मौद्रिक नीतिको पहिलो तीन महिनामा समीक्षामा भएन हेरफेर
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको पहिलो तीन महिनाको समीक्षा गरेको छ। समीक्षामा राष्ट्र बैंकले यसअघिको कुनै पनि व्यवस्थालाई परिमार्जन गरेको छैन।
निजी क्षेत्रको तर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदायक १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.२ प्रतिशतले वृद्धि गरेको समीक्षामा उल्लेख छ।
त्यस्तै, ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको उल्लेख गरेको छ।
आर्थिक वर्ष २०८१/०८१ को पहिलो त्रैमासिकमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तर बैंक दर ३ प्रतिशत रहेको समिक्षामा उल्लेख छ।
राष्ट्र बैंकले गरेको समिक्षा अवधिमा मुद्रास्फिति (बजार भाउ)लाई ५ प्रतिशतमा राख्ने नीति लिएकोमा ३ महिनाको अवधिमा उपभोक्ता मुद्रास्फिति ४.२६ प्रतिशतमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत/गैर खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही बार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत कायम रहेको समिक्षामा उल्लेख गरेको छ।
यता, मौद्रिक नीतिमा विदेशी विनिमय सञ्चितिले वस्तु तथा सेवाको आयात धान्न ७ महिनाको लक्ष्य लिएको भएपनि समीक्षा अवधिसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति १४ महिना ६ दिनको वस्तु तथा सेवा आयात गर्ने विदेशी विनियम सञ्चिति छ।
समीक्षामा बैंकरहरूले कर्जा नोक्सानीको पुरानो व्यवस्थामा थप मूल्याङ्कन गर्न, सेयर लगानीकर्ताले कर्जाको जोखिमको भार र सीमा संशोधन गर्न सुझाव दिएका थिए। तर उक्त सुझावलाई राष्ट बैंक सम्बोधन गरेन।
मंसिर १४, २०८१ शुक्रबार ११:४२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।