'टेन्डर मिलाउने' दबाब झेल्न नसक्दा तीन महिनामै गेटाको निर्देशकबाट डा श्रीपाइलीको राजीनामा

काठमाडौँ : ११ हप्ताअघि कात्तिक २३ कैलालीको गेटा अस्पतालको निर्देशक भएका डा. अशोक श्रीपाइलीले निर्देशकको जिम्मेवारीबाट हटाइदिन अनुरोध गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाए। गेटा जान इच्छुकहरूको सङ्ख्या बाक्लै भएको बेलामा पौडेलले श्रीपाइलीलाई गेटाको निर्देशकमा नियुक्त गरेका थिए।
तर ११ हप्तामै उनले मन्त्रालयमा निर्देशक पदबाट राजीनामा दिँदै प्रदेश अन्तर्गतको सेती अस्पतालमा नै खटाइदिन अनुरोध गरे। माघ ६ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन। उनले स्वास्थ्य मन्त्री पौडेललाई भेटेर गेटाको निर्देशकको जिम्मेवारीबाट हटाएर प्रदेश अन्तर्गतको सेती अस्पतालमा खटाइदिन अनुरोध गरेको खुलेको छ। उनले स्वास्थ्य सचिव डा. रोशन पोख्रेलसँग पनि भेटेर त्यही अनुरोध गरेका थिए।
४० करोडको खरिद रहेको अनि निर्देशक बन्न चिकित्सकहरूबिच तँछाडमछाड भइरहेको गेटाको निर्देशकको पदबाट श्रीपाइलीले राजीनामा दिनुको कारण सामान्य पक्कै थिएन। उकेराले यसबारे गरेको सोधखोजमा पनि यो सामान्य देखिएन। उकेराले सम्पर्क गरेका स्रोतहरूका अनुसार गेटामा अस्पताल प्रमुख भएर काम गर्न डा. श्रीपाइलीले दिक्क माने। दिक्दारीको कारण देखियो गत वर्ष भएको ७० करोडको खरिदको गोलमाल अनि यो वर्षका लागि खरिदमा छुट्टिएको ४० करोडको बजेट।
श्रीपाइली अगाडि गेटाको निर्देशक थिए डा. विप्लव सापकोटा। उनले गत वर्ष गेटाले पाएको करिब ८० मध्ये ७० करोडको खरिद गरे। अधिकांश खरिद मिलेमतोमा भएको थियो। डा सापकोटाको कार्यकालमा भएको कुनै पनि खरिद पारदर्शी भएन।
प्रदीप पौडेल अगाडि नै डा सापकोटा गेटाको निर्देशक भएका थिए। पौडेल स्वास्थ्यमन्त्री भएपछि डा सापकोटाको बदमासीको फेहरिस्त उनकोमा पुग्यो। खरिदबारे छानबिन गर्न सुझाव पुग्यो। उता डा सापकोटा निर्देशकमा कायम रहन दौडधुपमा थिए।
पौडेलले डा सापकोटालाई निर्देशकबाट हटाएर श्रीपाइलीलाई लगे। डा. श्रीपाइली सङ्घ अन्तर्गतको ११औँ तहका कर्मचारी हुन्। उनको भेरी अस्पतालमा दरबन्दी छ। गेटा आउनुअघि उनी सेतीमा नै काजमा कार्यरत थिए।
निर्देशकमा श्रीपाइली गए पनि सापकोटा गेटाबाट हटेनन्। अस्पतालको प्रमुख भइसकेका व्यक्ति सेकेन्डम्यान भएर बस्न राजी भए। सेकेन्ड म्यान हुन राजी हुनुको कारण आफ्नो कार्यकालमा भएका खरिदको भुक्तानी सक्काउनु र मिलेमतोमा भएको खरिदको कागज मिलाउनु देखियो।
जानकारस्रोतका अनुसार श्रीपाइलीमाथि गत वर्ष मिलेमतोमा भएको खरिदको कागजपत्र मिलाएर भुक्तानी खुलाउने र अहिले छुट्टिएको ४० करोडको खरिद पनि उस्तैगरी निश्चित आपूर्तिकर्ताको स्वार्थमा निकाल्न दबाब बढ्यो। श्रीपाइली गेटाको निर्देशक नियुक्त हुनुमा परराष्ट्रमन्त्री आरजु देउवाको इच्छा पनि मिसिएको थियो।
‘निर्देशक भएर आएपछि उहाँले गत वर्षका खरिदको प्रक्रिया र भुक्तानी रोकिएकाहरूको कारण हेर्दा नै झस्किसक्नु भएको थियो। गलत ठाउँमा आइएछ भन्नुहुन्थ्यो,’ जानकारस्रोतले उकेरालाई भन्यो ‘यो वर्षका लागि खरिद गर्न छुट्टाएको ४० करोडको खरिद प्रक्रिया पनि आफू अनुकूल गराउन मन्त्रालयबाट निरन्तर दबाब बढेपछि फस्नु भन्दा सरुवा नै ठिक भनेर उहाँले राजीनामा दिनुभयो।’
राजिनामा दिएकोबारे कुरा गर्न उकेराले श्रीपाइलीसँग पटक पटक सम्पर्क गर्ने प्रयास गर्यो। तर सम्पर्क सफल भएन। उनी सम्पर्कमा आउन चाहेनन्।
गेटाको बदमासीमा न अख्तियार न मन्त्रालयलाई चासो
सुदूरपश्चिम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने महत्त्वाकाङ्क्षी योजना अनुसार २०७३ बाट कैलालीमा गेटा मेडिकल कलेजको निर्माण सुरु भए पनि सात वर्ष त पूर्वाधार निर्माणमै बित्यो। गत आथिर्क वर्ष गेटा अस्पतालमा मेसिन, औजार तथा उपकरण किन्न ८० करोड बराबरको बजेट गयो।
मोहन बस्नेत स्वस्थ्यमन्त्रीहुँदा सुरु भएको खरिद प्रक्रिया उपेन्द्र यादव हुँदै प्रदीप यादवको पालामा आएर खरिदकोक्रम सकियो। यो बिचमा जति पनि खरिद प्रक्रिया भए ती सबै मिलेमतोमा भएको देखियो। उकेराले गेटामा भएको खरिद प्रक्रियाबारे गरेको अनुसन्धानमा प्राय सबै टेन्डरहरू निश्चित कम्पनीको स्वार्थमा प्रक्रिया अगाडि बढेका थिए।
६ सय शैयाको अस्पताल सञ्चालनको लक्ष्य लिएर करिब ६ अर्ब सरकारी कोषबाट रकम खर्चिएर भौतिक पूर्वाधार बन्यो। ६ सय लक्ष्य राखिएको अस्पतालमा तीन सय शैयाहुँदै एक सय शैया सञ्चालन गर्ने भन्दै आर्थिक वर्ष २०८०–०८१ मा करिब ७० करोड बराबरको मेसिन, औजार तथा उपकरण खरिद भयो।
खरिदमा मन्त्रीको चासो हुने नै भयो। मन्त्रीको स्वार्थ पुरा गर्दै तत्कालीन निर्देशक डा सापकोटा र बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतले स्पेसिफिकेसन लक्ड गरेर स्वतन्त्र प्रतिस्पर्धा हुनै नसक्ने अवस्था निर्माण गरेर महँगोमा उपकरण तथा मेडिकल सामग्री किने। यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालय र मन्त्रालय मौन बसे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।
गेटाका लागि पहिलो अस्पताल प्रमुख डा. प्रमोद जोशीले ८० करोड बजेट पार्न सफल भएका थिए। उनीसँगै ट्रमा सेन्टरका १० औँ तहका चिकित्सक डा. विप्लव पनि गेटा गएका थिए। त्यही बिचमा डा. जोशीलाई तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सदस्य सचिव बनाएर ल्याए। त्यसपछि डा. सापकोटाले प्रारम्भमा निमित्त पाए, पछि निर्देशकै भए।
निर्देशक भए लगत्तै उनले अस्पतालका लागि स्वास्थ्य सामाग्री तथा उपकरणको खरिद प्रक्रिया भटाभट अगाडि बढाए। खरिद सुरु गरेको चार महिनाभित्र उनले ८० करोडमध्ये करिब ७० करोडको टेन्डर सक्काए।
डा. सापकोटा अस्पतालको निर्देशक हुँदा तत्काल स्वास्थ्य सेवा सुरु गर्न आवश्यक स्वास्थ्य औजार तथा उपकरणमा भन्दा पनि उनले महँगा र तत्काल अस्पतालमा जनशक्ति उपलब्ध नभएका ठूला उपकरण किन्न केन्द्रित देखिएका थिए।
स्वास्थ्यमा पौडेलले आएपछि निर्देशकै रहन डा. सापकोटा पटक-पटक काठमाडौँ आएका थिए। तर गत कार्तिकमा सापकोटा निर्देशकबाट हटे, डा. श्रीपाइली गेटाको निर्देशक भए। तर, तीन महिना पनि टिक्न गाह्रो भएको देखियो उनलाई।
डा श्रीपाइलीले दिएको राजीनामा मन्त्री पौडेलले स्वीकृत गरेका छैनन्। यो बिचमा डा सापकोटा काठमाडौँ आएर पुन निर्देशक बन्न सक्रिय भइसकेका छन्। उनले उकेरासँग भने ‘आफू निर्देशक बन्न नहिँडेको दाबी गरे।
‘खरिदमा मन्त्रीको इन्ट्रेस्ट अलग। उता बुढानीलकण्ठतिरकाबाट पनि उस्तै दबाब आउने,’ जानकारस्रोतले भन्यो ‘पुरानो टेन्डरमा पनि उस्तै गडबड देखिएपछि राजीनामा दिनुभयो। नत्र अस्पतालको राम्रो पूर्वाधार पनि बनाउन सकिने अनि राम्रै बजेट भएको अस्पतालको नेतृत्व तीन महिनामै किन छाड्नुपर्थ्यो र। माथिबाट भने अनुसार काम नगरे थेग्नै गाह्रो। भने अनुसार काम गरे फसिने भएकैले राजीनामा दिनुभयो।’
माघ २०, २०८१ आइतबार १५:१३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।