हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

काठमाडौं : हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रैशी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ।

इरानी पत्रिका तेहरान टाइम्सका अनुसार बाक्लो कुहिरोका कारण यो दुर्घटना भएको हो। दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा भएको हो।

समाचारमा पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको जनाइएको छ।

इरानको एक टिभी च्यानलका अनुसार बाक्लो कुहिरो तथा वर्षाका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भएको छ।

हेलिकप्टर खोज्नका लागि सेनाले सबै उपकरणहरू प्रयोग गरिरहेको इरानी सेनाका एक अधिकारीले तेहरान टाइम्सलाई बताए।

इरान इन्टरनेशनलका अनुसार हेलिकप्टर पूर्ण रूपमा जलेको र कसैको बाँच्ने सम्भावना नरहेको जनाएको छ।

इरानको प्रेस टिभीका अनुसार राहत तथा उद्धार कार्यमा संलग्न टोलीले सोमबार बिहान दुर्घटनास्थल पत्ता लगाएका छन्।

उड्नुअघि इरानी राष्ट्रपति इब्राहिम रायसी र अजरबैजानका राष्ट्रपतिले दुई देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए।

इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन्।

यो हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए।

यो हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो।

जेठ ७, २०८१ सोमबार १०:३४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।