युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार : सिरहाका वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता
सिरहा : सिरहाको औरही गाउँपालिका–३ मा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरेको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध प्रहरीले कानूनी प्रक्रिया अगाडि बढाएको छ।
स्थानीय वीरेन्द्र साहलाई सडक खाली गराउने निहुँमा कुटपिट गरी रुखमा बाँधेको आरोपमा पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार औरही-३ का वडाध्यक्ष जीवछ यादवसहित हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदिप यादव र बिसुन यादवविरुद्ध 'अभद्र व्यवहार' सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ।
यो घटना औरही-३ स्थित पिपरा टोलमा सोमबार भएको हो। एक वर्षअघि निर्माण गरिएको कृषि सडक विस्तारका क्रममा वीरेन्द्र साहको निजी जग्गा परेको भन्दै लामो समयदेखि विवाद हुँदै आएको थियो।
सोमबार वडाध्यक्ष यादवको नेतृत्वमा डोजर लिएर सडक खाली गराउन पुगेको टोलीसँग साहको भनाभन भएको थियो।
सोही क्रममा साहले आफ्नो जग्गामा डोजर चलाउन विरोध गरेपछि उनलाई नियन्त्रणमा लिएर कुटपिट गर्दै रुखमा बाँधिएको र उनको निजी संरचना भत्काइएको पीडित पक्षको आरोप छ।
युवकलाई रुखमा बाँधिएको तस्बिर र भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।
‘पीडितको जाहेरी दर्ता भइसकेको छ,’ एसपी पाठकले भने, ‘आरोपितहरूलाई पक्राउ गर्न अदालतबाट अनुमति लिने प्रक्रिया अगाडि बढाइएको छ।’
अमानवीय ढंगले युवकलाई रुखमा बाँधेर यातना दिएको भन्दै स्थानीयस्तरमा वडाध्यक्ष र संलग्न समूहको तीव्र विरोध भइरहेको छ। प्रहरीले दोषीहरूलाई छिट्टै कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।
वैशाख ३०, २०८३ बुधबार ०८:५२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।