उनीहरूलाई दलितको मुद्दासँग के लेनादेना ?

उनीहरूलाई दलितको मुद्दासँग के लेनादेना ?

काठमाडौँ : पछिल्लो समयको चर्चित टेलिफिल्म 'जुठे', ५० को दशकमा प्रदर्शन भएका फिल्म 'रगत', 'सिमाना' र पछिल्लो 'प्रसाद' सम्म आइपुग्दा नेपाली कलाजगतले उपद्रो क्रान्ति गरेको भनेको छुवाछूत भेदभाव गर्नुहुँदैन, ठुलो सानो जात भन्ने हुँदैन, अन्तरजातीय बिहे लगायतका विषय नै हुन्।  

२०५२ मा प्रदर्शनमा आएको (बहुदलपछि सम्भवतः पहिलो) जात व्यवस्थासँग सम्बन्धित फिल्म 'सिमाना' देखि 'प्रसाद' सम्मले दलित कथालाई त बुने तर मुद्दाको गहिराइमा नपसी कमजोर प्रस्तुतिमा।

समग्र जात व्यवस्था र दलितहरूले गरेका एवं गर्नुपर्ने सङ्घर्ष देखाएनन्। 'उच्च भनिने जातकी केटी हुन्छिन् र केटा तल्लो जातको। ती दुई दलित र गैर दलितबीचमा प्रेम बस्छ। गैर दलित समुदायकी ती केटी आर्थिक रूपमा सम्पन्न हुन्छिन् तर केटो विपन्न। अझ कुनै कुनै परिस्थितिमा त ती सम्पन्न देखाइएका गैर दलित मुखिया/साहुकहाँ दलितहरू अनिवार्य हली बसेकै हुन्छन्।

प्रेमपश्चात् केटा वा केटी पक्षबाट एउटा संवाद अनिवार्य हुन्छ, ‘हामीबीचमा जातको पर्खाल छ, त्यसैले हामी एकर्काका हुन सक्दैनौँ। धेरै भएमा ती दुईबीच  बिहे हुन्छ' दलित मुद्दामा बनेका अधिकांश फिल्मको सार लगभग यस्तै हुन्छ।

त्योभन्दा पनि यथास्थितिवादी चेतनाले दिने डरलाग्दो सन्देश मानिसहरू बिस्तारै परिवर्तन हुँदैछन्, यो आफैँ परिवर्तन हुँदै जान्छ भन्ने गम्भीर नकारात्मक सन्देश हो। कलाकर्मीको चेतना योभन्दा माथि उठ्न सकिरहेको देखिँदैन।

अर्को पश्चगामी चेतनाले 'प्रकाश' जस्ता फिल्महरूको निर्माण गर्छ जसले समाजको मर्म विपरीत 'आरक्षण प्रणाली' को विरोध गर्छ। 

आज पनि नेपाली सिनेमामा मधेसी भन्यो भने कि हास्यपात्र कि खलपात्र हुन्छन्। किनकि सिनेमा, मिडिया, टेलिभिजन, रेडियो सबैमा जात व्यवस्थामा हाबी छ। त्यो भनेको पहाडी हिन्दु उच्च जातीय सौन्दर्य मूल्य हो। त्यो भनेपछि ब्राह्मण, क्षेत्रीलाई हिरो हिरोइन बनाउनै पर्ने सोच हो। अनि मधेसी, मुस्लिमहरू सिनेमामा कहाँ अटाउनु?

हरेक कुराहरू समाजले उत्पादन गर्छ। स्वाभाविकै छ, समाजले आफ्नो स्तरका उत्पादनहरू उत्पादित गरिरहेको छ। त्यसैको उदाहरण नेपाली फिल्म, नाटक र टेलिफिल्म मेकरहरूलाई लिन सकिन्छ।

दलित समुदायको विषयवस्तुलाई पर्दामा देखाउने सवालमा मेकरहरूको आजसम्मको चेतनालाई हेर्दा अग्रगामी, यथास्थितिवादी र पश्चगामी रूप देखिन्छन्। 

अग्रगामी चेतनाले राजनीतिक रूपमा अधिकार सम्पन्न बन्न अग्रसर गराउँछ। जस्तो कि, 'दलन' लगायतका टेलिफिल्मले त्यो प्रयास गरेको थियो।

यथास्थितिवादी चेतनाहरू निकै खतरनाक हुन्छन् जसले समाजले अगाडि जानै दिँदैनन् । नेपालमा यही चेतनामा थुप्रै कलाहरू प्रस्तुत गरिएका छन्।

लेखक तथा चिन्तक आहुती भन्छन्, 'सामाजिक व्यवस्था नै भत्काउनुपर्छ भन्ने चेतना नआएसम्म सिनेमा गतिला बन्दैनन्। विषयवस्तु नै ठिक ढंगले प्रस्तुत भइरहेको छैन। जात व्यवस्थासँग सम्बन्धित विषय पनि फिल्म बन्न थाल्यो। खुसी मनाउन सक्ने कुरा यति हो।' 

दिल र जातबाट माथि उक्लिन नसकेको फिल्मजगत

नेपालमा बनेको पहिलो फिल्म 'आमा(२००८)' देखि ०८० सम्म आइपुग्दा नेपाली फिल्मको लय एकै किसिमको देखिन्छ, भारतीय मुम्बईया फिल्मको प्रभावग्रस्त।

उसो त, नेपालमा फिल्म संस्कृतिको सुरुवात नै पञ्चायतले आफ्नो प्रचार गर्नको लागि सुरु गरेको देखिन्छ। चलिरहेको ट्रेन्डलाई भत्काएर 'लुट', 'साँघुरो', 'वधशाला', 'चपलीहाइट', 'कालोपोथी' जस्ता सूक्ष्म मानवीय विषय उठान गरिएको फिल्महरू पछिल्लो समय बने। विभिन्न जातीय तथा भाषिक फिल्महरू पनि नबनेका होइनन्।

तर, अपवादबाहेक अधिकांश फिल्मले नेपाली माटो बोल्न सकेनन्। 

'मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन' नेपाली समाज यही यथास्थितिवादमा अड्कियो। त्यसैको प्रभाव कला तथा साहित्यमा पनि देखियो। नेपाली सिनेक्षेत्र योभन्दा माथि उक्सिनै सकिरहेको छैन।

लक्ष्मीप्रसाद देवकोटाले भनेको यो उद्धरण उनको दशकमा निकै क्रान्तिकारी थियो। तर, अब त्यो अवस्था रहेन। मान्छे दिलले ठुलो हुन्छ तर जात चाहिँ हुनुपर्छ भन्ने यथास्थितिवादले समाजको प्रगतिलाई रोकिरहेको लेखक तथा चिन्तक आहुतिको तर्क छ। यसैको सेरोफेरोमा बन्ने फिल्मले समाज परिवर्तन कसरी गर्न सक्लान्?

केही सकारात्मक पक्ष नभएको हैन। अन्य क्षेत्र हेरिकन नेपाली कला क्षेत्र मात्रै त्यस्तो क्षेत्र हो, जहाँ दलित समुदायको बाक्लो उपस्थिति छ। यसैको कारण पनि हुनसक्छ, पछिल्लो केही दशकयता फिल्म, टेलिफिल्म, म्युजिक भिडियोहरूमा दलितको कथा पस्किन थालिएको छ। तर, उहीँ पुरातनवादी सोच हट्न भने सकेको छैन।

दलित समुदायका श्रम सीपहरू कुनै विज्ञानभन्दा कम छैनन्, उनीहरूका कलाहरू उच्च भनिएका जातको भन्दा कमसल होइनन्, दलित समुदायको सौन्दर्य मूल्य शानदार छन्। विडम्बना, फिल्मले यी कथा कहिल्यै सशक्त देखाइएनन्। आज पनि दलितहरूको झुत्रेझाम्रे, माग्ने, हली, गोठालोसम्म मात्र चरित्रचित्रण हुँदै आएको छ।

हुन त सिनेमा भनेको लगानी पनि हो। दलितलाई गरिब, झुत्रे, देखायो भने बिक्छ भन्ने लागेको हुनसक्छ । तर यो भ्रम मात्र हो।

पहिलो कुरा त दलितको विषयवस्तुलाई पर्दामा देखाउने आँट र मन धेरै कम फिल्ममेकरले गरेका छन्। यसको एउटै कारण हो, हाम्रो सामाजिक संरचना र जात व्यवस्थामा हुर्किएको मानसिकता।

अपवादलाई छोडेर धेरै फिल्मकर्मीहरूमा समाज बोध र त्यसमा पनि जात व्यवस्थाबारे ज्ञान नै देखिँदैन। त्यसैले पनि यस विषयवस्तुलाई हत्तपत्त पर्दामा देखाइँदैन र देखाइहाले पनि अत्यन्त कमजोर र मजाकको मनोरञ्जनको रूपमा बनाइन्छ।

हाम्रा मेकरहरू यथास्थितिवादी चेतभन्दा माथि उठ्न सकेका छैनन् भन्ने आधारलाई 'जुठे' का निर्देशक बल्छी धुर्बेको बुझाइले पनि पुष्टि गर्छ। 

उनी भन्छन्, 'पहिला हामीले आगोपानी हालेकै देखायौँ, अहिले त्यो होइन भनेर सुध्रायौँ, मन्दिर पस्न हुँदैन भन्ने देखायौँ फेरि पछि आएर मन्दिर पस्न हुन्छ भन्नेसम्म बनायौँ, पधेरामा पनि पस्नहुँदैन भन्नेबाट पस्नहुन्छ भन्नेमा पुराइसक्यौँ।

तर, जुठे भन्ने पात्रले एकैचोटि धनी भएर समाज परिवर्तन गर्छ भन्ने चाहिँ हुँदैन। तर, अन्तिममा जुठे सशक्त हुन्छ। विद्रोह गर्छ। त्यो विद्रोह भनेको चाहिँ जुठेले जुनकिरीसँग विवाह गर्छ भन्ने हो।'

उनको बुझाइमा अन्तरजातीय प्रेम नै विद्रोह हो, त्योभन्दा माथि अरू हुनेछैन। धारावाहिक श्रृखंला भएकाले बिस्तारै परिवर्तन हुँदै जान्छ भन्ने देखाइँदै आइएको उनको भनाइ छ।

आजका दशकका फिल्महरूले बोल्नुपर्थ्यो, जात व्यवस्था अन्त्य हुनुपर्छ, राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ, जातीय पहिचान, संस्कृति मेट्नुहुन्न, आर्थिक-सामाजिक प्रणाली समान हुनुपर्छ। तर, यहीँ चुकिरहेका छन् मेकरहरू।

दलित मुद्दाकै भद्दा मजाक

पञ्चायतकालमै जातमा आधारित 'बद्लिँदो आकाश' सिनेमा बनेको थियो। ब्राह्मण र क्षेत्रीबीचको कथा थियो त्यसले बुनेको थियो । त्यहाँ पनि धेरथोर जात व्यवस्थामाथिको धक्का दिन खोजिएकै देखिन्छ।

त्यसपछि, नेपालमा दलितको मुद्दामाथि बनेको पहिलो टेलीसिरियल 'काली गण्डकीको सेरोफेरो (०५३)' हो । तर त्यसयता पनि कयौँ टेलीसिरियलहरूमा दलित समुदायको कथा बुन्न कोसिस नगरिएको त होइन तर ती सिरियलहरूमध्ये आहुतिको लेखन र नवीन सुब्बाको निर्देशनमा रहेको 'दलन' बाहेक सम्झिन लायक प्रभाव छाड्न सकेनन्।

बनेका सिरियलहरूले पनि समुदायगत सतही ज्ञान नभई हल्काफुल्का विषयको रूपमा प्रस्तुत गर्ने गरेका छन्। जसको पछिल्लो उदाहरण हो, बल्छी धुर्बे (मरिचमान श्रेष्ठ) र राजु मास्टर (राजु पौडेल)को कथा तथा निर्देशनमा रहेको टेलिसिरियल 'जुठे'।

त्यस सिरियलले दलितको मुद्दालाई यति भद्दा मजाकको रूपमा प्रस्तुत गर्यो कि त्यसले दलित मुक्ति होइन, दलित समुदायकै अपमान गर्यो। 

सिरियलको पहिलो अङ्कमा जुठे भन्ने पात्रले हँसिया अर्जाप्छ तर बिँड नफुकाली। बिँड नफुकाली अर्जाप्दा बिँड डढ्छ भन्ने पात्रगत सामान्य ज्ञान समेत नभएकाले यस्तो गहन विषयमा सिरियल बनाएपछि …?

विषयवस्तुको ज्ञान नभई 'जुठे' बनाउनु भएको हो भन्ने प्रश्नमा लेखक बल्छी धुर्बे भन्छन्, 'आआफ्नो दृष्टिकोण हो। जुठेको हकमा चाहिँ हाम्रो संस्कृति यस्तो पनि थियो है भनेर देखाउन खोजेका हौँ। दलितलाई अपमान गरेको जस्तो मलाई लाग्दैन। जुठेको अन्तिम निष्कर्ष भनेको मान्छे मान्छे एउटै हुन्छ भन्ने हो । जुठे भन्ने विश्वकर्माको छोरोले जुनकिरी भन्ने त्यहाँको सम्भ्रान्त राजाको छोरीलाई बिहे गरेर यो कथा टुङ्गिन्छ।'

दिनेश राउतको निर्देशनमा बनेको फिल्म 'प्रसाद'को कथा पनि उस्तै छ। दलित पात्र बाबुरामका परियार (विपिन कार्की)का कारण कथित उच्च जातकी नारायणी (नम्रता श्रेष्ठ)को कोखमा बच्चा हुन नसकेको देखाइएको छ। झट्ट हेर्दा सामान्य लागे पनि यसभित्रको अन्तर्य भने डरलाग्दो छ।

दलित पात्र बाबुरामले यौन सम्बन्ध राख्दा बस्न नसकेको गर्भ उच्च जातको अर्को पुरुष (निश्चल बस्नेत)ले बलात्कार गरेपछि नारायणीको कोखमा बच्चा हुन्छ? यसले कुन सन्देश प्रवाह गर्न खोजेको हो? अझ सिनेमाले ती बलात्कार गर्ने पात्रलाई समेत सहजै स्वीकार गरेको छ, आफ्नो बलात्कारी विरुद्ध महिलाहरूले (नारायणी) बोल्नु नपर्ने/नहुने हो? बलात्कारबाट जन्मिएको बच्चालाई प्रसादको रूपमा स्विकार्नुपर्ने, यो कस्तो मानसिकता?

यसै सन्दर्भमा निर्देशक राउत भन्छन्, 'मेरो असन्तुष्टि मेरो आफ्नो माध्यमबाटै पोख्ने हो। त्यही क्रममा मैले प्रसाद, प्रकाशमा त्यो असन्तुष्ट पोखेँ। सकारात्मक, नकारात्मक प्रतिक्रिया त आइहाल्छ। जातीय विभेद हुनुहुँदैन भन्ने मात्र हो। अनि प्रसादमा बाबुराम परियार पात्रले गाउँबाट अन्तर्जातीय बिहे गरेर, शहर आएर, त्यहाँ स्थापित भएर, कसैबाट जन्मेको बच्चालाई स्विकारेर बस्नु भनेको क्रान्ति होइन र?' 

अन्धाधुन्ध विषय प्रस्तुत गर्नेक्रम 'प्रसाद' टिमले त्यतिमा मात्र रोकेन। 'प्रसाद -२' नै बनायो। प्रसाद -२ सम्म आइपुग्दा पात्र बाबुराम परियार (विपिन कार्की)लाई राजनीतिक रूपमै सशक्त बनाउने कोसिस गरिएको छ। विद्रोही जस्तै देखाइएको छ। तर, लङ्गडो विद्रोह।

हक अधिकारको सुनिश्चितताको लागि उनले स्वतन्त्र उम्मेदवारी दिएर जसरी विद्रोह गर्न खोजेको जस्तो देखिन्छ, त्यसले नामको मात्र विद्रोही देखाउँछ। २००३ सालदेखि जन्मिएको दलित मुक्ति आन्दोलन कति सशक्त छ भन्ने गहन अध्ययन मेकरले गर्न नसक्दाको उपज बनेको छ, प्रसाद -२। 

उनैले निर्देशन गरेको फिल्म 'प्रकाश'ले आरक्षण प्रणाली ठिक होइन, त्यसले विलक्षण पढ्नेहरूलाई हानी गर्छ भन्ने सन्देश प्रवाह गरिरहेको छ।

समावेशी समानुपातिक वितरण प्रणाली के हो, आरक्षणको अन्तर्य के हो ? भनेर इतिहासको अध्ययन गर्नुपर्दैन? सिनेमाले यसरी ऐतिहासिक तथ्यहरूलाई मोड्न मिल्छ ? आरक्षणजस्तो संवेदनशील विषयलाई यसरी अपव्याख्या गरिइएपछि नयाँ पुस्ताले के सिक्ने ?

जवाफमा उनी भन्छन्, 'प्रकाशले आरक्षण हटाउनुपर्छ नै भनेको त होइन। दलित समुदायमा पनि पीडित छन्। विनोद चौधरीको छोराले आरक्षण पाउने तर एउटा बाहुन हुँदैन हलो जोतेर खानेले पनि आरक्षण नपाउने कुरा चैँ गलत हो भन्ने लागेर त्यही उठान गरेका हौँ। दलित भन्ने बित्तिकै सबै गरिब नै हुन्छन् अनि बाहुन भन्ने बित्तिकै सबै धनी नै हुनेछन् भन्ने पनि होइन नि।'

पछिल्लो समय जात व्यवस्थाको मुद्दामाथि फिल्म बनाइरहने मेकर हुन् राउत। उनले प्रसाद, प्रकाश हुँदै पुजार सार्कीसम्म बनाएका छन्।

'पुजार सार्कीसम्म आइपुग्दा चैँ जात भन्ने कुरै हुँदैन। अनि विभेद भन्ने नै हुँदैन। मैले त भन्ने गरेको छु, सबैको नामको पछाडि एभरेस्ट राखिदिए हुन्छ तब हामी मान्छे मात्र हौँ भन्ने रहन्छ र विभेदै रहन्न,' उनले भने।

६ जेठ, २०८१, १४:२१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।