जब ६० वर्षका बाजे ११ किलोको लत्रिएको ट्युमर झोलामा बोकेर मकहाँ आएँ

जब ६० वर्षका बाजे ११ किलोको लत्रिएको ट्युमर झोलामा बोकेर मकहाँ आएँ

शरीरका विभिन्न भागमा विभिन्न किसिमका ट्युमर आएर दुःख दिन सक्छन्।

विशेषगरी अनुहारमा आउने ‘न्यूरो फाइब्रोमाटोसिस’ र ‘हेमान्जिओमा’ जस्ता ट्युमरले सुन्दरतामा असर पुर्याउने मात्रै हैन, व्यक्तिलाई सामान्य रुपमा जीउनसमेत असहज बनाइन्छ। 

यहाँ ‘न्यूरोफाइब्रोमाटोसिस’ ट्युमरको विषयमा चर्चा गरौं।

विशेषगरी अनुहार तथा शरीरमा पलाउने ‘न्यूरोफाइब्रोमाटोसिस ’ वंशाणुगत नसासम्बन्धी ट्युमर हुन्छ। यस्तो ट्युमर बुवा-आमा वा पुर्खामा आएको हुन सक्छ। बुवा-आमामा यस्तो ट्युमर नदेखिएको अवस्थामा समेत यस्तो किसिमको ट्युमर हुने गुण बोकेको अवस्थामा त्यस्ता व्यक्तिका सन्तानमा ट्युमर देखिन सक्छ। यस्ता ट्युमर बढेर ठूलो हुन सक्छ। 

यस्ता हुन्छन् असर

‘न्यूरो फाइब्रोमाटोसिस’ ट्युमर बढ्दै जाँदा ट्युमरकै कारण ज्यानै त जाँदैन। तर, मानसिक रुपमा भने पक्कै नकारात्मक असर पुर्याउँछ। 

यस किसिमको ट्युमरले अनुहार तथा शरीरको भाग कुरूप देखिन्छ। त्यति मात्रै कहाँ हो र दैनिक कामकाजमा समेत असहज हुन्छ नै। त्यसै कारण यस किसिमको ट्युमर भएका व्यक्ति मानसिक रुपमा बिछिप्त भएको अवस्थामा उपचारका लागि आइपुगेका पाइन्छ। 

‘न्यूरोफाइब्रोमाटोसिस’ ट्युमर औषधिले ठिक हुँदैन। बढेको ट्युमरलाई शल्यक्रिया गरी काटेर फाल्न भने सकिन्छ। तर, शल्यक्रिया गरेर फाल्दासमेत २/३ वर्षमा पुनः पलाउने जोखिम हुन्छ। ट्युमर पलाएको खण्डमा पुनः काटेर फाल्न सकिन्छ। 

६० वर्षको बाजेको ११ किलोका ट्युमर झोलामा

केही वर्षअघि ताप्लेजुङका करिब ६० वर्षका कृष्णप्रसाद भट्टराई उपचारका लागि आएका थिए। उनी ‘न्यूरो फाइब्रोमाटोसिस’ नामक वंशाणुगत नसासम्बन्धी ट्युमरले पीडित थिए।। उनको शरीरैभरि ट्युमर आएका थियो।दायाँबायाँ दुवैतर्फको गालामा थेग्नै नसक्ने किसिमले ट्युमर पलाएर बढेर लत्रिएको थियो। 

ती बाजेको गालमा भएको त्यो ट्युमर बढेर ११ किलोभन्दा धेरै भइसकेको थियो। पलाएको ट्युमर लत्रिएर कम्मरसम्म झरेको थियो। ती बाजेको कम्मरसम्म झरेको ट्युमर धान्न नसकेर झोलामा बोकेर हिँड्ने गरेका रहेछन्। मकहाँ पनि बाजेले ट्युमर झोलामा नै बोकेर आएका थिए। 

ट्युमरकै कारण ती बाजेले काम त कुरै छाडौं, सामान्य हिँडडुल गर्न समेत कष्ट भोगिरहेका थिए। उनी सामान्य ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्थे। उनलाई निकै कठिन भएको थियो। उनको ट्युमरमा घाउ भएर झिँगासमेत भन्किने अवस्था भइसकेको थियो। जसका कारण उनका छेउमा जानसमेत मान्छेहरू घिनाउँथे। 

ती बाजे अस्पताल आएपछि मरो नेतृत्वको चिकित्सकको टिमले ट्युमरको शल्यक्रिया थाल्यो। करिब नौ घण्टा लगाएर शल्यक्रिया गरी बाजेको गालाको ट्युमर निकालियो। शल्यक्रिया सफल भयो। त्यसपछि त बाजेका गालोको ट्युमरको त्यो भारी नै हट्यो। उपचारपछि ती बाजे डिस्चार्ज भएर दंग पर्दै घर फर्किए। 

त्यसैले कुनै ट्युमर आए चिकित्सकीय परामर्श लिन भने ढिला गर्नु हुँदैन। उपचार गरे ठिक हुन्छ।

(प्लाष्टिक  तथा कस्मेटिक सर्जन डा. जसवन शाक्यसँग गरिएको कुराकानी)

२० असार, २०८०, ११:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।