चौथो अंग : प्रकाशकको मात्रै हैन सम्पादकको स्वार्थ नमिल्दा पनि समाचार छापिँदैनन्, साहु र सम्पादक छुट्टाउनै गाह्रो भइसक्यो
केही वर्षअघिको कुरा। एउटा समाचार कम्प्युटरको फोल्डरमा लामो समय रहिरह्यो। रिपोर्टरले स्टोरी फाइल गरेका थिए, तर छापिएको थिएन। ‘यस्तो अलपत्र किन रह्यो यो स्टोरी’ भनेर फाइल खोलेर हेर्दा त फेवातालको किनाराको सार्वजनिक जग्गा मिचिएकोबारे समाचार रहेछ। प्रशान्त लामिछानेले लेख्नुभएको। म त्यतिबेला अनलाइन संयोजक थिएँ।
छापामा त्यो समाचार छाप्ने उहाँको योजना थियो। तर छापाका सम्पादकले त्यसलाई हेर्दै हेरेनन्। त्यसपछि अनलाइन र अंग्रेजी पत्रिकामा छापिने निर्णय गरियो। अंग्रेजी छापाका सम्पादकले पनि त्यो खोजमुलक स्टोरी छाप्न मञ्जुर हुनुभयो। नेपाली माध्यमको अनलाइनमा पनि समाचार छापियो। प्रकाशकसँग पनि रिपोर्टरले नेपाली छापामा किन स्टोरी छापिएन भनेर सोध्नुभएछ।
कुरा बुझ्दै जाँदा थाहा भयो- व्यवसायी कर्ण शाक्यको रिसोर्टले फेवाताल किनारको सार्वजनिक जग्गा मिचेको समाचारमा लेखिएको हुँदा सम्पादकलाई छाप्न मन नलागेको रहेछ। कारण, शाक्यसँग सम्पादकको राम्रो सम्पर्क रहेछ।
यहाँ भन्न खोजेको समाचारकक्षमा समाचार रोक्ने प्रकाशकको स्वार्थ मात्रै हैन सम्पादकको स्वार्थ नमिल्दा पनि नछापिने रहेछ। समाचार लेख्दैमा छापिने भन्ने नै हुँदैन। सबै प्रक्रिया पुग्दा नछापिने समाचार पनि हुन्छन्, प्रक्रिया पूरा नभएर समाचार नछापिन पनि सक्छन्।
समाचार कक्षको लेयर घट्यो
२०५८ साल देखि हो मैले पत्रकारिता शुरू गरेको। शुरूमा स्ट्रिन्जर थिएँ म। स्ट्रिन्जर हुँदा समाचारको संख्याको आधारमा पैसा आउँथ्यो। धेरै समाचार लेख्दा स्टाफको भन्दा धेरै पैसा हुन्थ्यो। त्यसपछि स्टाफ बनाइयो। शुरूवातमा काम गर्दा मिडिया कसरी चल्छ भन्ने थाहा थिएन। नेपाली मिडियामा भर्खरै इन्टरनेट जोडिएको थियो।
इन्टरनेट चलाउन पनि त्यतिबेला म अफिस जान्थेँ। राजधानी दैनिकमा काम गरेपछि नयाँ पत्रिकामा गएँ। त्यहाँ राजधानी दैनिकको तुलनामा सानो समूह थियो। संवैधानिक निकाय र सर्वोच्च अदालतको समाचार हेर्ने हुँदा सम्पादकसँग सम्पर्क भइरहन्थ्यो। त्यसपछि समाचार कक्षमा काम कसरी हुन्छ भन्ने भित्री कुरा सिक्दै जान थालियो।
नयाँ पत्रिका जानुभन्दा अघि नै हामीले ‘परेवा डटकम’ अनलाइन शुरू गरेका थियौँ। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालको समय थियो। सञ्चारमाध्यममा नेपाली सेनाका जर्नेल कर्नेल ‘सम्पादक’ थिए। हामीले अनलाइनको ठेगाना शंखमुल लेखेर कमलपोखरीबाट चलाएका थियौँ। उमेश श्रेष्ठ सम्पादक। उहाँले पक्राउ नपर्ने हिसाबले काम गर्ने है भन्ने कुरा भएको थियो। पक्राउ परे समाचार लेख्ने मान्छे हुँदैनथ्यो।
पछि भने म छापामा नै फर्किएँ।
ठूला समाचारकक्षमा समाचार सम्पादनका विभिन्न लेयर हुन्छन्। रिपोर्टर, डेस्क सम्पादक, सम्पादक अनि प्रुफ हेर्ने। निश्चित बिटका समाचार हेर्ने ब्यूरो प्रमुख। ठूला थिए समाचार कक्षहरू। अहिले पनि यस्ता समाचार कक्ष त छन्, तर सीमित। परम्परागत मिडिया संरचना अहिले बिस्तारै भत्किदै गएको जस्तो देखिन्छ। न्युज लेख्नेदेखि प्रकाशन गर्नेसम्म एकै व्यक्ति हुन थालेका छन्। यसले गर्दा त्रुटीहरू बढेका छन्। गलत सूचना फैलने खतरा पनि बढेको छ।
सूचनाका विषय र प्रसङ्गहरूमा समाचारकक्षमा जति अन्तर्क्रिया भयो, जति धेरै चरणमा स्टोरीमा काम भयो, त्यति नै राम्रो हुन्छ र गल्तीहरू कम हुन्छन्। हतारमा प्रक्रिया नपुर्याइ छाप्दा राम्रो विषय भए पनि राम्रो स्टोरी नबन्न सक्छ। समाचार कक्ष डिजिटल होस् की भौतिक समाचार प्रोसेसिङको लेयर बढाउनु पर्छ, घटाउनु हुन्न।
समाचार लेख्दैमा छापिन्न
समाचारकक्षमा फाइल भएका समाचारहरू लेखिँदैमा छापिन्छन् भन्ने हुँदैन। समाचारको भाँती नपुगेर मात्र हैन समाचारसँग जोडिने पात्र घटनाको विषयवस्तु मालिकको स्वार्थले पनि समाचार नछापिन सक्छ। यसको अर्थ सबै नेपाली मिडिया मालिकले स्वार्थ मात्र हेर्छन् भनेको हैन। मालिकहरूले सम्पादकीय स्वतन्त्रता छोडिदिएका थुप्रै उदाहरण पनि छन्। तर मिडिया एउटा उद्योग, व्यापार पनि हो, भलै यसको सामाजिक उत्तरदायित्व हुन्छ, हुनुपर्छ।
समाचारकक्षमा दैनिक घट्ने घटनाको समाचार त बन्छ नै भित्रभित्रै लङ फर्मका स्टोरी पनि बनिरहेका हुन्छन्। जसले कुनै संस्थाको बदमासी छर्लङ्गै हुन्छ र संस्था बन्दै हुने स्थितिमा पुग्छन्। कुनै बेला नागरिक र रिपब्लिका दैनिकले युनिटी नेटवर्कको ठगीबारे श्रृङ्खलाबद्ध समाचार छापिएपछि त्यो संस्था नै बन्द भएका थियो। अख्तियार दुरूपयोग अनुसन्धान अयोगका आयुक्तले घुस लिएको समाचार खोज्न र पुष्टि गर्न पत्रकार मणि दाहाललाई ८ महिना लागेको थियो।
जागिर जोगाउन समाचारको ‘बलि’
मालिक र सम्पादकबीच समाचारका विषयलाई लिएर रस्साकस्सी हुनु सामान्य हो। मालिकसँग रिदम नमिलाई एउटै मिडियामा लामो समय सम्पादक टिक्न गाह्रै पर्छ। मिडियामा को प्रधान हुने भन्ने कुरा चाहिँ मालिक र सम्पादकको नेचर अनुसार फरक-फरक होला। कुनै सम्पादकले मालिकभन्दा अघि बढेर पत्रकारिता गरेका उदाहरण पनि छन्। सामान्यत: हाम्रो अभ्यास हेर्दा मालिकको स्वार्थ अधिकतम प्रतिशत सर्भ नगर्ने सम्पादक मिडियामा लामो समय टिक्न सक्दैनन्।
पछिल्लो समय नेपाली मिडिया कर्पोरेट हावी भए भनिन्छ। यसमा मालिक मात्र होइन, सम्पादक पनि जिम्मेवार छन्। सम्पादकले टेरेन भने कहिलेकहीँ मालिकले सिधै रिपोर्टर प्रयोग गरेर सम्पादकलाई बाइपास गर्ने अभ्यास पनि भएको देखिन्छ।
समाचार कक्षको नेतृत्वकर्ता सम्पादक र रिपोर्टरले राम्रो स्टोरी लेख्नुपर्ने, स्वार्थ समूहको प्रभावबाट जोगिनुपर्ने भन्ने कुरा सामान्य कुरा हुन्। साहु र सम्पादक छुट्याउन गाह्रो पर्ने अवस्था हाम्रो पत्रकारिताको दु:खद् पक्ष हो।
मालिकले लगानी गरेको हुन्छ। व्यापार, व्यवसाय बढाउन कुनै अमुक कम्पनीलाई फाइदा हुने गरी समाचार लेखाउनु/नलेखाउनु एउटा कुरा हो। रिपोर्टर र सम्पादकले समाचारको सेल्फ सेन्सरसिप गर्नु चाहिँ सबैभन्दा खतराको कुरा हो।
हिजोआज मिडिया दुई किसिमका छन् भन्दा हुन्छ। ठूलो लगानी र ठूलो वितरण च्यानल भएका ठूला मिडिया र साना मझौला मिडिया। साना मिडियाका कतिपय कमजोरी होलान्। यहाँ राम्रो के भएको छ भने साना मिडियाले खोजमूलक समाचार उजागर गर्दिएका उदाहरण थुप्रै छन्।
कुनै कर्पोरेट हाउसले स्वार्थ समूहको इच्छा बमोजिमको भाष्य बनाउन समाचार प्रकाशित गर्छ अथवा रोक्छ भन्दैमा त्यस्तो सूचना रोकिनुपर्ने अथवा रोकिन्छ नै भन्ने अवस्था अहिले छैन। एउटाले मैले रोकेँ नि भन्ला। अर्कोले जुर्मुराएर छापिदिन्छ। ठूला मिडियासँग राम्रो समाचार उत्पादन गर्न, अनुसन्धान गर्न र पत्रकारितालाई धारिलो बनाउन स्रोत छ तर उनीहरूले कन्टेन्टमा लगानी गरिरहेका छैनन्।
कुनै-कुनै विषयमा त ठूला मिडिया ठूला काण्डका समाचार ‘फलोअप’ लेख्ने जस्ता मात्रै पनि देखिएका छन्। साना मिडियाले ब्रेक गर्ने ठूला मिडियाले फलोअप गर्ने। यो एउटा र अरू पनि कारण र उपकारणहरू होलान्, तर यथार्थ के हो भने मिडियामाथिको विश्वसनियता घट्दै गएको छ।
सोसल मिडियाले गर्दा कुन मिडियाले के छाप्यो, के छापेन भन्ने कुरा बाहिर जानेरहेछ। सामाजिक सञ्जाल र टेक्नोलोजी रूपान्तरणको समय भएर पनि होला मूलधारका मिडियालाई आम पाठकको विश्वास घट्दै गएको छ। त्यो नेपालमा मात्र होइन, विश्वभरि नै।
मिडिया र मतगणना गर्ने मेसिन उस्तै हुन्। मतगणना गर्ने मेसिनले सही ढंगले गणना पनि गर्नुपर्छ र त्यसले गणना गरेको नम्बर मान्छेले पत्याउनु पनि पर्छ। द वासिंग्टन पोस्टका मालिक जेफ बेजोस भन्छन्, ‘मिडियाले सही सूचना दिँदैन र सही सूचना दिइएको छ भनेर पाठकले पत्याउँदैन भने यो ठूलो संकट हो।’
अहिले देखिएको संकट एउटा यो पनि हो। हाम्रै यहाँ पनि व्यावसायिक मिडियाले उठाएका कतिपय विषयलाई आम पाठकले विश्वास नगरेको, तथ्यगत प्रश्न गरेको देखिन्छ। नभएको पाठक खोज्नुभन्दा, बनिसकेको पाठक गुमाउनु मिडियाका लागि बढी घातक हुन्छ।
समस्या छ भनेर मात्रै हुँदैन
अहिलेको समाचार कक्ष भनेको स्मार्ट फोन पनि हो। न्यूजरूम रूपान्तरण भएर डिजिटलाइज्ड हुँदै जाँदा यसले धेरै सुविधा थपेको छ भने कतिपय जोखिम पनि बढाएको छ। अघि भने नि, समाचारकक्षमा पहिले तीन तहमा सम्पादन हुन्थ्यो, अहिले नहुन पनि सक्छ। यसो गर्दा गलत सूचना प्रवाह हुने जोखिम बढेको छ। अब समाचार कक्षले समाचार उत्पादन गरेर मात्र हुँदै-हुँदैन, मीठा गफ पेलेर होइन तथ्यले आम मान्छेको विश्वास जित्न सक्नुपर्छ।
प्रतिस्पर्धात्मक बजारमा अब्बल कन्टेन्ट विकास गर्नुपर्ने चुनैती पत्रकारलाई छ। विकसित भएको टेक्नोलोजी जस्तै मल्टिमिडिया, डेटा डिर्भन स्टोरी डेपलप गर्नु हाम्रो खाँचो हो। मिडिया मालिकहरू केही समय यता भनिरहनु भएको छ, गाह्रो छ। यो भनेको कति समय भयो? कोभिडले गाह्रो पर्यो भन्यो, बैंकको लोनको ब्याजदर बढी भएर गाह्रो भयो भन्यो। अहिले कोभिड पनि गयो, ब्याजदर पनि घट्यो। अरे यार खास गाह्रो के कारणले भएको हो?
वस्तुगत कारण नभेटी समाधानको बाटो भेटिँदैन। कारण पत्ता लाएपछि सामाधानको बाटो खोज्न ठूलो कुरै हैन। भन्छन् मिडियालाई गाह्रो छ तर के कारणले गाह्रो छ? कुन-कुन विन्दुमा गाह्रो छ? त्यसको कारण आफू हो कि अरू कोही? हाम्रो मिडिया अरु कसैले बनाइदिने हैन। गाह्रो भयो भनेर बिलौना गाएर केही बन्नेवाला छैन। रोग लाग्यो भनेपछि उपचार गर्नुको विकल्प हुन्न नि! त्यस्तै काम गर्नुको विकल्पै छैन। पाठकलाई यो पत्रिका अथवा अनलाइन नपढ्दा के पो छुट्यो भन्ने बनाउने तपाईं हामीले नै हो।
(राजधानी दैनिक, परेवा डटकम, नयाँ पत्रिका र नागरिक न्युज डटकममा काम गरिसकेका ढुंगानासँग प्रजु पन्तले ‘नेपाली मिडियाको समाचार कक्ष’ शीर्षकमा आधारित रहेर गरेको कुराकानी)
चौथो अंगका पुराना श्रृंखला :
मंसिर ३, २०८१ मंगलबार १८:३७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।