सस्तो शिक्षाको आवरणमा उत्तम सन्जेलको बदमासी : अनुमति नै नलिई विद्यालय, न कर तिरे न जग्गाधनीको भाडा

सस्तो शिक्षाको आवरणमा उत्तम सन्जेलको बदमासी : अनुमति नै नलिई विद्यालय, न कर तिरे न जग्गाधनीको भाडा
समता निकेतनका प्रमुख उत्तम, महालक्ष्मीस्थानमा बनिरहेको भवन स्थल र उद्घाटनमा सहभागीहरु।

ललितपुर :  सय रूपैयाँमा पढाउने भनेर चर्चित समता शिक्षा निकेतन विद्यालय ललितपुरको महालक्ष्मी नगरपालिकामा अवैधानिक रूपमा चलिरहेको खुलेको छ। समताका प्रमुख हुन् उत्तम सन्जेल। उनले ललितपुरसँगै अन्य जिल्लाहरूमा समेत विद्यालय सञ्चालन गरिरहेका छन्। उकेराले ती जिल्लामा रहेका विद्यालयहरूबारे बुझ्दा अधिकांशमा बदमासी भइरहेको विवरण फेला पारेको छ।

समताको नाममा सन्जेलले गरेको बदमासी खोजीकोक्रममा उकेराले ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नम्बर चारमा सञ्चालित 'समता शिक्षा निकेतन' अवैध भएको विवरण फेला पारेको हो।

ललितपुर महानगरपालिका वडा नम्बर १७ मा लामो समयदेखि ‘समता निकेतन’ जग्गा भाडामा लिएर चलेको थियो। एकाएक विद्यालय त्यहाँबाट सर्यो। सर्दा जग्गा भाडा बापतको पैसा तिरेन। जग्गाको भाडा मात्रै हैन उसले स्थानीय सरकारलाई तिर्नुपर्ने कुनै कर समेत तिरेको देखिएन।

भाडा अनि कर नतिरी उनीहरूले कुनै प्रक्रिया नै पुरा नगरी ललितपुर महानगरबाट महालक्ष्मी नगरपालिकामा विद्यालय सारेको पुष्टि भएको छ।

समताले पहिला ललितपुर जिल्लामा अनुमति लिएर विद्यालय सञ्चालन गरेको दाबी गर्दै आएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार अहिले सम्पूर्ण विद्यालय शिक्षाको नियमनको अधिकार स्थानीय तहमा सरेको छ। जसअनुसार विद्यालयको अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमनको सम्पूर्ण काम स्थानीय तहको क्षेत्राधिकार हो।

समता निकेतनले पहिला ललितपुर जिल्लाबाट सञ्चालनको अनुमति लिएको भए पनि नयाँ कानुन अनुसार एउटा पालिकाबाट अर्को पालिकामा विद्यालय सार्दा स्थानान्तरण प्रक्रिया पुरा गर्नुपर्ने थियो। तर उसले कानुनको पालना गरेन।

सम्बन्धित पालिकाको ऐन अनुसार नै विद्यालय चलाउनुपर्नेमा समताले भने स्थानान्तरण प्रक्रिया त टाढाको कुरा विद्यालय सरेको दुई वर्ष भइसक्दा पनि यसबारे महालक्ष्मी नगरपालिकालाई सामान्य जानकारी समेत दिएको देखिएन। 

महालक्ष्मी नगरपालिकाको प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले तीन वर्षदेखि आफू शिक्षा अधिकृत पदमा रहे पनि समताबाट अहिलेसम्म कुनै पनि सम्पर्क नभएको बताए।

महालक्ष्मीस्थान नगरपालिकामा बन्दै गरेको समताको भवन।पाँच सय मिटरको दुरीमा समता विद्यालय सञ्चालन भएको थाहा पाएपछि नजिकैको अर्को विद्यालयले गुनासो गरेको र त्यसपछि आफैले समताको प्रिन्सिपललाई भेट्न चाहे पनि उनले नभेटेको पौडेलको दाबी छ।

' महालक्ष्मी नगरपालिकाको कुनै पनि डेटामा समताको नामोनिसान छैन,’ उनले भने’त्यै भएर हाम्रो नगरपालिकाको लागि यो वैधानिक विद्यालय भएन!'

विद्यार्थी राख्ने कक्षा कोठा 'परेवाको खोर' जस्तो!

महालक्ष्मी नगरपालिकामा रहेको समता निकेतनको विद्यालय परिसरमा उकेराकर्मी पुग्दा उदेक लाग्दा दृश्य देखियो। समताको पहिचानै बाँसबाट विद्यालय भवन बनाउने हो। त्यहाँ भने सिमेन्टको ब्लकबाट कोठाहरू बनाइएको देखियो।

इमाडोलको वचुहाइटमा रहेको समतामा उकेराकर्मी पुग्दा अझै पनि विद्यालयको निर्माण कार्य जारी रहेको देखियो।विद्यालयको कोठाहरू झ्याल अनि ढोकाहिन देखिए।

बेढङ्गी अस्थायी टहरा र स-सानो कक्षा कोठा भएको समताको विद्यालय भवनलाई स्थानीयहरूले 'परेवाको घर' भन्ने गरेको सुनियो। उकेराकर्मी विद्यालयमा पुग्दा कोठामा केही विद्यार्थीहरू पढिरहेका देखिन्थे।

२०७८ सालमा समता स्कुलको संस्थापक उत्तम सन्जेलले अन्य ठाउँमा जस्तै केही चर्चित कलाकारहरूको उपस्थितिमा ललितपुरमा धुमधामका साथ नयाँ संरचना बनाउन उद्घाटन गराएका थिए।

तत्कालीन महालक्ष्मी नगरका नगर प्रमुख रामेश्वर श्रेष्ठ सहित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व सभापति जीवा लामिछाने, कलाकार हरिवंश आचार्य, किरण केसी र नेपाल सरकारका पूर्व मुख्य सचिव तीर्थमान शाक्य उद्घाटनमा देखिएका थिए।

सन्जेलको हरेक कार्यक्रममा मदनकृष्ण र हरिवंशसँगै गैर आवासीय नेपालीका नेताहरू उपेन्द्र महतो, जीवा लामिछानेहरु छुट्दैनन्।

उद्घाटनको बेलामा ७० लाख रूपैयाँको लागतमा भवन निर्माण गरेर एक वर्ष भित्रै विद्यालयको संरचना निर्माण गरिसक्ने दाबी गरिएको थियो। तर, अहिले दुई वर्ष भन्दा बढी समय बिते पनि विद्यालयको भवन बनेको देखिएन।

तत्कालीन मेयर नै उद्घाटनमा गएकाले त्यसको कानुनी पाटोको सोधखोजै भएन। निम्न वर्गीय स्थानीयहरूले आफ्नो छोराछोरीलाई समतामा भर्ना गरिदिए। तर विद्यालयले सामान्य कानुनी प्रक्रिया पनि पुरा गरेको थिएन।

समता ललितपुरका प्रिन्सिपल रामकृष्ण भण्डारीका अनुसार ग्वार्को (ललितपुर महानगरपालिका वडा नं १७) मा हुँदा आठ सय विद्यार्थी भए पनि अहिले भने लगभग पाँच सय विद्यार्थी छन्। ग्वार्कोबाट सरेर महालक्ष्मीस्थान आउँदा उताको स्थानीय विद्यार्थीहरू उतै छुटेको उनले बताए। त्यस्तै शिक्षक तथा कर्मचारी भने २८,२९ जना रहेको उनले जानकारी दिए।

महालक्ष्मीस्थानमा विद्यालय भवन बनाउन समता ग्लोबल सिनेट नामको संस्थाले सात लाख ५० हजार रूपैयाँ दिएको समेत खुल्यो। सो रकम लिन समेत सन्जेल मदनकृष्ण श्रेष्ठलाई साथै लिएर गएका थिए।

कर नतिर्ने तर उल्टै छुट माग्ने

विद्यालय सञ्चालनको आम्दानी र खर्चबारे उकेराले प्रिन्सिपल भण्डारीसँग जिज्ञासा राखेको थियो। उनले समताका लागि दाताबाट आउने सहयोग, विद्यार्थी शुल्कबाट उठ्ने रकम र खर्च विवरण सबै यसको सञ्चालक उत्तम सन्जेलले नै हेर्ने गरेकाले आफूलाई जानकारी नभएको बताए।

'त्यहाँबाट यहाँ आउन धेरै गाह्रो भयो। त्यहाँको पुरै संरचना मासेर यहाँ ल्याउनुपर्यो,’ उनले उकेरासँग भने’ नगरपालिका नै अलग भएपछि फेरी अर्कै प्रक्रिया पनि हुन्छ। त्यो प्रक्रिया पनि सकिसकेको छैन। सरहरुले हेर्दै हुनुहुन्छ।'

महालक्ष्मीस्थान नगरपालिकामा बन्ने समता भवनका लागि सात लाख ५० हजार सहयोगलिँदै मदनकृष्ण र उत्तम। ललितपुरको वडालाई तिर्न बाँकी कर।उकेराले प्राप्त गरेको कागजातमा उनै प्रिन्सिपल भण्डारीको हस्ताक्षर भएको निवेदनमा वडा नम्बर १७ ग्वार्कोको वडा अध्यक्षलाई सम्बोधन गरेर स्थानान्तरणको सिफारिस मागिएको देखिन्छ। तर, त्यसमा मिति भने उल्लेख छैन।

यसबारे ललितपुर महानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष विनोद महर्जनसँग सम्पर्क गर्दा समताले स्थापनाकालदेखि कुनै पनि कर नतिरेका कारण स्थानान्तरणको प्रक्रिया अघि नबढाएको बताए।

'समताले अहिलेसम्म वडालाई तिर्नुपर्ने कुनै पनि कर तिरेको छैन। जग्गाको भाडा समेत नतिरेको भनेर हाम्रै वडावासीले गुनासो गरिरहेको छन्। यस्तो बेलामा स्थानान्तरणको प्रक्रियाको सिफारिस म कसरी दिऊँ?' वडा अध्यक्ष महर्जनले भने।

उकेराले प्राप्त गरेकै कागजात अनुसार समता यस वडामा ०६७/०६८ सालदेखि संचालनमा रहेको देखिन्छ। अनि सोही वर्षदेखि हालसम्म यसले कुनै पनि प्रकारको कर तिरेको देखिएन।

व्यवसाय कर, वातावरण कर, बहाल कर, नवीकरणदेखि लिएर जरिवाना समेत गरेर समताले करिब १० लाख बराबर कर वडामा तिर्नुपर्ने देखियो। अहिलेसम्म कुनै पनि कर नतिरेको तर उसले उल्टै कर छुट गरिदिन भन्दै आग्रह गरेको वडा अध्यक्ष महर्जनको भनाइ छ। ललितपुर महानगरकै शिक्षा महाशाखा प्रमुखले पनि समताले स्थानीय तहलाई तिर्नुपर्ने कुनै कर नतिरेको पुष्टि गरे।

'यहाँबाट स्थानान्तरणको प्रक्रिया अघि बढेपछि मात्र अर्को पालिकामा भएको देखिने न हो। उहाँहरूले हाम्रो महानगरको वडामा अहिलेसम्म कर तिरेको देखिएन,’ महाशाखा प्रमुख महेन्द्र बहादुर क्षत्री भने,’ कुरा गर्दा फन्ड उठाए पछि गर्छु भन्नु भएको रहेछ। तर, यता त्यत्तिकै छोड्दिने अनि उता पनि त्यत्तिकै सञ्चालन गर्नु भनेको त राम्रो भएन।' 

जग्गा भाडा माग्दा मदनकृष्ण र हरिवंशको प्रयोग

ललितपुरमा समता निकेतन खोल्न जग्गा भाडामा दिएका जग्गा धनीले पनि समताको सञ्चालक खोजिरहेका छन्। १० वर्षको लागि समताले स्थानीयको जग्गा भाडामा लिएको देखियो।

सम्झौता सकियो। दोहोर्याएर जग्गा भाडा दिन जग्गाधनीले अस्वीकार गरेपछि सन्जेलले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतका व्यक्ति लिएर जग्गाधनी भेट्न गए।

उनीहरू लुँखुसिमा रहेको आफ्नै घरमा आएको घरबेटीले उकेरालाई बताए। उनले आफ्नो नाम नलेखिदिन उकेरासँग आग्रह गरेकाले जग्गाधनीले नाम समाचारमा नलेखिएको हो।

नेवार समुदायमा मदनकृष्ण र हरिवंशको अलग्गै क्रेज छ। देशका ठूला कलाकारहरू एकाएक साधारण व्यक्तिको घरमा पुग्दा टोलभरिको मान्छे हेर्न आए। त्यस्तो माहौल भएको बेला फेरी सम्झौता गर्दिन भन्न सकेनन् जग्गा धनीले।

सम्झौता अनुसार जग्गा पहिलाकै ढाँचामा राख्ने सहमति भयो। तर, जाँदा खाल्डाखुल्डी छोडेर, घरबेटीलाई खबर नगरी समता त्यहाँबाट कुनै प्रक्रियाबिना अर्को पालिकामा सर्यो।

'हामी त अब नदिनेमा थियौँ। मदनकृष्ण, हरिवंश लिएर घरमै आएछ। अनि फेरी चार वर्षको लागि सम्झौता गरेको हो,' उनले भने 'अगाडि दश वर्षको भाडा दियो। पछि चार वर्षको पनि दियो। मदनकृष्ण र हरिवंशको अनुहार हेरेर दिएको त दुई वर्षको पैसा नै नदिई हिँड्यो।‘

ललितपुरको ग्वार्कोमा समता रहेको जग्गा जसको सात लाख भाडा तिरेका छैनन् सञ्जेलले।उनी महालक्ष्मीस्थानमा रहेको विद्यालयमा पटक पटक गएर भाडाको पैसा मागेका रहेछन्। तर अझै पाएका छैनन्। वर्षको तीन लाख ५० हजारको दरले सात लाख लिन बाँकी छ। उनका अनुसार अहिले उत्तमले उनको फोन पनि उठाउँदैनन्।

अहिले समताले महालक्ष्मीस्थानको वचुहाइटमा स्थानीय विराजविक्रम सिलवालसँग २० वर्षका लागि उनको चार रोपनी जग्गा भाडामा लिएको देखियो।

वडा अध्यक्ष भन्छन्, 'उठाएर फालिदिन्छु'

महालक्ष्मीस्थानमा आउनुअघि समताले नव निर्वाचित वडा अध्यक्ष अमृत खत्रीसँग सम्पर्क गरेको रहेछ। तर, उनै खत्रीसँग उकेराले कुरा गर्दा निकै कड्किए। उनले त्यो बेला समता भनेको राम्रै हो जस्तो लागे र भर्खर निर्वाचित भएको बेला समता जस्तो स्कुललाई मौका दिनुपर्छ भन्ने लागेको बताए।

‘तर, अब त्यहाँबाट म स्कुल उठाएर फालिदिन्छु' उनले झोक्किँदै भने।

सबैले राम्रो विद्यालय भनेकाले सहयोग गरेको तर पछि त्यसको भित्री बदमासीका कुराहरू आएपछि मन नपरेको उनको भनाइ छ। समता महालक्ष्मीस्थान नगरपालिकामा आएपछि पनि कुनै कर तिरेको देखिएन।

विद्यालयको भवन मापदण्ड अनुसारको संरचनामा छैन। वडामा अहिलेसम्म यसको नक्साको सिफारिस लिन पनि कोही आएको देखिएन।

सन्जेलले सय रूपैयाँमै शिक्षा भन्दै समता शिक्षा निकेतनको नाममा ललितपुरसँगै काठमाडौँ, पोखरा, चितवन, सिन्धुपाल्चोकको मेलम्ची, नवलपरासी लगायतका क्षेत्रमा विद्यालय सञ्चालन गरे पनि अधिकांश क्षेत्रका विद्यालयहरू ललितपुरको जस्तै भद्रगोल देखिए। पछिल्लो समय सन्जेल अस्पताल सञ्चालनतिर समेत लागेका छन्।

समता निकेतन निजी कम्पनीको नाममा रहेको देखिन्छ। उनले सस्तोमा शिक्षाभन्दै विभिन्न प्रभावशालि व्यक्तिको प्रयोग गर्दै सहयोग समेत उठाउने गरेका छन्। यसबारे उकेराले निरन्तर फलोअप स्टोरी प्रकाशित गर्ने नै छ।

१० पुस, २०८०, १७:४९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।