिएको छ, ‘ट्रङ्की अन रिक्वाइर्ड इलेक्ट्रिकल सप्लाई (अल्सो फ्रम ट्रान्सफर्मर टु सिटी स्क्यान रुम) एन्ड अर्थिङ फर दी होल सिस्टम।’

यही बुँदामा सिभिल परिमार्जन, फल्स सिलिङ्ग, केबल डक्टिङ, लाइटिङ/अर्थिङ, सिटी स्क्यानको आवश्यक रेडिएसन प्रोटेक्शन लगायतका मेसिन जडान सम्बन्धी सम्पूर्ण बोलपत्रदाता (मेसिन आपूर्तिकर्ता)ले गर्नुपर्ने र विकिरण मापन पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने प्रावधान थप गरिएको छ। जुन सामान्य विषय हो।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.१.२’ मा एक्स-रे पावर प्रणाली कम्तीमा ७० किलोवाट वा त्यो भन्दा माथिको हुनुपर्ने र न्यूनतम इनपुट पावर भएको प्रणालीलाई प्राथमिकता दिइने उल्लेख छ।

यो बुँदाको वाक्य आफैँमा विरोधाभास देखिन्छ। पहिलो र पछिल्लो वाक्य ठ्याक्कै उल्टो देखिएकाले पछिल्लो वाक्य किन लेखियो भन्ने आश्चर्यको विषय भएको एक बायोमेडिकल इन्जिनियर बताउँछन्।

यो बुँदाको पहिलो र दोस्रो वाक्यमा प्रयोग भएको भाषा हेर्दा मोटरसाइकलमा साइकलको टाएर हालेर चलाएको जस्तै हुने ती बायोमेडिकल इन्जिनियरले बताए। त्यसैले यो बुँदा निश्चित कम्पनीलाई नै टेन्डर पार्ने गरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेको प्रस्टै देखिन्छ।

‘यो बुँदाको पहिलो पाटोमा कम्तीमा ७० किलोवाट वा त्यो भन्दा माथिको जेनरेटर हुनुपर्ने लेखिएको छ,’ ती बायोमेडिकल इन्जिनियरले भने, ‘तर, दोस्रो पाटोमा थोरै किलोवाट भएकोलाई राम्रो भन्ने अर्थ लाग्छ।’

बुँदा नं. ‘४.२.२’ मा गम्भीर त्रुटि र गन्जागोल

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.२.२’ मा ‘डिटेक्टर मस्ट ह्याभ एटलिष्ट ६४ फिजिकल रोज् अर मोर वीथ ०.६२५एमएम स्लाइस थिकनेश कभर ४०एमएम इन वान सिंगल रोटेशन्स वीथ ओभर ८९० इलिमेन्ट्स इन इच रो। स्पेसिफाई दी नम्बर अफ रोज् एन्ड दी टोटल नम्बर अफ डिटेक्टर सेल्स’ लेखिएको छ।

यो टेन्डर आह्वान हुँदा सार्वजनिक भएको प्राविधिक स्पेशिफिकेशनको तथ्याङ्क हो। तर, प्रि-बिड मिटिङपछि अस्पतालले संशोधन गर्दै सार्वजनिक गरेको प्राविधिक स्पेशिफिकेशनको बुँदालाई अस्पतालले पुरानै (एक्जिष्टिङ प्वाइन्टस् इन् स्पेशिफिकेशन्स्) बुँदा भएको दाबी गरेको छ। तर, यो बुँदाको वाक्यको बिचमा शब्द थपेर आफूअनुकुल बनाइएको छ।

प्रि-बिड मिटिङपछि सार्वजनिक भएको प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.२.२’ मा ‘डिटेक्टर मस्ट ह्याभ एटलिष्ट ६४ फिजिकल रोज् अर मोर वीथ ०.६२५ एमएम अर बेटर स्लाइस थिकनेश कभर ४०एमएम इन वान सिंगल रोटेशन्स वीथ ओभर ८९० इलिमेन्ट्स इन इच रो। स्पेसिफाई दी नम्बर अफ रोज् एन्ड दी टोटल नम्बर अफ डिटेक्टर सेल्स’ बनाइएको छ।

तर, संशोधनपछि सार्वजनिक भएको पुरानै प्राविधिक स्पेशिफिकेशनको यो बुँदामा प्रयोग भएको वाक्यमा ०.६२५ एमएम... र...  स्लाइस थिकनेश कभर ४० एमएमको बिचमा ‘अर बेटर’ भन्ने शब्द थपिएको देखिन्छ। यो प्रि-बिड मिटिङपछि थप गरिएको बुँदा हैन। यो त टेन्डर आह्वान गर्दाखेरि सार्वजनिक गरेको तथ्याङ्कको बुँदा हो भन्ने विषय प्रि-बिड मिटिङपछि अस्पतालले सार्वजनिक गरेको प्राविधिक स्पेशिफिकेशनको बुँदाबाटै पुष्टि हुन्छ।

हस्ताक्षर गरेर सार्वजनिक गरिसकेको स्पेशिफिकेशनमा केही हेरफेर वा थपघट गर्न पाइँदैन। तर, प्रि-बिड बैठकअघि नै यो शब्द के आधारमा थप गरियो भन्ने गम्भीर कानुनी प्रश्न तेर्सिने देखिन्छ। यसबाट नै प्रि-बिड मिटिङ हुनुअघि नै मनोमानी तरिकाले स्पेशिफिकेशनको बुँदामा शब्द थपिएको प्रस्ट हुन्छ।

यो बुँदा प्रि-बिड मिटिङपछि संशोधन समेत भएको छ। बुँदा नं. ‘४.२.२’ को संशोधन गरेको बुँदामा त भनिएको छ,‘डिटेक्टर मस्ट ह्याभ एट लिस्ट ६४ फिजिकल रोज् अर मोर वीथ ०.६२५ एमएम अर बेटर स्लाइस थिकनेश कभर एटलिष्ट ४० एमएम इन वान सिंगल रोटेशन्स वीथ ओभर ६७० इलिमेन्ट्स इन इच रो। स्पेसिफाई दी नम्बर अफ रोज् एन्ड दी टोटल नम्बर अफ डिटेक्टर सेल्स।’ संशोधित बुँदा चाहिँ यो नै हो।

यो बुँदा (‘४.२.२’) मा गन्जागोल बनाउँदै बिचमा मनोमानी ढङ्गले शब्द थपेको त देखिन्छ नै। प्रि-बिड मिटिङपछि समेत यो बुँदा संशोधन गरेर झन् चाहेकै कम्पनीको सिटी स्क्यान मेसिनसँग मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर चाहेकै कम्पनीलाई सीटीस्क्यानको टेन्डर पार्न खोजिएको प्रस्टै देखिन्छ।

जानकार बायोमेडिकल इन्जिनियरका अनुसार डिटेक्टरको थिकनेशमा मोटाई कम्तीमा ६४... लेखेपछि ‘०.६२५ एमएम अर बेटर स्लाइस थिकनेश’को सट्टामा ‘०.६२५ एमएम अर लेस स्लाइस थिक्नेश’ लेखिनुपर्थ्यो। जसले मापदण्ड प्रस्ट हुन्थ्यो भने अन्य उत्पादकको मेसिन पनि प्रतिस्पर्धी हुन सक्थ्यो।

 ‘जति डिक्टेटरको थिकनेश सानो भयो त्यति राम्रो हुन्छ,’एक बायोमेडिकल इन्जिनियरले भने। यसरी हेर्दा संशोधनपछि यो बुँदामा खेलेर पनि गन्जागोल नै बनाएको देखिन्छ।

आकार, अंक र अक्षरमा खेल

टेन्डरको समयमा जारी भएको सिटीको प्राविधिक स्पेशिफिकेशनको बुँदा नं.‘४.३.२’ पनि संशोधन गरिएको छ। बुँदा नं. ‘४.३.२’ मा लेखिएको थियो, ‘एपाचर सुड बी एटलिष्ट ७५ सेन्टिमिटर डायमिटर अर मोर, वाइड जेन्ट्रि वील बी प्रिफेरेबल फर फ्युचर अपग्रेट टु अङ्कोलोजी प्याकेज एन्ड सिटी फ्लोरोस्कोपि प्रोसेड्युर्स।’

प्रि-बिड मिटिङपछि यो बुँदा नं.‘४.३.२’ पनि संशोधन गरिएको छ। संशोधित बुँदा नं. ‘४.३.२’ मा लेखिएको छ,‘एपाचर सुड बी एटलिष्ट ७०सेन्टिमिटर डायमिटर अर मोर, वाइड जेन्ट्रि वील बी प्रिफेरेबल फर फ्युचर अपग्रेट टु अङ्कोलोजी प्याकेज एन्ड सिटी फ्लोरोस्कोपि प्रोसेड्युर्स।’

यो बुँदामा रहेको ‘एपाचर सुड बी एटलिष्ट ७५सेन्टिमिटर डायमिटर अर मोर’ भन्ने प्रावधान राख्नेवित्तिकै क्यानोनको एक्युलिशन प्राइम र हिटाचीको सिनारियो भिउ-१२८’ मोडलसँग मात्रै मिल्ने एक विशेषज्ञ प्राविधिकले जानकारी दिए। यो बुँदाको पहिलो वाक्यबाट नै क्यानोसँग लक्ड हुने देखिएको ती प्राविधिकले जानकारी दिए।

तर, यो बुँदाको पहिलो वाक्य संशोधन गर्दै, ‘एपाचर सुड बी एटलिष्ट ७०सेन्टिमिटर डायमिटर अर मोर’ राख्नुको खासै अर्थ नदेखिएको एक प्राविधिकले जानकारी दिए। झल्यास्स हेर्दा अन्य कम्पनीका सप्लायर्सले पनि टेन्डर प्रस्ताव गर्न मिल्ने देखिए पनि अंकमा खेलेर ७५ बाट ७० सेन्टिमिटर बनाउनुको अर्थ नरहेको एक विज्ञले जानकारी दिए।

यो बुँदाको दोस्रो वाक्य भने संशोधन गरिएको छैन। क्याननसँग थप लक्ड गरेर चाहेकै सप्लायर्स कम्पनीसँग सिटी स्क्यान खरिद गर्नका लागि यो बुँदाको दोस्रो वाक्यमा प्राविधिक स्पेशिफिकेशन थप लक्ड गरिएको ती विशेषज्ञले जानकारी दिए।

बुँदा नं..‘४.३.२’ को दोस्रो वाक्यमा ‘वाइड जेन्ट्रि वील बी प्रिफेरेबल फर फ्युचर अपग्रेट टु अङ्कोलोजी प्याकेज एन्ड सिटी फ्लोरोस्कोपि प्रोसेड्युर्स’ लेख्नुले क्याननको सिटीसँग नै लक्ड हुने विशेषज्ञले जानकारी दिए।

‘यो बुँदाको पछिल्लो वाक्यले त झन् क्याननको सिटीसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएको प्रस्टै हुन्छ,’ ती विशेषज्ञले भने, ‘क्याननको एपाचर ७८ सेन्टिमिटर डायमिटरको छ।’

यसरी हेर्दा बुँदा नं.‘४.३.२’ पनि लक्ड गरेको देखिन्छ। यो बुँदालाई हेर्दा त प्राविधिक स्पेशिफिकेशनको चरणमा नै अन्य कम्पनीको मेसिन छनोट नभएर क्यानोनकै मेसिन छनोट हुने देखिन्छ।

अन्य धेरै बुँदाहरूमा खेलेजस्तै यो बुँदामा पनि ७० सेन्टिमिटर वा त्यो भन्दा माथिको डायमिटरको सिटी हुनुपर्ने प्रावधान राखेसँगै ७८ सेन्टिमिटर डायमिटर (आकार) भएकै सिटी स्क्यान मेसिन छनोट गर्ने देखिन्छ। यसरी यो बुँदामा आकारको अंकमा खेलेर चाहेकै कम्पनीको सिटीसँग मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेको देखिन्छ।

यी तीन बुँदामा भएका विशेषता सहितको सुविधा भएको सिटी स्क्यान मेसिन अहिले नै आठ करोड बजेटभित्र खरिद गर्न सकिन्छ। तर, कमिसनका लागि यो सिटी स्क्यान मेसिनको स्पेशिफिकेशनमा यी सुविधा राखिएको छैन। जसले सिटीको मूल्य कम पर्छ। कमिसनको रकम बढ्छ।

बुँदा नं. ‘४.३.४’ मा ‘दी स्क्यान फिल्ड अफ भिउ (एफओभी) इन एक्वीजिशन मोड सुड बी मिनिमम ५०० एमएम अर मोर’भन्ने लेखिएको छ। त्यसपछि ‘फ्युचर अपग्रेड सुड बी पसिबल अप टु ७०० एमएम (एफओभी) फर अङ्कोलोजी प्याकेज’ लेखिएको छ।

यो बुँदालाई हेर्दा भविष्यमा ७०० एमएम फिल्ड अफ भिउसम्मको क्यान्सरसम्बन्धी परीक्षण लगायतको सुविधा जडान गर्न सकिने विकल्पको बारेमा लेखिएको छ। यसबाट नै प्रत्येक बुँदा बुँदामा खेलेर स्पेशिफिकेशन लक्ड गरिएको प्रस्टै देखिन्छ।

बुँदा नं. ‘४.४.४’ मा आघात (घाइते) बिरामीलाई सजिलै राख्न ‘न्यूनतम टेबल टप’को उचाइ भुईँ तलाबाट ३५ सेन्टिमिटरभन्दा बढी हुन नहुने उल्लेख गरिएको थियो। यो बुँदालाई संशोधन गर्दै उचाइ भुईँ तलाबाट ५५ सेन्टिमिटरभन्दा बढी हुन नहुने प्रावधान राखिएको छ। जुन स्वाभाविकै देखिन्छ।

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.५.१०’ पनि क्याननसँग मात्रै मिल्नेगरी लक्ड गरिएको एक बायोमेडिकल इन्जिनियरले जानकारी दिए। 

बुँदा नं. ‘४.५.१०’ मा लेखिएको छ,‘लेटेष्ट इटेर्याकटिभ रिकन्स्ट्रक्शन टेक्निक इन रो डाटा स्पेस टु रेड्युस न्वाइज एन्ड रिड्युस रेडिएसन डोज सुडबी कोटेड एज स्ट्याण्डर्ड। सुड बी एबल टु पर्फम ५० फ्रेम्स/सेकेन्ड रिकन्स्ट्रक्शन।’ यो बुँदामा कम्तीमा ४० फ्रेम्स/सेकेन्ड (प्रतिसेकण्ड) लेखिनुपर्ने विज्ञले जानकारी दिए।

बुँदा नं. ‘४.६.१०’ मा डेढ करोड कमिसनको खेल

स्पेशिफिकेशनको  बुँदा नं. ‘४.६.१०’ मा भविष्यमा सिटीका केही सामग्री लगायत छुट्टै खरिद गरी थपेर सिटी स्क्यानको स्तर गर्ने प्रावधान राखिएको छ।

बुँदा नं. ‘४.६.१०’ मा लेखिएको छ,‘दीस प्याकेज सुड बी कोटेड सेप्रट्ली फर फ्युचर अपग्रेट पर्पोज।’ यो बुँदा लेखिएपछि भविष्यमा सिटीको स्तर वृद्धि गर्ने तथा सामग्री थप्ने सम्बन्धी तीन बुँदा लेखिएको छ।

पहिलो बुँदामा लेखिएको छ, ‘सिटी फ्लोरोस्कोपि कम्प्लेट प्याकेज (सिटी फ्लोरो एन्ड मनिटर)।’ दोस्रो बुँदामा लेखिएको छ, ‘डबल इनर्जी सिटी प्याकेज वीथ आयोडिन म्यापिङ, किड्नी स्टोन, गोट एन्ड भर्चुअल नन् कन्ट्रास्ट।’

त्यसैगरी तेस्रो बुँदामा लेखिएको छ, ‘कार्डियाक सिटी प्याकेज इन्क्लुडिङ डेडिकेटेड कार्डियाक वर्क स्टेसन (एज पर प्वाइन्ट नं. ५.७)।’

बुँदा नं. ‘४.६.१०’ भएको यो प्रावधान राखिनुले सिटी स्क्यान मेसिन खरिद गर्दा अहिले यी तीन बुँदामा उल्लेख भएका मेसिनका सुविधा उपलब्ध हुने छैनन्। तर, भविष्यमा यी सुविधाका लागि अस्पतालले छुट्टै सामग्रीलगायत खरिद गर्नुपर्नेछ।

यी तीन बुँदामा भएका विशेषता सहितको सुविधा भएको सिटी स्क्यान मेसिन अहिले नै आठ करोड बजेटभित्र खरिद गर्न सकिन्छ। तर, कमिसनका लागि यो सिटी स्क्यान मेसिनको स्पेशिफिकेशनमा यी सुविधा राखिएको छैन। जसले सिटीको मूल्य कम पर्छ। कमिसनको रकम बढ्छ।

‘यी तीन बुँदामा भएका सुविधा सिटी स्क्यान मेसिनमा नराख्दा करिब डेढ करोड कमिसन आउँछ,’ ती विज्ञले भने,‘त्यसैले कमिसनकै लागि पछि खरिद गर्ने गरी यस्तो बुँदा राखिएको प्रस्टै देखिन्छ।’

सिटी खरिद गरेकै कम्पनीसँग खरिद गरेर ‘४.६.१०’ मा उल्लेख भएका यी बुँदाको सुविधा थप गर्नुपर्ने भएकाले त्रिशुली अस्पताललाई आर्थिक भार पर्ने विज्ञ स्रोतले जानकारी दियो।

अर्कातर्फ यति महँगोमा खरिद भएको सिटी स्क्यान मेसिनबाट पाउनुपर्ने यस्ता केही सुविधाबाट बिरामी त वञ्चित हुने नै भए।

स्पेशिफिकेशनको बुँदा नं. ‘४.७.२’ मा समेत केही सामान्य संशोधन गरिएको देखिन्छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘५.७’ मा पनि भविष्यमा थपिने मुटुसम्बन्धी सुविधा (फ्युचर अपग्रेट अप्सन्स फर कार्डियाक प्याकेज) का केही बुँदाहरू उल्लेख छन्।

भविष्यमा मुटुसम्बन्धी परीक्षणलगायतको सुविधा (कम्प्लेट कार्डियाक प्याकेज) लगायतका सुविधा छुट्टै थपिने विषयलाई प्राथमिकताकासाथ प्राविधिक स्पेशिफिकेशनमा उल्लेख गरिएको छ। यसले एक मेसिन किनेर पछि पनि पटक-पटक खरिद गर्ने मनसाय देखिन्छ।

यसबाट अहिले सिटी स्क्यान मेसिन खरिद गरेर केही समयमा नै छुट्टै मुटुसम्बन्धी परीक्षण लगायतका लागि आवश्यक विशेषता तथा सुविधा खरिद गरेर अस्पतालले थप गर्ने रणनीति देखिन्छ। यसले कमिसनको खेलमा अस्पताललाई भार पर्ने प्रस्टै देखिन्छ।

स्पेशिफिकेशनको बुँदा नं.‘५.८’ मा रहेको ‘दी सिस्टम स्पेटियल रिशोलुशन सुड बी २०एलपी/सेन्टिमिटर अर मोर एट ०% एमटीएफ’ लेखिएको छ। यो बुँदामा ‘०% एमटीएफ’को अर्थ नहुने भएकाले ‘०% एमटीएफ’ को ठाउँमा ‘२% एमटीएप’ हुनु उचित हुने एक विज्ञको भनाइ छ।

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘५.९’ पनि लक्ड नै भएको एक बायोमेडिकल इन्जिनियरले जानकारी दिए। बुँदा नं. ‘५.९’ मा लेखिएको छ, ‘दी लो कन्ट्रास्ट रिशोलुशन सुड नट बी मोर द्यान २एमएम एट ०.३%. सोल्डर, पेल्भस्, स्ट्रेक आर्टिफेक्ट सप्रेशन सफ्टवेयर सुड बी स्ट्याण्डर्ड।’

सिटी खरिदमा बदमासी भएकोबारे बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी समेत जानकार छन्। तर उनी मौन छन्। उनीसँग उकेराले खरिदबारे जिज्ञासाराख्दा यसबारे मन्त्रालयका सचिव खड्कासँग सम्पर्क गर्न अनुरोध गरे।

तर, बुँदा नं. ‘५.९’ मा, ‘दी लो कन्ट्रास्ट रिशोलुशन सुड नट बी मोर द्यान २एमएम को ठाउँमा ५एमएम राखिनु उचित हुने एक बायोमेडिकल इन्जिनियरले बताए। मात्रा (डोज लेभल)को समेत उल्लेख हुनुपर्ने र ‘हाइडोज’ राम्रो हुने एक विज्ञले बताए।

बुँदा नं. ‘६.२’ मा रहेको ‘इसीजी गेटिङ ग्याजेट्स’ लेखिएको बुँदा हटाइएको छ। मुटुसम्बन्धी सुविधाका लागि सामग्री नै नहुने अवस्थामा सिटीमा यो बुँदा राखिएको थियो। इसीजी सस्तो किसिमको सुविधा भएकाले यसको विरोध हुने भएपछि यो बुँदा हटाइएको देखिन्छ।

सामग्री नै नभएको सिटीमा तालिम दिने प्रावधान

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘११.१’ मा मुटुसम्बन्धी कोर्सको दुई हप्ता तालिम समेत दिने उल्लेख छ।

तर, ‘४.६.१०’ भने मुटु सम्बन्धी सामग्रीलगायतका विशेषता सहितको सुविधा नै सिटी स्क्यान मेसिनसँग खरिद नगरी पछि मात्रै थपिने प्रस्टै छ। अनि मुटुसम्बन्धी विशेषता नै नभएको मेसिनमा मुटुसम्बन्धी तालिम मात्रै दिने प्रावधान राख्नु आफैँमा हास्यास्पद देखिन्छ।

‘दी सप्लायर स्याल कन्डक्ट अन साइट युजर ट्रेनिङ फर दीज इक्वीप्मेन्ट टु इनाबल अपरेटर्स टु युज दी इक्वीप्मेन्ट (इन्क्लुडिक कार्डियाक कोर्स) प्रोपर्ली फर टु विक्स’,बुँदा नं. ‘११.१’ मा लेखिएको छ, ‘दी ट्रेनिङ स्याल इन्क्लुड दी युज अफ अल अपरेश्नल फङशन्स् अफ दी इक्वीप्मेन्ट, एड वेल एज रुटिन चेक्स एन्ड मेन्टेनेन्स एक्सेप्टेड बाई युजर्स।’

वारेन्टीको खेल, सप्लायर्सलाई थप फाइदा

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेश (हेटौँडा)ले डेढ वर्षअघि पाँच वटा सिटी स्क्यान मेसिनको टेन्डर गर्दा उसले पाँच वर्षको वारेन्टी राखेको थियो। कमिसनको चक्कर नमिलेपछि त्यो टेन्डर नै रद्द भएको थियो। तर, त्रिशुली अस्पतालले भने अहिले सिटी स्क्यान मेसिनको वारेन्टीको समय दुई वर्ष मात्रै राखेको छ।

त्यो दुई वर्षको वारेन्टीको समयमा पनि केही शब्द संशोधन गर्दै अस्पतालले सप्लायर्सलाई नै थप फाइदा हुने वातावरण बनाइदिएको देखिन्छ।

त्रिशुली अस्पतालको सिटी स्क्यानको प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘१२.१’ मा भनिएको थियो, ‘दी वारेन्टी प्रियोड फर दीज आइटम इन्क्लुडिङ एक्स-रे ट्युब स्याल बी टु एयर्स आफ्टर सक्सेसफुल इन्स्टलेशन एगेन्स्ट एनी म्यानिफ्याक्चर डिफेक्ट्स।’

यो बुँदाले दुई वर्षसम्म एक्स-रे ट्युब लगायत सिटी स्क्यान मेसिनमा कुनै समस्या आए सप्लायर्स कम्पनीले बेहोर्नुपर्ने देखिन्छ। तर, यो बुँदालाई प्रि-बिड मिटिङपछि संशोधन गर्दै अस्पताललाई क्षति र सप्लायर्सलाई नै थप फाइदा पुग्ने वातावरण बनाएको देखिन्छ।

संशोधित बुँदामा लेखिएको छ, ‘दी वारेन्टी प्रियोड फर दीज आइटम इन्क्लुडिङ एक्स-रे ट्युब स्याल बी टु एयर्स आफ्टर सक्सेसफुल इन्स्टलेशन इरेस्पेक्टिभ अफ नम्बर अफ स्क्यान।’

संशोधित यो बुँदामा भने सिटीको स्क्यानको सङ्ख्यालाई भने गणना गर्ने देखिँदैन। जसले गर्दा कति सिटी स्क्यान भए मेसिन बिग्रिएको खण्डमा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रस्ट देखिँदैन। संशोधित यो बुँदाले सिटी स्क्यानमा कुनै समस्या भए त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा समेत विरोधाभास देखिन्छ।

वारेन्टीको समय घटाउने बित्तिकै मेसिनको मूल्य पनि ह्वात्तै कम हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। वारेन्टीको अवधिभर मेसिनमा कुनै समस्या आए कम्पनीले बेहोर्नुपर्ने हुन्छ।

तर, वारेन्टीको समय सकिएपछि मेसिन खरिद गर्ने संस्थाले नै बेहोर्नुपर्ने हुन्छ। त्यसैले जति छोटो समयको वारेन्टी राख्यो त्यसले मेसिन ल्याउने सप्लायर्सलाई फाइदा हुन्छ भने संस्थालाई घाटा हुन्छ।

दुई वर्ष वारेन्टी राख्दा करिब यो मेसिनको मूल्य करिब डेढदेखि तीन करोड कम हुने एक विज्ञ चिकित्सकले जानकारी दिए। तर, आठ वर्षको कम्प्रिहेन्सिभ प्रियड भएकाले दुई वर्षपछि मेसिन बिग्रिए पनि अस्पताललाई आर्थिक भार नपर्ने डा. सिंहले अमिल्दो तर्क गर्दै आएका छन्।

‘आठ वर्षको कम्प्रिहेन्सिभ प्रियड छ। दुई वर्षको वारेन्टी छ। त्यो स्ट्याण्डर्ड नै हो भनेका छन्,’ उनले उकेरासँगको कुराकानीमा भनेका छन्, ‘सीएमसी छ, उनीहरूले आएर बनाउँछन्।’

कमिसन कनेक्सन

त्रिशुली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंह एउटा कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन नबनाएको दाबी गर्दै आएका छन्। तर स्पेशिफिकेशनका बुँदाहरूले नै उनले झुट बोलेको पुष्टि गर्छ। पाँच करोड भन्दा बढी मूल्यको सामानको खरिद गर्दा प्रदेश स्वास्थ्य मन्त्रालयबाट खरिद अनुमति लिनुपर्ने उनले तर्क गर्दै आएका छन्।

उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट सिटी खरिदको प्राविधिक तथा आर्थिक लगायतको कागजातको स्वीकृति भएर आएको भन्दै टेन्डरमा कमिसनको सेटिङको विषयबाट पन्छिरहेका छन्। तर, अस्पताल प्रमुख भएको कारणले उनी समेत यो जिम्मेवारीबाट पन्छिन मिल्दैन। १० औँ तहकालाई हटाएर आठौँ तहका सिंहलाई खरिदकै बेलामा लगिएकाले उनलाई लैजानुको प्रयोजनै खरिदमा सेटिङ गर्न देखिन्छ। उनी वैशाखमा त्रिशुली अस्पतालको प्रमुख भएका हुन्।

खरिदमा जोडिएका अस्पतालका केही कर्मचारीले निश्चित कम्पनीको उत्पादनसँग मात्र मिल्ने गरी स्पेशिफिकेशन नबनाई खुल्ला प्रतिस्पर्धामा जान सुझाव पनि दिएका थिए। तर, डा. सिंहले माथिबाटै दबाब छ भन्दै स्पेशिफिकेशन बदल्न मानेनन्। बरु खरिद प्रक्रिया सुरु भएपछि बायोमेडिकल इन्जिनियरलाई नै निकालेर उनले सिटी स्क्यान मेसिनको खरिद प्रक्रिया अगाडि बढाएका थिए। 

यो खरिदमा सङ्घीय स्वास्थ्य मन्त्री बस्नेत, प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्का प्रत्यक्ष संलग्न देखिन्छन्। उनीहरूको योजनामा मेडिकल सप्लायर्स धिरज थपलिया, भण्डारी सर्जिकल हाउसका  आरएस भण्डारी अनि विकास सर्जिकलका अक्कलबहादुर भण्डारी संलग्न देखिएका छन्।

सिटी खरिदमा बदमासी भएकोबारे बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी समेत जानकार छन्। तर उनी मौन छन्। उनीसँग उकेराले खरिदबारे जिज्ञासाराख्दा यसबारे मन्त्रालयका सचिव खड्कासँग सम्पर्क गर्न अनुरोध गरे।

‘हाम्रो सचिवसँग कुरा गर्नुपर्यो तपाईँले’, कुराकानीको क्रममा उनले भने।

सिटी स्क्यान मेसिनको खरिदको सवालमा आफ्नो कुनै पनि संलग्नता नभएको र थाहा नभएकाले मन्त्री जोशीले आफ्नो नाम नजोड्न अनुरोध गरे। तर, यस विषयमा (उकेरामा) समाचार सम्प्रेषण भएपछि आफूले सचिव र त्रिशुली अस्पतालका प्रमुखलाई पनि के हो? भनेर सोधखोज गरेको उनले बताए।

‘मैले सचिवज्यू र मेसुलाई भनेको छु,’ प्रदेश स्वास्थ्यमन्त्री जोशीले भने, ‘तिहारपछि छलफल गर्छु, पत्रकार साथीहरूले मलाई सोध्नुभएको छ। यो कुरामा तलमाथि हुने काम नगर्नु भनेर मैले भनेको छु।’

४ मंसिर, २०८०, २०:५२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।