‘भिडियो सार्वजनिक गरिदिन्छु’ भन्दै ८ लाख असुल्ने सुजनविरुद्ध अदालतमा मुद्दा, यसरी गरिएको थियो ब्ल्याकमेलिङ
काठमाडौं : फेसबुक र ह्वाट्सएपमार्फत चिनजान गरी घनिष्ठ सम्बन्ध बनाएपछि अश्लील भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने र लाखौं रुपैयाँ असुल्ने एक युवकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
झापा जिल्ला कन्काई नगरपालिका-३ स्थायी ठेगाना भएका २४ वर्षीय सुजन मगरविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसूर र आपराधिक लाभ (एक्ट्सटर्सन) लिएको अभियोगमा मुद्दा दायर भएको हो। प्रतिवादी सुजन मगर हाल फरार रहेका छन्।
अभियोग पत्रका अनुसार पीडित युवती र सुजन मगरबीच फेसबुक र ह्वाट्सएपमार्फत चिनजान भई घनिष्ठ सम्बन्ध कायम भएको थियो। सोही क्रममा झन्डै दुई वर्षअघि सुजनले पीडितको अश्लील भिडियो खिचेका थिए।
पीडित रोजगारीको सिलसिलामा विदेशमा रहेको अवस्थामा सुजनले सोही भिडियो र पुराना कुराकानीका स्क्रिनसटहरूलाई हतियार बनाएर ब्ल्याकमेलिङ सुरू गरे। उनले ह्वाट्सएपमा ग्रुप बनाएर पीडितका आफन्तहरूलाई उक्त भिडियो र तस्बिरहरू पठाइदिने धम्की दिँदै ‘चरित्र हत्या’ गर्ने चेतावनी दिएका थिए।
सुजनले ह्वाट्सएपमा ‘यदि तिमीले भनेको मानिनौ भने म पुराना सबै कुराकानी र तस्बिरहरू तिम्रा परिवार र आफन्तलाई पठाइदिन्छु’ भन्दै धम्कीपूर्ण र अश्लील गालीगलौज गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
विभिन्न माध्यमबाट ८ लाख ६ हजार असुली
आफन्त र समाजमा बेइज्जत हुने डरले पीडितले पटक-पटक गरी ठूलो रकम सुजनको खातामा पठाएको देखिएको छ। सुजनले आफ्नै नाममा रहेको एनआइसी एसिया बैंकको खाता र विभिन्न आफन्तका खाताहरू प्रयोग गरी रकम असुल गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धान र बैंक विवरणअनुसार सुजनले पीडितबाट ८ लाख ६ हजार १ सय ३५ रुपैयाँ आपराधिक लाभ लिएको पुष्टि भएको छ। पीडितले आफ्नो आमाको खाताबाट, दाजुको खाताबाट र अन्य आफन्तहरूमार्फत बैंक ट्रान्सफर, मनीग्राम र आईएमई गरी उक्त रकम पठाएका थिए।
साइबर ब्यूरोले गरेको प्राविधिक अनुसन्धानमा ब्ल्याकमेलिङका लागि प्रयोग भएको मोबाइल नम्बर सुजन मगरकै नाममा दर्ता रहेको भेटिएको छ। यस्तै, उनले प्रयोग गर्ने फेसबुक प्रोफाइल र ह्वाट्सएप ग्रुपका कुराकानीहरूलाई पनि प्रमाणका रूपमा पेश गरिएको छ।
साक्षीका रूपमा रहेका पासाङ शेर्पा लगायतले सुजनले पैसाका लागि डर-त्रास देखाएर ब्ल्याकमेलिङ गरेको भन्दै बयान दिएका छन्। सुजनले पीडितलाई मानसिक यातना दिनुका साथै सामाजिक रूपमा बदनाम गराउने कार्य गरेको अभियोग पत्रमा उल्लेख छ।
जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले सुजन मगरविरुद्ध कम्प्युटर वा इन्टरनेटको माध्यमबाट अश्लील सामग्री प्रकाशन गर्ने र हैरानी गर्ने कसूरमा ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तथा डर-त्रास देखाई आपराधिक लाभ लिएको कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।
यसका साथै, पीडितले भोगेको मानसिक यातनाको उचित क्षतिपूर्ति र ठगी गरिएको ८ लाख ६ हजार १३५ रुपैयाँ प्रतिवादीबाटै असुल उपर गराई पीडितलाई भराउन समेत मागदाबी गरिएको छ।
अभियोग पत्रमा फरार रहेका सुजन मगरको हकमा पक्राउ पुर्जी जारी गरी कारबाही प्रक्रिया अगाडि बढाउन अदालतसमक्ष अनुरोध गरिएको छ।
जेठ २, २०८३ शनिबार ०९:३८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।