मनास्लु लार्के’ला पदयात्रा-१ : आङ सिरिंङ, मन फुरुङ्ग
घुम्न जाने भने पछि मन त्यसै फुरुङ्ग! दशैं अघि नै यस पटक चैँ ट्रेक जाने भनेर मनस्थिति बनाइसकेको थिएँ। तर जाने निश्चित नभएसम्म अफिसमा छुट्टीको कुरा गर्ने मन भएन। जब जाने तिहार पछि जाने भनेर समय निश्चित गरियो, स्वास्थ्य अवस्था बिग्रिदियो।
अहिले युवा वर्गको ट्रेकिङमा छुट्टै क्रेज बढिरहेको बेला आफू भने बिरामी भएर घरमै बस्ने मननै भएन। ‘केही भएको छैन’ भन्दै आफैलाई हौसला दिँदै अफिसमा छुट्टीको कुरा भयो। छुट्टी पनि मिल्यो।
फेरि लक्ष्मी पूजाको एक दिन अघि ज्वरो नै आयो। खोकी पनि बेस्कन लाग्यो। त्यसपछि जँचाउन गइहालेको, कमजोरीले गर्दा रगतमा अक्सिजन कम देखियो।
जसरी हुन्छ तिहारपछि स्वस्थ हुने अनि ट्रेक जाने भन्ने बाहेक दिमागमा केही थिएन। औषधी खादै गर्दा नै ट्रेक जाने दिन पनि आयो। भाइटिकाको दुई दिन पछि मनास्लु क्षेत्रमा रहेको लार्केला पास जाने तयारी भयो।
अस्वस्थताकैबीच घरबाट १० दिन बाहिर जानु, त्यै पनि अन्जान साथीहरूसँग। डर नलागेको पनि होइन। तर डर भन्दा धेरै उत्सुकता थियो। अनि ‘स्वस्थ भइसके’ भन्दै बिहानै एकभारी ब्याग बोकेर गोंगबु बसपार्क पुगियो।
१३ जना लार्केला पास गर्न जाँदै थियौँ। ग्रुपमा ट्रेक गरिरहेका अनुभवी थिए। त्यसले केही ढुक्क बनाएको थियो। तर यसो अरूको ब्याग हेरेको सानो चिटिक्कको थियो। आफ्नो भने बोक्न पनि सकस हुनेखालको! अनुभव भनेको अनुभवै हो क्या !
ब्याकका सामान झिक्न घर फर्कने कुरा भएन क्यार, लागियो सँगै।
OOO
बस चढेको लगभग १३ घण्टामा आइपुग्यो गोरखाको माछाखोला। बसमा ९० प्रतिशत यात्रु लार्केलाका लागि हिँडेका थिए। त्यसमध्ये ५० प्रतिशत यात्रु विदेशी पर्यटक थिए। उनीहरूको शारीरिक बनावटको हिसाबले हाम्रो सार्वजनिक यातायातको सिट ‘साँघुरो’ थियो। तै पनि उनीहरू १३ घण्टा अप्ठ्यारो सिटमै बसे। निराश थिएनन्। यस्तो सकसको यात्रा पनि उनीहरूलाई रमाइलो पो लागिरहेको देखियो।
अमेरिकाको न्युयोर्कदेखि स्पेनको मड्रिडसम्मका पर्यटक थिए बसमा। नेपाली गाइडहरू झ्यालबाट उनीहरूलाई घरी मनकामना केबलकार र घरी त्रिशूलीमा हुने र्याफ्टिङका किस्सा सुनाइरहेका थिए। नेपाली पर्यटक गीत सुनेर निदाउन खोजिरहेका देखिन्थे।
१२/१ बजेको समयमा गोरखा बजार पुगियो। त्यसपछि बारपाक लगायतको गाउँहुँदै गाडी अगाडि बढ्यो। एक जना पर्यटकले यताको सडक त काठमाडौँको भन्दा राम्रो रहेछ भनेर गाइडलाई सुनाइरहेका थिए।
धार्चे कटेसँगै बस बदलियो। सबैजना त्यतैको स्थानीय बसमा ‘सिफ्ट’ भयौँ सबै। लोकल बस झन् साँघुरो। मध्यम शारीरिक बनौट भएको मलाई त सकस भयो भने विदेशी पर्यटकको अवस्था के भयो होला!
त्यसमाथि पनि सह-चालकले स्थानीयहरूलाई पनि गाडीमा चढाए। गाडीमा उभिएर जानेको भिडै लाग्यो।
साँझ झिसमिसे, सात बजे बस माछाखोलामा बस रोकियो। आजको रात यतै। भोली बिहानको यात्रा जिपमा। गाडीबाट ओर्लिने बित्तिकै जिपका चालकहरूले कति जना? भन्दै भाडाको कुरा गर्न थाले। हाम्रो १३ जनाको समूह भएकाले एकै जिप प्याक।
बुढीगण्डकीको तिरैतिर
माछाखोलाको एक होटेलमा बास पर्यो। खाएको अनि बसेको प्रति व्यक्ति ३ सय ५० रुपैयाँ। अहो ! सस्तै रहेछ। अन्य होटेलमा अझ सस्तो पो छ कि भनेर बजार नडुलेको हैन, तर पाइएन।
तिहार सकिसकेको भए पनि धार्चे गाउँपालिका वरपर झिलिमिली बालिरहेकै देखिन्थ्यो। पालिकाको भवन अगाडि नै थुप्रै नयाँ होटलहरु खुलेको रहेछन्। यहीँबाट खच्चडको व्यवस्था पनि रहेछ।
रातभर खोलाको आवाज अनि सबेरै खच्चडको घाँटीमा बजिरहेको टिंगटिंग आवाज सँगै हामी कफी र अण्डा खाएर जिपमा पुग्यौँ। जगतभन्दा माथि जहाँसम्म गाडी जान्छ, त्यहाँसम्म हामी जिपमा जान तयार भयौँ।
प्राय पर्यटकहरूले माछाखोलाबाटै पदयात्रा सुरु गर्ने रहेछन्। तर हामीले भने माछाखोलाबाट पनि चार घण्टा जिपको यात्रा गरेपछि मात्र पदयात्रा सुरु गर्यौँ।
भिरालो, साँघुरो, अप्ठ्यारो, गाह्रो। हिमाली भेगका अक्करे सडकमा हिँड्दा जति जोखिम हुन्छ ती सबै जोखिम चार घण्टामै अनुभव भयो। बिचमा खच्चड आयो भने खच्चड नहिँडेसम्म गाडी अगाडी बढ्नै नसक्ने। त्यसैले जिपभन्दा त माछाखोलाबाटै पैदलै ठिक जस्तो लाग्यो।
तर बाटोभरि देखिने झरना, बुढीगण्डकीको तिरैतिरको बाटो भएकाले जति जोखिम त्यति नै रोमाञ्चक अनुभव पनि भयो। जिपको झ्यालबाट अगाडि विशाल पहाड अनि यसो तल हेर्यो भने अक्करे भिरको खोँच ! ज्यान सिरिङ त हुने नै भयो।
खोला तर्दै टासी दाइले हामीलाई तातोपानी भएको ठाउँ देखाइदिए। जिप चालक टासी दाइ, उनी सात वर्ष साउदी अरेबियामा ट्रक चलाएर फर्किएका रहेछन्। पर्यटकहरू आउन थालेसँगै गाडीको माग बढ्यो। सिजनमा हप्तामा तीन पटकसम्म पालो आउने। अनि जिप किनेर यतै बसे।
हिमाली पदयात्राको रमाइलो हरेक ठाउँमा हिमाली भेग सुरु हुनुभन्दा अगाडि प्राकृतिक तातोपानी भेटिने। कतै कुण्ड बनाएका छन् त कतै धारा। त्यहाँ धारा थियो। वरिपरिका घरहरू होटेलमा बदलिएका थिए।
तातोपानीपछिको बाटो झन् ढुंगा नै ढुंगाको, जिप बुढीगण्डकीमा झोसिएला भनेर मन आत्तिने रहेछ। खल्च्यांग खल्च्यांग गर्दै अगाडि बढेको जिप उकालोमा आएर रोकियो। अब चैँ हिँड्नुपर्ने भो।
बर्खामा ठ्याप्पै बन्द हुने बाटो
आरुघाट, जगत हुँदै हामी मनास्लु संरक्षण क्षेत्रमा पुग्यौँ। अहिले जिप चलिरहेको बाटो बर्खामा भने ठप्पै हुने रहेछ।
संरक्षित क्षेत्र छिरेसँगै नेपाली पर्यटकले दुई सय रुपैयाँको टिकट काट्नु पर्ने रहेछ। विदेशीलाई भने हजार रुपैयाँ। टासी दाइले हामीलाई गाडीबाटै तातोपानी-दोभान-यारुफाँट-सल्लेरी-सिर्दिबास-घट्टेखोला हुँदै फिलिम गाउँ पनि देखाए।
फिलिम अहिले पनि यहाँका सदरमुकाम रहेछ। साम्दो, सामागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुमभ्याली र चुम्चेत लगायतका गाउँबाट सरकारकी कामका लागि घन्टौँ हिँडेर यहाँ आउनुको विकल्प छैन।
अनि पुल तरेसँगै आइपुग्यो एक्लेभट्टी। यहाँबाट हाम्रो जिपको यात्रा सकियो। अनि सुरु भयो पदयात्रा।
जुन बेलामा सडक थिएन, त्यो बेलामा आरुघाटबाटै पैदल यात्रा सुरु हुन्थ्यो। बुढीगण्डकी कुनामा पैदल हिँड्नको लागि भित्ता खोपेर बनाएको क्यान्टिलिभर पुलहरू थिए। अहिले सुनसान पुल त्यो बेलामा पदमार्गको मुख्य सहयोगी। त्यो पुल भन्दा ठ्याक्कै पारिपट्टि बनेको छ सडक। अहिले अधिकांशले त्यही सडक प्रयोग गर्छन्। हामी त एकै दिन एक्लोभट्टी आइपुगियो। आरुघाटबाट पैदल यात्रा गर्ने हो भने तीन दिन लाग्ने रहेछ एक्लोभट्टी आइपुग्न।
झोलुङ्गे पुल। भिरको बाटो। खच्चडको आवाज। लामबद्ध पर्यटक। यात्रा रोमाञ्चक नहुने कुरै भएन। बाटो-बाटोमा भेटिने छ्योर्तेनसँग फोटो खिच्दै, पानीको मुहानमा बोतल थाप्दै, प्यास मेटाउँदै यात्रा अगाडि बढिरह्यो। पदयात्राको पहिलो दिन भएर होला सबै एकदम धेरै सक्रिय थिए।
उकालो-ओरालो, ठाडो-तेस्रो गर्दागर्दै, पहिरो गइरहेको बाटो हेरेर निधार खुम्च्याउँदै, आङ सिरिङ्ग बनाउँदै हामी पेवा हुँदै ड्याङमा पुग्यौँ। स-साना घर। विभिन्न समूह बनाएर होमस्टेहरू खुलेका रहेछन्।
पानीको पाइपहरू भुईँभरि बिछ्याइएका देखिन्थे । माथि-माथि पुग्दै जाँदा चिसो पनि बढिरहेको थियो। हामी चुम क्षेत्र प्रवेश गरिसकेका थियौँ। त्यसैले अब खानामा मासु बन्द। यहाँ काटमार पूर्ण निषेध त छ नै। तलतिरबाट ल्याएर पनि पकाउँदैनन् रहिछ। पूर्ण शाकाहारी क्षेत्र।
डराउँदै भीरको बाटो लुखुरलुखुर
प्राय होटेलको परिकार आलु। तरकारी आलु, दाल पनि आलु। तै पनि स्वादिलो। पदयात्राका यात्रुहरू बासका लागि होटेल खोज्न थाले। टाढाबाट आउँदा होटेल क्षेत्रमा नपुगे पनि गाउँले गाउँकै घरमा बास मिलाइदिने रहेछन्। दोस्रो रात त्यतै बित्यो।
तेस्रो दिन सबेरै आ-आफ्नो बोतलमा तातोपानी भरेर पदयात्रा सुरु भयो। लुखुरलुखुरको हिँडाइमा टिकटक बनाउने, फोटो खिच्ने काम रोकिएको थिएन। बुढीगण्डकीको तिरैतिर, एकपछि अर्को पुल तर्दै यात्रा अगाडि बढी नै रह्यो। मध्ये दिन १२ बजे हामी मनास्लु सर्किट पदयात्राको सबै भन्दा ‘एडभेन्चर’ मानिने पहिरो क्षेत्रमा पुग्यौँ।
पहिरोको बिचमा हिँड्दा माथिबाट हावाले ढुंगा खसाल्ने जोखिम रहेछ। माथितिर हेर्दै इसाराले आउनु भनेपछि मात्र हिँड्नुपर्ने। पहिरो कट्यो। रानागाउँ, बिहीफेदी, प्रोकहुँदै पुगियो गाप। पदयात्रामा पर्यटकहरूको राम्रै चहलपहल बढेको सङ्केत होटलहरुको सङ्ख्याले गरिरहेको थियो। कुनै समय बास पाउन दुर्लभ मानिने यो ठाउँमा अहिले सुविधायुक्त होटलहरु बनिसकेका रहेछन्।
गाउँ नै गाउँको सँगालो
गापपछि प्रोक गाउँमा पुग्यौँ। सानो तर सुन्दर प्रोकमा स्याउको परिकारको बजार नै लागेको थियो। दिने चैँ गिलासमा रहेछ। एक गिलासको चार सय पर्ने स्याउको जुस खाँदै हामीले थकाई मेट्यौँ।
त्यही भेट भयो लाक्पाढुण्डुप लामासँग। स्थानीय भेसभुसामा सजिएका उनको अनुहार निकै हँसिलो। उनले यहाँ तीन सय रोपनी जग्गामा स्याउको खेती गरेका रहेछन्।
उनको स्याउ फर्म हेर्दै, स्याउ टोक्दै केहीबेर गफियौँ। स्याउको रक्सी, स्याउको चिया र स्याउको सुकुटी बेच्ने रहेछन् उनले। नामरुङमा उनको होटेल पनि रहेछ। प्रोक पछि नामरुङ गाउँ पुगिन्छ। उनले बताए अनुसार उनको होटेल नामरुङमा सबै भन्दा ‘स्ट्याण्डर्ड होटेल’ हो रे। लाक्पाढुण्डुप र उनको कामबारे विस्तृतमा अर्को लेखमा लेख्ने छु।
प्रोकबाट लगभग ४५ मिनेट हिँडेपछि आयो नामरुङ गाउँ। नामरुङको दावाटासी होटेलमा बस्ने कुरा भइसकेको थियो। गाउँ पुग्ने बित्तिकै फेरी हामीले लाक्पाढुण्डुपलाई भेट्यौँ। हामीलाई ४५ मिनेट लाग्ने बाटो उनी २५ देखि ३० मिनेटमा आइपुग्ने रहेछन्। अँध्यारोमा उनको होटेल हेरेर हामी हाम्रो होटेलतर्फ लाग्यौँ।
नामरुङबाट त हिमाल झन् नजिक। राज्यको उपस्थिति पनि देखियो। प्रहरी चौकी, स्वास्थ्य चौकी सबै रहेछन्। यहाँ पनि ‘एक घर, एक धारा’ जस्तै देखियो।
‘दावाटासी होटेल’मा दावाटासी ठकुरी र उनको छोरा पेमा लामा रहेछन्। दाजुभाइ जस्तै देखिने दुइटा पुरुष भान्छामा आगो बाल्दै खाना पकाइरहेका थिए। सोध्न मन लाग्यो ‘यो घरमा छोरी मान्छे छैन?’
दावाटासीको श्रीमती मेलापातमा गएकी रहिछिन्। घरको महिला मेलापात गर्ने अनि पुरुषहरू घर सम्हालेर बस्ने। रोचक लाग्यो!
दावाटासी र उनको छोरा पेमामा जम्मा १७ वर्षको मात्र उमेर अन्तर रहेछ। पेमाको बुवा सानैमा बितेपछि पेमालाई लिएर उनको आमाले दावाटासीसँग विवाह गरेकी रहिछिन्।
पेमा बल्ल १६ वर्षको भए। उनलाई र्याप गीत गाउन र सुन्न मन पर्ने रहेछ। उमेरले सानै भए पनि उनी आफै चैँ फेरी डेढ वर्षका सन्तानका बाबु हुन्। यहाँ होटेल सम्हाल्ने बाहेक उनी पनि कहिलेकहीँ मेलापात जान्छन्।
गाउँमा पर्यटक आउन थालेपछि भरिया काम गर्ने सोचेका रहेछन्। तर भारी बोक्न ‘झ्याउ लाग्यो रे !’
चिसोमा आगो ताप्दै दावाटासी र पेमाको सम्बन्धको किस्सा सुन्दै हामीले त्यो दिन त्यहीँ बितायौँ।
चौथो दिन पनि बिहानी खाजा खाएर हामी पदयात्रामा निस्कियौँ। चौथो दिन हाम्रो स्याला पुग्ने टार्गेट थियो। घर अगाडि घोडा-खच्चड राखेको, ढुंगाले छाएको घर हेर्दै मिठो चिया पिएर हामी दावाटासीदाइको होटेलबाट बिदा भयौँ।
चिसो गाउँहरू
यहाँका हरेक टोल हुनुभन्दा अगाडी र टोल सकिए पछि छ्योर्तेनको गेट थिए। गेटको अन्त्य र सुरुवात भनेको नयाँ गाउँ पुग्ने सङ्केत थियो। हिमाली भेगको जनजीवन हेर्दै, हिँड्दा घन्टौँ हिँडेको थकान नै मेटिने। बाटोभरि करु सुकाउने र उठाउने काम गरिरहेका स्थानीय हेर्न पनि रमाइलै हुने।
नयाँ अनुहार देखेर दङ्ग परेका बालबालिकाहरूसँग कुरा गर्दै हिँड्दा हामीलाई झन् जोसिएर अर्को गाउँ पुग्न हतार भइसकेको थियो। ल्हो, स्यो गाउँ हेर्दै हामी स्याला टार्गेट गरेर अगाडि बढ्यौँ।
बुढीगण्डकीले हामीलाई यहाँसम्म साथ छोडेकै थिएन। बाटोभरि स-साना होटलहरुमा पर्यटकको घुइँचो उत्तिकै थियो। हामीसँगै विहीफेदीबाट आएका भरिया दाइले बाटोमा हामीलाई गफ गर्ने समय दिइरहेका थिए।
उनी तेस्रो पटक लार्केला जाँदै रहेछन्। काठमाडौँको ट्रेकिङ एजेन्सीको सम्पर्कमा कम गरिरहेका उनको दैनिक २५ सय। खाना र बास कटाएर दुई हजार हात पर्ने रहेछ।
साँझ पाँच बजेतिर स्याला गाउँको गेट देखियो। ३५ सय मिटरको उचाइमा रहेको यो गाउँमा पुग्दै गर्दा चिसो बेस्कन बढेको महसुस भयो। गाउँमा अधिकांश घरहरू स-सानो होटेलझैँ देखिन्थ्यो। अन्य ठाउँको तुलनामा यो अलि महँगो पनि रहेछ।
सबै भन्दा महँगो खाना यहीँ खाइयो, सादाको नौ सय रुपैयाँ। यहाँ पुग्दा दुरसंचारको नेटवर्क हल्काफुल्का लागिरहे पनि लगभग काठमाडौँमा सम्पर्कहीन अवस्था समान थियो।
अब पाँचौँ दिनको बसाइको टार्गेट सामागाउँ। त्यो भन्दा अगाडि बाटोमै पर्ने पुङ्गेन गुम्बा जाने कि!
‘जाऊँ’
सबै तयार भयौँ।
मंसिर २६, २०८१ बुधबार १४:०९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।