चौथो अंग : समाचार रोक्न साहु रिझाउनेहरू आजकल रिपोर्टर फकाउन थालेका छन्
भारतको रक्सौलमा काम विशेषले गएको थिएँ। रेल स्टेशनको पश्चिमतिर काठको गोदाम देखेँ। त्यहाँ हिन्दीमा लेखिएको थियो- ‘इदर शुद्ध नेपाली लकड़ी उपलब्ध है।’ मलाई यो लेखाइले तान्यो।
अर्को दिन क्यामेरा लिएर गएँ। गोदाममा छिरेर फोटो पनि खिचेँ। क्यामेराको फ्लायशले गर्दा गोदामका मान्छेले थाहा पाइहाले। उनीहरूले मलाई खेद्न थाले। म एक किलोमिटर जति दौडिएँ। कन्टेनर रोकिराखेको थियो। पछाडिबाट चढेको मात्र के थिए, त्यो कन्टेनरको ढोका पनि लाइहाल्यो।
त्यसपछि त्यो रक्सौल छाडेर भारततिर अर्को बाटो लाग्यो। कहाँ रोक्छ थाहा थिएन। करिब पाँच किलोमिटर टाढा गएपछि त्यो कन्टेनर रोकियो। मैले ढोका ढक-ढक गरे। उनीहरूले ढोका खोले। ‘किन चढेको?’ भनेर सोधे। मैले पत्रकार हो भनेपछि उनीहरूले सहजै छाडिदिए। वीरगञ्ज आएर बुझ्दा थाहा भयो त्यो गोदाममा तस्करीका काठ हुने रहेछन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र वन कार्यालय सबैको अनदेखापन थियो त्यो। कसरी भयो काठ तस्करी, कसरी सरकारी निकायले आँखा चिम्लिए भनेर समाचार लेखेँ झण्डै १२ वर्षअघि।
त्यो त्यहीँको स्थानीय दैनिक पत्रिका ‘जनसृष्टि’ दैनिकमा छापियो । रिपोर्टरले काम विशेषले गएर मात्रै स्टोरी भेटिने हैन, आफ्नै कामले जहाँसुकै जाँदा पनि स्टोरी भेटिँदो रहेछ भनेर त्यही बेला सिकेँ मैले।
कतिसम्म समाचार खोज्ने, कतिसम्म जोखिम उठाउने भन्ने कुरा रिपोर्टरको स्वभावमा भरपर्ने रहेछ भन्ने कुरा यो समाचार संकलन गर्दा सिकेँ। मैले पत्रकारिता गरेको धेरै भएकै थिएन। नयाँ काम गरौँ भन्ने हुटहुटीले यो समाचार लेखिएको थियो।
तटस्थताको सकस
मैले पत्रकारिता शुरू गरेको २०६२ सालमा हो। त्यतिबेला जनआन्दोलनको समय थियो। त्यहाँका स्थानीय पत्रिकाहरूमा एक-दुई दिन बिराएर लेखहरू आउँथ्यो मेरो। आन्दोलनको समयमा विभिन्न पेशामा आबद्धहरूले कार्यक्रम गर्थे। त्यसमा गएर कविता वाचनहरू गरिन्थ्यो। लेखिरहने भएकाले त्यहीको स्थानीय पत्रिकामा काम गर्न गाह्रो भएन।
‘भूमिवाणी’मा मेरो पहिलो बाइलाइन छापियो। स्थानीय पत्रिका त्यतिबेला स्थानीय समाचारका भरपर्दा माध्यम थियो। मूलधारका मिडियाले स्थानीय समाचारलाई कभर गरिसाध्य पनि नहुने अनि अहिलेको जस्तो अनलाइनको जमाना नभएका कारण पनि स्थानीय पत्रिकाको छुट्टै महत्व थियो।
त्यतिबेला ‘अंकुश’ र ‘पर्सा एक्सप्रेस’मा पनि काम गरेँ। काठमाडौंबाट निस्कने पत्रिका नागरिक दैनिकमा आबद्ध भएँ। स्ट्रिन्जर थिएँ त्यतिबेला। समाचार लेखेको आधारमा तलब आउँथ्यो। नियमित तलब खानेभन्दा मेरो पैसा बढी हुन्थ्यो। त्यहाँ मात्रै हैन, ‘यो साता’, ‘शिक्षक मासिक’, ‘घटना र विचार’ लगायतका पत्रिकामा पनि मेरो बाइलाइन छापिन्थ्यो।
२०६४ सालमा मधेशमा अर्को आन्दोलन भयो। वीरगञ्जको घण्टाघरमा थिर बम मल्लको शालिक थियो, भत्काइयो। मैले त्यो शालिक भत्काउन हुँदैनथ्यो भन्ने आशयमा समाचार लेखे। यो समाचार आन्दोलनमा लाग्नेहरूलाई मन परेन। आन्दोलनकारीले ‘रितेश जीबाट यो अपेक्षा थिएन’ भनेँ। उनीहरूले मलाई प्रष्टीकरण त सोधेनन् तर सचेत जस्तो भने गराए।
मूलधारका मिडियाले मधेश आन्दोलनलाई राम्रोसँग कभर नगरेको र यथार्थता नबुझी समाचार लेखेको मधेशको गुनासो थियो। हुन पनि मधेश बिरलै पत्रकारले बुझे त्यतिबेला। फिल्ड रिपोर्ट एकदमै कम भए काठमाडौंबाट निस्कने पत्रिकामा। आन्दोलनकारीको गुनासो यही थियो।
पत्रकारिताले तटस्थ भएर रिपोर्टिङ गर्दा तराईमा होस् की काठमाडौंमा गाह्रो नै हुन्छ। त्यसमाथि आन्दोलन चलिरहेको बेलामा तटस्थ हुनु असाध्यै गाह्रो। आन्दोलन सकियो। संविधान लेखनको समयमा सबै समुदायले आफ्नो मागहरू राख्थे। आन्दोलनहरू प्रदर्शनमा बदलिए।
०००
२०७० अघि तराईमा भूमिगत सशस्त्र समूहहरू ज्यादा थिए। बम पड्काउनेदेखि चन्दा असुली र अपहरण सम्बन्धी घटना भइरहन्थे। शिक्षक मासिकमा ‘श्रृङ्खलाबद्ध हत्या’ भनेर समाचार लेखियो। अहिले मधेशमा उस्तो घटना त छैनन् तर निर्मूल पनि हुन सकेको छैन।
एक पटक पर्साकै एक गाउँमा कुनै काम विशेषले रिपोर्टिङमा गइरहेको थिएँ। आँपको बगैँचामा बसेर विद्यार्थी पढिरहेको देखेँ। बुझ्दै जाँदा भवन अभावमा बगैँचामा पढ्न बाध्य रहेछन्। यो समाचार लेखियो। पछि जापानी संस्थाले त्यहाँ विद्यालय बनायो।
आन्दोलन अलि मत्थर भइसकेपछि आर्थिक पत्रकारितामा केन्द्रित भइयो। अपर बौगी परियोजना बन्ने भयो। त्यो बाँध बन्दा ६०/ ७० दलित घरधूरी विस्थापित नै हुने भए। उनीहरूले थाँतथलो नै छोड्नु पर्ने स्थिति आयो। यसबारे समाचार लेखियो।
विकासबारे समाचार लेख्दै गर्दा त्यहाँ पर्ने असरलाई पनि पत्रकारले ध्यान दिएर लेख्नुपर्छ। तटस्थ भएर समाचार लेख्नु निकै सकस काम हो। कुनै न कुनै विन्दुमा बढी पीडित भएको वर्गलाई सिधै समर्थन नगरेता पनि झुकाब भने हुने नै रहेछ। पत्रकारितामा तटस्थतताको सकस नै हुने रहेछ।
वीरगञ्ज र काठमाडौंको शैली उही
एक जना स्थानीय रेडियो समाचारदाताले वीरगञ्ज नाकाबाट गाँजा तस्करीको समाचार प्रशारण गरेछन्। यो समाचार सुनेपछि प्रहरीले छापा हानेर गाँजा निस्तेज पार्यो। तस्कररू त्यो समाचारदाताको घरमै गएर पत्रकारको बुवालाई तिम्रो छोराले गर्दा हाम्रो व्यवसाय घाटा लाग्यो भनेर रकम माग गरेछन्।
स्थानीय रिपोर्टिङ गर्दाको घाटा के भने सिधै पत्रकारलाई धम्की आउने अनि फाइदा भनेको सूचनामा अलि बढी पकड राख्न सकिने नै हो। तर, सूचना दिने निकाय चाहि सिंहदरबारका हुन् की वीरगञ्जका प्रवृत्ति भने उस्तै छ। संविधानले सूचना दिने र लिनेलाई अधिकार र दायित्व अन्तर्गत राखेको छ तर सूचना दिन मान्दैनन् हाम्रो कर्मचारी संयन्त्र।
एउटा उदाहरण- म तीन वर्ष भयो काठमाडौं आएर पत्रकारिता गरेको। पछिल्लो समय मेडिसिटी अस्पतालले कसरी त्यहाँको ऐलानी पर्ति जग्गा मिच्यो भन्ने सन्दर्भमा स्टोरी गर्नु थियो।
सरकारी निकायमा भेरिफाई गर्नु पर्ने डकुमेन्ट भएकाले सूचनाको हक प्रयोग गरेर मागियो। तर पाउनै मुस्किल। यो समस्या जहाँ पनि छ। यहाँ पनि छ। सूचना लुकाउने प्रवृत्ति अझै हट्न सकेको छैन सरकारी निकायको।
बरालिएको मिडिया इश्यु
आन्दोलनका बेला आन्दोलनका समाचार अनि संविधान निर्माणका बेला त्यही समाचार लेखेपछि अब मिडियाको ध्यान सुशासन र अर्थ समाचारमा हुनुपर्ने हो, हामी त्यसमा केन्द्रित हुन सकिरहेका छैनौँ। केही-केही उठ्न थालेका छन् तर त्यो पर्याप्त छैन।
अर्को भनेको करको कुरा। अहिले सरकारले जसरी कर थोपरिरहेको छ, यसको ठूलो असर परिरहेको छ। ठूला व्यवसायीलाई छुट अनि साना मारै मारमा छन्। यसमा मिडियाले बहस उठाउनुपर्ने हो, सकिरहेका छैनौँ। अब मिडियाले उठाउने इश्यु भनेकै सुशासन र आर्थिक विकासको कुरा हो। हामी बरालिएका छौँ। यसको अर्थ अन्य कुरा उठाउन पर्दैन भनेको हैन, केन्द्रित के मा हुने भन्ने हो।
अहिले सम्पादकीय संस्था कमजोर भएको लाग्छ मलाई। पहिले मालिकलाई चित्त नबुझेको समाचार जाँदैन भन्थे अहिले समाचार प्रभाव पार्न रिपोर्टर नै हातमा लिन थालिसके। सम्पादकीय संस्था कमजोर भएपछि रिपोर्टर पनि कमजोर भयो। समाचार नलेखिने पो समस्या हुने हो कि भन्ने देखियो।
एउटा उदाहरण दिन्छु अलिअघिको कुरा हो। माओवादी निकट मजदुर संगठनले हेटौंडाको एक उद्योगमा धर्ना दिइरहेका थिए। एक हप्ता बढी भइसकेको थियो। तर तिनै पार्टीका केन्द्रीय अध्यक्ष भने उनै उद्योगीको घरमा खाना खाइरहेका थिए। यो समाचार लेखियो तर छापिएन। यसरी रोकिन्छन् समाचारहरू।
समाचार रोक्न पहिले साहुलाई रिझाउँथे अहिले रिपोर्टर रिझाउन थालेका छन्। यसले पत्रकारितालाई कस्तो असर पर्ला। बहसकै विषय हो। अर्को हामी नयाँ-नयाँ विषयमा छलफल गरिरहरेका छैनौँ।
अर्को इश्यु उठाउँदा नगद भन्दा विभिन्न डिजिटल करेन्सीहरूको कारोबार विश्वमा बढ्दै गइरहेको छ। यसबारे हामी अनविज्ञ जस्तै छौँ। विश्वमा चलिरहेको डिजिटाइजेशन एआईदेखि अन्य विषयमा हाम्रो मिडियामा एकदमै कम छलफल हुन्छ।
२० वर्षअघिको जस्तो पत्रकारिता छैन अहिले। हात-हातमा मिडिया भयो। अहिलेसम्म रिपोर्टर, डेस्क र सम्पादक हुने अवस्था छ। केही वर्षपछि वान पर्सन हुन पनि सक्छ। त्यसका लागि हाम्रो मूलधारको मिडियाले कसरी अघि बढ्ने भन्ने सोचाइ राख्नु पर्ने देखिन्छ।
जसरी अहिलेसम्म हामीले उठाएका इश्युहरू केही हदसम्म भए पनि छलफल भएका छन्, पछि पनि यसको निरन्तरता मूलधारका मिडियाले जोगाएर राख्नुपर्छ। जसरी सामाजिक सञ्जालले हामीलाई चुनौती दिइरहेका छन्, त्यसलाई हामीले चिर्न जरुरी छ। यो भनेको हामी उनीहरूसँगै हुने हो।
अबको चुनौती भनेको माध्यम हो। अनि इश्यु कसरी उठाइन्छ भन्ने महत्वपूर्ण कुरा हो। २० वर्ष मिडियामा काम गर्दा नयाँ सूचनाको स्वाद लेखिसकेपछि छापिँदा अनि आफूले उठाएका इश्युहरूको छलफलले पत्रकारलाई आनन्द दिन्छ।
जसरी हिजो सामान्य सूचना दिँदा व्यापक छलफल हुन्थ्यो, अहिले हुँदैन। पछि यो भन्दा कम छलफल हुन पनि सक्छ। समूहमा काम गर्ने मिडिया सिंगल मिडियामा रुपान्तरित भइरहेका छन्। अबका पुस्ता मिडियामा आउने भन्दा पनि आफैँले मिडिया खोल्नेमा अग्रसर देखिन्छ। त्यसको प्रभाव के रहला आजको पुस्ताले सोच्नुपर्ने देखिन्छ।
(सृष्टि दैनिक, पर्सा एक्सप्रेस, शिक्षक मासिक, यो साता, घटना र विचारका लागि समाचार लेखेका त्रिपाठी नागरिक दैनिकमा लामो समय काम गरे। अहिले उनी उकालोमा आबद्ध छन्। उनैसँग वीरगञ्ज र काठमाडौंको पत्रकारितामा केन्द्रित रहेर प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला :
असोज ९, २०८१ बुधबार १४:२६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।