सर्लाहीमा इँटा भट्टाको पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते
सर्लाही : सर्लाहीमा इँटाको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर नगरपालिका–५ मजुर्वामा रहेको कृष्ण इँटा उद्योगमा साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा अचानक पर्खाल भत्किँदा काम गरिरहेका मजदुरहरू पुरिएका थिए। स्थानीयको सूचना लगतै पुगेको प्रहरी टोलीले उनीहरूको उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घाइते तथा पुरिएकाहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। उपचारका क्रममा गौडेता नगरपालिका –७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका – ९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर निवासी ३५ वर्षीय अंगद कुमारलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा मलंगवा नगरपालिका-७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुवैको अवस्था सामान्य रहेको बताइएको छ। घटनास्थलमा जेसीबी प्रयोग गरी थप खोजी तथा इट्टा पन्छाउने काम गरिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए।
जेठ २, २०८३ शनिबार १०:५९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।