जेठ ८ मा खुल्नेछ 'काजी'को पारिवारिक उतारचढावको रहस्य

जेठ ८ मा खुल्नेछ 'काजी'को पारिवारिक उतारचढावको रहस्य

काठमाडौं : बाल्यकालमै आमाबुबा गुमाएर टुहुरो बनेका काजी (विपिन कार्की)ले भगवानसँग आमाबुबा माग्छन्। तर भगवानसँग मागेको उनको कुरा पुरा हुन सम्भव पनि थिएन।

तर उनी वयस्क भएपछि आफूलाई माया गर्ने श्रीमतीको रूपमा कजिनी (केकी अधिकारी) लाई पाएका छन्। फिल्म ‘काजी’को कथा यसकै वरिपरि घुमेको छ।

आगामी जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म काजीको सार्वजनिक ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले यही कुरा बोल्छ। ट्रेलरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, मायाप्रेम र एकअर्काप्रतिको विश्वासलाई प्रस्तुत गरिएको छ। विपिनले ‘काजी’ र केकीले ‘कजिनी’को भूमिकामार्फत निर्देशकको कथालाई न्याय गर्न खोजेका छन्।

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्ममा विपिन र केकीका अलावा बहिनीको भूमिकामा गरिमा शर्मा रहेकी छन्। अन्य कलाकारहरूमा प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षिता अर्याल लगायतले अभिनय गरेका छन्।

सबै कलाकारहरूको अभिनय ट्रेलरमा देखिएको छैन। तर पर्दामा देखिएका विपिन, केकी र गरिमाको अभिनय भने स्वभाविक देखिन्छ। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन्। 

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई चिन्तन राजभण्डारीले खिचेका हुन् भने फिल्मका गीतमा कालीप्रसाद बास्कोटाको संगीत रहेको छ। फिल्मका कार्यकारी निर्माता असिम काफ्ले हुन् भने निर्मातामा नेहान रिजाल र विकास राज जोशी रहेका छन्।

सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ। यसअघि केकी र विपिनको जोडीले ‘प्रसाद २’ र ‘सेल्फी किङ’ मा अभिनय गरेका थिए। यो उनीहरूको तेस्रो सहकार्य हो।

वैशाख ३१, २०८३ बिहीबार १५:४३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।