धुँदा हात, लाभैलाभ

धुँदा हात, लाभैलाभ

२१औं शताब्दीको अवस्थामा पनि साबुन पानीले हात धुँदा स्वस्थ्य रहन सकिन्छ भन्ने विषयको चर्चा गर्दा सामान्य जस्तो लाग्न सक्छ। तर, हात सफा नभएको अवस्थामा विभिन्न रोगको संक्रमणले आक्रमण गर्ने जोखिम उच्च हुन्छ।

साबुन पानीले हात धोएको खण्डमा हातमा भएका संक्रमण बगेर जान्छ। साबुन नभएको अवस्थामा पानीले मात्रै पनि हात धुन सकिन्छ। तर, साबुन पानीले हात धोएको खण्डमा भने साबुनमा भएको तत्वका कारण अझ धेरै संक्रमण हातबाट बग्न मद्दत मिल्छ र हात सफा हुन्छ।

हातमा चिल्लो तथा च्यापच्याप लाग्ने किसिमको फोहोर टाँसिएको हुन सक्छ। यस्तो अवस्थामा हात सफा नहुञ्जेल साबुन-पानीले मिचीमिची हात धुनुपर्छ।

साबुन पानीले हात धुने पनि तरिका छन्। विश्व स्वास्थ्य संगठनले पनि हात धुने तरिकाको बारेमा उल्लेख गरेको छ। हातमा फोहोर हुनसक्छ। साबुन पानीले हात धुँदा सबैभन्दा पहिला त हात पानीले भिजाउनैपर्यो। त्यसपछि हातमा धेरै धुलोमैलो भए पखाल्नुपर्यो नै। धुलोमैलो पखालेपछि हातको सबै भागमा पुग्नेगरी साबुन लगाउनुपर्छ।

हातमा साबुन लगाएपछि राम्ररी एकआपसमा हत्केलो रगड्नुुपर्छ। त्यसैगरी दाहिने हात देब्रे हातको पछाडी राखेर रगड्ने अनि देब्रे हात पनि दाहिने हातको पछाडी राखेर पालैपालो रगड्नुपर्छ।

त्यतिले मात्रै हात सफा हुँदैन। औँलामा औँला घुसाएर राम्रोसँग रगड्नुपर्छ। औंलाको पछाडीको भाग एक-अर्कामा जोडेर सफा गर्नुपर्छ। त्यसैगरी दाहिने हातले देब्रे हातको बुढी औंला राखेर घुमाएर साबुन पानीले सफा गर्नुपर्छ। यसरी पालैपालो बुढी औँला सफा गर्नुपर्छ। औँलो जोडेर अर्को हातको हत्केलामा घुमाउँदै रगड्नुपर्छ।

हातको सबैतिरको भागमा साबुनपानीले राम्रोसँग फिँज आउनेगरी रगडेपछि सफा पानीले हात पखाल्नुपर्छ। यसरी राम्रोसँग साबुन पानीले हात धोएपछि सफा कपडाले पुछ्न सकिन्छ। तर, यसरी एक व्यक्तिले हात पुछेको कपडा अर्को व्यक्तिले प्रयोग गर्नु हुँदैन। 

धुँदा हात, लाभैलाभ
हाछ्युँ गर्दा वा खोक्दा रुमाल वा कुहिनाले नाक र मुख छोप्नुपर्छ। जसले गर्दा सिंगान र थुकका छिटा अरु व्यक्तिमा पुग्दैनन् र व्यक्तिमा रोगको संक्रामण सर्ने जोखिमबाट बच्न सकिन्छ। यसरी हाछ्युँ गरेपछि तथा खोकेपछि साबुन पानीले हात धोइहाल्नुपर्छ। जसले गर्दा अरु व्यक्ति रोगको संक्रमण सर्ने जोखिमबाट बच्न सकिन्छ।

दिसा, पिसाब गरेपछि साबुन पानीले हात धोइहाल्नुपर्छ। कुनै पनि फोहोर वा कुनै किसिमको विषाधी छोएपछि हात धुन भुल्नु हुँदैन। बिरामीको स्याहार सुसार गर्दा होस् वा अस्पतालमा बस्दा नै किन नहोस्, साबुन पानीले हात धुन भुल्नु हुँदैन। खाना बनाउनु अघि होस् वा खाना खानु अघि, राम्रोसँग साबुन पानीले हात धुनुपर्ने हुन्छ। खाना खाइसकेपछि त हात धुनुपर्यो नै।

यसरी हात धोएपछि हातमा टाँसिएर रहेका विभिन्न रोगका संक्रमण पखालिन्छन् र व्यक्तिमा झाडापखाला, हैजालगायत विभिन्न रोग लाग्ने जोखिम कम हुन्छ। दिसा-पिसाब गरिसकेपछि वा कुनै पनि वस्तु चलाएपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ। जसले व्यक्ति स्वस्थ रहन सकिन्छ। 

साबुन पानीले हात धोएको खण्डमा व्यक्तिको शरीरभित्र रोगको संक्रमण प्रवेशबाट गर्न धेरै हदसम्म बच्न सकिन्छ। हात राम्रोसँग धुँदा विभिन्न किसिमका संक्रामक रोगबाट बच्न सकिन्छ। साबुनपानीले नियमित हात धुनाले विशेषगरी दिसापिसाब, फोहोरमैला, संक्रमित खानपान र पानीबाट सर्ने रोगको जोखिमबाट बच्न सकिन्छ।

राम्रोसँग साबुन पानीले नियमित हात धुनाले झाडापाखाला गराउने संक्रमणबाट बच्न सकिन्छ। फ्लु (इन्फ्लुइन्जा), कमन कोल्ड (एडिनो भाइरस, राइनो भाइरस र आरएसभी) जस्ता संक्रमणबाट बच्न सकिन्छ।

कमन कोल्डको समस्या हुँदा नाकबाट पानी बग्ने, हल्का ज्वरो आउने जस्ता लक्षण देखिन्छन्। कमन कोल्डको तुलनामा फ्लु बढी जटिल हुन्छ। कमन कोल्ड गराउने कारणका रूपमा राइनो भाइरस, एडिनो भाइरस र आरएसभी लगायत पर्छन्।

त्यसैले यस्ता विभिन्न रोगको संक्रमणबाट बच्न साबुन पानीले नियमित हात धुन भुल्नु हुँदैन।

(डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

जेठ १, २०८१ मंगलबार ०९:०३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।