मनास्लु लार्केला पदयात्रा- २ : पाँच हजार मिटरमा ‘गाह्रो भयो जस्तो छ’ भन्दै घोडा चढ्न पाउँदा भगवानै आए झैँ लाग्यो

मनास्लु लार्केला पदयात्रा- २ : पाँच हजार मिटरमा ‘गाह्रो भयो जस्तो छ’ भन्दै घोडा चढ्न पाउँदा भगवानै आए झैँ लाग्यो

गोरखा जिल्लाकै पुरानो मध्येको एक सामागाउँको प्रवेशद्वार नजिकै ठुलो क्षेत्रफलमा फैलिएको विद्यालय देखियो। प्राथमिक तहसम्म मात्र पढाइ हुने गौरीशङ्कर प्राथमिक विद्यालय रहेछ। विद्यार्थीहरू चौरमा घाम तापेर बसिरहेका थिए। दशैं-तिहारको बिदामा गएका शिक्षक अझै फर्किएका रहेनछन्।

विद्यालय अगाडि सानो कफीसप देखियो। त्यो कफीसप रहेछ ‘छ्योर्तेन सर’ को। उनी यहीँको निजी शिक्षक। १२ कक्षा पास गरेका उनी चुम भ्यालीबाट निजी स्रोतमा यहाँ पढाउन आएका रहेछन्। युवा नै थिए उनी। पढाउन थालेको आठ महिना मात्र भएको रहेछ।

उनका अनुसार यो विद्यालयमा सरकारी कोटामा नाम निकालेका सबै शिक्षकहरू मधेसका छन्। उनीहरूलाई सधैँ कोर्ष सक्काएर घर फर्किनै हतार हुन्छ रे। अनि बाँकी शैक्षिक अवधि निजी स्रोतका शिक्षकले नै सम्हाल्ने रहेछन्।

जम्मा ५४ जना विद्यार्थी। ती पनि सामागाउँको भन्दा अन्यत्रकै धेरै। पाँच कक्षासम्म यहाँ पढेपछि सबै काठमाडौँ जाने रहेछन्।

यो विद्यालय बौद्ध धर्मका चर्चित मिङयुर रिम्पोछेले हेर्ने रहेछन्। उनको स्वयम्भूमा ठुलो गुम्बा छ। आवासीयको सुविधा समेत रहेको विद्यालयमा प्राय काठमाडौँ जान पाइन्छ भनेर विद्यार्थीहरू पढ्न आउने रहेछन्।

थकान मेटाइदिने स्थानीयको आतिथ्य

मनास्लु पदयात्रामा सबै भन्दा बाक्लो बस्ती सामागाउँमै छ। कालो पहाडको खोँचहुँदै अगाडि बढ्दा फाट्टफुट्ट हिमाल देखिए पनि छ्याङ हिमाल देखिने यही गाउँमा पुगेपछि हो।

उकालो सकिएर जब सामागाउँमा पुगिन्छ अनि समथर भाग सुरु हुन्छ। अनि जता हेर्यो त्यतै हिमाल। हिमालै हिमालको बिचमा गाउँ।

यहाँ ढुङ्गाको पर्खाल, ढुङ्गाकै छानोको घर। पुरै भोटको सुगन्धमा रहेको गाउँको सुन्दरताबाट मोहित नहुने कमै मात्र हुन्छन् होला।

माथि सेतो हिउँ। तल झुप्प परेका बुट्यान। हिमाली भेगको माथिल्लो भेगमा त्यति हरियाली देखिँदैन। तर मनास्लुको सामागाउँ यसमा अपवाद देखियो। त्यति ठुला रुखहरू हैनन्, तर साना बुट्यानहरूले पनि पहाडलाई हरियो देखाइरहेका थिए।

प्राय सबैको घरमा खच्चड, घोडा र चौँरी देखियो। पहिला आरुघाटबाट सामान्य दैनिकीका लागि चाहिने सामानहरू पनि यहाँ ल्याउन यही सहयोगी हुन्थे। अहिले एक्लोभट्टीसम्म गाडी पुगे पनि त्यहाँबाट सामान ओसार्ने जिम्मा यी नै खच्चड, घोडा अनि चौँरीको हो।

हाम्रो समूह सामागाउँमा पुग्दा गाउँका प्राय सबै पुरुषहरू वाङ (बौद्ध धर्म अनुसारको प्रसाद) थाप्न काठमाडौँ गएका थिए। यहाँ महिला र बालबालिकामात्र देखिए। उनीहरू आन्तरिक र बाह्य पर्यटकहरूको सत्कारमा व्यस्त थिए।

पुङगेन गुम्बायहाँको सबैभन्दा ठुलो गुम्बा पुङगेन। यो नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय रूपमै चर्चित छ। सक्नेहरू हिँडेरै यहाँसम्म पुग्छन्। नसक्नेहरू हेलिकप्टर लिएर पनि यो गुम्बाको दर्शन गर्न जान्छन्। अर्को पद्म सम्भव गुम्बा पनि उत्तिकै लोकप्रिय छ। स्थानीयका अनुसार ठुला र साना गरेर यहाँ सय बढी गुम्बा रहेछन्।

यही गाउँमा छ वीरेन्द्र ताल। पुङगेन गुम्बा नजिकै रहेको यो तालको पहिला नाम अर्कै रहेछ। पछि यसको नाम राजा वीरेन्द्रको नाममा राखियो। मनासलु जाने प्राय पर्यटकहरू एक रात यही गाउँमा बस्न रुचाउने रहेछन्।

यही गाउँमा भेटिइन् सोनाम छोर्देन लामा। उनले होटेल चलाउन थालेको दुई वर्ष मात्र भएछ।

माइलो सन्तान लामा बन्ने संस्कार पुरानै हो। अहिले पनि सामागाउँमा माइलो सन्तान भएमा लामा बन्ने पक्का। दुई छोरा सन्तान भयो भने पनि एक जना लामा बन्ने रहेछन्।

उनले छोरालाई लामा पढ्न गुम्बामा हालेकी रहिछिन्। अनि छोरीलाई काठमाडौँमा पढाइरहिछन्। श्रीमान् भने धर्मशालाको होटेल चलाउँदो रहेछन्।

पद्मसम्भको पुरानो गुम्बा हामी उनको होटेलमा बस्दा उनी एक्लै थिइन्। एक्लैले १३ जनाको अतिथि सत्कारमा कुनै कमजोरी हुन्छ कि भनेर निकै चनाखो देखिइन् उनी। उनले हाम्रो ग्रुपको युवतीहरूलाई बक्खु लगाउन दिइन्। अनि हामीसँगै मिसिएर फोटो खिचिन्।

बिहानै वीरेन्द्र ताल घुम्दै साम्दो पुग्ने हाम्रो तयारी थियो। उनले नाइँ नभनी सबेरै उठेर खाजा बनाएर खुवाइन्। हामी उनीसँग बिदा माग्दै लाग्यो गुम्बा र वीरेन्द्र तालतिर।

अनि यात्रा सुरु भयो साम्दोको। पद्मसम्भको पुरानो गुम्बा र नयाँ बन्दै रहेको गुम्बा हेर्यौं। पुरानो गुम्बा अगाडी ‘ओल्ड लाइब्रेरी’ पनि हेर्यौं। त्यसबारेमा अझ बुझ्न मन थियो। तर वरपर कोही भेटिएनन्।

वीरेन्द्रतालमा ‘रोमान्टिक’ पर्यटक

अघि-पछि हिँड्दा कोही साथीहरू बिच जङ्गलमा केहीबेर अल्मलियौं। केही समयमै पुगियो वीरेन्द्रताल।  वीरेन्द्र ताल सिधै हिमालकै पानी जमेर बनेको रहेछ। निकै कञ्चन पानी। पर्यटकहरू ताल नजिक पुग्दा निकै रोमान्टिक देखिए। फोटो खिच्ने, भिडियो बनाउने अनि खुट्टा तालको चिसो पानीमा चोपलेर रमाउने।

ताल हेर्दाहेर्दै डेढ घण्टा बितेको पत्तै भएन। हाम्रो लक्ष्य यो ताल मात्र त थिएन। यो पदमार्गको गोर्खातर्फको सबैभन्दा अन्तिम गाउँ साम्दोहुँदै लार्के पुग्न बाँकी नै थियो।

वीरेन्द्र ताल।तर खुट्टाले आराम खोज्न थालिसकेको थियो। बाटो कस्तो छ थाहा थिएन। खुट्टाले नमाने पनि मनले मानेकाले हामी लाग्यो साम्दोतिर। धन्न तेर्सो-तेर्सो रहेछ बाटो। जङ्गलको बाटो भएकाले अक्सिजनले त्यति दुख दिएन।  वीरेन्द्र तालमा धेरै समय बितेकाले समयमै साम्दो पुग्न हामी हिँडिरह्यो, रोकिएनौँ।

हल्का उकालो। उकालोमाथि के छ ठम्याउन मुस्किल। बल्ल बल्ल उकालो कटेपछि देखियो साम्दो, उचाइ  ३८४० मिटर,  चीन तर्फको सीमाको अन्तिम नेपाली गाउँ। यो हाम्रो यात्रा सुरु भएको छैटौँ दिन थियो। साम्दो पुग्दा ठ्याक्कै दिउसो साढे दुई बजेको थियो।

दिउसै गाउँ पुगे पनि पुरै बादलले ढाक्दा अँध्यारो भइसकेको थियो। त्यसमा चिसो बढ्ने त भइनै हाल्यो। वरिपरि हिमाल, सबैतिर मडारिरहेको बादल अनि चिसोले साम्दो गाउँ घुम्ने आँट नै आएन।

गाउँ घुम्न मन नलागेको हैन, तर घुम्दा चिसोले समातेर बिरामी भइयो भने लार्केपास गर्न नसकिएला भन्ने चिन्ता बढी थियो। अझ लार्केपासको बेसक्याम्प धर्मशाला पुग्नै बाँकी थियो।

सिधै धर्मशाला जान भ्याइने समय थियो। तर धर्मशाला नगई त्यो दिन हामी साम्दोमै बस्यौँ।

साम्दोमा एकाएक हेलिकप्टरको आवाज सुनियो। गाउँलेहरू दौडिए। अहिले पनि हेलिकप्टर आउँदा गाउँलेहरू हुल बाँधेर हेर्न जाने रहेछन्। त्यो दृश्य देख्दा रोचक लाग्यो। हामी पनि गाउँलेको हुलमै कुदेर हेलिकप्टर हेर्न गयौँ, फोटो खिच्यौँ।

हेलिकप्टर सामान लिएर आएको रहेछ, पदयात्रामा आउँदा स्वास्थ्य समस्या आएको पर्यटक लिएर फर्कियो।

सामागाउँसम्म होटेलमा बस्न समस्या भएन। नेपाली र विदेशी पर्यटक दुबैलाई समान व्यवहार। तर साम्दोमा भने अलि अलग अनुभव भयो। यहाँका होटेल सञ्चालकहरूले त्यति नेपाली ग्राहक रुचाउने रैनछन्। सकेसम्म विदेशी पर्यटक नै खोज्ने।

किन होला ?

एक स्थानीय होटेल सञ्चालकले भने ‘नेपालीहरूले धेरै फोहोर गर्छन्।’

लार्केपासको चुनौती

सातौँ दिन, साम्दोबाट धर्मशालाहुँदै लार्केपास गर्ने योजना, उचाइ ५ हजार १ सय ६ मिटर। एक हजार चार मिटरको काठमाडौँबाट आएका थियौँ हामी। उचाइसँगै आउने स्वास्थ्य चुनौती त छ नै, यहाँको मौसमको भर पनि नहुने रहेछ। कुनै पनि समय मौसमले धोका दिने रहेछ।

अर्को समस्या हावा। हावा चल्न थालेसँगै लार्केपास निकै कठिन हुने रहेछ। अनि घाम चर्कियो भने हिउँले आँखा खाएर हिँड्न कठिन हुने। त्यसैले बिहान दुई बजे लार्केपासको लागि साम्दोबाट हिँड्ने योजना थियो। राती सबैले लेक रोक्न सक्ने औषधी खायौँ। मलाई नि दिएका थिए तर खाइन।

बिहान, छ्याङग आकाश। ताराको प्रकाशले टाढाको बस्तीमा बत्ती बाले जस्तै देखिने। चिसो त छँदैछ। बिहान मुख नै नधोई ब्याग बोकेर अँध्यारोमै निस्कियौँ धर्मशाला पुग्न।

पर्यटकहरूसँग अनुभवी गाइड थिए। हाम्रो टोलीमा रहेका सबै नयाँ। बाटो कसरी पहिल्याउने थाहा छैन। धन्न, बाटोमा धर्मशालामा पर्यटकको सामान लैजाने भरियाहरू भेटिए। उनीहरू जताजता हिँडे टर्च लाइटको उज्यालोको सहायतामा हामी पनि त्यतै पछि लाग्यौँ।

चिसोमा माथि जाँदा शरीरले अर्को प्रतिक्रिया देखाइरहेको थियो। एकै छिनमा थाकेको अनुभव हुने। खुट्टा चलाउन गाह्रो। उचाइका कारण अक्सिजन कम हुने नै भयो। सायद त्यसैको प्रतिक्रिया होला!

बाटो पुरै हिउँले भरिइसकेका थिए। हिउँले पुरिएको बाटो पहिल्याउन मानिसलाई मुस्किल भए पनि याक अनि घोडाले भने सहजै पत्ता लगाउने रहेछन्। त्यसैले उनीहरू जताबाट हिँडे त्यतै हिँड्दा सुरक्षित हुने रहेछ।

धर्मशाला।घाम हिमालमा ठोक्किँदै गर्दा धर्मशाला देखिन थाल्यो। सिधै तेर्सो बाटो। अनि हल्का ओरालो। सानो कुलो पार गरेर उकालो लागेपछि सानो समथर भागमा रहेछ धर्मशाला।

बिहान तीन बजे साम्दोबाट हिँडेको हामी साढे तीन घण्टामा ४ हजार ४ सय ६० मिटरको उचाइमा रहेको धर्मशालामा पुग्यौँ। बिहानको साढे छ बजेको थियो। उज्यालोमा सबैको अनुहार हेर्दा चिसोले कालो-निलो देखियो।

त्यही बसेर चिया-बिस्कुट, तातो पानी खायौँ। जाडोले ज्यान पुरै कक्रिएला झैँ भइसकेको थियो। घामको ताप बढ्दै थियो। त्यसैले हामी धर्मशालामा धेरै नबसेर उकालोतिर लाग्यो।

अन्य हिमाली क्षेत्रभन्दा मनास्लुको यात्राको फरक अनुभव हुन्छ। अन्त जाँदा हिमाल उत्तरतिर देखिँदै जान्छन्। मनास्लुमा हिमालहरू दक्षिणतिर देखिँदै जान्छन्। अन्त अगाडि हिमाल आउँछन्, त्यहाँ हिमाल छुट्दै जान्छन्।

डेढ घण्टाजति उकालो र ढुङ्गाको बाटो हिँड्दै गर्दा हाम्रो आँखामा हिमशृङ्खलाहरू लामबद्ध देखिए। नजिकै रहेछ, जमेर बसेको ताल। एकदम सुन्दर, वीरेन्द्र ताल भन्दा पनि राम्रो देखिन्थ्यो यो ताल। लार्केपासको सबैभन्दा कठिन क्षेत्र नै यही रहेछ। धेरै हिउँ परेको समयमा ताल कता छ भेउ नपाउँदा डुब्ने जोखिम हुने रैछ।

हिमाललाई पछ्याउँदै लार्के’लाको बाटो

हिमालको बाटो हिँड्दा सास फुल्ने रहेछ। हातहरू झम्झमाउन थालेको थियो। एकैछिन हिँड्यो कि सास बढेको अनुभव हुने। तै पनि हिँड्न छोडिएन। हल्का खुट्टा ठोकिएको थियो। तेर धेरै दुख्यो।

घाम लागेपछि त झन् हिँड्ने नसकिने रहेछ। एकछिन बस्यो कि निन्द्रा लाग्ला जस्तो हुने। लेक लाग्ने सङ्केत यस्तै रहेछ। निदायो कि सकियो।

जसोतसो ५ हजार मिटरको उचाइमा पुगियो। सबैजना भोकै। हिँडेको हिड्यै गर्दा अनुहार चाउरिएको थियो। लेकबाट जोगिन लसुन बोकेका थियौँ। हिँड्दा इनर्जी आओस् भनेर चकलेट बोकेका थियौँ। ब्यागमा भएका यस्तै खानेकुरा खाँदै अगाडि बढ्यौँ।

अब त आयो होला भन्यो नआउने, जति हिँड्यो त्यति टाढा लाग्यो लार्केपास। मलाई गाह्रो भइसकेको थियो। समूहका अन्य सदस्यले त्यो अनुभव गरेका थिए। तर विकल्प थिएन।

एकजना याक धनी घोडा चढ्दै नजिक आइपुगे। समूहमा रहेका ‘भिनाजु’ले ती याकधनीलाई मलाई घोडामा लार्केपाससम्म लगिदिन आग्रह गरे। तर उनले मानेनन्।

पुन आग्रह गरेपछि ‘बहिनीलाई गाह्रो भयो जस्तो छ’ भन्दै मलाई घोडामा चढाए। घोडा चढ्न दिनु मेरा लागि भगवानले साथ दिए समान भयो।

अब त सकियो होला भनेको मुख्य हिउँको बाटो त त्यसपछि पो आउने रहेछ। साथीहरू सबै चिसोले निलो भइसकेका थिए। सबै हिँडिरहेका थिए, आफू भने घोडामा जाँदा हल्का सङ्कोच पनि लाग्यो।

मलाई घोडा चढ्न दिने व्यक्ती रहेछन्, टङ्क गुरुङ। उनी मनाङका। उनी मनाङदेखि उनी  याक चराउन आएका रहेछन्। उनको पेसा रहेछ याक पाल्ने र यार्सा गुम्बाको व्यापार गर्ने।

उनीसँग गफिँदै, याक धपाउँदै आधा घण्टा जतिको समयमा लार्के पास पुगियो। उँचाइमा धेरै समय बस्दा लेक लाग्ने जोखिम बढी हुने रहेछ। उँचाइमा पुगेर जति छिटो तल झर्न सक्यो त्यति सहज हुने रहेछ। त्यसैले होला, अगाडि पुगेका साथीहरू तल झर्न थालिसकेका थिए। म भने त्यहीँ अन्य साथीहरूलाई पर्खेर बसेँ।

लार्केपास वा लार्के ला पासलाई यहाँका स्थानीयले गाङला पास भन्ने रहेछन्। पर्वतारोहणमा सोख भएको तर उच्च हिमाली क्षेत्र जान नसक्ने, पहिलो पटक हिमाली पदयात्रामा हिँडेकाहरूका लागि मनाङ र गोरखा जोड्ने सिमानामा रहेको यो पास रोजाइमा पर्ने रहेछ।

अप्ठ्यारो मध्येको ट्रेक मानिने लार्केपासमा पुग्दा मन फुरुङ हुने नै भयो। ५ हजार १ सय ६ मिटरको उचाइमा रहेको पास नजिकै टेन्ट थियो। यत्रो उचाइमा पनि टेन्टमा चिया र चाउचाउ खान पायौँ।

टेन्ट भित्रको पसल वडाबाटै चलाइएको रहेछ। वडाले नै तलब दिने रहेछ। कालो चियाको सय, चाउचाउको तीन सय मूल्य रहेछ। यत्रो उचाइमा तातो चिया र चाउचाउ खान पाउनु नै ठुलो कुरो थियो।  

साम्दोबाट हिँडेको लगभग १२ घण्टापछि लार्केपासमा पुगेका थियौँ। अबको यात्रा मनाङको भिमथांग। समय अझैँ चार घण्टा। अब कहिले आइने हो के थाहा, हतार नगरी फोटो खिच्यौँ, हिमाल हेर्दै तल ओर्लिन थाल्यौँ।

हिउँमा कर्यापकर्याप गर्ने ‘क्याम्प्रोन’ लगाएर हिँडेको आवाज अहिले पनि कानमा आइरहन्छ। हिउँको बाटो र पहिरोको बाटो, त्यसमा ठाडो ओरालो झर्न निकै अप्ठ्यारो हुने रहेछ। बाटोमा कति लडियो गन्नै छाडियो। अहिले सम्झँदा पनि ठ्याक्कै भन्न सकिन्न। धन्न ठुलो चोट लागेन।

बाटोभरि पहिरो गइनै रहेको थियो। बल्ल दुई घण्टामा फेदी पुग्यौँ। फेदी पुग्दा पुरै अँध्यारो भइसकेको थियो। बत्ती थिएन, टावर थिएन।

थाकेर सबै लखतरान। तल पुगेपछि बल्ल सबले आ-आफ्नो अनुभव सुनाउन थाले। सास फुल्नु, गाह्रो हुनु, झुप्प निन्द्रा लाग्नु त सामान्य नै भयो, ग्रुपमा रहेका एक/दुई जनाको नाकबाट रगत नै आएको रहेछ।

यो स्वास्थ्य खतराको सङ्केत रहेछ। धन्न कसैलाई केही भएन। रोमाञ्चक अनुभव सँगाल्दै सुरक्षित काठमाडौँ फर्कियौँ सबै।

मंसिर २७, २०८१ बिहीबार १७:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।