पाथीभरा केबलकार अवरोधको विपक्षमा निजी क्षेत्रका तीन संस्था एकै ठाउँ, स्थानीय सहमत भए पनि बाह्य हस्तक्षेप भएको दाबी

काठमाडौँ : नेपालका निजी क्षेत्रका तीन वटा संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर पाथीभरा (मक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको परियोजनामा विरोध भएकोमा आपत्ति जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन अस्तव्यस्त भएको भन्दै यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने दाबी गरेका छन्।
‘विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न,विकास निर्माणको कार्यलाई सहज र निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।
पाथीभरा (मक्कुम्लुङ) मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने बद्धबृद्धा, अशक्त बालबालिका सहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन, कृषि, हस्तकलाको विकास मार्फत व्यवसायको प्रवर्धन हुने विज्ञप्तिमा दाबी गरिएको छ।
केबलकार निर्माणका लागि स्थानीय तह र स्थानीयवासी सहमत रहेको र केबलकार बन्नुपर्छ भन्ने पक्षमा रहेको तर केबलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेप सहित केबलकार निर्माण कार्यमा अवरोध भएको तीनै संस्थाको दाबी छ।
तीन वटै संस्थाले समस्याको समाधान वार्ताबाट गर्न सकिने जनाउँदै विकासको प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथीभरा (मक्कुम्लुङ) केबलकार परियोजनालाई सहज र निर्बाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालासँग अपिल गरेको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिहरूले पनि मङ्गलवार छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नु पर्ने उल्लेख गरेका छन्।
पाथीभरा (मक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढाउनेक्रममा विरोध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले दमन गरेपछि अहिले यो विवाद पेचिलो बनेको छ।
केन्द्रमा गृह र स्थानीय विकास मन्त्रालयले वार्ताबाट समस्या समाधानको पहल गरिरहेका छन्। पछिल्लो समय केबलकारको विपक्षमा जातिगत र धार्मिक संस्थाहरूसँगै पहिचानवादी दलहरू समेत मिसिएर विरोध प्रदर्शन गरिरहेका छन्।
पाथिभरा केबलकारको मुख्य लगानीकर्तामध्ये एक चन्द्र ढकाल हुन्। उनी अहिले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष छन्। केबलकारको विषयलाई लिएर पछिल्लो समय आन्दोलनकारीहरुले ढकाल संलग्न अन्य क्षेत्रमा समेत अवरोध गरिरहेका छन्।
माघ २२, २०८१ मंगलबार १९:३२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।