भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तीमा ५० जनाको मृत्यु, २ हजार घरहरू ध्वस्त

भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तीमा ५० जनाको मृत्यु, २ हजार घरहरू ध्वस्त

एजेन्सी : अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ। दुई हजारभन्दा बढी घरहरू ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिसहरू बेपत्ता भएको बीबीसीले जनाएको छ। 

बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको जनाइएको छ। गत हप्तामात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो।

अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ। अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन्।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना रहेको भन्दै सजग गराएको छ।  

जेठ ६, २०८१ आइतबार ०९:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।