दलहरूबिचको सहकार्यलाई निरन्तरतामा राष्ट्रपतिको जोड : राष्ट्रपति कार्यालय

दलहरूबिचको सहकार्यलाई निरन्तरतामा राष्ट्रपतिको जोड : राष्ट्रपति कार्यालय

काठमाडौँ : सर्वदलीय भेटघाटमा राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बिचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

मङ्गलवार आयोजित सर्वदलीय भेटघाटबारे राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख भए अनुसार भेटघाटमा उनले ‘मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरूबिचको सहकार्यलाई निरन्तरता दिनुपर्छ।’

विज्ञप्ति अनुसार उनले अगाडि भनिन्‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ ।’

नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसै गरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै उनले सबै दलका नेताहरूलाई धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ।

भेटघाटमा राष्ट्रपति भण्डारीले कोरोना सङ्क्रमणको महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावका बारेमा चर्चा गर्दै यसको सामना गर्न अग्र मोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गरेकी थिइन्।

‘राष्ट्रपतिज्यूले सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पुर्याएको योगदानका लागि धन्यवाद दिनुभयो,’ विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई आग्रह गरेकी थिइन्।

बैठकमा उनले बङ्गलादेशका राष्ट्रपतिबाट वङ्गबन्धु शेखमुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजना  हुन लागेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बङ्गलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी गराएकी थिइन्।

बैठकमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव र नेता  राजेन्द्र महतो सहभागी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

कार्यक्रममा नेकपा एमालेका रामबहादुर थापा, ईश्वर पोखरेल,सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला, माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी भएको कार्यालयले जनाएको छ।

बैठकमा मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको पनि उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

३ चैत, २०७७, १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।