‘उच्च प्रदूषणको बेला कोरोना संक्रमण भए स्वास्थ्य जटिलतासँगै मृत्युको जोखिम’

‘उच्च प्रदूषणको बेला कोरोना संक्रमण भए स्वास्थ्य जटिलतासँगै मृत्युको जोखिम’

काठमाडौं : कोरोना भाइरस संक्रमित भएको समयमा वायु प्रदूषण बढे स्वास्थ्यमा थप जटिलता निम्तिने देखिएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकाल तथा सरुवा रोग अस्पतालमा यो वर्ष वायु प्रदूषणले उच्च रूप लिएको अवस्थामा कोरोना भाइरस संक्रमित भएर भर्ना हुनेको संख्या समेत बढेको देखिएको हो।

माघमा तीन, फागुनमा १२, चैतमा १४ र वैशाखमा तीन जना कोरोना संक्रमित अस्पताल भर्ना भएको टेकु अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए। उनका अनुसार फागुन-चैतमा एकै दिन ५/६ जनासम्म संक्रमित अस्पतालमा भर्ना भएका थिए।

कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये अधिकांश पाको उमेर समूहका र श्वासप्रस्वाससम्बन्धी समस्या भएका व्यक्ति नै देखिएको निर्देशक डा. बसौलाले जानकारी दिए।

‘६०/७० वर्षकै, अलि पाको उमेरकाहरू अस्पताल भर्ना हुनुभयो,’ निर्देशक डा. बसौलाले भने, ‘दमजस्ता अन्य रोग भएको बढी भर्ना भएको देखियो।’

टेकु अस्पतालमा भर्ना भएका बिरामीको आँकडा हेर्दा फागुन-चैतको तुलनामा वैशाख महिनामा कोरोना भाइरस संक्रमित भएर भर्ना हुनेको संख्या घटेको देखिन्छ।

उता कान्ति बाल अस्पतालमा भने वायु प्रदूषण बढेको समयमा अन्य समस्या भएर अस्पतालमा बालबालिकाको चाप बढेको देखिए पनि कोरोना नै भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या भने खासै देखिएन।

कान्ति अस्पतालमा माघदेखि वैशाखसम्मको तथ्याङ्क हेर्दा चैतमा मात्रै एक जनामा कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको देखियो।

तर, टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन वायु प्रदूषणको समयमा कोरोना भाइरस संक्रमण बढेको समेत देखिएको बताउँछन्।

‘प्रदूषण बढेको समयमा कोरोना भाइरस संक्रमित पनि बढेका थिए’, डा. पुनले भने।

प्रदूषण बढेको समयमा कोरोना भाइरस संक्रमित भएर अस्पताल भर्ना हुने र संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढेको वैज्ञानिक अध्ययनहरूले देखाएको डा. पुनले बताए।

‘जब-जब प्रदुषण बढ्छ, तबतब हाम्रो श्वासप्रश्वासमा धक्का दिन्छ,’ डा. पुनले भने, ‘त्यसैले प्रदूषण बढेको बेला कोरोना संक्रमण भएको खण्डमा थप स्वास्थ्य जटिलता निम्तने र मृत्युको जोखिम समेत भएको अध्ययनले देखाएको छ।’

गत फागुन-चैतमा कोरोना संक्रमित भएर टेकु अस्पतालमा पुग्नेको संख्या बाक्लै भएको डा. पुनले अनुभव सुनाए। जुन टेकु अस्पतालको तथ्याङ्कबाट समेत पुष्टि हुन्छ।

त्यसैले कोरोना भाइरस संक्रमणको महामारीपछि फागुन-चैतमा देखिएको संक्रमणको पहिलो छाल(वेभ)को अवस्थालाई डा. पुनले ‘पोष्ट पेण्डामिक कोभिड वेभ’का रूपमा लिएका छन्।

‘मार्चतिर कोरोना संक्रमण भएर ह्वारै मान्छे अस्पताल आएका थिए,’ उनले सुनाए, ‘त्यो बेला प्रदूषण एकदमै बढेको थियो।’

कोरोना भाइरस संक्रमित भएका बिरामीमध्ये स्वास्थ्यमा जटिलता भएपछि नै अस्पतालमा पुग्ने गरेको देखिएको डा. पुन बताउँछन्। त्यसैले प्रदूषण बढेको समयमा विशेष सजगता अपनाउन उनको सुझाव छ।

डा. पुनको भनाइलाई आधार मान्दा कोरोना संक्रमित नै भइहाले पनि सामान्य अवस्थामा रुघाखोकी त होला नि भन्ठानेर व्यक्तिले कोरोना परीक्षण नै गराउँदैनन्। स्वास्थ्य जटिलता निम्तिए मात्रै अस्पताल पुगेर कोरोना परीक्षण गराउँछन्।

त्यसैले वायु प्रदूषण बढेको समयमा कति व्यक्ति कोरोना भाइरस संक्रमित भए भन्ने एकिन तथ्याङ्क समेत देखिँदैन।

त्यसो त प्रदूषणले सर्ने र नसर्ने दुवै किसिमका किसिमका स्वास्थ्य समस्या बढ्नसक्ने चिकित्सक बताउँछन्। विशेषगरी वायु प्रदुषण बढेको समयमा स्वासप्रश्वाससँग सम्बन्धित रोगहरू बढ्ने गरेको देखिन्छ। वायु प्रदूषण बढेको समयमा इन्फ्लुइन्जा (फ्लु), रुघाखोकी (कमनकोल) जस्ता स्वास्थ्य समस्या बढ्ने चिकित्सक बताउँछन्।

सन् २०१९ मा नेपालीहरूमा भएको एक अध्ययन अनुसार मृत्युलाई प्रभाव पर्ने प्रमुख जोखिम तत्वहरूमध्ये घरभित्रको वायू प्रदूषण र बाह्य वायु प्रदूषण नै प्रमुख देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को रिसर्च शाखाका प्रमुख डा. मेघनाथ धिमाल बताउँछन्।

‘नेपालमा मृत्युको प्रमुख कारण वायु प्रदूषण रहेको छ,’ उनले भने, ‘यो २० प्रतिशत छ।’

कान्तिमा बिरामीको चाप
कान्ति बाल अस्पतालको तथ्याङ्क हेर्दा वायु प्रदूषण भएको समयमा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको देखिँदैन। तर, वायु प्रदूषण भएको समयमा अन्य विभिन्न रोगको समस्या भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या भने उच्च देखिन्छ।

कान्तिबाल अस्पतालले उकेरालाई उपलब्ध गराको माघदेखि वैशाखसम्मको तथ्याङ्क हेर्दा अस्पतालमा चैतमा एक जना मात्रै बच्चा (बालबालिका) कोरोना भाइरस संक्रमित भएर अस्पताल भर्ना भएको देखिन्छ। तर, कोरोना भाइरसको संक्रमण भएपछि संक्रमणका कारण स्वास्थ्यमा जटिलता भएर माघ, फागुन र चैतमा क्रमशः एक/एक जना बालबालिका कान्ति बाल अस्पताल भर्ना भएको देखिन्छ।

माघमा तीन हजार चार सय १३ जना, फागुनमा चार हजार नौ सय ६०, चैतमा चार हजार एक सय ५९ र वैशाखमा चार हजार एक सय ६० बालबालिकालाई कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो।

त्यसैगरी माघ महिनामा ६ हजार नौ सय २४ बालबालिका कान्ति बाल अस्पतालको ओपिडीमा पुर्याइएको थियो भने फागुनमा यो संख्या ह्वात्तै बढेर आठ हजार तीन सय ६३ पुगेको थियो। त्यसैगरी चैतमा सात हजार एक सय ७९ र वैशाखमा सात हजार ४८ बालबालिकालाई कान्तिको ओपिडीमा पुर्याइएको थियो।

कान्ति अस्पताल भर्ना भएकामध्ये माघमा ९४ जनामा निमोनिया, फागुनमा एक सय २९ जना, चैतमा ७९ र वैशखमा ७० जनामा निमोनिया देखिएको थियो। त्यसैगरी माघमा ३९ जना, फागुनमा ४८, चैतमा ३८ र वैशाखमा २२ जना ब्रोङकाइटिस भएका बालबालिका कान्ति बाल अस्पताल भएका थिए।

वायु प्रदूषण बढेको समयमा बालबालिकामा विशेषगरी श्वासप्रश्वासजन्य समस्या बढ्ने भएकाले सतर्क रहनुपर्ने कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायको सुझाव छ।

अध्ययन भन्छ- ‘वायुप्रदूषण उच्च विन्दुमा पुग्दा कोरोना संक्रमितलाई श्वास फेर्न सकस’
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था एयर क्वालिटी इन्डेक्स (आइक्यु) को तथ्याङ्क अनुसार वैशाख १४ गते काठमाडौंको प्रदूषणको सूचक १ सय ९४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो। त्यसको एक सातापछि २१ गते प्रदूषणको सूचक २ सय १६ पुगेको थियो। जुन प्रदूषित हावाको अति उच्चतम विन्दु हो। वैशाख ३१ गते सोमबार भने काठमाडौंको प्रदूषणको सूचक घटेर ९४ माइक्रोग्राम प्रति घनमिटरमा झरेको छ।

एक्यूआई ५० माइक्रोग्राम सम्म हुनु राम्रो हो, ५० देखि एक सयसम्मलाई ठिकै मानिन्छ। १ सय ५० सम्म पुग्नु अस्वस्थकर हुन्छ भने दुई सयसम्म पुगे सबैका लागि अस्वस्थकर हुन्छ। हावाको गुणस्तर तीन सय पुग्नु भनेको जोखिमपूर्ण अवस्था हो।  तीन सयभन्दा माथि जानु घातक हो। वैशाखको अन्तिम समयलाई हेर्दा काठमाडौंमा प्रदूषणको सूचक त्यति अस्वस्थकर देखिँदैन।

टेकु अस्पतालको तथ्याङ्क अनुसार वायु प्रदूषणको समयमा कोरोना भाइरस संक्रमित भएर अस्पतालमा भर्ना हुनेको संख्यामा वृद्धि भएको देखिए पनि वैशाखमा काठमाडौंमा प्रदूषणको सूचक उच्च विन्दूमा पुगेको समयमा कोरोना संक्रमित भएर भर्ना हुनेको संख्या भने घटेको देखिएको छ। जुन थप अध्ययनको विषय हो।

विभिन्न अध्ययन तथा अनुसन्धानहरूले वायु प्रदूषणका कारण कोरोना भाइरस संक्रमितको स्वास्थ्यमा जटिलता निम्तने जोखिम हुने औंल्याएका छन्। उच्च वायु प्रदूषणले कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनसक्ने सम्भावना बढाउन सक्ने दुई वटा अध्ययनले देखाएका छन्।

त्यसैगरी ‘हार्वर्ड टीएच चेन स्कुल अफ पब्लिक हेल्थ’को एक अध्ययनले पनि बढी प्रदूषित हावामा बस्ने कोरोना संक्रमित व्यक्तिलाई स्वास्थ्य जटिलता निम्तने जोखिम बढी हुने औंल्याएको छ। वायु प्रदुषणका कारण कोरोना भाइरस संक्रमिति व्यक्तिको मृत्युको समेत जोखिम हुने सो अध्ययनले देखाएको छ।

‘वायु प्रदूषणले हृदयघात, स्ट्रोक, मधुमेह र उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ, जसले कोभिड-१९ को सङ्क्रमणबाट मृत्युको सम्भावना बढाउँछ’, हार्वर्डका सो अध्ययनमा भनिएको छ।

अध्ययन अनुसार वायु प्रदूषणको प्रत्यक्ष प्रभावका कारण कारोना भाइरस संक्रमितको मृत्यु हुन्छ भन्ने भनिहाल्न नसकिए पनि वायु प्रदूषणको दीर्घकालीन जोखिम र कोरोना भाइरस संक्रमितको मृत्युदरबीचको सम्बन्ध भने देखिएको उल्लेख छ।

‘पब्मेड’ जर्नलमा प्रकाशित एक अध्ययन पनि वायु प्रदुषणका कारण कोरोना भाइरस संक्रमितमा स्वास्थ्य जटिलता निम्तने जोखिम हुने औंल्याउँदै वायु प्रदुषण कम गर्नाले कोरोना भाईरस संक्रमितको स्वास्थ्यमा निम्तनसक्ने जटिलता र मृत्यु कम गर्न सकिने बताएको छ।

‘वायु प्रदूषणलाई कम गर्नाले कोभिड-१९ को गम्भीरता अनि मृत्युलाई कम गर्न र भविष्यमा हुने कुनै पनि सम्भावित श्वासप्रश्वासको महामारीको हानीलाई कम गर्न सकिन्छ’, पब्मेडमा प्रकाशित जर्नलमा उल्लेख छ।

यी अध्ययनबाट नै वायु प्रदूषण बढेको समयमा कोरोना भाइरस संक्रमण भएको खण्डमा थप स्वास्थ्य जटिलता निम्तिने जोखिम भएकाले यस्तो अवस्थामा सजगता अपनाउन जरुरी देखिन्छ।

कोरोना भाइरस संक्रमणको समयमा मास्क लगाउने, घरबाहिर कम निस्कने, सवारीसाधन कम चल्ने वा नचल्ने, भौतिक दूरी कायम गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान जस्ता सजगताका गतिविधि भएकाले सरुवा रोग लगायत प्रदूषणका कारणले निम्तिने स्वास्थ्य समस्या घटेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर कुमार अधिकारी भने, ‘(कोभिडको समयमा) सरुवा रोगहरू र प्रदूषित हावाका कारणले बढ्ने किसिमका स्वास्थ्य समस्या बढेनन्, उल्टो घटे।’

सम्बन्धित समाचार:-

३ जेठ, २०८१, १०:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।