ओलीको बोलीले सेन्सरमा अड्कियो ‘राजागंज’, प्रदर्शन अनुमति पाएन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रयोग गर्दा फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागंज’को सेन्सर रोकिएको छ।
प्रदर्शनमा आउन एक दिन बाँकी रहदा समेत केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनका लागि अनुमति नदिँदा फिल्म निर्माण टोली अहिले तनावमा छ।
एक सातादेखि प्रदर्शन अनुमतिका लागि पर्खिए पनि फिल्म सेन्सर बोर्डमा अड्किएको फिल्मका निर्देशक दीपक रौनियारले जानकारी दिए।
‘एक हप्तादेखि सेन्सर बोर्डले सेन्सर पार नगरेर अड्काएको छ। उहाँहरूले फिल्मभित्र वर्णको कुरा राख्न पाइँदैन भन्नुभएको छ। कालो गोरोको पनि कुरा आएको छ,’ उनले भने, ‘अर्को कुरा अहिलेका प्रधानमन्त्रीको केपी शर्मा ओलीले बोलेको कुरालाई पनि हटाउन भन्नुभएको छ।’
सेन्सर बोर्डले भनेका दृश्य हटाउँदा फिल्मको मर्म मर्ने भएकाले आफूहरु छलफलमै रहेको निर्देशक रौनियारले बताए।
उनले थपे, ‘उहाँहरूले हटाउन भन्नुभएको दृश्य नै हटाएपछि फिल्मको मर्म नै मर्छ। त्यसका लागि पनि छलफलमा जुटेका छौँ। सायद २÷३ घण्टामा निकास निस्केला।’
उता सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले भने प्रधानमन्त्री ओलीले एउटा सन्दर्भमा बोलेका कुरा अहिले अनुमतिविना राखिएको भन्दै राख्नका लागि उहाँको अनुमति पाए प्रदर्शन अनुमति दिइने बताए।
‘कसैले लामो समयअघि बोलेको कुरा यतिबेला प्रसारण गरिदियो भने के हुन्छ। अर्को कुरा कसैको फोटो भिडियो अनुमति विना फिल्ममा राखिएको छ। त्यसबारेमा पनि कुरा राखेका थियौँ। उहाँहरूले अनुमति लिएर आएको खण्डमा हुन्छ’, उनले उकेरासँग भने।
फिल्मको ट्रेलरमा प्रधानमन्त्री ओलीले २०७२ भदौमा संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँपको संज्ञा दिँदै उनीहरू बाहिरिएर केही फरक नपर्ने अभिव्यक्ति दिएका थिए।
ओलीको बोलीको त्यही अंश फिल्ममा राखेपछि सेन्सर बोर्डले आपत्ति जनाएको छ।
निर्देशक रौनियार भने प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिएका विषयको भिडियो एक अनलाइनबाट लिइएको र उसँग अनुमति लिएरै प्रयोग भएको बताउँछन्।
२०७२ को संविधान निर्माणमा मधेशवादी दलहरूले असन्तोष व्यक्त गर्दा तत्कालीन प्रधानमन्त्री ओली मधेशविरुद्ध आगो ओकलिरहेका थिए। त्यसको केही समयसम्म उनी र उनको दल एमालेविरुद्ध मधेशमा बहिष्कारको अभियान नै चलेको थियो।
फागुन २८, २०८१ बुधबार १२:०५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।