राजेश हमालकै झल्को दिने व्यस्तता, घरमा भन्दा सेटमै बढी भेटिन्छन् महेश

राजेश हमालकै झल्को दिने व्यस्तता, घरमा भन्दा सेटमै बढी भेटिन्छन् महेश

काठमाडौं : कुनै समय नेपाली फिल्म उद्योगमा अभिनेता राजेश हमालको यस्तो ‘क्रेज’ थियो कि उनी कुन बेला घर जान्थे र कुन बेला सेटमा पुग्थे, पत्तै हुँदैनथ्यो। ठ्याक्कै त्यस्तै व्यस्तता अहिले अभिनेता महेश त्रिपाठीको छ।

अघिल्लो वर्ष ‘लाजशरणम्’ र गत वर्ष ‘परान’ मार्फत दर्शकहरूमाझ प्रस्तुत भइरहेका महेश अहिले निर्माताका यति प्रिय बनेका छन् कि उनको हातमा फिल्म थमाउनेको ताँती नै लागेको छ।

महेश अहिले घरमा भन्दा बढी सुटिङ सेटमा देखिन्छन्। यो वर्ष मात्रै उनका झण्डै एक दर्जन फिल्म प्रदर्शन हुने तयारीमा छन्। हाल उनी वसन्त निरौलाको फिल्म ‘पाँच पाण्डव’ को सुटिङमा व्यस्त छन्।

रोचक त के छ भने, यो फिल्ममा सागर लम्साल (बले) लाई बलात्कारको आरोप लागेपछि निर्माण टिमले सुटिङकै बीचमा महेशलाई ‘इन्ट्री' गराएको थियो।

यसअघि ‘झिँगेदाउ २’ मा पनि लफडा परेपछि उनी एकै दिनमा अनुबन्धित भएका थिए। यसले के देखाउँछ भने, उद्योगमा कुनै पनि संकट पर्दा निर्माताहरूले सम्झिने पहिलो नाम ‘महेश त्रिपाठी’ बन्न थालेको छ।

‘पाँच पाण्डव’को सुटिङ नसकिँदै उनले ‘मनबिनाको धन २’ र ‘टीका’ मा साइन गरिसकेका छन्। बिहीबार मात्रै फिल्म ‘टीका’ को शुभमुहूर्त गरियो। यति मात्र होइन, उनको हातमा आधा दर्जन स्क्रिप्ट छन् र थप ६ वटा फिल्ममा मुख्य भूमिकाका लागि उनले सम्झौता गरिसकेका छन्, जसको नाम गोप्य राखिएको छ।

दुई वर्ष अघिसम्म नेपाली फिल्मको काँध दयाहाङ राई र सौगात मल्लले थामिरहेका थिए। तर, पछिल्लो समय दयाहाङका ‘रिमै’ र ‘मिरमिरे’ जस्ता फिल्महरू हलमा लागेको दर्शकले पत्तै पाएनन्।

दयाहाङ र सौगातको एकै शैलीको अभिनयले दर्शकहरूले केही नयाँपन खोजिरहेका बेला महेश त्रिपाठीको इन्ट्रीले फिल्मी क्षेत्रमा नयाँ तरंग ल्याएको छ।

सरोज खनाल, भुवन केसी र राजेश हमालको युगपछि निखिल र बिराज हुँदै दयाहाङसम्म आइपुगेको नेपाली फिल्मको ‘हिरोइज्म’ अब महेश त्रिपाठीको काँधमा सरेको चर्चा समेत हुन थालेको छ।

उसो त, रिलिजको क्यालेन्डर हेर्दा पनि भदौदेखि तिहारसम्म महेश नै महेश देखिन्छन्। भदौ १९ गते उनी अभिनित ‘क का कि की’ आउँदैछ भने असोज २ गते ‘झिँगे दाउ २’ अनि तिहारमा ‘पाँच पाण्डव’। यति मात्र हैन ‘३६ को आँकडा’ लगायत अन्य फिल्ममा पनि उनी नै हावी देखिन्छन्।

निर्माताहरूले अरूले छाडेका वा लफडा भएका फिल्म पनि महेशलाई नै सुम्पिनुले उनको ‘मार्केट भ्यालु‘ र ‘भरोसा’ दुवै बढेको देखिन्छ। तर, प्रश्न उही छ- फिल्मको यो भारी महेशले कतिन्जेल र कति कुशलतापूर्वक थेग्लान् त? त्यो भने उनका आगामी फिल्मको व्यापारिक सफलताले नै तय गर्नेछ।

वैशाख ३१, २०८३ बिहीबार १४:०८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।