अमेरिकामा आँधीका कारण तीन जनाको मृत्यु, २ करोड ८० लाख प्रभावित

अमेरिकामा आँधीका कारण तीन जनाको मृत्यु, २ करोड ८० लाख प्रभावित

एजेन्सी : अमेरिकाको दक्षिणी राज्य अर्कान्सासमा शुक्रबार आएको विनाशकारी आँधीका कारण तीन जनाको मृत्यु भएको छ। दर्जनौं मानिस घाइते भएका छ।

ठूलो क्षति भएको आँधीबाट उत्तरपूर्वी इलिनोइस, उत्तरपश्चिम इन्डियाना, दक्षिणी विस्कॉन्सिन, र लेक मिशिगनका २ करोड ८० लाख मानिस प्रभावित भएको राष्ट्रिय मौसम सेवालाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।

प्रभावित क्षेत्रमा ११० किलोमिटरभन्दा बढि हावाको गति र ठूलो असिना पर्न सक्ने खतरा छ। आँधीका कारण अर्कान्सासमा विद्युत आपूर्ति ठप्प हुुँदा प्रदेशका ९३ हजार जनता अन्धकारमा बस्न बाध्य भएका छन्।

मेयर फ्रान्क स्कट जुनियरले ट्वीटरमा लेखेका छन्, ‘यस समयमा, हामीलाई लिटिल रकको अस्पतालमा भर्ना भएका २४ व्यक्तिको बारेमा थाहा छ। हामीलाई लिटिल रकमा कुनै पनि मृत्युको बारेमा अझै थाहा छैन।’

आँधीका कारण धनमालमा ठूलो क्षति पुगेको उनले बताए। राज्यका धेरै ठाउँमा रुख ढलेका कारण सडकमा सवारी आवागमन प्रभावित भएको छ। धेरै मानिसका घर ध्वस्त भएका छन्।

योसँगै लिटिल रकबाट १७० किलोमिटर उत्तरपूर्वमा रहेको वेन शहर पनि आँधीको चपेटामा परेको छ।

अर्कान्सासका गभर्नर साराह स्यान्डर्सले ट्वीटरमा लेखेकी छन्, ‘राज्य स्रोतको उचित प्रयोगका लागि नयाँ जानकारी र निर्देशनहरू उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग सम्पर्कमा छु। कृपया स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्नुहोस्।’

१८ चैत, २०७९, ०८:१७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।