धर्म सोधेर हानिएको थियो सुदीपलाई गोली, मुस्लिमको लाइनमा बस्दा जोगियो आमा र बहिनी-ज्वाइँको ज्यान

बुटवल : भारतको जम्मू कश्मीरको पहलगाममा भएको बन्दुकधारीहरू आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव अन्त्येष्टि हुँदैछ।
उनको शव दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै बिहीबार विहान बुटवल ल्याइपुर्याइएको थियो। घरमा अन्त्येष्टीको प्रक्रिया सकेपछि अहिले शवलाई त्रिवेणी लगिएको छ।
बन्दुकधकारीको समूहले सुदीपलाई हिन्दूको लाइनमा राखेर गोली हानेको खुलेको छ।
‘एक्कासी जंगलबाट बन्धुकधारीहरू आए। उनीहरू मुस्लिम र हिन्दु को-को हो भनेर सोधे। मुस्लिम भएकाहरूलाई अल्लाह भन्न लगाए। त्यहिबेला आत्तिएका सुदीप हिन्दूको लाइनमा लागे। आमा, बहिनी र ज्वाइँ भने मुस्लिमको लाइनमा लागेकाले बाँचे’, ज्वाइँ युवराज काफ्लेसँग भएको कुराकानी उद्धृत गर्दै बुटवल-१४ का वडाध्यक्ष दधिराम न्यौपानेले भने।
उनले बहिनी सुष्मा, ज्वाईं युवराज र आमा रिमकला मुस्लिमको लाइनमै लागेकाले बच्न सफल भएको बताए। बन्धुकधारीले सुदीप लगायतका अन्य पर्यटकलाई नजिकैबाट गोली प्रहार गरेको वडाध्यक्ष न्यौपानेले बताए।
२७ वर्षीय सुदीप आमा रिमकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए।
सुदिपको मृत्युपछि शोकमा बुटवल
सुदीपलाई बन्धुकधारी समूहले हत्या गरेपछि यतिबेला बुटवल शोकमा डुबेको छ।
सुदीपलाई त्रिवेणी लैजानुअघि ठूलो संख्यामा आफन्त, छिमेकी र बुटवलबासीले उनको पार्थीक शरीरमा फूल चढाएका थिए। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले घटना दु:खद् भएको बताए।
सुदीपको घरमा भेला भएका आफन्तहरू सवै भावविह्वल भएका छन्। सुदीप बुटवलमा एक अशल समाजसेवी युवाको रुपमा परिचित थिए। बुटवल बेलभरिया घर भएका सुदिप आमाबुवाको सम्बन्ध बिच्छेद भएपछि आमा र बहिनीसँग बुटवल-११ कालिकानगरमा बस्दै आएका थिए।
सम्बन्धित समाचार :
वैशाख ११, २०८२ बिहीबार ११:०२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।