चौथो अंग : पत्रकारले सत्ताबाट अलि टाढा रहेर काम गर्नुपर्छ, हामी त टाँसिनै गयौँ

चौथो अंग : पत्रकारले सत्ताबाट अलि टाढा रहेर काम गर्नुपर्छ, हामी त टाँसिनै गयौँ
तस्बिर-कृष्पा श्रेष्ठ/उकेरा

केही वर्षअघि त्रिभुवन विश्वविद्यालयमा ‘प्राज्ञिक शून्यताको जोखिम’ भनेर रिपोर्टिङ गरेको थिएँ। कारण प्रष्टै थियो, उप-प्राध्यापकहरूको अपारदर्शी  छनौट प्रक्रिया। ३० वर्षमा त्रिवि यति बिग्रियो की प्राज्ञिक क्षेत्रले अन्य देशमा जस्तो ‘भाइब्रेन्ट’ गराउन अहिले त्रिविले सकेको छैन। त्यहाँ उत्पादित जनशक्ति अनि त्यहाँ उत्पादित ज्ञानमा बेला-बेला प्रश्न उठ्न थालेको छ । यति धेरै बेथिति छन् की केही राम्रा कामलाई पूरै छोपेको छ।

अहिले म पत्रकारितामा ‘रिपोर्टिङ शून्यताको जोखिम’ देखिरहेको छु किनभने धेरै जसो मिडिया एजेन्सीका रेडिमेड समाचारमा भर पर्न थाले। भएका अलि-अलि रिपोर्टर पनि समाचार कक्षमा भन्दा आफ्नै कोठामा बसेर रिपोर्टिङ गर्न थाले। यसले पत्रकारितामा रिपोर्टरको जोखिम हुने सम्भावना देखिन्छ।

रिपोर्टर भनेको समाचार कक्षमा छलफल गर्ने, कुन एङ्गलमा के हुन सक्छ भनि सवालजवाफ गर्ने, आफ्नो मेन्टर र सम्पादकसँग कुरा गर्ने नै हो। छलफल गरेर लेखिएका समाचार र आफ्नै सुरले कोठामा बसेर लेखिएका समाचारको गुणस्तरियता फरक हुन्छ।

सम्पादकले ‘जता बसेर नि समाचार दिए भइहाल्छ’ भन्ने नै हैन किनभने समाचार कक्ष भाइब्रेन्ट गराउने नै रिपोर्टरले हो। रिपोर्टरले पनि आफूलाई तिखार्नु छ भने समाचार कक्षमै गएर काम गर्ने हो, न कि घरमा।

फिल्डमै उत्रौँ 
मैले पत्रकारिता २०५६ साल चैत ३० गते कान्तिपुर मिडिया ग्रुपको नेपाल पाक्षिक (पहिले साप्ताहिक)बाट शुरू गरेको हो। त्यसको सम्पादक विजयकुमार पाण्डे हुनुहुन्थ्यो। पछि हिमालखबर पत्रिकामा काम गर्न गएँ। त्यसपछि फेरि कान्तिपुर दैनिकमै फर्किएँ। अहिले म फ्रिलान्सर भएर काम गरिरहेको छु।

पत्रकारिता गर्छु नै भन्ने मेरो कुनै सपना थिएन। समाचार कक्षमा जाँदा जहिले आफूलाई पत्रकारिताको विद्यार्थी ठान्थे। जति ठाउँमा काम गरेँ, त्यहाँ सिक्ने-सिकाउने समाचार कक्ष अनि एकदमै प्रोफेसनल सम्पादकहरूसँग काम गर्न पाएँ। २५ वर्ष बढीको पत्रकारितामा धेरै सिकियो भन्ने मलाई लाग्छ।

हुन त पत्रकारिता सिक्ने सिकाउने नै काम हो । राज्य कसरी चलेको छ मात्रै हैन, आम मान्छेको दृष्टिकोणबाट राज्यलाई हेर्न पनि पत्रकारले सिक्छ भन्ने ठान्छु म। शुरूवातदेखि नै म पुस्तकालय जाने प्राध्यापकहरू भेट्ने अनि अनुसन्धानमा आधारित रिपोर्ट गर्न रुचाउँथे। धेरै त सकिएन तर जति गरियो सक्ने गरियो भन्ने मलाई लाग्छ।

समाचार लेख्दा घटना, पक्ष, विपक्षको विश्लेषण अनि विज्ञको भनाइ छुटाइँदैनथ्यो। उदाहरणका लागि ५७ सालतिर तत्कालीन सांसद पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले राजनीतिक दलहरू चुनावमा गर्नुपर्ने खर्चले अपारदर्शी भए, दलहरूलाई प्राप्त सदर प्रति मतको १ रुपैयाँ दिनुपर्ने भन्दै विधेयक पेश गर्नुभयो। यो विधेयकको खुबै चर्चा भएको थियो त्यतिबेला।

हामीले निर्वाचन आयुक्त कांग्रेस-एमालेका नेता र राजनीतिशाष्त्रका प्राध्यापकको विश्लेषण राखेर समाचार बनायौँ। शुरूवातमा विज्ञको थिएन। सम्पादकले प्राज्ञको चाहियो भनेपछि थपिएको थियो। मैले शुरुवातमै किन समाचार कक्षमा बसेर काम गर्नुपर्छ भन्ने कुरा जोड्न चाहन्छु।

हामी नेपालमा काम गर्दाको विजयकुमार भइन्जेल को ठूलो, को सानो भन्ने थिएन। एक अर्काको रिपोर्ट हेरिन्थ्यो। सम्पादकले हेरेर थप्न वा हेरफेर गर्न दिन्थे। हामीले त्यसरी नै गर्थ्यौँ। घरमा बसेर काम गर्दा फोनमा त कुरा होला, तर आँखैअघि देख्दा र नदेख्दा फरक पर्छ।

त्रिविमा गइरहने भएकाले त्रिविका अनुसन्धान केन्द्रका हविगत सारै नराम्रो देखेँ मैले। त्यसपछि थिङ्क विनाको थिङ्क ट्याङ्क लेखेको थिए। त्रिवि नै जाने क्रममा नपढाउने प्राध्यापक भनेर लेख्दा एक जना प्राध्यापकले राजीनामा नै दिनु भएको थियो। समाचारले तत्काल प्रभाव नपारे पनि दीर्घकालीन रूपमा पार्छ नै। त्यसकारण पत्रकार निराश हुने नै हैन।

मधेश आन्दोलन हुनुअघि हेपिएका मधेशी शीर्षक राखेर नेपालमा नै स्टोरी गरेको थिएँ। प्राध्यापक डिल्लीराम दाहालले फिल्ड अनुसन्धान गरेको रिपोर्ट देखाउनुभयो। मैले उहाँलाई पनि अझै पनि मधेशीहरू किन राज्यका ठूला पदमा पुग्न नसकेका होलान् भनि प्रश्न गरेको थिएँ।

२० जिल्लाको छ महिना लगाएर आफूले पनि अनुसन्धान गरेँ। उहाँको तथ्याङ्क मेरो रिपोर्टिङ राखेर समाचार लेखियो। मलाई के लाग्छ भने रिपोर्टले आफू केही न केही अनुसन्धान गरिरहनुपर्छ जसले गर्दा सधैँ अनुसन्धानमुलक स्टोरी दिन नसके पनि कहिलेकाहिँ दिन सकिन्छ।

पत्रकारको काम गहिरो अनुसन्धान मात्रै गर्ने हैन हल्का भनिएका/लागेका कुराहरूको पनि समाचार दिनुपर्ने हुन्छ। जस्तो शेरबहादुर देउवाको सरकार थियो। हामीले देउवाको किचन क्याबिनेटमा को-को छन् भनि लेख्यौँ। त्यसलाई प्रस्तुत गर्दा शौर्य मण्डल जस्तै देखिने गरी शेरमण्डल भनेर शुरूमा आर्जु राणा, दोस्रोमा मिनेन्द्र रिजाल, तेस्रोमा प्रकाशशरण महत अनि चौथोमा ज्ञानेन्द्रबहादुुर कार्की राखेका थियौँ।

देउवाको किचन क्याबिनेटका मान्छेको आलोचना पनि गरिएको थियो। तर, यो समाचारलाई त देउवाले दुई पटक पढेर सुनाउन लगाएछन् अनि लेटर टु इडिटर पठाउन पनि लगाएछन्।

पत्रकारको काम सधैँ अनुसन्धानमुलक रिपोर्ट दिन सक्ने हुँदैन। साइडमा अनुसन्धान पनि गर्दै जाने अनि घटना के भइरहेको छ चासो दिन पनि पर्छ। एउटा विषयमा गहिरो ज्ञान राख्दै गर्दा अन्य विषयमा पनि लेख्दै जानुपर्छ। अहिले हामी रिपोर्टरले यस विषयमा कति ध्यान दिन सकेका छौँ त! आफैँमा प्रश्न छ।

जति समाज खुल्ला लेखाइमा त्यति सङ्कुचन
पञ्चायतकालको आखिरीतिर पद्य ठकुराठीलाई समाचार लेखिएकै आधारमा गोली हान्यो राज्यले। उनको एउटा आँखा गुम्यो। समाचार लेख्नेलाई कुनै बेला गोली ठोकिन्थ्यो यही राज्यमा। राजा ज्ञानेन्द्रले समाचार कक्षभित्र सेना पठाए। अहिले हामी यो अवस्थामा छैनौँ, तै पनि राज्यलाई हल्लाउने नै गरी लेख्न सकेका छैनौँ, किन?

यो व्यवस्था ल्याउन अधिकांश पत्रकारहरूले सहयोग गरेको, सत्तामा नजिक भएर आर्थिक फाइदा लिन हैन, समाचार लेख्न हो। हामीले हाम्रो कर्तव्य भुलेका हौँ की! सत्ता सत्ता नै हो। अलि टाढा रहेर हेर्नुपर्ने हो पत्रकारले, हामी त टाँसिनै गयौँ। यसले पत्रकारिताको हित गर्दैन।

सत्ता जो सुकैको होस्, पत्रकारको काम प्रश्न उठाउने नै हो। उठाएको प्रश्न नसुन्ने सरकारलाई सुनाउने नै हो। पत्रकार आफैँ टाँसिन गएपछि प्रश्न सोध्छ कसले? सत्ताको कमजोरी पत्ता लगाउँछ कसले? नसुन्ने सरकारलाई कानै निर गएर सुनाउँछ कसले?

शुरूमै भने पत्रकारमा अनुसन्धान पुगेको छैन। अनुसन्धानकर्ताले गर्ने अनुसन्धान गर्ने तरिका फरक हुन्छ। पत्रकारसँग छरिएका अन्य विषयको ज्ञान पनि हुन्छ तत्काल चाहिने कस्मेटिक समाचार पनि आइरहेको हुन्छ। अहिले पत्रकारले कति पुस्तक पढ्छन्, महिनाको कति पुराना मान्छे भेट्छन्, यसले पनि उसको रिपोर्टमा प्रभाव त देखिनै हाल्छ। त्यस्तै हामी हाम्रो इतिहासमा कमजोर छौँ। पत्रकारले इतिहास पढ्न जरुरी देख्छु।

सम्पादकको सन्दर्भमा भन्दा अहिले तीन तहका सम्पादक छन्। सम्पादकका पनि सम्पादक छन्। अहिले पनि उहाँहरूलाई हाँक दिने अर्को निस्कन मुश्किल देखेको छु। यसका आफ्नै समस्या होलान्।

समग्र मिडियामा हेर्दा अहिलेका नयाँ सम्पादकलाई चुनौती अलि धेरै हो की जस्तो देखिन्छ। कार्यक्रमदेखि विभिन्न ठाउँमा जानु परेकै छ, जसले गर्दा समाचार चाहिँ अलि कम हेर्न भ्याउने हो की जस्तो पनि देखिन्छ। समाचार सम्पादकीयतामा तादम्यता भएको देखिँदैन। स्वभाविक रूपमा सम्पादक फेरिएपछि विचार पृष्ठ र समाचारको शैली बदलिन्छ नै।

अन्त्यमा मलाई के लाग्छ भने अहिलेका रिपोर्टर एकदमै ठूलो चुनौतीमा छन्। सूचनाको बाढी यति छ की कति सूचना दिने भन्ने अन्योलमा छन् उनीहरू। जति गरेका छन् त्यो सराहनीय लाग्छ।

(नेपाल साप्ताहिक, हिमाल साप्ताहिक, कान्तिपुर दैनिकमा काम गरिसकेका सिम्खडा अहिले स्वतन्त्र पत्रकार हुन्। उनीसँग ‘अनुसन्धान र पत्रकारिता’को बारेमा प्रजु पन्तले गरेको कुराकानी) 

चौथो अंगका पुराना श्रृंखला :

भदौ ४, २०८१ मंगलबार १४:२५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।