चौथो अंग : सूचना भेरिफाइ गरेर तथ्य पस्कनु नै पत्रकारिता हो, न कि स्रोतको नाम पोलेर उम्किनु

चौथो अंग : सूचना भेरिफाइ गरेर तथ्य पस्कनु नै पत्रकारिता हो, न कि स्रोतको नाम पोलेर उम्किनु

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँच वटा जन्ममिति भएको र आफूलाई जुन प्रयोग गर्दा फाइदा हुन्छ त्यही प्रयोग गरेको देखियो। २०७४ सालमा यो समाचार लेखियो। समाचार लेख्दा स्रोतले पेन ड्राइभमा राखेर विभिन्न प्रमाणपत्रमा प्रयोग भएका जन्म मिति दिएका थिए।

यो बलियो खुराक त थियो नै। तर, स्रोतले दिँदैमा अन्तिम सत्य भने हुँदैन भनेर कर्मचारी सञ्चय कोषदेखि उनका सर्टिफिकेट पेश हुने संस्थाहरू धाएर भेरिफाइ गरियो अनि समाचार छापियो।

प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि अदालतमा अवहेलना मुद्दा दर्ता भयो। तर, २०७६ सालमा सर्वोच्च अदालतले फैसलाको आलोचना वा न्यायाधीश व्यक्तिगत रूपमा जवाफदेही हुनुपर्ने विषयमा गरिएका टिप्पणीले अवहेलना नहुने ठहर गरिदियो। 

यसको अर्थ अदालतले कुन हदसम्मको मुद्दालाई अवहेलना मान्ने, कुनलाई नमान्ने भन्ने सन्दर्भमा ख्याल पुराएको देखिन्छ।

स्रोतले कुनै सूचना दियो भन्दैमा भेरिफाइ नै नगरी समाचार प्रकाशन तथा प्रसारण गर्दा मुद्दा पर्यो भने कारबाही भोग्ने रिपोर्टरले नै हो। अदालत होस् या जुनसुकै क्षेत्रको रिपोर्टिङ गर्दा होस्, भेरिफाइ नगरी समाचार लेख्नुहुँदैन। पत्रकारको काम नै प्राप्त सूचनालाई भेरिफाइ गरेर तथ्य कुरा पस्कने हो।

०००

‘भेरिफाइ गरौं, तथ्य पस्कौं’
२०६२/ ६३ को आन्दोलन ताका हो मैले पत्रकारिता शुरू गरेको। सगरमाथा रेडियोबाट शुरू भएको मेरो पत्रकारिता पछि पत्रिकासम्म पुग्यो। लोकमान सिंह कार्की अख्तियार दूरुपयोग आयोगको प्रमुख भएकै बेला मैले अख्तियारको रिपोर्टिङ थालेँ।

अख्तियारको रिपोर्टिङ गर्ने भएपछि विशेष अदालत जोडिने नै भयो। अदालतको रिपोर्टिङ भएपछि कानून पनि पढियो, जसले अदालती काम गर्ने शैली के कसरी रिपोर्टिङ गर्ने भन्नेबारे केही हदसम्म जानकारी भयो। पत्रकारिताको २० वर्षे करियरमा धेरैजसो रिपोर्टिङ मैले अदालतसँग नजिक भएर गरेको छु।

अलि अघि मेडिकल शिक्षाको बेथितिबारे व्यापक समाचार आउन थालेको थियो। रामु सापकोटाले अदालतलाई कसरी प्रभावमा पारे भनेर एक व्यक्तिको भनाइ ल्याएका थिए।

अदालतलाई ती व्यक्तिले जसरी प्रभावमा पारेँ भनेका थिए त्यो सत्य थियो की थिएन भनेर भेरिफाइ गरियो। भेरिफाइ गर्दा धेरै प्रमाणहरू जुटे। के सम्म देखियो भने मेडिकल कलेजहरूको मुद्दा अमुक न्यायाधीशको इजालसमा पर्ने, सो न्यायाधीश जता जान्छन् उतै त्यो मुद्दा जाने गरेको रहेछ।

अदालतबाट स्टे अर्डर लिएर जथावाभी विद्यार्थी भर्ना गर्ने गरेको देखिएपछि ‘जता पराजुली उतै रिट’ भनेर समाचार लेखेँ। मेडिकल कलेजहरूको सिट कटौतीको निर्णयविरुद्ध परेका ४ रिटको प्रारम्भिक र एकपक्षीय सुनुवाइ गर्दै न्यायाधीश गोपाल पराजुलीले सबैलाई अन्तरिम आदेश दिएका थिए।

पुनरावेदन अदालतमा दुई र सर्वोच्चमा न्यायाधीश नियुक्त भएपछि थप दुई गरी उनले चार अन्तरिम आदेश दिएका दिएका थिए। पराजुली पुनरावेदन अदालत पाटनमा कार्यरत रहुन्जेल सञ्चालकले उस्तै माग भएको रिट पुनरावेदनमा दिए। जब पराजुली सर्वोच्चमा पुगे, निवेदकहरू रिट लिएर सर्वोच्च गएका थिए।

समाचार छापिएपछिस फेरि अवहेलनाको मुद्दा परेको थियो। यो विषय बाहिर उठेपछि छानविन समिति पनि बन्यो। त्यो समितिले काम गर्न सकेन।

स्रोतले दिएको सूचनालाई भेरिफाइ गर्दै लेखेका समाचारका बारेमा मुद्दा परेपछि अदालतमा सुनुवाइ भयो। अदालतले तथ्य हेरेपछि मुद्दा नै खारेज गरिदिएको पनि छ। त्यसकारण पत्रकारले आफ्नो तथ्यमा ढुक्क भएर मात्रै समाचार छाप्नुपर्छ। नत्र आइपर्ने अवस्थाको भागिदार त आफैँ हुने हो।

स्रोत जोगाउनु रिपोर्टरको दायित्व 
केही वर्ष जग्गा सम्बन्धी विवादमा समाचार गरियो। धेरै कर्मचारी तथा नेताहरूको संलग्नता भएको समाचार थिए ती। हामीले अनुसन्धान गर्दै जाँदा जसले सूचना दिएका थिए, तिनै व्यक्ति समेत त्यो घटनामा संलग्न भएको पाइयो। त्योबारे लेख्नैपर्योा, लेखियो पनि।

मैले ‘जसले सूचना दिए, उही व्यक्ति संलग्न’ भनेर समाचार लेखेँ। तर, सम्पादकले समाचार पढ्नेबित्तिकै हुँदैन भन्नुभयो। उहाँले जस्तोसुकै अवस्थामा पनि स्रोत जोगाउनुपर्छ भनेर समाचारमा ती स्रोतको नाम किटान गर्नुहुँदैन भन्नुभयो। त्यसपछि समाचारको एङ्गल नै परिवर्तन भयो।

हालसालै एक अनलाइनको समाचारमा अदालतले हटाउन निर्देशन दिँदा स्रोतको नाम बाहिरियो नि! यो तरिका भएन। स्रोत भनेको पत्रकारका लागि अति नै महत्वपूर्ण र संवेदनशील हुन्। आफू मुद्दा मामिलामा परे पनि स्रोत जोगाउनुपर्छ भन्ने पत्रकारहरूले बुझ्न जरुरी छ।

स्रोतले सूचना दिएपछि भेरिफाइ नगरी समाचार प्रकाशन गर्नु रिपोर्टरको कमजोरी हो। आफू भेरिफाइ नगर्ने, स्रोतको नाम पोलेर आफू उम्किनु पत्रकारको नैतिकताभित्र पर्दैन। प्रमाण पुगेको खण्डमा अदालत पनि मिडिया मैत्री नभएको होइन।

अदालत उदार बन्दै गएको छ 
विश्वनाथ उपाध्याय प्रधानन्याधीश हुँदा सर्वोच्च अदालतको काम कारबाहीमा असन्तुष्टि जनाउँदै ‘बाँदरको हातमा नरिवल’ भनेर कार्टुन बन्यो। हरिहर बिरहीलाई कारबाही पनि भयो। कार्टुन छाप्नेलाई मात्रै होइन, यो पत्रिकामा यो कार्टुन छापिएको छ भन्नेलाई समेत कारबाही गरेको थियो।

अघि पनि भनेँ, अदालतले अहिले फैसला र न्यायाधीशको कामकारबाहीमा प्रश्न उठाउन सक्ने भनेर फैसला गरिसक्यो। अहिले अदालत पहिले भन्दा धेरै उदार बनेको छ। कार्यपालिका र प्रेसबीचको द्वन्द्व हुँदा प्रेसकै पक्षमा निर्णय गर्ने अदालतले आफूलाई प्रश्न उठाएको हकमा भने अलि अनुदार हो की जस्तो लाग्नसक्छ। तर, पछिल्लो केही तथ्यमा आधारित समाचारलाई सहजै लिएका कारण अनुदारै भन्न चाहिँ मिल्दैन।

अहिले पत्रकारलाई लाग्ने भनेको अवहेलनाको मुद्दा हो। त्यसकारण रिपोर्टरले कस्ता कुरा उठाउने, कसरी उठाउने, कसरी प्रश्न गर्ने भन्ने विषयमा पोख्त हुन जरुरी छ। अदालत उदार बन्दै जानुको अर्थ स्रोतले दिएको सूचनालाई भेरिफाइ नै नगरी प्रसारण वा प्रकाशन गर्नुपर्छ भनेको होइन। कस्तो रिपोर्टिङ गर्ने अनि कसरी रिपोर्टिङ गर्ने भनेर मिडिया हाउसले पत्रकारलाई जागरुक बनाउनैपर्छ।

रिपोर्टिङ अझै फैलाउनुपर्यो्
घटना विशेषमा हामी पत्रकारहरू धेरै केन्द्रीत भएका छौँ। कुनै हाइप्रोफाइल विरूद्ध मुद्दा दर्ता भए समाचार लेख्ने भयौँ तर अझै पनि खोजी पत्रकारितामा चुकिरहेका छौँ। लामो समयसम्म फैसला नभएका मुद्दा, सम्बन्ध विच्छेदका मुद्दा, झुठा अभियोजनमा निर्दोषहरू बसिरहेका मुद्दाहरू केलाउन सकेका छैनौँ।

मिडिया हाउसले टिम नै बनाएर अदालती रिपोर्टिङको दायरा फराकिलो गर्ने हो। मिडियाले रिपोर्टिङको दायरा फराकिलो बनाउने हो। मिडियाको विश्वसनियता माथि प्रश्न उठ्दा अरूलाई त हो नि भनेर रमाउने होइन। डुङ्गा प्वाल पर्दा कोही जोगिदैनन्। त्यसकारण मिडियाको सबैभन्दा ठूलो पुँजी विश्वसनियता हो, यो गुम्दा घाटा पत्रकारितालाई नै हुन्छ, यसबारे बेलैमा सोच्नुपर्छ।

(रेडियो सगरमाथा, कान्तिपुर दैनिकमा काम गरेका ज्ञवाली अहिले अनलाइनखबरमा आबद्ध छन्। उनैसँग मिडिया र अदालतको सम्बन्धमा आधारित रहेर प्रजु पन्तले चौथो अंग कोलमको लागि गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला 

१ जेठ, २०८१, १८:२६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।