१२ महिनाका १२ समाचार : पारस खड्काको बदमासीदेखि प्रदीप पौडेलको भ्रष्ट आचरणसम्म

१२ महिनाका १२ समाचार : पारस खड्काको बदमासीदेखि प्रदीप पौडेलको भ्रष्ट आचरणसम्म

काठमाडौं : २०८१ मा उकेराले राज्यका विविध क्षेत्रमा हुने बदमासीमाथि निरन्तर निगरानी राख्न सफल भयौँ। यो क्रममा स्वास्थ्य, शिक्षा, सुरक्षा, राजनीतिक आवरणमा भएका भ्रष्टाचार, विदेशी दातृ निकायको आवरणमा आएका सहयोगमा भएका बदमासी प्रमाणसहित उजागर गर्यौँ।

हामीले बदमासीको पोल खोल्न दल हेरेनौँ,  व्यक्ति हेरेनौँ, बिरादरी हेरेनौँ तर निरन्तर प्रमाण भने हेर्यौँ र सफल पनि भयौँ।

वित्तीय क्षेत्रमा संवैधानिक निकायको भ्रष्टाचार, सीमा नाकामा भइरहेका तस्करी, बेहाल सामुदायिक विद्यालय, एनपीएलको आवरणमा भएको बदमासीलाई उजागर, समाजसेवीको आवरणमा भएको ठगीदेखि स्वतन्त्र मेयर बालेन राजमा भएका अनियमितता र बेथिति समेत छुटाएनौँ।

दलका आधारमा कांग्रेस, एमाले, माओवादी, राप्रपा र रास्वपासम्म, वादका आधारमा गणतन्त्रवादीदेखि राजावादीसम्म कसैको बदमासी लुकेन। युवामन्त्री प्रदीप पौडेलकालका भ्रष्टाचार उकेराको नजरबाट बच्न सकेन।

राजनीतिको आवरणमा दबाइएका गम्भीर अपराधको उत्खनन् गर्दै हामीले गौर हत्याकाण्डबारे खोजमुलक सामग्री प्रकाशित गर्यौँ। सार्वजनिक सरकारी अनि गुठीका जग्गामा भएका ब्रम्हलुटलाई सप्रमाण उजागर गर्न सफल भयौँ।

उकेराको प्रमाणमुखी समाचारको प्रभाव पनि देखियो। स्वास्थ्य क्षेत्रमा मिलेमतोका आधारमा अगाडि बढेका आधा दर्जन बढी टेण्डर रद्द भए। गुठी जग्गाको अनुसन्धान प्रक्रिया अगाडि बढ्यो। एनपीएलको आवरणमा भएका बदमासीको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट छानबिन समिति गठन भयो।

सार्वजनिक सुरक्षा प्रणालीमा राज्यपक्षबाट भएको कमजोरी र नियोजित रणनीतिहरू सार्वजनिक गर्दै सार्वजनिक बहसमा ल्याउन सफल भयौँ। हाम्रा सामग्री व्यक्ति केन्द्रित कहिल्यै भएनन्, प्रमाणमुखी भए। प्रमाणले देखाउने तथ्यलाई व्यक्तिको पहुँचका आधारमा हामीले दबाएनौँ र दबाउन दिएनौँ।

नकारात्मक मात्रै भन्ने लाग्न सक्छ। २०८१ मा हामीले नेपाली मिडियामा नयाँ शैलीको मल्टिमिडिया स्टोरीको प्रारम्भ गर्यौँ- बागमती नदिको दोहनको विस्तृत स्टोरीमार्फत।

हाम्रो नियमित कोलमहरूमध्ये केही रोकिए, अधिकांश कायम रहे। दलित, जनजाति, पिछडिएका वर्ग, महिला अनि बालबालिकाका विषय प्रारम्भकालदेखि नै हाम्रो प्राथमिकताका विषय हुन्। यो वर्ष पनि जारी रह्यो।

निरासा चिर्न ‘गरे सकिन्छ त’ भन्ने थिममा आधारित सामग्री प्रकाशित गर्यौँ र २०८२ मा गर्नेछौँ।  अहिलेका लागि उकेरामा २०८१ भर प्रकाशितमध्ये उत्कृष्ट १२ समाचार:

१-स्वास्थ्य सामाग्री खरिदको जालोको पर्दाफास
स्वास्थ्य उकपरण र सामाग्री खरिदमा भइरहेको संगठित मिलेमतोलाई उजागर गर्नेक्रम २०८१ मा थप सशसक्त भयो। काठमाडौं उपत्यकाको सरकारी अस्पतालमा मात्रै हैन अन्य प्रदेशका अस्पतालमा मन्त्रीदेखि सचिवसम्मको मिलमतोमा स्वास्थ्य उपकरण खरिदमा कसरी घोटाला भइरहेको छ भन्ने प्रमाणसहित समाचार प्रकाशित गर्यौँ।

हाम्रो नजरमा न केन्द्रका स्वास्थ्यमन्त्री प्रदीप पौडेलको बदमासी लुक्न सक्यो न प्रदेश र जिल्लातहको बदमासी नै। स्वास्थ्य सेवा विभागमा संगठित रूपमा मौलाएको खरिद भ्रष्टाचार उकेराले उजागर गरिनै रह्यो। केही टेण्डर रद्द भए, केही प्रक्रिया रोकियो। 

२-सेलिब्रिटी छविको आडमा पारसको बदमासी
नेपाल क्रिकेट संघले पहिलो पटक आफ्नो आयोजनामा नेपाल प्रिमियर लिगको आयोजना गर्यो। खेलको व्यावसायिकरण गर्न क्यानका सचिव पारस खड्का सक्रिय थिए। उनले लिग सफल पनि बनाए। सेलिब्रिटी छविसँगै सचिवको रूपमा खड्काले निर्माण गरेको जालोभित्र बदमासीका फेहरिस्त उस्तै देखिए।

लिगको प्रारम्भिक चरणदेखिकै अपारदर्शी र शंकास्पद गतिविधि, खेलको लोकप्रिय मैदानलाई अनलाइन जुवाको प्रचारमा गरेको प्रयोग, अपारदर्शी कारोबार, गैरकानूनी रूपमा भएको कारोबारलाई उकेराले प्रमाणसहित सार्वजनिक गर्यो।

एनपीएल आयोजक समितिले लिगका विजेता टोलीलाई तीन महिनासम्म पुरस्कार रकम नदिएको, अन्तर्राष्ट्रिय कम्पनीलाई अवैध रूपमा रकम भुक्तानी गर्ने प्रयास गरेको, लिगको आम्दानी र खर्च लुकाएको, नेपालको कानून छल्दै अन्तर्राष्ट्रिय विज्ञापन ल्याएको लगायत उकेरामा प्रकाशित समाचारको प्रभावले राष्ट्रिय खेलकुद परिषद् एनपीएलबारे छानबिन गराउन बाध्य भयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै निर्देशन आएपछि समिति गठन भयो। अहिले समितिले काम गरिरहेको छ।

​​​​३-ढलमती बनेको पवित्र बागमती 
विश्वका ठूला मिडियामा खोजमुलक मल्टिमिडिया स्टोरी प्रकाशन सामान्य भए पनि नेपाली मिडियाहरुले अझै यसको प्रारम्भ गर्न सकेका थिएनन्।

नेपालमा मल्टिमिडियाको नाममा भिडियो र केही हदसम्म डेटा भिज्योलाइजेसनमै सीमित थियो मल्टिमिडिया स्टोरी। उकेराले करिब पाँच महिनाको निरन्तर खोज र अनुसन्धानको आधारमा बागमती नदी कसरी ढलमती भयो भन्नेबारे अन्तर्राष्ट्रिय स्तरको मल्टिमिडिया स्टोरी प्रकाशित गर्यो।

४-कैलाश सिरोहियाको नागरिकता प्रकरण
व्यक्तिको ओहदा र प्रभावका आधारमा हैन, समाचार लेखिने प्रमाणका आधारमा हो। उकेराले यसैलाई निरन्तरता दिँदै मिडिया क्षेत्रकै प्रभावशाली व्यक्ति कैलाश सिरोहियाको नागरिकताबारे प्रमाणका आधारमा समाचार प्रकाशित गर्यो।

एकै नम्बरका दुई नागरिकताको आधारमा सरकारी निकायबाट अनुसन्धान शुरू भए लगत्तै मिडिया हाउसमाथिको हमलाको रूपमा गलत व्याख्या गर्दै विपक्षमा सामग्रीहरू प्रकाशित नभएका हैनन्।

तर, अनुसन्धानको विषय मिडियाका गतिविधि भन्दा सम्बन्धित व्यक्ति मिडिया सञ्चालक हुनुभन्दा अगाडिका कानूनी गतिविधि केन्द्रित रहेको प्रमाणका आधारमा उकेराले यसलाई निरन्तर फलोअप गरिरह्यो।

अनुसन्धानको प्रक्रियामा भएको पक्राउ र धरपकड गलत थियो। हामीले त्यसबारे पनि सामग्री प्रकाशित गर्यौ। राज्यले प्राप्त प्रमाणको आधारमा शंका लागेको विषयमा अनुसन्धान शुरू गरेको थियो। उकेराले प्राप्त गरेको प्रमाणले पनि उनको नागरिकतामा कैफियत देखियो। त्यसबारे पनि समाचार प्रकाशित गर्यौँ।

सत्ता बदलिएसँगै अनुसन्धान प्रभावितहुँदा अहिले यो विषय प्रहरीको घर्रामा थन्किएको छ। उकेरा निरन्तर निगरानीमै छ।

५-सहयोग रकममा लुटदेखि जासुसीसम्म
विभिन्न शीर्षक र आवरणमा नेपालमा आउने दातृ निकायको सहयोग रकमको चरम दुरुपयोग हुने गरेको आरोप नौलो हैन। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा दोहोरिएपछि त उनले सहयोग रकम दुरुपयोग भएको दाबी सहित अमेरिकी सहयोग नियोग नै बन्द गराए। अन्य सहायता रकम तीन महिनाका लागि स्थगित गराए।

यसको वास्तविकता के हो त? उकेराले अनुसन्धान शुरू गर्दा नेपालमा वित्तीय संघीयताको नाममा आएको करौडौ रकम दुरुपयोग भएको प्रमाण फेला पार्यो। यसमा संलग्न देखिए प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल।

हामीले यसबारे श्रृंखलाबद्ध समाचार प्रकाशित गर्यौँ। बिचमा जोडिए नीति फाउन्डेशन लगायतका संस्था। त्यसको संलग्नता र संदिग्ध गतिविधिबारे पनि प्रमाणसहित समाचार प्रकाशित गर्यौँ। रेडियो फ्रिक्वेन्सीको रोयल्टी निर्धारणको आवरणमा नेपालका मोबाइल प्रयोगकर्ताहरूको अति गोपनीय डेटा अमेरिकी खुफिया एजेन्सी निकट द एसिया फाउन्डेशनले लिएको तथ्य सहित समाचार प्रकाशित गर्यौँ।

​​​​​६-तस्करको कब्जामा सीमा, तस्करीमा सांसददेखि प्रहरीसम्म
सीमा, विशेष मधेस प्रदेशमा तस्करी र गम्भीर अपराधको विन्दु बन्दै गएको छ। तर केवल दाबीमा मात्र यस्ता विषय आउने भएकाले हामीले करिब एक महिना अधिकांश सीमा क्षेत्रको स्थलगत अनुगमन र अनुसन्धान गरेर श्रृंखलाबद्ध खोजमुलक सामग्री प्रकाशित गर्यौँ। यसमा पूर्व सांसददेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका शंकास्पद गतिविधि, सीमामा बसेर तस्करीमा संलग्नहरूको राजनीतिक पहुँचसम्मका तथ्यहरू प्रमाणसहित सार्वजनिक गरेका थियौँ।

७-मानवीय संस्थामा रहेकाहरूको दानवीय व्यवहार
रेडक्रस जस्तो मानवीय काम गर्ने संस्था अनियमितता र भ्रष्टाचारमा चुर्लुम्मै डुबेको तथ्य फेला पार्यो उकेराले। यसका सम्पत्तिदेखि खरिद प्रक्रियासम्म शंकास्पद देखिए। मानव ज्यान जोगाउन प्रयोग हुने रगतमा समेत बदमासी खुल्यो। उकेराले त्यसबारे श्रृंखलावद्ध समाचार प्रकाशित गर्यो।

८-राजावादीको चकचकमा चुकेको राज्य
२०८१ को अन्त्यतिर एकाएका राजावादीहरू सक्रिय भए। पूर्वराजा ज्ञानेन्द्र शाह आफैँ सडकमा उत्रिए स्वागतको आवरणमा। त्यसैको बलमा राजावादीहरू हिंसात्मक विरोध प्रदर्शनको चरणसम्म पुगे। चैत १५ गते दुई जनाको ज्यान र करोडौं क्षति हुनेगरी हिंसा फैलियो।

घटना केन्द्रित समाचारसँगै उकेराले प्रदर्शनमा प्रदर्शनकारी र अझ विशेष राज्यको सुरक्षा संयन्त्रबाट भएका चुकबारे खोजमुलक र विश्लेषणात्मक सामग्री प्रकाशित गर्यो। त्यो क्रम तीनकुनेमा भएको सुरक्षा चुक, असफल सुरक्षा रणनीति, सुरक्षा संगठनबीचको दोहोरोपनासँगै दुर्गा प्रसाईंको पक्राउदेखि सीमा सुरक्षामा देखिएको असफलतासम्म निरन्तर रह्यो। 


९- सेन्सरको बहानामा पञ्चायतको अभ्यास
मनोरञ्जन क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्रै हैनन्, त्यसमा वाक तथा अभिव्यक्ति स्वतन्त्रा पनि सँगै जोडिएको हुन्छ। जुनसुकै माध्यमबाट कानुनको अधिनमा रहेर आफूलाई लागेको सामग्री अभिव्यक्त गर्न पाउने संवैधानिक हक छ।

तर, फिल्म क्षेत्रमा सेन्सरको आवरणमा पटक पटक अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमणका घटना बढ्न थाल्यो। उकेराले यसबारे केन्द्रित भएर विशेष सामग्री प्रकाशित गर्यो।

हामीले वर्षभर नेपाली फिल्म हेर्न प्रोत्साहित गरि नै रह्यौँ। तर, समीक्षामा फिल्म निर्माताको गोजीको नभई हलसम्म फिल्म हेर्न जाने दर्शकको गोजीप्रति इमान्दार भएर निर्मम समीक्षा पनि गरिरह्यौँ।

 १०-बालेनको राजमा भ्रष्टाचार, गफले बदलिएन विद्यालय
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह वर्षभरी नै चर्चामा रहे। तर उनको चर्चाको कारण महानगरका मेयरका रुपमा भन्दा पनि सामाजिक सञ्जालमा गर्ने स्टन्ट बढी हावी भयो।

उनले केही कामै नगरेका हैनन्। न्युरोड क्षेत्रको करिव २ सय मिटर क्षेत्रको फुटपाथ बढाउनेदेखि सडक वारपारको घरमा एकै रंग सेतो लगाउन लगाए।

तर सामाजिक क्षेत्र, भौतिका विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार देखिएन। उकेराले गरेको खोजमा महानगर क्षेत्रलाई उज्यालो बनाउने आवरणमा शुरु भएको लहरेबत्ती जडानको काममा भ्रष्टाचार भएको खुल्यो। हामीले प्रमाणसहित समाचार प्रकाशित गर्यौ।

नेपालको सामुदायिक शिक्षाबारे बहस र छलफल भए पनि सामुदायिक विद्यालयको अवस्था कमैको प्राथमिकतामा पर्ने गरेका छन्। शिक्षामा सुधारको प्रारम्भको प्रयास गर्दै उकेराले विशेषत काठमाडौं महानगरपालिका मातहत रहेका सामुदायिक विद्यालयहरूको अवस्थाबारे स्थलगत खोजमुलक सामग्री प्रकाशित गर्यो। स्थलगत अनुगमनमा महानगरका मेयर बालेन शाहले काम भन्दा कुरै ठूला गरेको देखियो। 

११-समाजसेवाको आवरणमा सञ्जेलको बदमासी
मासिक सय रुपैयाँमा गुणस्तरिय शिक्षा अभियान चलाएको समता शिक्षाबारे निरन्तर गुनासोहरू बढेपछि उकेराले विशेष अध्ययन शुरू गरेको थियो।

अध्ययनमा असल समाजसेवीको आवरणमा रहेका उत्तम सञ्जेलले चलाएको ठगीको जालोबारे प्रमाणहरू प्राप्त भए। हामीले निरन्तर उनका बदमासीबारे प्रमाणसहित समाचार प्रकाशित गर्यौ। तर, उनको सामाजिक छविका कारण राज्यका जिम्मेवार निकाय अझै उनको ठगीविरुद्ध अनुसन्धानमा सक्रिय भएका छैनन्। हाम्रो निगरानी जारी छ।

 

१२-सहकारी ठगीकोको संगठित जालो
सहकारी ठगीमा फैलिएको संगठित जालोबारे उकेराले प्रारम्भदेखि नै प्रमाणमुखी समाचार प्रकाशित गर्दै आएको थियो नै। त्यसलाई यस पटक पनि हामीले निरन्तरता दियौँ। पूर्वगृहमन्त्री रवि लामिछानेको नागरिकतादेखि दोहोरो राहदानीसम्मका विषय उकेराले प्रमाणसहित सार्वजनिक गरेको थियो। सहकारी ठगीमा उनको संलग्नताको विषयमा पनि हामीले प्राप्त प्रमाणको आधारमा समाचारलाई निरन्तरता दियौँ।

रविबारे समाचार प्रकाशित गर्दा हामी एकपक्षीय भएनौँ। उनीमाथि राज्यका केही व्यवहार पूर्वाग्रही थिए। त्यसबारे समेत हामीले विश्लेषणात्मक सामग्री प्रकाशित गरेका थियौँ। त्यो क्रम पछिल्लो समय रविको घरमै भएको धरपकडको घटनासम्म कायमै रह्यो।

अन्त्यमा, 


उकेराले छापामाध्यमको अभ्यास जारी राख्दै विशेष सामग्रीसहितको म्यागजिन प्रकाशित गर्ने गरेको छ। यस पटक हामीले इतिहासका अध्यता दाजुभाईबारे विशेष सामग्रीसहितको उकेरा म्यागजिन प्रकाशित गरेका थियौँ। आगामी अंक नेपाली फिल्म क्षेत्रबारे विशेष सामग्रीसहित प्रकाशित हुनेछ।

अख्तियार आयुक्त सुमित्रा आमत्य आफैँले सार्वजनिक जग्गा मिचेकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गर्यो। अन्तमा अदालतबाट समेत अमात्यको काम गैर कानुनी ठहर भयो।

२०८१ लाई बिदाई गर्दैगर्दा उकेराले सार्वजनिक यातायातको बेथिति र अवस्थाबारे विशेष खोजमुलक सामग्रीको प्रकाशन शुरूवात गरेको छ। यो २०८२ मा निरन्तर रहनेछ। र खोजमुलक सामग्रीको खोजीको यात्रा जारी नै रहनेछ।

वैशाख १, २०८२ सोमबार ०८:४९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।