अस्ट्रेलियामा रहेका नेपालीले सम्झिए पृथ्वीनारायण शाहलाई

अस्ट्रेलियामा रहेका नेपालीले सम्झिए पृथ्वीनारायण शाहलाई

सिड्नी : अस्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्तीको अवसर पारेर ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत सबै राज्यका प्रमुख शहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा कार्यक्रम गरेका हुन्।

सिड्नीमा आयोजित कार्यक्रममा नेपाल तथा अस्ट्रेलियाका नेपाली समुदायका बौद्धिकहरूको सङ्गोष्ठी सहितको माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा नेपालबाट पत्रकार युवराज घिमिरेले नेपाल एकीकरणमा शाहको योगदानलाई धुमिल बनाउन मिसनरीहरूले उनीहरूको अनुकूल नेपालको इतिहासको व्याख्या गर्ने अनुसन्धान गराइरहेको बताएका थिए।

‘यतिखेर नेपामा दिव्योपदेश नक्कली हो भन्ने समेत स्थापना गर्ने काम भइरहेको छ। अनुसन्धान हुनु राम्रो हो, तर अनुसन्धान गर्नेहरूलाई कसले ‘फण्ड’ गरिरहेको छ भन्ने पनि हेरिनु पर्छ’ घिमिरेले भने।

व्यवसायी तथा अस्ट्रेलियाको नेपाली समुदायका अगुवा मेघराज श्रेष्ठले देश रहे मात्र नेपाली रहने भएकाले नेपालीको पहिचान मेटिने गरेर नचाहिने विवाद झिक्नु ठिक नभएको बताएका थिए।

हिमानी कोष अस्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेतले पृथ्वीनारायण शाहको एकीकरणको नतिजाको रूपमा गोर्खाली र नेपाली भनेर पहिचान र एउटा सबल देश पाएकोमा नेपालीहरूले गर्व गर्नुपर्ने बताइन्।

अस्ट्रेलियाका नेपाली पण्डित प्रकाश ढोडारीले सबै नेपालीले श्रद्धा र गर्वको विषयका रूपमा नेपालको राष्ट्रिय एकतालाई लिनु पर्ने बताए।

अस्ट्रेलियाका युवा अभियन्ता तथा व्यवसायी दीपक पौडेलले नेपाल निर्माताका बारेमा वर्तमानमा जुन वादविवाद निकाल्न खोजिएको छ त्यो आवश्यक नभएको बताए।

कार्यक्रममा एनआरएन अभियन्ता तथा नेपाली समुदायका युवा नेता डिला खरेलले नेपाली भएर विश्वको कुनै पनि कुनामा शिर उठाएर हिँड्ने अवस्था बनाउन आउने पुस्तालाई समेत मिल्नु नै सबैभन्दा महत्त्वको विषय रहेको उल्लेख गरिन्।

२८ पुस, २०७९, १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।