युट्युबदेखि टिकटकसम्म ‘म्याग्दी रुमाले’को क्रेज

युट्युबदेखि टिकटकसम्म ‘म्याग्दी रुमाले’को क्रेज

काठमाडौं : आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’मा समावेश ‘म्याग्दी रुमाले’ बोलको गीतले डिजिटल प्लेटफर्ममा दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सार्वजनिक भएको केही दिनमै यो गीत युट्युब, टिकटक र फेसबुक रिल्समा रुचाइएको हो।

प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्द र गायक शिवाकोटीकै संगीत रहेको छ। गीतको गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले साथ दिएका छन्। रोमान्टिक र डान्सिङ विधाको गीतमा युवा-युवतीबीचको प्रेम प्रस्ताव र जीवन सँगै बिताउने आग्रहको भाव समेटिएको छ।

भिडियोमा अभिनेता विनोद न्यौपाने र जुना विश्वकर्माको मुख्य अभिनय तथा नृत्य रहेको छ। जोन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञान र वर्तमान शैक्षिक प्रणालीले बाल मस्तिष्कमा पार्ने प्रभावको कथा प्रस्तुत गर्दछ। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले बाल कलाकारको रूपमा अभिनय गरेका छन्।

महेश दवाडीको लेखन र शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन्। छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माता रहेको फिल्मलाई मदन घिमिरेले सम्पादन गरेका हुन्। हाल फिल्मको निर्माण पक्ष र कलाकारहरू प्रचारका क्रममा मोफसल यात्रामा छन्। रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।

वैशाख ३१, २०८३ बिहीबार १८:४९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।