चौथो अंग : हतारै हतारले अनलाइनको भाषा रद्दी भयो, कसरी लेख्ने भनेर हामी घोत्लिँदै घोत्लिएनौँ
शहर की सहर? एकै अनलाइनमा एकरूपता छैन। कुनै समाचारमा शहर कुनै समाचारमा सहर। अनि एउटै शब्द घरि ह्रस्व घरि दीर्घ। ह्रस्व र दीर्घको ठूलो भिन्नता हुन्छ। सुन्दा एकै लाग्ने शब्द ह्रस्व र दीर्घले अर्थ फरक पार्छ। जस्तै- फूल भन्ने शब्दले बोटबिरुवाको फूल जनाउँछ भने फुलले चराचुरुङ्गीको । शब्दमा एकरूपता त छैन नै, भाषामा पनि मिठास छैन।
अनलाइनहरू यति हतारमा छन् की सदनमा प्रत्यक्ष प्रसारण भएको सांसदहरूले बोलेको कुरा पनि हामी अशुद्ध लेख्छौँ।
यो भनेको हामीले भाषा प्रति गरेको बेपरवाह हो, लापरबाही हो। मिडिया हाउसले शब्दमा भाषामा एकरूपता अपनाउन जरुरी छ। ‘शैली पुस्तिका’ राख्नुपर्छ। पहिले केही ठूला मिडियामा थिए पनि। अहिले कति अनलाइनमा ‘शैली पुस्तिका’ छन्, यो आफैँमा प्रश्न हो। पत्रकारको काम लेख्नु मात्रै हैन, लेखाइमा मिठास भर्ने पनि हो। भाषा जोगाउने काम पनि पत्रकारको हो।
०००
अनलाइनका भाषा रद्दी
झापाबाट स्नातकोत्तर गर्न काठमाडौं आइयो। मध्यान्ह-अपरान्ह पत्रिकाहरू हेरिन्थ्यो। मेरो मामाको छोरा पदम गौतम पनि पत्रकार नै हुनुहुन्थ्यो। अंग्रेजी साहित्यको विद्यार्थी भए पनि मलाई पत्रकारिता गरौँ भन्ने लाग्यो। त्यहीबेला कान्तिपुरले ‘कपि डेस्क’मा आवेदन खुलायो। अनि म पनि ‘कपि डेस्क’को रूपमा कान्तिपुर दैनिकमा आबद्ध भएँ।
‘कपि डेस्क’ भनेको चाहिँ रिपोर्टरले ल्याएको फस्ट ह्याण्ड समाचार हेर्ने मानिस हो। कपि डेस्कले हेरेपछि डेस्क इडिटरले हेर्थ्यो। पछि ‘कपि डेस्क’ तह नै रहेन, हामी डेस्कमै काम गर्न थाल्यौँ। कान्तिपुर पछि ‘समय’ म्यागेजिनमा काम गरियो। अलि लामो अनि विश्लेषणात्मक समाचार दिनुपर्छ भनेर समय साप्ताहिक सुरू गरियो।
पत्रिका हुँदै अनलाइनसम्म काम गर्दा हामीले अझ भाषामा काम गर्न सकेका छैनौँ भन्ने लाग्छ। हामीले के लेख्छौँ? यो भन्दा महत्त्वपूर्ण कुरा हो- कसरी लेख्छौँ? अहिले पत्रकारितामा के लेख्ने भन्नेमा मात्रै हामी केन्द्रीत भयौँ जस्तो लाग्छ। ‘आत्मा’ मरेको भाषामा लेखिरहेका छौँ। कसरी लेख्ने भन्नेमा हामी घोत्लिँदै घोत्लिएका छैनौँ।
सदनमा कुन नेताले के बोले भनेर लेख्दा हतारिनु जरुरी नै छैन। स्कुप मार्ने समाचार पनि हामी कसैले लेखिरहेका छैनौँ, र पनि हतारमा छौँ। अर्को हाम्रोमा वान पर्सन भयो। पत्रिकाहरूमा अझै पनि रिपोर्टर, डेस्क अनि प्रुफ रिडर राखेको देखिन्छ, अनलाइनमा त्यो छैन। जसले गर्दा भाषा अनि शुद्धाशुद्धी त धेरै बिग्रिए। एक त साना मिडिया हुनु, लगानी नहुनु अनि डेस्कमा क्षमतावान मान्छेको कमी हुनु, जसले गर्दा अनलाइनका भाषा रद्दी भएका छन्।
भाषा सुधारको लागि मिडिया हाउसले तालिम दिनुपर्ने देख्छु म। आ-आफ्नो शैली पुस्तिका चाहियो अनि डेस्कमा तालिम दिनुपर्यो। हुन त नेपाली मिडियाका आफ्नै समस्या छन्। एक त तलब थोरै, दोस्रो त्यही पनि समयमा नपाउनु। उनीहरूको घर चलाउन नै गाह्रो भएपछि काम त भने अनुसार हुँदैन नै।
लगानीकर्ता कसरी राम्रो कन्टेन्ट बनाउने भन्दा पनि कसरी नाफा कमाउने भन्नेमा केन्द्रित भए। साहुसँग पत्रकारिताको इथिक्ससँग सम्झौता नगर्नेहरूले मिडिया हाउस नै छाडे।
पाका मान्छेको अनुभव र युवाको जोसको समिश्रण जसरी मिडियामा हुन्थ्यो, त्यो अहिले छैन। पत्रकारिताप्रति समाजले बनाएको मनोविज्ञान अनि पत्रकारको मनोविज्ञानको तालमेल भइरहेको देखेको छैन। मिडियाप्रति अविश्वास पनि पछिल्लो समय धेरै नै देखियो।
मूलधारका मिडिया युवामैत्री भएनन्
मूलधारका मिडियाले उठाएका इस्यु युवाहरूमाझ बहसका विषय हुनुपर्ने हो। तर, सामाजिक सञ्जालमा आएका भाइरल कन्टेन्टहरूबीच पो बहस भइरहेको छ। हामीले मूलधार भनिरहेका मिडियाहरू किन युवामाझ जान सकिरहेका छैनन्? हामीले उनीहरूको चाहना बमोजिम कन्टेन्ट विकास नगरेर पो हो कि!
उनीहरूले हाम्रो समाचार किन पढ्ने? त्यही कन्टेन्ट सोसल मिडियामा गयो र चल्यो भने बहस भयो, नत्र छैन। पहिले दैनिक एक लाखप्रति पत्रिका छाप्ने मिडिया अझै छन्। हामीले अनलाइनमा लेखेका समाचार एक हजार जनाले हेरे भने दङ्ग पर्नुपर्ने अवस्था छ, यो भनेको त मिडियाको लागि ठूलो घाटा हो नि!
यहाँ प्रश्न उठ्छ, मूलधारका मिडियालाई पछि पार्ने सामाजिक सञ्जाल हो त? यस्तो पनि हैन। समयअनुसार हामी अघि बढ्न नसकेको चाहिँ अवश्य हो। लेखनको आफ्नै महत्व छ, तर सँगसँगै भिडियो पनि अहिलेको प्रमुख आवश्यकता हो। पत्रकारले समयको आवश्यकतालाई बुझेर भिडियोमा कन्टेन्ट दिन जरुरी छ। मल्टिमिडिया अहिलेको प्रमुख माध्यम हो। जुन मिडियाले मल्टिमिडियालाई उपयोग गर्न सक्यो त्यो टिक्यो, नत्र गाह्रो छ।
हामीले समाचार कसका लागि र किन लेखिरहेका छौँ भन्नेमा प्रष्ट हुन जरुरी छ। युवाहरूले आफ्नो कन्टेन्ट मूलधारका मिडियामा नदेख्नु भनेको हामी युवामैत्री नहुनु हो। अब मिडियाले युवामैत्री कन्टेन्टमा जोड दिनु जरुरी छ। तर, कसरी? बदलिँदो समय अनि बदलिँदो मनोविज्ञानलाई नजरअन्दाज गर्न सकिँदैन। समाजको मनोविज्ञान बुझ्न पत्रकारले आफूलाई अपडेट राख्न जरुरी छ।
पत्रकारिता पैसा कमाउने पेशा हुँदै हैन
नेपाली बजार सानो छ। पत्रकारितालाई पनि त्यसले प्रभाव पार्ने भइहाल्यो। पत्रकारिता दुई प्रकारले चलेको छ। एक मागेर, दोस्रो विज्ञापनबाट। मागेर चलेका मिडिया धेरै टिक्दैनन्। विज्ञापन दिन सक्ने धेरै संस्थाहरू छैनन्। अनि धेरै लगानी गर्न सक्नेहरू मिडियामा लगानी गर्न आउँदैनन्।
पत्रकारिता पैसा कमाउने पेशा हुँदै हाेइन। यसो भन्दै गर्दा गुजारा चलाउन तलबै नदिने पनि होइन है। पत्रकारिता प्यासन हो। प्यासनमा पैसा थोरै होला तर, स्वतन्त्रपूर्वक अपराधीदेखि विद्धानसम्मलाई उस्तै व्यवहार गर्न सिकाउने समभाव भएको पेशा हो।
पत्रकार जति खारिन्छ, उति समभाव हुन्छ। नेपाली मिडियालाई हेर्ने आम मनोविज्ञान पहिले जस्तो एकदमै विश्वास गर्ने छैन। पत्रकारले क्यामेरा र बुम बोकेपछि ‘म अरू भन्दा अर्कै हुँ’ भन्ने भावना त्याग्न सकेको देखिँदैन। पहुँच हुनु भनेको पत्रकारको क्षमता हो तर दुरुपयोग गर्ने ‘पावर’ चाहिँ हैन। दुर्भाग्यवश, कति पत्रकारले दुरुपयोग गरेको देखिन्छ।
पत्रकारितामा धेरै आर्थिक समस्या छन्। अधिकांश नयाँ पुस्ताले पत्रकारितालाई भर्याङ बनाएको देखिन्छ। तर, बुझ्नु पर्ने कुरा के हो भने, असहजतामा काम गर्नु नै सुन्दरता हो। पत्रकारिता नेपालमा जस्तो पूरै कानून नबनेको देशका लागि औँला उठाइरहने माध्यम हो। प्रजातन्त्रका लागि अपरिहार्य कुरा हो। समाज जीवन्त त पत्रकारिताले नै गर्ने हो।
यसका लागि मिडिया हाउसले दैनिक गुजारा चल्ने व्यवस्था त मिलाउन पर्छ नै। पत्रकारलाई मनोपरामर्श पनि दिन जरुरी ठान्छु। कति धेरै साथीहरूले नराम्रो निर्णय लिएका छन्। किन यस्तो भइरहेको छ? कामको प्रेसर अनि खर्चको प्रेसर। आखिर पत्रकार पनि मान्छे नै हो, यो कोणबाट पनि सोच्न जरुरी छ। समाचारकक्षमा मनोपरामर्श दिन जरुरी देखेको छु।
मिडियाको माध्यम बद्लिएको हो। माध्यम अनुसार त्यसमा आफूलाई ढाल्दै लैजानु पत्रकारको गुण हो। ज्ञान र प्रविधिमा जो पोख्त हुन सक्यो त्यो पत्रकार कालान्तरसम्म टिक्यो। नेपाली अनलाइनले पनि नयाँ-नयाँ प्रयोग गरिरहेका छन्।
मल्टिमिडियादेखि अनलाइन म्यागेजिनसम्मका अभ्यास नभएका होइनन्। मलाई के लाग्छ भने, एउटा निश्चित समय आएपछि संख्या भन्दा गुणस्तरिय मिडिया रहने छन् र तिनले बजारमा सूचना प्रवाहसँगै वहस गराउने छन्। नेताले युवा पुस्तालाई नहेरेको भनेजस्तै मिडियाले युवा पुस्तालाई नबुझेको साँचो हो। युवामैत्री कन्टेन्ट अनि उनीहरूले नै हेर्ने प्लेटफर्ममा दिनुपर्छ भन्ने मलाई लाग्छ।
अन्त्यमा भाषाकै कुराबाट बिट मारौँ। सुरुवातमा नै भनेँ, के लेखिन्छ मात्रै हैन, कसरी लेखिन्छ पनि महत्त्वपूर्ण कुरा हो। भाषामा सरलता र मिठास दुवै हुन जरुरी छ। समाचार कक्षले यति सुधार्न सके सुनमा सुगन्ध हुने थियो।
(कान्तिपुर दैनिक, समय म्यागेजिन, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट, सेतोपाटीमा काम गरिसकेका दाहाल अहिले देशसञ्चारमा आबद्ध छन् उनैसँग प्रजु पन्तले अनलाइनका भाषा विषयमा गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला :
असोज १, २०८१ मंगलबार १९:३८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।