भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सनाखत हुन बाँकी

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सनाखत हुन बाँकी

चितवन : चितवनको भरतपुर महानगरपालिका–३ स्थित लायन्सचोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी २५ देखि ३० वर्ष उमेरका देखिने एक पुरुष रहेका छन्, जसको पहिचान खुल्न बाँकी छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब २ बजेको समयमा भित्री सडकखण्ड अन्तर्गत आनन्दमार्गबाट लायन्सचोक तर्फ आउँदै गरेको बा ९२ प ३१३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो।

अस्पताल पुर्याएलगत्तै बिहान २:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

वडा प्रहरी कार्यालय नारायणगढबाट करिब ३ किलोमिटर पूर्व-उत्तर पर्ने सो घटनास्थलमा प्रहरी सहायक निरीक्षक (प्रसनि) दीपक श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

दुर्घटनाग्रस्त मोटरसाइकल चल्न नसक्ने अवस्थामा रहेको र त्यसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हाल मृतकको शव सनाखतका लागि अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

जेठ २, २०८३ शनिबार १०:२१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।