समताको बदमासी ७ : उत्तम सन्जेलको ठगीमा मौन छन् 'संरक्षक' मह जोडी, आनी छोइङ बोल्नै चाहिनन्

समताको बदमासी ७ : उत्तम सन्जेलको ठगीमा मौन छन् 'संरक्षक' मह जोडी, आनी छोइङ बोल्नै चाहिनन्

काठमाडौँ : समता शिक्षा निकेतनको कार्यक्रमहरूमा नछुट्ने अनुहार हुन् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य। यी दुबैलाई उत्तम सन्जेलले विद्यालयको संरक्षकको रूपमा प्रचार गर्दै आएका छन्।

ग्रामीण भेगहरूमा समेत समता निकेतन खोल्ने भनेर जहाँ-जहाँ सन्जेलले कार्यक्रम गरे त्यहाँ त्यहाँ हेलिकप्टरमै पुगे यी कलाकार। समताको प्रचारमा स्वदेशमा मात्रै हैन विदेशमा पनि उनीहरू सन्जेलसँगै देखिएका थिए।

जग्गाको भाडा नतिरेपछि सम्झौता गर्न नमानेको जग्गाधनीलाई फकाउन समेत मह जोडी जग्गाधनीको घरसम्मै पुगेका थिए।

तर मासिक एक सय रुपैयाँ शुल्कमा गुणस्तरीय शिक्षा भन्दै समताका सन्जेलले गरिरहेका बदमासी उकेरामा सार्वजनिक भएपछि संरक्षक भनिएका दुवै कलाकार केही थाहै नपाएझैँ गरिरहेका छन्।

महमध्ये हरिवंश आचार्यसँग समताका सन्जेलका बदमासीहरूबारे जिज्ञासा राख्दा उनले  'यसबारे सञ्चालक उत्तम सन्जेलसँगै बुझ्नु म केही कुरा गर्दिन' भने।

समतामा देखिरहने अर्को अनुहार हुन् आनी छोइङ डोल्मा। मह जोडीको समता भने जस्तै केहिले आनी छोइङ्गको समता पनि भन्ने गरेको पाइयो। उनी पनि महजस्तै समताको अधिकांश कार्यक्रमहरूमा सहभागी हुने गरेकी थिइन्।

राजुबाबुले दान दिएको जग्गामा समताको भवन बनाउन शिलान्यास गर्दै कलाकार हरिबंशसहितका। भवन बने पनि अहिले सञ्जेल सम्पर्कहिनहुँदा विध्यालय सञ्चालन भएको छैन।शिक्षक मासिकमा २०६६ साउन १ गते समताबारे प्रकाशित समाचारमा सञ्चालक सन्जेलले महजोडी सँगै 'आनी छोइङ डोल्मा र डा. सुन्दरमणी दीक्षितले पनि सहयोगी हातहरू खोजिदिनुहुन्छ' उल्लेख छ।

समतासँगको सम्बन्धबारे बुझ्न उकेराले आनी छोइङसँग सम्पर्कको प्रयास गरेको थियो। तर उनी सम्पर्कमा आउनै चाहिनन्। उनले आफ्नो 'कोर्डिनेटर' मार्फत समतासँग केही सम्बन्ध नभएको र यसबारे कुरा गर्न नचाहेको सन्देश पठाइन्।

सन्जेलले समताको नाममा आयोजना गर्ने अधिकांश कार्यक्रममा व्यवसायी उपेन्द्र महतो पनि छुट्दैनन्। उनीसँगै जीवा लामिछाने, कलाकार किरण केसीहरू पनि सहभागी हुने गरेका छन्। अहिले अधिकांश सन्जेलबारे बोल्न तयार भएनन्।

डा सुन्दरमणि दीक्षित समतासँगको सम्बन्धबारे बोल्न राजी भए। उनले समतासँग आफू नजोडिएको तर सहयोग भने गरेको बताए।

'कुन साल हो भन्ने पनि बिर्सिसके। तर समता खुलेको भर्खर एक/डेढ वर्ष भन्दा बढी भएको थिएन। हिन्दु विद्यापीठको प्राध्यापक चिन्तामणि पौडेलबाट समताको बारेमा थाहा पाएको थिए। त्यसबेला बौद्धमा रहेको समता हेर्न गयौँ। संरचना पनि बिलकुलै फरक थियो। विद्यार्थीहरू पनि अधिकांश त्यहीका गलैँचा बुन्नेको बच्चाहरू हुन् भन्ने थाहा भयो।'

त्यसबेला उत्तम सन्जेलले जग्गा भाडामा लिएको र भाडा निकै महँगो भएको बताएको सुनाउँदै दीक्षितले डेढ लाख जति सहयोग गरेको खुलाए।

केहीलाई सहयोग गरिदिनु भनेको तर सहयोग गरे या गरेनन् थाहा नभएको भन्दै उनले त्यसपछि समतासँग प्रत्यक्ष सम्पर्क नराखेको बताए।

कलाकार मदनकृष्णलाई संरक्षक भन्दै समताले आफ्नो फेसबुक पेजमा दिएको शुभकामना।उनले आफूले २० वर्ष अगाडिको उत्तम सन्जेल मात्रै चिनेको तर अहिले बदमासी गरिरहेका सन्जेललाई नचिनेको बताए।

'मैले २० वर्ष अघिको उत्तम सन्जेल मात्र चिनेको छु। त्यसपछि अहिले प्राइभेट कम्पनी खोलेको, अमेरिकामा पैसा माग्न गएको भन्ने सन्जेललाई मैले चिनेको छैन। अवैधानिक रूपमा विद्यालय चलाइरहेको हो भने विद्यार्थीहरूको लागि राम्रो भएन,' उनले भने, 'अहिले समाचारमा आएको सबै कुरा साँचो हो भने त यसको संरक्षक भनेर बसेको र संस्थापकले त जवाफ दिनै पर्छ। नबोल्ने भनेर हुन्छ!' 

महजोडी समतामा संलग्नै हुन् या नाम दुरुपयोग ?

केही समय अघि महजोडीले आ-आफ्नो जीवनीको पुस्तक निकाले। जसमध्ये मदन कृष्णको किताब 'महको म' मा उनले कसरी सन्जेलसँग जोडिए भनेर उल्लेख गरेका छन्।

आफ्नो 'अटो-बायोग्राफी'मा कुनै संस्था र त्यसको सञ्चालकबारे करिब एक पृष्ठ लेखिएको छ भने पक्कै सम्बन्ध 'खास' हो भन्ने देखिन्छ नै।

उनको किताबको पृष्ठ २८७ को अन्तिम परिच्छेद देखि पृष्ठ २८८ सम्म समता र सन्जेलसँगको विषय उल्लेख गरेका छन्।

उनी लेख्छन्,'२०४३ सालतिरको कुरा हो। माइतीघरमा मह सञ्चारको कार्यालयमा एउटा अपरिचित युवा सिनेमा बनाउने भन्दै हामीलाई अभिनय गराउने उद्देश्य लिएर भेट्न आएका थिए। उनले सिनेमाको पटकथा सुनाउँदै भनेका थिए, फिल्मको सुरुमै असनको व्यस्त बजारमा ढ्याङ्ग बम पड्किन्छ। मानिसहरू तितरबितर हुन्छन्।' उनले यति भन्ने बित्तिकै बिचैमा कुरा रोकेर हामीले भन्यौँ, 'त्यस्तो दृश्यको छायाङ्कन असनको व्यस्त बजारमा गर्न सम्भवै छैन।' उनको कथा एकदमै रोचक थियो। तर, कथामा भएजस्तो दृश्यको छायाङ्कन गर्न सजिलो थिएन। किनभने, त्यतिबेला अहिलेजस्तो प्रविधिको विकास भइसकेको थिएन।'

महालक्ष्मीस्थान नगरपालिकामा बन्ने समता भवनका लागि सात लाख ५० हजार सहयोगलिँदै मदनकृष्ण र उत्तम। ललितपुरको वडालाई तिर्न बाँकी कर।त्यसपछि सन्जेल अर्कै कथा लेखेर ल्याउँछु भन्दै फर्किएको र उनलाई त्यसपछि कहिल्यै नभेटेको र बिर्सी सकेको उनले किताबमा लेखेका छन्।

'यसरी फिल्म बनाउने सपना देखेर हिँडेका तिनै युवा करिब १६ वर्षपछि २०५९ सालमा हामीलाई मह सञ्चारकै अफिसमा फेरि भेट्न आए।' तर, त्यतिबेला उनीसँग फिल्म बनाउने सपना थिएन। उनी अरू नै सामाजिक काममा सक्रिय भइसकेका थिए। ती तन्नेरी थिए, उत्तम सन्जेल। उनले सपना देखेको काम थियो, समता शिक्षा निकेतनको, जहाँ असम्भवजस्तो लाग्ने गरी एकदेखि १० कक्षासम्मै प्रति महिना एक सय रुपैयाँ मात्रै शुल्क लिएर पढाइन्छ,' उनले लेखेका छन्।

पछि सन्जेलले जोरपाटीमा लगेर समता विद्यालय देखाएको, बाँसैबाँसले बनाइएको बेग्लै संसारजस्तो देखेर आफूहरू मोहित भएको उनले किताबमा लेखेका छन्।

उनी लेख्छन्, 'त्यहीँ पुगेपछि हामीले थाहा पायौँ, गायिका आनी छोइङ डोल्माले पनि स्कुल सञ्चालनका निम्ति सरसहयोग जुटाइदिएकी रहिछन्।'

'सन्जेलको प्रयास देखेर हामीलाई पनि केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। तर, हामीले सोचेजस्तो सहयोग गर्ने अवस्था थिएन। कुनै किसिमले सहयोग जुटाइदिन पाए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो,' उनी लेख्छन्, 'हामीले कहिले कसलाई, कहिले कसलाई लगेर उत्तमसँग जोडिदियौ । हामीले जोडिदिएका मनकारीहरूले उत्तमलाई गाह्रो साह्रो पर्दा सहयोग गरिरहे। यस स्कुलसँग हाम्रो संलग्नता भन्नु नै स्कुलप्रति हाम्रो नैतिक समर्थन मात्रै हो। गाह्रो साह्रो पर्दा उपस्थित हुनु र सहयोग गर्ने कोही भेटिएमा स्कुलसम्म जोडिदिनु मात्रै हो।'

उनले पुस्तकमा नैतिक समर्थन मात्र रहेको लेखेका छन्। तर सन्जेलले निरन्तर उनलाई समता निकेतनको संरक्षकको रूपमा प्रचार गरिरहे। सन्जेलले समताको संरक्षक भनेर प्रचार गरेका मदनकृष्ण सन्जेलसँगै कार्यक्रमहरूमा देखिइरहे।

अनि समतासँग मह प्रत्यक्ष जोडिएको भ्रममा अधिकांश ठगिए। केहीले जग्गा समेत गुमाए। गोर्खाका राजुबाबु श्रेष्ठले महजोडी जोडिएको संस्था भएरै आफ्नो पुर्खाको पाँच रोपनी सात आना जग्गा समताको नाममा गरिदिएका थिए। अहिले उनी पछुताई रहेका छन्।

ललितपुरको महालक्ष्मीस्थानमा अबैध रुपमा खोलेको समता निकेतनको जगको शिलान्यास गर्दै कलाकार हरिबंशउनले दान दिएको जग्गामा रोटरीले भवन बनाइदिएको छ। तर सन्जेलले नजिकै जग्गा भाडामा लिएर खुलाएको विद्यालय बन्द गरेर सम्पर्कहीन भए। जग्गा भाडामा लिन सघाएका राजु ती जग्गाधनी सामु ठग समान देखिए।

अति नै भएपछि राजुले हरिवंश आचार्यसँग सम्पर्क गरेरै उत्तम सन्जेलको बदमासीबारे कुरा गरे। आचार्यले 'सन्जेल त्यस्तो त हैनन्, केही समस्यामा परे कि भनेको' बताउँछन् श्रेष्ठ।

'मैले पुर्खाको जग्गाको दान दिने निर्णय समतासँग मह जोडिएकाले पनि हो। यतिको प्रतिष्ठित कलाकार समेत जोडिएको संस्थाले बदमासी गर्ला भनेर सोचै आएन' उनले भने' गोर्खामा समताको दुई पटक कार्यक्रम गर्दा उहाँहरू पनि आउनु भएको थियो। तर सन्जेल बदमास निस्किए।'

श्रेष्ठमात्रै हैन, सञ्जेलले जहाँ-वहाँ समता खोलेर बदमासी गरेर सम्पर्कहिन भएका छन् ती स्थानका अधिकांशले सन्जेलभन्दा पनि कलाकार मदनकृष्ण र हरिबंशलाई विश्वास गरेर सन्जेलसँग जोडिएको देखियो। 

सिन्धुपाल्चोक मेलम्चीका जग्गाधनी रेवती दुलालले पनि सन्जेल भन्दा पनि मह जोडीलाई देखेरै जग्गा भाडामा दिएको खुल्यो। कर्मचारीको पारिश्रमिक अनि जग्गा भाडा नदिई सन्जेल फरार भए पनि दुलाल अहिलेसम्म सन्जेल नआए पनि महजोडी आएर भेट्छन् कि भन्ने आसमा देखिए। मह घरमै आएर जग्गा भाडाको सम्झौता गर्न आग्रह गरेपछि टार्न नसक्दा सन्जेलबाट ठगिएका ललितपुरका जग्गाधनी समेत कतै महले सन्जेलले नतिरेको भाडा रकम पठाइदिन्छन् कि भन्ने आशमा देखिए।

तर महमध्ये मदनकृष्ण श्रेष्ठ स्वस्थ छैनन्। स्वस्थ रहेका हरिवंश सन्जेल र समताबारे बोल्नै चाहँदैनन्।

समताको आवरणमा सञ्जेलको बदमासी

८ फागुन, २०८०, १२:०२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।