डा. आशिषको उपचार अनुभव : ती २३ वर्षीय युवकले प्राण त्यागेपछि मन आत्तियो, सम्झँदा अहिले पनि झस्कन्छु

डा. आशिषको उपचार अनुभव : ती २३ वर्षीय युवकले प्राण त्यागेपछि मन आत्तियो, सम्झँदा अहिले पनि झस्कन्छु

डा. आशिष गोविन्द अमात्य एनेस्थेसियोलोजिष्ट हुन्। शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत उनी विशेषगरी शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउने अनि ब्युँत्याउने काम गर्छन्।

त्यसैगरी आईसीयू तथा भेन्टिलेटरमा भर्ना भएका बिरामीको उपचार गर्नु र उपचार व्यवस्थापन गर्नु लगायत उनको चिकित्सकीय विधा हो। उनले शल्यक्रिया गर्नुपर्ने धेरै बिरामीलाई बेहोस बनाएर व्यूँत्याएका छन्। डा. आशिषले केही उपचार अनुभव उकेरासँग साटेका छन्।

हेर्दाहेर्दै २३ वर्षका युवाले भेन्टिलेटरमा प्राण त्यागेपछि...
कोरोना भाइरस संक्रमणको उच्च विन्दुमा पुगेका बेला युवा अवस्थाका व्यक्तिसमेतको उपचारकै क्रममा प्राण त्यागेको देख्दा उनको आत्मा गल्थ्यो। उनी तनावमा पर्थे।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरको समयमा करिब २३ वर्षका युवाले आँखै अगाडि प्राण त्यागेको देख्दा डा. आशिषको पनि मन आत्तियो। दिउँसोको समयमा गंगालाल अस्पतालमा भर्ना भएका थिए ती युवाको ज्यान मोटो थियो।

अस्पताल पुर्याउँदा युवालाई संक्रमणका कारण श्वास फेर्न कठिन भइरहेको थियो। उपचार त सुरू भयो। तर, स्वास्थ्यमा सुधार हुनुको सट्टा झन् बिग्रियो।

अस्पताल भर्ना भएको बेलुका त ती युवालाई आईसीयू हुँदै भेन्टिलेटरमा नै राखेर उपचार गर्नुपर्यो। तर, हर उपचार प्रयास गर्दासमेत युवाको स्वास्थ्यमा सुधार भएन। संक्रमणका कारण फोक्सोले कामै गर्न छाड्दै गयो।

कृतिम रूपमा दिएको अक्सिजनले समेत काम गरेन। शरीरमा अक्सिजनको मात्रा कम हुँदै गयो र रगतमा अक्सिजन प्रवाह हुन छाड्यो। रगतमा अक्सिजन प्रवाह नहुँदा मिर्गौला, मस्तिस्क, कलेजोजस्ता अंगहरूले काम गर्न छाड्दै गए।

संक्रमणका कारण शरीरमा रक्तचाप घट्दै गयो। चिकित्सकको टिमले उपलब्ध भए र जानेसम्मको सबै उपचार विधि अपनाउँदा समेत ती युवाको स्वास्थ्यमा सुधार भएन।

जति अक्सिजन दिए पनि केही चलेन। अस्पताल भर्ना भएको भोलिपल्ट दिउँसो भेन्टिलेटरमा राखेको करिब २४ घण्टामा ती युवाले प्राण त्यागे। ती युवा अस्पतालकै एक जना चिकित्सकका भाइ थिए।

‘त्यस्तो युवा मान्छे, हेर्दाहेर्दै केही गर्न नसकिने अवस्थामा मृत्यु भयो,’ डा. आशिषले घटना सम्झँदै भने।

ती युवाको मृत्यु देख्दा डा. आशिषलाई मनमै लाग्यो, ‘अब त मेरो पनि अन्त्य आउन धेरै समय छैन होला, अब त कोभिडकै बिरामीसँगै बस्दा कतिखेर म पनि संक्रमित हुन्छु।’

ती युवाको मृत्युको घटना सम्झँदा डा. अशिष अझै पनि बेलाबेलामा झस्कन्छन्।

कोभिडमा ६ महिना परिवारबाट टाढा
कोरोना भाइरसले सबैलाई अत्यायो। त्यसमाथि पनि दिनरात बिरामीकै उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालमा नै संक्रमित हुने डरले त्राहित्राही बनाएको उनको अनुभूति छ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा उच्च विन्दुमा पुगेको समयमा डा. आशिषको मन पटक–पटक आत्तिएको रहेछ। उनको मन आत्तिएन मात्रै आफू पनि नबाचिने हो की? भन्ने डरसमेत लाग्यो।

एनेस्थेसियोलोजिष्ट भएको नाताले आईसीयू तथा भेन्टिलेटरमा बिरामीको हेरचारमा उनको सक्रिय भूमिका हुने नै भयो। संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बनेका बिरामीको उपचारको जिम्मेवारी विशेषगरी यो विधाका चिकित्सकलाई हुन्थ्यो।

अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी जस्तै उनी पनि गाउन, मास्क, पञ्जालगायत पीपीईका मापदण्ड अपनाएरै बिरामीको उपचार गर्थे। तर, जतिसुकै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए पनि कतिखेर संक्रमण भइने हो भन्ने उनको मनमा डर भने भइनैरहन्थ्यो।

‘कोभिड संक्रमितले गंगालाल अस्पतालको वार्ड नै खाली थिएन,’ उनले कोरोनाको दोस्रो लहरको अवस्था सुनाए, ‘रातारात वार्डहरु भरिन्थे।’

त्यसो त कोरोना भाइरस संक्रमणको दोस्रो लहरको समयमा परिवारलाई पनि कोरोना संक्रमण सर्ला भनेर घर करिब ६ महिना त घर नै नगई अन्यत्र नै बसेको डा. आशिषले सुनाए। 

उनी परिवारसँग फोनमा कुरा गर्थे। घर गए पनि घरभित्र नछिरी बगैंचामा बसेर अस्पताल फर्कन्थे। डा. आशिष आफू संक्रमित भइहालेको खण्डमा समेत आमा, श्रीमती र छोरालाई संक्रमण नहोस् भन्नेमा सजग हुन्थे।

महिनौंसम्म घरपरिवारलाई भेट्न नपाउँदा उनी तनावमा पर्थे। यो उनको मात्रै हैन धेरै चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या र दैनिकी थियो, त्यतिबेला।

त्यसो त जोगिँदा जोगिँदै पनि पहिलो र दोस्रो लहरमा दुवैपटक डा. आशिष पनि कोरोना संक्रमित भए। दोस्रो पटक संक्रमित हुँदा उनलाई निक्कै डर लागेछ उनलाई। त्यहि समयमा उनकी श्रीमती पनि संक्रमित भइछन्।

संक्रमणमुक्त भएपछि चिकित्सकीय धर्म अनि कर्तव्य सम्झेर डा. आशिष बिरामीको उपचारमा तल्लिन नै भए।

पर्दापछाडि समग्र उपचार व्यवस्थापकको भूमिका
एनेस्थेसियोलोजिष्टलाई क्रिटिकल केयर विशेषज्ञका रूपमा समेत चिनिन्छ। एनेस्थेसियोलोजिष्टको काम शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउने अनि शल्यक्रियापछि ब्यूँँत्याउने मात्रै हैन।

शल्यक्रिअघि बिरामीलाई शल्यक्रिया गर्नका लागि बेहोस बनाउँदा हुनसक्ने जोखिमलाई केलाएर शल्यक्रिया गर्न मिल्ने वा नमिल्ने निर्णय पनि एनेस्थेसियोलोजिष्टले नै निर्णय निलुपर्ने हुन्छ। 

त्यसपछि शल्यक्रियाका लागि बिरामीलाई अप्रेशन थिएटरमा बेहोस बनाएर शल्यक्रियाको अवधिभरी बिरामीलाई हेर्ने अनि शल्यक्रिया सकिएपछि ब्यूँत्याउने उनको चिकित्सकीय विधा हो।

अनि ब्यूँतिसकेपछि समेत पोष्ट अपरेटिभ वार्ड लगायतमा उपचारको व्यवस्थापन तथा हेरचाह गर्ने भूमिका यही विधाको चिकित्सकको हुन्छ, जुन डा. आशिषको दैनिकी हो।

आईसीयूमा उपचार भइरहेको बिरामीका लागि यो विधाका चिकित्सकले विशेषगरी मस्तिस्क, मिर्गौला, मुटु र कलेजोले सहज रूपमा काम गर्ने वातावरण मिलाउन सक्रिय बनाउने भूमिका खेल्नुपर्ने हुन्छ। 

यो टिममा गरिने काम हो। क्रिटिकल व्यवस्थापनमा चिकित्सक, नर्स, फिजियोथेरापिष्ट, पोषणविज्ञ, फर्मासिष्ट लगायको सामुहिक भूमिका हुन्छ।

तर, यो विधाका चिकित्सक पर्दापछि काम गर्ने चिकित्सकका रूपमा चिनिन्छ। अहिले भने एनेस्थेसियोलोजीष्टलाई पनि सर्जनले बिरामीलाई समेत बेहोस बनाउने चिकित्सक भनेर चिनाउन थालेको उनले सुनाए।
कतिपय बिरामीले समेत ‘अप्रेशनमा मलाई बेहोस बनाउने तपाईं नै हो डाक्टर साप’ भनेर सोध्ने गरेको उनले सुनाए।

क्रिटिकल केयर मेडिसिन (सघन उपचार) विशेषज्ञले स्वास्थ्य अवस्था जटिल बनेका बिरामीको आइसियुमा भर्नागरी समग्र उपचारको व्यवस्थापन मिलाउनुपर्ने हुन्छ। त्यत्रिमात्र हैन यो विषयका विशेषज्ञले बिरामीको स्वास्थ्य अवस्थाको जाँच, उपचार तथा समन्वयको भूमिका समेत खेल्नुपर्ने हुन्छ।

आकस्मिक रूपमा उपचार गर्नुपर्ने बिरामीको आफूले सक्ने रोगको आफैँले गर्ने अनि बिरामीको रोगको प्रकृतिअनुसार सम्बन्धित विशेषज्ञको सहयोग लिएर उपचारको प्रबन्ध मिलाउनुपर्ने भूमिका पनि एनेस्थेसियोलोजिष्ट तथा क्रिटिकल केयर विशेषज्ञको हुन्छ, जुन विषयको विशेषज्ञ हुन् डा. आशिष।

कतिपय अवस्थामा मुटु रोगका बिरामीलाई बेहोस बनाएर ब्यूँताउनु चुनौतिसमेत हुने उनले सुनाए। त्यसो त शल्यक्रियाकै क्रममा अप्रेशन थिएटरकै टेबलमा बिरामीको मृत्यु भएको डा. आशिषले नजिकबाट देखेका समेत छन्। अप्रेशन थिएटरको टेबलमा नै बिरामीको मृत्यु हुँदाको क्षण भने उनी शब्दमा व्याख्या गर्न सक्दैनन्।

छनोटमा बेहोस बनाएर ब्यूँचाउने विधा
२०३५ मा ललितपुरको कुपण्डोलको जन्मिएका आशिषले चार कक्षासम्म सेन्टजेभियर्स स्कुलमा पढे भने पाँचदेखि एसएसीसम्मको अध्ययन बुढानीलकण्ठ स्कुलमा।

सन् १९९५ मा एसएलसी गरेपछि आशिष भारतको दी लरेन्स स्कुल, सिम्लामा पुगेर प्लस टु गरे। त्यसपछि उनी नेपाल फर्के।

डाक्टर बन्ने सपना बोकेका आशिष एमबीबीएस अध्ययनका लागि सन् १९९७ बंगलादेश पुगे। ढाका विश्वविद्यालयको बंगलादेश मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना भए।

सन् २००२ एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक वर्ष इन्टर्नसीप गरे। त्यसपछि त्यहिँ करार जागिरे भएर मेडिकल अधिकृतका रूपमा एक वर्ष काम गरे।

डा. आशिषलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा एनेस्थेसिया विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन गर्न थाले। सन् २०११ मा तीन वर्षे एमडी अध्ययन पूरा भयो।

एमडी अध्ययनपछि डा. आशिषले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रार पदमा करार जागिरेका रूपमा काम सुरू गरे। जागिर सुरु गरेको दुई वर्षमा उनी गंगालालमा स्थायी भए।

गंगालालमा चार वर्ष काम गरेपछि डा. आशिष थप अध्ययनका लागि मलेसिया पुगे। त्यहाँ उनले विशेषगरी मुटुरोग लागेका बिरामीको शल्यक्रियाका क्रममा बेहोस बनाउने र ब्यूँत्याउने सम्बन्धि थप ज्ञान तथा सिप सिके।

यस किसिमको एनेस्थेसियालाई चिकित्सकीय भाषामा ‘कार्डियाक एनेस्थेसिया’ भनिन्छ। मलेसियामा यो एक वर्षे फेलोसिप सकेर उनी स्वदेश फर्किए।

डा. आशिषले गंगालालमा नै निरन्तर काम गरिरहे। अहिले डा. आशिष गंगालालमा एनेस्थेसिया विभागको प्रमुखको भूमिकामा समेत छन्।

बिरामीका आफन्तलाई राम्रो परामर्श आवश्यक
त्यसो त अस्पताल पुगेका सबै बिरामी बचाउन सम्भव हुन्छ नै भन्ने एकिन हुँदैन। तर, बिरामीको स्वास्थ्य अवस्थाको विषयमा बिरामीका आफन्तलाई राम्रोसँग बताइदिनुपर्ने उनको सुझाव छ।

उपचारको क्रममा बिरामीका आफन्तलाई पटक–पटक भेटेर बिरामीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिनुपर्ने उनको अनुभव छ। उपचारका क्रममा बिरामीको स्वास्थ्य जटिलता निम्तिएको खण्डमा एकैचोटी भनिदिँदा बिरामीका आफन्त आत्तिने अनि जतिलता स्वीकार्न पनि कठिन हुने उनको अनुभव छ।

तर, सम्भावित जोखिमका विषयमा बताइदिँदा बिरामीको आफन्त पनि मानसिक रूपमा त्यहीअनुसार तयार हुने उनको अनुभव छ।

रगतको व्यवस्थापन आवश्यक
बिरामीलाई रगतको व्यवस्थापन गरिदिनु अस्पतालकै जिम्मेवारी हो भन्ने लाग्छ डा. आशिषलाई। तर, नेपालमा भने रगतको आवश्यक पर्ने बिरामीका लागि बिरामीका आफन्तले नै दुःख पाउनुपर्ने अवस्था रहेको उनले सुनाए।

त्यसैले नेपालका अस्पतालहरूमा रगतको व्यवस्थापनका लागि एउटा मापदण्ड नै बनाएर रगतको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ। रगतको व्यवस्थापनसम्बन्धी मापदण्ड बनाएर रगतको व्यवस्थापन गरेको खण्डमा बिरामी तथा बिरामीका आफन्तले दुःख पाउने स्थिति नहुने उनको भनाइ छ।

२ भदौ, २०८०, १५:०८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।