सवारी साधन रोकेर घुस लिने सशस्त्रका इन्स्पेक्टरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सवारी साधन रोकेर घुस लिने सशस्त्रका इन्स्पेक्टरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) वकिल अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

धनुषास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिजमा कार्यरत अधिकारीले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

सशस्त्र प्रहरी निरीक्षक अधिकारीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको कमला-ढल्केवर-बागमती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरूलाई रोकेर दुःख दिने गरेका थिए।

उनले विभिन्न बहाना बनाई सवारी साधन सञ्चालन गर्न नदिएर सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी अख्तियारमा परेको थियो।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा अधिकारीले आफ्नो ओहोदाको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ४० हजार रुपैयाँ बिगो कायम गरिएको छ।

आयोगले अधिकारीलाई बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। सडक निर्माण जस्तो विकास निर्माणको कार्यमा अवरोध पुर्याएर राष्ट्रसेवक कर्मचारीले नै घुस मागेको घटना सार्वजनिक भएपछि अख्तियारले सक्रियता बढाएको हो।

वैशाख ३०, २०८३ बुधबार ०९:५२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।