जेठ १ देखि जनकपुर साहित्य महोत्सव
जनकपुरधाम : ‘जनकपुर साहित्य महोत्सव’को सातौं संस्करण आगामी जेठ १ गतेदेखि जनकपुरधाममा आयोजना हुने भएको छ। नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुने यो महोत्सव जेठ ३ गतेसम्म चल्नेछ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, राजनीति र सम्पदा लगायतका १३ वटा विभिन्न विषयमा ‘ओपन-एयर’ प्यानल छलफल (बहस) हुनेछन्। महोत्सवको उद्घाटन जेठ १ गते दिउँसो २ बजे महेन्द्र नारायण निधि भवनमा मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गर्ने कार्यक्रम तय गरिएको छ।
महोत्सवका निर्देशक राजीवधर जोशीका अनुसार यस पटकको संस्करणमा जनकपुरधामको पहिचान, जानकी मन्दिर र यहाँका सम्पदाहरूलाई प्राथमिकतामा राखिएको छ। छलफलका सत्रहरूमा ‘मैथिली कथाको नेपाली संसार’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटन’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा : सम्भावना र चुनौती’, तथा ‘नेपाली महिला लेखन’ जस्ता विषयहरू समावेश गरिएको आयोजकले जनाएको छ।
महोत्सवको दोस्रो दिन अर्थात् जेठ २ गते बिहान ‘सम्पदा पदयात्रा’ (हेरिटेज वाक) आयोजना गरिनेछ। फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालका अनुसार सम्पदाको महत्त्वबारे सन्देश दिन आयोजना गरिने उक्त पदयात्रामा करिब १२ सयदेखि १५ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवले जनकपुरको प्राज्ञिक र सांस्कृतिक गरिमालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको निर्देशक जोशीको भनाई थियो।
वैशाख ३०, २०८३ बुधबार १६:५३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।