चौथो अंग : समाचारका लागि आवश्यक सामग्रीमा लगानीकर्ताको मात्र भर पर्ने हैन, पत्रकार आफैँले पनि जुटाउने हो

चौथो अंग : समाचारका लागि आवश्यक सामग्रीमा लगानीकर्ताको मात्र भर पर्ने हैन, पत्रकार आफैँले पनि जुटाउने हो
तस्बिर-कृष्पा श्रेष्ठ/उकेरा

२०५४ सालमा ‘घटना र विचार’ पत्रिकामा राजेन्द्रप्रसाद शाहको एउटा लेख छापिएको थियो। त्यस लेखमा रश्मी शाहबारे थोरै लेखिएको थियो। उनी राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि जेल परेकी थिइन्। पतिको हत्यापछि उनले पनि आत्महत्या गरिन् त्यो पनि तीजको दर खाने दिन। मलाई उनीबारे यहि घटनाले तानिरहेको थियो।

त्यो समाचार पढेँ अनि कटिङ पनि राखेँ। उनीबारे खोज्नुपर्छ भन्ने त लाग्यो। तर, तत्काल रिपोर्टिङ गरि हालिएको थिएन। उनीबारे जुन-जुन पुस्तकमा लेखिएका छन्, पढ्दै गएँ अनि संकलन पनि गर्दै गएँ। लामो समयपछि उनीबारे ठ्याक्कै दुई वर्षअघि एउटा स्टोरी निस्कियो। उनका छोरा नविन प्रकाशजङ्ग शाहसँग पनि कुराकानी गरियो। रश्मि नाटककार बालकृष्ण समकी छोरी थिइन्। उनको विवाह जगतप्रसादजङ्ग शाहसँग भएको थियो।

जगतप्रकाशजङ्ग शाह वसन्तुपरका ‘चौतरिया’ परिवारका सदस्य थिए। राजा रणबहादुर शाहले तिरहुते ब्राम्हणी कान्तिवतीबाट जन्मेका गिर्वाण युद्धविक्रमको साटो सुवर्णप्रभाबाट जन्मेका जेठा छोरा रणोद्योत शाहलाई राजा बनाएको भए राजा बन्ने पालो त्रिभुवनका छोरा महेन्द्रको होइन, जगत प्रकाशजङ्ग शाहको आउने थियो।

जगत प्रकाशजङ्ग शाह र महेन्द्र वीरविक्रम शाह दुवै जना पृथ्वीनारायण शाहपछिका नवौं पुस्ताका जेठा सन्तान थिए। जगतप्रसाद कांग्रेसको राजनीति गर्थे। उनी १७ सालपछि भूमिगत पनि भए। पछि उनलाई मारियो। रश्मी यति शोकमा परिन् की उनले रातो कहिल्यै छाडिनन्। आत्महत्या गर्नुअघि पनि उनले रातो कलमले पतिको नाममा कविता लेखेर रातै डोरीले बाँधेर आत्महत्या गरिन्।

यो स्टोरीले मलाई के सिकायो भने, कुनै बेला पढेको छोटो समाचारलाई अर्काइभ गर्ने अनि थप खोज्ने हो भने नयाँ तथ्य पाठकलाई दिन सकिन्छ।

०००

इतिहासको रिपोर्टिङ गर्न जरुरी छ 
२०५२ सालदेखि हो मैले पत्रकारिता गरेको। शुरुमा युगवाणीमा काम गरियो। त्यहाँ मैले भाषा पत्रकारिताको लागि कति महत्वपूर्ण हो अनि यो कसरी जान्ने भन्ने सिकेँ। त्यसपछि लामो समय म जनआस्थामा काम गरेँ। जनआस्थामा सूचना कसरी संकलन गर्ने अनि पत्रकारको पुँजी नै सूचना हो भन्ने बुझेँ। पछि नेपाल साप्ताहिकमा काम गर्दा म्यागेजिनमा काम गर्ने तरिका सिकियो। पत्रकारिता सिक्ने पेशा हो। यो प्यासन हो। अहिलेसम्म पनि सिकिरहेको छु। अझै सिक्न जरुरी ठान्छु आफूलाई।

पहिलेका साप्ताहिकले गोरखापत्र हेर्थे। कांग्रेस निकट छन् भने एमालेको उछितो काढ्ने अनि एमाले निकट छन् भने कांग्रेसको उछितो काढेर लेख्थे अधिकांशले। केही-केही साप्ताहिकले भने आफैँ खोजेर लेख्थे। म काम गर्ने साप्ताहिक भने आफैँ खोजेर लेख्ने प्रकारको थियो।

अहिले पनि दैनिक अपडेट दिनुभन्दा लामो स्वरूपका स्टोरी र केही नयाँ तथ्य दिनुपर्छ भन्ने लाग्छ। कुरा दुई हजार वर्षअघिको होस् की अहिलेको होस्, पत्रकारिताले नयाँ काम गर्नुपर्छ भन्ने लाग्छ।

इतिहासका रिपोर्टिङ गर्नुको दुई कारण छन्। केही  सालअघि  इतिहास विभाग खाली भएको पढ्ने विद्यार्थी नै नभएको समाचार आइरहेका थिए। किन? यसमा पत्रकारले के भूमिका निर्वाह गर्न सक्छ? नयाँ पुस्तालाई इतिहास पढाउने नै हो भने मैले किन रिपोर्टिङ किन नगर्ने भनेर शुरूवात गरेँ।

मेरो बुवा आफैँ इतिहास पढाउनुहुन्थ्यो। घरमा इतिहासका किताब थिएँ। सानैदेखि मैले पढेँ। बुवा मैले पत्रकारिता गरेको एकदमै गर्व गर्नुहुन्थ्यो। यस्तै कारण जोडिएर लेखेँ। पत्रकारले इतिहास मात्रै लेख्यो भने इतिहासको विद्यार्थीले लेखे जस्तो हुँदैन। समय सन्दर्भ मिलाएर आर्काइभ गरेका सामग्री पल्टाएर लेख्ने गर्छ। भेट्नुपर्ने व्यक्तिहरू भेटेर लेख्ने गर्छ।

अघि पनि भनेँ, पत्रकारिता भनेको नयाँ नयाँ चिज ल्याउने विषय हो। नआएका कुरालाई खोजी-खोजी ल्याउनु पत्रकारको धर्म हो भन्ने लाग्छ। अहिले घटेका घटनाहरू अहिले केही नलाग्न सक्छ तर २० वर्षपछि त यो इतिहास हो। त्यसैले पत्रकारले आज भेटेका तर आजै काम नलाग्ने जस्ता लाग्ने सूचनाहरू पनि संकलन गर्न जरुरी छ।

हामी धेरै जसो पत्रकारमा आर्काइभिङमा समस्या छ। फोटो र घटनाको संकलन अभावले थाहा भएका कुराहरू पनि लेख्न सकिन्न। फोटो भयो भने स्टोरी लेख्न सकिन्छ। तीन वर्षअघि सन्दर्भ मिलाएर पूर्व राजा दीपेन्द्रबारे लेखियो- ‘दीपेन्द्र बाँचेका भए कस्ता राजा हुन्थे?’

केही अनुमान अनि केही उनका आनीबानी केलाएको थिएँ। हुन त यसमा तथ्य कम र अनुमान बढी छन्। तर, पत्रकारका हिसाबले उनका अन्य आनीबानी प्रत्यक्षदर्शीसँग कुराकानी गरेर लेखियो। यसमा दीपेन्द्रको बाहिर कतै नआएको तस्बिर प्रयोग गरेको थिएँ मैले। मलाई के लाग्छ भने केही कतै प्रकाशनमा नआएका डकुमेन्ट र फोटोहरू पत्रकार आफैँले किन्नु पनि पर्छ। यसो गर्दा पत्रकारिताको गुणस्तर परिवर्तन हुन्छ भन्ने मलाई लाग्छ।

हाम्रा मिडिया उत्कृष्ट छन् 
केही समयअघि एउटा कोर्स गर्न चीन गएको थिएँ। त्यहाँ दक्षिण अफ्रिकाको साथी हुनुहुन्थ्यो। पिएचडी गर्नुभएको उहाँले कलेजमा पढाउनु हुँदोरहेछ। मैले उहाँलाई त्यहाँको मिडियाको आर्थिक अवस्था बारे सोधेँ।

हाम्रो भन्दा गए गुज्रेको थियो। उहाँको तलब त २ सय डलर मात्रै। मैले ‘यतिले पुग्छ त?’ भनि सोध्दा ‘कार्यक्रममा खाम दिन्छन्’ भन्नुभयो।

‘अनि इथिक्स त?’ मेरो जिज्ञासा सक्किएकै थिएन। ती पत्रकारले भन्नुभयो, ‘भोको पेटमा के इथिक्स भाइ!’

केही समय अघिसम्म पनि हाम्रो पत्रकारिता यस्तै त थिएन। केही साथीहरूले लिन्छन् भन्ने त सुनिन्थ्यो तर त्यस्तो बिगबिगी भएन। हामीले पत्रकारितामा उत्कृष्ट गरिररहेका छौँ। छ्यास्छ्यास्ती खामै लिनेहरू छैनन् हाम्रोमा।

हामीले खोजी पत्रकारितामा दैनिक न्यूज अपडेटमा पनि आफू सरहका मुलुकसँग दाज्दा राम्रै स्थानमा छौँ। सयौँ वर्ष पत्रकारिताको इतिहास भएका बेलायती र अमेरिकीसँग तुलना गरेर हाम्रो गए गुज्रेको भन्ने चाहिँ लाग्दैन।

हाम्रोमा लोकप्रियता भने माध्यम अनुसार एकदमै छिटो भएको देखिन्छ। हुन त संसारभर नै माध्यम बद्लिएका हुन् तर पछिल्लो समय प्रविधि यसरी बद्लिएको छ की हामी एकदमै छिटो सिफ्ट हुनुपर्ने अवस्थामा पुगेका छौँ।

पहिले साप्ताहिक थिए त्यसपछि रेडियो त्यसपछि दैनिक पत्रिकाहरू अझ मध्यान्ह पनि आए। त्यसपछि अनलाइन अनि अहिले त मल्टीमिडियातिर गएको देखिन्छ। प्रविधि फेरिएको फेरियै छन् लोकप्रियता पनि नयाँ माध्यममा भएको देखिन्छ।

अनलाइन म्यागेजिनकारिताको पनि केही मिडियाले अभ्यास गरिरहेका छन्। लामो स्वरूपका स्टोरी इन्गेज हुने खाले नै दिएको देखिन्छ। अझै यसैलाई तिखार्नु सक्नुपर्छ। तिखार्नका लागि पत्रकारले पढ्ने नै हो।

खर्च गर्नु लगानी हो
पत्रकारले इतिहास र वर्तमान घटनामा उत्तिकै अपडेट हुन सक्नुपर्छ, हुनुपर्छ। हो, हाम्रोमा केही मिडियामा आर्थिक समस्या नदेखिएको हैन।

जहाँ-जहाँ पैसाको अभाव देखाइएको छ, ती मिडिया पैसा नै कमाउन आएका थिए। उनीहरूबाट पत्रकारिता जोगिन्छ, उनीहरूले लगानी गरिदिन्छन् भनेर सोच्ने नै हैन। पत्रकार आफैँले सामग्री जुटाउने हो। आज जुटाएको सामग्रीले भोलि ठूलो काम दिन सक्छ।

पत्रकारले किनेको किताब, जुटाएको तथ्य अनि तस्बिरले पत्रकारलाई नै अर्को ढोका खोल्न सक्छ। अरुले गरिदिनुपर्छ भन्न थाल्यौँ भने काम हुँदैन।

यसको अर्थ राम्रा स्टोरी लेख्न मिडिया हाउसको लगानी नै चाहिँदैन भनेको हैन। चाहिन्छ, तर लगानीकर्ताले लगानी नगरेको अवस्थामा आफूले पनि आफ्नो करियरका लागि लगानी गर्नुपर्छ। खर्च गर्नु लगानी हो।

झन् खोज पत्रकारिता गर्नका लागि त शुरूमा लगानी लाग्छ नै। त्यसपछि रिटर्न पनि हुन्छ भन्ने मलाई लाग्छ।

अर्को विषय भनेको पत्रकारले पत्रकारितामा मात्र नभएर अन्यत्र पनि आफ्नो योग्यता बढाएकै राम्रो। जसले गर्दा अर्को काम गरेको आम्दानीले यता खर्च जुटाउन सकियोस्, जीवन चलोस् भन्ने हो। हामीले एकतिर मात्रै सोचेर हुँदैन।

नेपाली पत्रकारितामा भ्रष्टाचारका अवैध सम्पत्तिका देखि ठूला-ठूला काण्ड सार्वजनिक भइरहेका छन्। मैले चाहि भुईंमान्छेको स्टोरी लेख्न सकिन भन्ने लाग्छ। दरबार, सेना र राजनीतिको लेखेँ। दिनभरी साग बेच्न बसेका महिला साग बिक्री नभई घर फर्किएको देख्छु। त्यो हेर्दा लाग्छ- मैले भुईंमान्छेको स्टोरी लेख्न छुटाएछु।

पत्रकारले डकुमेन्ट मात्रै हैन समाजको यथार्थ बुझ्न गाउँ अनि अझ गरिब बस्तीहरूमा पुग्नैपर्ने रहेछ भन्ने मलाई रियलाइज हुन्छ।

(युगवाणी, जनआस्था, नेपाल साप्ताहिकमा काम गरिसकेका बराल अहिले नेपालखबरको म्यागेजिन सम्पादक छन्। उनैसँग इतिहास पत्रकारिताबारे प्रजु पन्तले गरेको कुराकानीमा आधारित) 

चौथो अंगका पुराना श्रृंखला :

भदौ १०, २०८१ मंगलबार १३:०५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।