नीति तथा कार्यक्रम स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

नीति तथा कार्यक्रम स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्न आज बिहान मन्त्रिपरिषद्को बैठक बस्दैछ।

शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, प्रधानमन्त्रीको अध्यक्षतामा बिहान १०:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो।

आज सार्वजनिक हुन लागेको सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएर औपचारिक रूपमा पारित गर्नु नै यो बैठकको मुख्य एजेन्डा रहेको प्रवक्ता पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै आजै सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संवैधानिक व्यवस्था अनुसार, सरकारले बजेट ल्याउनुअघि आफ्नो वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेर पारित गर्नुपर्ने प्रावधान रहेको छ। सोही अनुसार आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

त्यसरी ल्याइने नीति तथा कार्यक्रमलाई संसदमा प्रस्तुत गर्नुअघि अनिवार्य रूपमा मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने संवैधानिक र प्रशासनिक व्यवस्था छ।

वैशाख २८, २०८३ सोमबार १०:२४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।