केआईआईटी बहसमा छुटेको विभेदको गम्भीर पाटो

शिशिर यादव अधिवक्ता हुन्। उकेरामा बेलाबखत आउने कानुनी जटिलतामा सहयोग गर्दै आएका यिनी बसाइका हिसाबमा छिमेकी हुन् मेरा। कहिलेकहीँ टोलमा चियाका लागि भेट हुन्छ।
शनिबार उसैगरी चिया गफका लागि भेट भयो उनीसँग। भेटमा सरकारले अहिले अगाडि बढाइरहेको सामाजिक सञ्जाल विधेयकको प्रावधान अनुसार संशोधन कि विधेयक नै फिर्ता गरेर नयाँ ल्याउने भन्ने छलफलमा दुवैको मत मिल्यो ‘फिर्ता’।
प्रसङ्गमा विद्युतीय कारोबार ऐनको दफा ४७ बारे पनि हल्का चर्चा भयो। एक प्रयोजनका लागि ल्याएको कानुनमा बदनियतका साथ राखिएको एक दफाले नै यति हायलकायल पारिरहेको छ। त्यसमा ऐन नै पूरै नियन्त्रणमुखी बनाउँदै यसैमा केन्द्रीत हुँदा साइबर स्पेसमार्फत भइरहेको वाक तथा प्रेस स्वतन्त्रताको अवस्था के होला?
छलफलकै क्रममा भारतको उडिसाको भुवनेश्वरस्थित निजी विश्वविद्यालय कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा हालै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु घटना र त्यसपछि सिर्जित घटनाको प्रवेश भयो।
लम्साल मृत्यु घटना, निरन्तर मानसिक यातनाको रिपोर्टका क्रममा विश्वविद्यालयका अधिकारीबाट हेलचेक्राइसँगै घटनापछि नेपाली विद्यार्थीहरूमाथि भएको अकल्पनीय दुर्व्यवहारसँगै विषय प्रवेश भयो त्यत्रा नेपाली विद्यार्थी किन त्यहाँ पढ्न गए?
किनकि, प्रकृतिको मृत्यु घटनापछि सो निजी कलेजमा मात्र पाँच सय बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको सार्वजनिक भइरहेका थिए।
यसबारे नेपाली मिडिया, अझ विशेषगरी सामाजिक सञ्जालमा चर्कै बहस भए,भइरहेका छन्। नेपाली शिक्षण संस्थाको लथालिङ्ग पारा, तोकिएको मितिमा परीक्षा लिने र नतिजा निकाल्नसम्म नसक्ने अवस्था अनि कमजोर शिक्षण विधिलाई यसको कारक मानिएको देखिन्छ भइरहेको बहसमा।
जब यादवसँग कुरा भयो यो बहसमा अर्को महत्त्वपूर्ण पक्ष छुटेको अनुभव भयो , मधेशका नेपालीप्रति हाम्रो दृष्टिकोण।
क्षेत्रगत आधारमा हेर्दा प्रकृतिसँगै केही नेपाली विद्यार्थीहरू मधेश बाहिरका देखिए। तर, अधिकांश मधेशका। अर्थात् (केआईआईटी)मा अध्ययन गर्न जाने अधिकांश नेपाली विद्यार्थीहरू मधेशका छन्। किन?
यसमा सामाजिक सञ्जाल अनि मिडियामा भइरहेका बहस झैँ अनिश्चित शैक्षिक क्यालेन्डर, विश्वविद्यालयमा हुने अनावश्यक राजनीति अनि शैक्षिक पूर्वाधार पनि कारण होला। केहीलाई भारतमा अध्ययन गर्दा सहजै रोजगारको अवसर पाउन सकिने लागेर गएका पनि होलान्। तर, सबै यही कारण मात्र गएका होलान् त? कतै यसमा काठमाडौं लगायतका विश्वविद्यालयमा हुने वर्णीय विभेद पनि कारक त हैन?
अनि आफ्नै चेततिर फर्किएँ। ‘मदिशे’ र ‘मधेशी’ शब्दबीचको भिन्नता बुझाउन मधेश आन्दोलनै हुनुपर्यो। हामी पहाडी मुलकाले सम्मानजनक शब्द ठानेर भनिने ‘भैया’ शब्द मधेसवासीमाझ अपमानजनक शब्द बनिसकेको बुझ्न पनि समय लाग्यो। टोलमा खिच्रिङमिच्रिङ बेच्न आउने मधेशवासीसँग घर कहाँ हो/हैन, सिधै भारतीय हो कि नेपाली हो, नागरिकता छ भनेर सोधेका दृश्यहरू आए।
प्लस टु उत्तीर्ण भएपछि नेपालभित्रै अध्ययन गर्न चाहने हो भने पहाडीमुलको बाहुल्यता भएको क्षेत्रमा आउनैपर्ने बाध्यतामा छन् मधेशका युवा। अनि जब पहाडी मुलको बाहुल्यता हुने विश्वविद्यालयमा प्रवेश हुन्छ, मधेशका अधिकांश नेपालीहरू यी र यस्तै प्रश्नहरूको सामना गर्नुपर्ने भयले भारततिर लाग्छन्।
भाषा अनि वर्णको रङको समानताका कारण उनीहरूले विश्वविद्यालयको रेकर्डमा बाहेक अन्त राष्ट्रियता खुलाउनुपर्ने बाध्यता कमै पर्छ। खै नागरिकता देखा त भन्ने प्रश्न अपवाद हुन्। देश सोधे नेपाल भने पुग्छ। आफ्नै देशभित्र, आफ्नै देशका नागरिकले अध्यागमनको अधिकृत झैँ केरकार गर्दै ‘नागरिकता देखा त’ भन्दाको पीडा त्यता कमै अनुभव हुन्छ।
अहिले सोचको अवस्था नबदलिएको हैन, धेरै बदलिएको छ। तर अवशेष अझै बाँकी भने छ। अहिले पनि हल्का मधेशको वर्णको देख्दा प्रहरी अवतारमा रूपान्तरित भएर भिसा नै परीक्षण गरे झैँ केरकार गर्नेहरूको सङ्ख्या टोल टोल, गल्ली-गल्लीमा जीवितै छ।
त्यस्तै पाँच वर्षअघि मधेश घुम्ने क्रममा एक बौद्धिक व्यक्तिसँग भेट भएको थियो, जसले २०४६ पछि काठमाडौं टेकेकै रहेनछन्। कारण आन्दोलनमा काठमाडौं आएका उनी त्रिपुरेश्वरमा बाटो काट्दै रहेछन्। हुत्तिँदै आएको मोटरसाइकल चालकले ‘ओइ धोती बाटो काट्न आउँदैन’ भनेर हकारे। उनको मनमा गहिरो चोट पर्यो। अनि अब कहिल्यै काठमाडौं नटेक्ने भन्दै मधेश फर्किए।
उपचार लगायतका आकस्मिक काममा लागि त त हो काठमाडौं सम्झने। त्यसका लागि काठमाडौं आउनुभन्दा दिल्ली गएर ‘म नेपाली हुँ’ भनेर सानका साथ उपचार गर्न सकिने अनुभव सुनाएका थिए उनले।
उनले भनेका थिए, ‘आफ्नै देशभित्र म नेपाली हुँ भन्दा भारतीय सम्झन्छन्, पत्याउँदैनन्। उता दिल्ली जाँदा म नेपाली हुँ भन्दा पत्याउँदैनन्, भारतीय सम्झन्छन्। बढो मारमा छौँ हामी।’
यसले नै देखाउँछ समस्या केवल भौतिक संरचना र शिक्षण प्रणालीमा मात्र छैन। ‘हामी’मा पनि छ। सम्भावित विभेदको भयले अधिकांश मधेशका युवाले अझै काठमाडौं, पोखरा, धुलिखेललाई आफ्नै देशको भाग त हो नि!, आफ्नै देशको विश्वविद्यालय त हो नि! भनेर अपनत्व महसुस गर्न सकेका छैनन्।
अब शिशिरको अनुभव पढौँ, ‘प्लसटुका लागि काठमाडौं आउन मन लागेन। मधेशमै पढेँ। ब्याचलर्स पढ्न काठमाडौं आएको। यहाँ आउँदा एउटा साथी ‘खै तेरो नागरिकता देखा त’ भन्थ्यो। उसले जिस्किएको हो। तर, उ जिस्कँदा मलाई भारतीय ठान्यो भन्ने चोट त पर्थ्यो नै।’
यसले देखाउँछ मधेशका युवाहरू केआईआईटी जस्ता भारतका विश्वविद्यालयमा अवसरको खोजीमा मात्र हैन, आफ्नै देशको विश्वविद्यालयमा हुनसक्ने विभेदको त्रासका कारण पनि गइरहेका छन्।
हो, नेपाली विद्यार्थीको पलायन रोक्न विश्वविद्यालयको वातावरण, शैक्षिक गुणस्तर त सुधार गर्नैपर्छ। सँगै, हाम्रा सोचमा पनि सुधार जरुरी छ। हाम्रा सोचका कारण पनि मधेशका युवाहरूको रोजाइमा पाटन इन्जिनियरिङ कलेजको साटो भारतका केआईआईटी जस्ता विश्वविद्यालय परिरहेका छन्।
यो पक्षको बहसविना नेपाली विद्यार्थीको भारत पलायनको समस्या समाधान सम्भव छैन। बहस गरौँ, सोच र बोली सुधारौँ।
फागुन ११, २०८१ आइतबार १३:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।