‘डान्सले चिनायो, अब अभिनयमा प्रमाणित हुन चाहन्छु’

‘डान्सले चिनायो, अब अभिनयमा प्रमाणित हुन चाहन्छु’

काठमाडौं : ११ वर्षको उमेरमा नृत्यमार्फत अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाउन सफल कलाकार हुन्- तेरिया फौजा मगर। भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारित चर्चित रियालिटी शो ‘झलक दिखला जा’ (सिजन ९)मा तेरियाले भारतीय डान्सर सलमान युसुफ खान र सान्तनु महेश्वरिलाई प्रतिस्पर्धामा पछि पार्दै उपाधि जितेकी थिइन्।

नृत्यमा स्थापित भइसकेकी तेरियाको अभिरुचि अभिनयमा पनि उत्तिकै छ। सोही लगावका कारण उनले केही भारतीय टेलिभिजन श्रृंखलाहरूमा समेत काम गरिसकेकी छन्। बाल्यकालदेखि नै नृत्यमा अब्बल तेरिया आफूभित्र अभिनयप्रति ठूलो भोक रहेको बताउँछिन्।

नेपाली कलाकारहरूले भारतीय फिल्ममा सानो भूमिका पाउँदा पनि नेपालमा त्यसको निकै ठूलो चर्चा हुने गरेको पाइन्छ। तर, कतिपय अवस्थामा ती भूमिकाले पर्दामा खासै प्रभाव छाड्न सकेको देखिँदैन। 

उदाहरणका लागि, बलिउड फिल्म ‘बर्फी’मा अभिनेता भोला सापकोटाको अभिनयलाई लिएर ठूलो चर्चा गरिए पनि उनको भूमिका तुलनात्मक रूपमा सानो थियो। तर, तेरियाले भने विदेशी भूमिमा प्रतिस्पर्धामार्फत आफूलाई प्रमाणित गर्दै छुट्टै पहिचान बनाएकी छन्।

अहिले उनी नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेताहरू दयाहाङ राई र सौगात मल्लसँग फिल्म ‘मितज्युँ’मा मुख्य भूमिकामा देखिँदै छिन्। यस फिल्मको काम सम्पन्न गरेपछि उनी पुनः भारत फर्कने तयारीमा छिन्। प्रस्तुत छ, तेरियासँग उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानी :

डान्सरको लयमा हिँडिरहेको करियरलाई अभिनयतर्फ पनि कसरी मोड्नुभयो ?

सानैदेखि दर्शकले मलाई डान्सकै माध्यमबाट देख्नुभयो र डान्सरकै रूपमा चिन्नुभयो। म डान्सर त हुँ नै, तर ठूलो हुँदै जाँदा मेरो रुचि भनौं या अभिनयतर्फको आकर्षण, एक्टिङतिर पनि बढ्यो। डान्स सँगसँगै मैले अभिनय सिकाईमा पनि समय दिएँ।

मलाई लाग्थ्यो- के म साँच्चिकै अभिनयमा लाग्न चाहन्छु त ? अनि एक पटक प्रयास किन नगर्ने भन्ने सोच आयो। त्यसपछि मात्र मैले अडिसनहरू दिन थालेकी हुँ। मेरो अभिनयको यात्रा भारतबाटै सुरु भएको हो।

भनेपछि डान्स सँगसँगै अभिनयमा पनि रुचि थियो ?

रहिछ भनौं न, भारतमा रहँदा मैले केही सिरियल र सिरिजहरूमा काम गर्ने अवसर पाएँ। त्यही मेरो लागि अभिनय सिक्ने अवसर बन्यो र त्यहीँबाट मेरो अभिनय यात्राको सुरुवात भयो।

भारतमा पनि तपाईंले अभिनय गरेको भन्नुभयो, त्यो कतै देखिएन नि ? किन बाहिर आएन ?

मैले गरेको छु। तर धेरै जनालाई थाहा छैन होला। किनभने मैले त्यहाँ प्रोजेक्टहरुमा अभिनय गरेकी छु। तर धेरै दर्शकमाझ पुगेको चाहिँ म डान्सर हो। उहाँहरूले म नाचेको देख्नुभएको छ। तर अभिनय गरेको देख्नु भएको छैन। किनभने कुनै कुनै वेब सिरिजका एपहरू नेपालमा नखुल्न सक्छ। या सबैले सिरिजलाई एप डाउनलोड गरेर हेर्ने बानी पनि नहुन सक्छ। 

‘मितज्यु’मा कसरी जोडिनुभयो ?

यो फिल्मका लागि सुरुमा निर्देशक अनिल मगर दाइसँग मेरो भेटघाट भएको थियो। उहाँले फिल्मको विषयमा प्रस्ताव राख्नुभयो र त्यसपछि नै म यस प्रोजेक्टसँग जोडिएकी हुँ।

फिल्ममा स्थापित कलाकारहरू (सौगात मल्ल, दयाहाङ राई) लगायत हुनुहुन्छ। उहाँहरूसँग काम गर्दा दबाब र सिकाइ कतिको हुने रहेछ ? 

मलाई दुवै फिल भयो। अरूको दबाबभन्दा पनि म आफ्नै दबाबमा परे। किनभने उहाँहरू जस्तो कलाकारसँग काम गर्दै छु। कतै मबाट कुनै त्रुटि हुने हो कि, मैले सोचेजस्तो प्रस्तुति दिन नसक्ने हो कि भन्ने चिन्ता थियो। मेरो कमजोर प्रस्तुतिले गर्दा उहाँहरूको पफमेन्समा ह्याम्पर हुने हो कि भन्ने डरले म आफैँले आफैँलाई दबाब दिइरहेकी थिएँ।

सिक्ने मौका नि?

उहाँहरू भएको कारणले गर्दा नै मेरो पफमेन्समा राम्रो बन्यो। मेरो प्रस्तुतिलाई राम्रो बनाउन उहाँहरूको सहयोग र भूमिका महत्त्वपूर्ण रह्यो।

तेरिया मगर भन्ने बित्तिकै दर्शकलाई डान्सर भन्ने लाग्छ। डान्सबाट नायिकाको भन्ने बनाउन सकिएला ?

त्यो कत्तिको सम्भव हुन्छ, मलाई अहिलै थाहा छैन। किनभने, नेपालमा यो मेरो पहिलो प्रोजेक्ट र डेब्यु फिल्म हो। मलाई सानैदेखि सबैले ‘डान्सर तेरिया’का भनेर चिन्नुहुन्छ। मेरो परिचय नै डान्सर बन्यो। त्यसकारण आफूले आफैलाई पनि डान्सरको ट्याग परिवर्तन गर्न समय लाग्न सक्छ।

आफूले आफैलाई एक्टर भनेर हेर्न सक्नुहुन्छ ?
 
आफूलाई एक्टरका रूपमा हेर्न अलिक गाह्रो हुने रहेछ। त्यो हेर्नका लागि मलाई समय लाग्छ। त्यस्तो सोच दर्शकहरूमा पनि आउँला। डान्सरबाट अभिनेत्रीको रूपमा दर्शकले चिन्न समय लाग्न सक्छ। किनभने पहिलाबाट नै त्यस्तो इमेज बनिसकेको छ। त्यो कुरालाई पनि म नराम्रो मान्दिनँ। मैले डान्स गरेको नै मेरो करिअर डान्सबाट नै हो। यो कुरामा त म गर्व फिल गर्छु। 

डान्सरको रूपमा मन पराएका दर्शकले तपाईंलाई अभिनेत्रीका रूपमा कतिको स्वीकार्लान जस्तो लाग्छ ?

मैले ‘मितज्यू’मा शतप्रतिशत दिएकी छु। वर्कसप देखि लिएर, आफूले कतिसम्म सक्छु, त्यो सबै दिएकी छु, इन्भेष्ट गरेकी छु। मलाई हाम्रो टिमले पनि एकदमै मदत गर्नुभएको छ। मेरोतर्फबाट मैले बेस्ट गरेको छु। हेरुम के हुन्छ। त्यसका लागि जेठ ८ गतेसम्म कुर्नुपर्ने हुन्छ।

नेपाली कलाकारहरू नेपाली फिल्ममा भन्दा बढी बलिउड दौडेको देख्छु। तपाईं बलिउड छोडेर नेपाल आउनुभएको छ ? भन्न मिल्छ ?

म मुम्बईमा काम गरिरहेकी थिएँ। त्यो बेला मलाई नेपाली फिल्मबाट अफर पनि आयो। ठूलो हुँदै जाँदा आफू जन्मेको देश र माटोप्रतिको सामीप्यता अझ बढी महसुस हुने रहेछ। मलाई नेपालमै आएर यहाँ केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। उमेरले पनि मलाई नेपाली फिल्मले आकर्षित गर्यो।

काम पाइएन भने के गर्नुहुन्छ ?

मैले नेपाली फिल्म तथा कलालाई रोजेको हो। यहाँ काम नभएपछि उतै गइहाल्छु। नेपालमा नै काम पाए भने गरिहाल्छु। नेपालप्रति अथाह माया छ। काम हुँदा त म नेपालमा नै बस्छु। नत्र त यहाँ बसेर के गर्नु ? 

वैशाख ३१, २०८३ बिहीबार १९:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।