चौथो अंग : भ्रममा नबसौँ, पत्रकारिता समाजसेवा हैन ​​​​​​​

चौथो अंग : भ्रममा नबसौँ, पत्रकारिता समाजसेवा हैन ​​​​​​​

पत्रकारिताको तालिम दिन म विभिन्न ठाउँमा गइरहेको हुन्छु। तालिम सुरु भएपछि मैले सुरुवातमै एउटा प्रश्न सोध्छु ' तपाईँ पत्रकार किन बन्नु भएको? ' धेरैको जवाफ आउँछ 'समाज सेवा गर्न', 'सामाजिक विभेद हटाउन, छुवाछुत हटाउन, लैङ्गिक विभेद हटाउन, भ्रष्टाचार हटाउन, यस्तै-यस्तै।

हो, यही निर समस्या छ। पत्रकारिता समाजसेवा हैन, सेवामूलक व्यवसाय चाहिँ हो। पत्रकारिताले प्रश्न उठाउँछ, प्रश्नको कार्यान्वयन भयो भएन जाँच गर्छ। भ्रष्टाचारबारे प्रमाणसहित लेख्ने काम पत्रकारको हो। तर कारबाही गर्ने जिम्मेवारी उसको हैन।

प्रश्न किन महत्त्वपूर्ण छ ? उदाहरणका लागि कृष्ण र अर्जुनको प्रश्नोत्तर हो गीता। त्यो कथालाई मान्ने नै हो भने कृष्णको धेरैसँग सङ्गत भयो होला तर किन अर्जुनसँगको प्रश्नोत्तर गीता बन्यो अनि अरू बनेन?

जहाँ विद्रोह हुन्छ, जहाँ आलोचना हुन्छ त्यहाँ जीवन जीवन्त हुन्छ।  पत्रकारिताले पनि प्रश्नमार्फत समाजलाई जीवन्त राख्ने काम गर्छ। त्यसैले यो समाजसेवा हुँदै हैन।

पत्रकारिता पेसा समाजप्रति उत्तरदायी हुन्छ। तर पत्रकारिता गर्नु समाजसेवा गर्नु हैन। पत्रकारितामा लागेका अनि लाग्न चाहनेहरूले प्रारम्भमै यो बुझे धेरै भ्रम हट्छ।

डोको रेडियोको कालदेखि हातैमा मिडियासम्म

मैले पत्रकारिताको सुरुवात गरेको २०५८ सालतिर हो। रेडियोबाट पत्रकारिता सुरु गरेको मैले जागरण मिडियामा काम गरेँ। त्यतिबेला दलितको सवालमा काम गर्ने मौका पाएँ।

२०६२/०६३ को आन्दोलन सफल भएपछि एन्टेना फाउन्डेसनले डोको रेडियो सञ्चालन गरेको थियो। त्यहाँ पनि काम गर्ने मौका पाएँ। त्यहाँ काम गर्दा नागरिकको सरकारसँगको अपेक्षाबारे सामाग्री प्रस्तुत गरिन्थ्यो।

त्यो बेला धेरैलाई संविधान सभाबाट संविधान बनेपछि आमूल परिवर्तन हुन्छ भन्ने लागेको थियो। डोकोमा रेडियो बोकेर आम मान्छेको कुरा सुन्दै रेडियोमा बजाउँदै हिँडेको समय थियो त्यो।

त्यसपछि म अंग्रेजी माध्यमको पत्रकारितामा संलग्न भएँ।  द हिमालयन टाइम्समा काम गरियो। त्यतिबेला रेडियो सुन्ने धेरै थिएँ। पत्रिका त्यो पनि अंग्रेजी माध्यमको पढ्ने पाठक निकै कम थिएँ। र पनि यो पत्रिका सबै माझ चर्चित नै थियो।

भारतमा लामो समय औपनिवेशिक भएर होला अंग्रेजी पाठक धेरै भए। तर नेपालमा भने विभिन्न कारणले पाठक थोरै नै छन् यो माध्यमको।

पृथ्वीनारायण शाहले नै फिरङ्गीहरु भनेर विदेशीलाई आउन रोक लगाउनु, नेपाललाई बाहिरको दुनियाँमा खासै जान नदिनुले पनि धेरै समय काम गर्यो भन्ने लाग्छ।

अहिले अंग्रेजी पढेका धेरै पाठक भए पनि नेपालमा त्यसको सङ्ख्या कम नै छ। नेपाल बाहिर छन् तर त्यता पनि नेपाली माध्यम जस्तो अंग्रेजी माध्यमको प्रभाव परेको देखिन्न।

अंग्रेजी पत्रिका विशेष गरी शहरी क्षेत्र नै ताकेर निकाल्ने गरेको देखिन्छ। तर अंग्रेजी माध्यमको पत्रकारिता र नेपाली माध्यमको लगभग शैली उस्तै देखिन्छ। सानो लेयरमा भए पनि अलि फरक विषय उठाउने प्रयास नभएकै त हैन तर त्यसको निरन्तरताको कमी छ।

विदेशीलाई यहाँको स्थितिबारे जानकारी दिन अङ्ग्रेजीमै लेख्नुपर्छ भन्ने पनि छैन। उनीहरूले नेपालीमै छापिएका सामाग्री पनि उपाय अपनाएर पढिहाल्छन् जसरी पनि। तर भाषासँगै प्रस्तुतिको शैली पनि फरक हुने भएकाले अंग्रेजी जस्तै त हुन्न नेपाली। तर विकल्प त हो।

अंग्रेजी माध्यमको पत्रकारिता कमजोर हुनुको कारण प्राय: अंग्रेजी भाषाका प्रकाशन सह-प्रकाशनका रूपमा हुनु पनि हो। अडियन्स कम भएकाले यो प्रकाशकको पहिलो प्राथमिकतामा पर्नै सकेन।

र पनि नेपालको अवस्था हेर्दा असन्तोष नै मान्नुपर्ने अवस्था भने छैन। जे जस्तो भए पनि अंग्रेजी माध्यमका सञ्चारमाध्यमले भू–राजनीति अनि वैदेशिक मामिला मात्रै नभएर मानव बेचबिखन तथा तस्करबारे पनि लेखिरहेका छन्।  अंग्रेजी भाषीलाई नेपालबारे जानकारी दिने प्रयास गरिरहेकै छन्।

प्रिन्ट त भयो नै, अनलाइन र मल्टिमिडियाको प्रभाव विस्तार हुँदा पनि अंग्रेजी माध्यम सशक्त हुन सकेन। यसमा पनि नेपाली भाषाले नै पहिलो प्राथमिकता पायो, अंग्रेजीले दोस्रो। अंग्रेजी माध्यमका मात्रै अनलाइन न्युज पोर्टलको सङ्ख्या निकै कम छन्। केहीले प्रयास नगरेका हैनन्, तर टिक्न सकेनन्। प्रिन्टकै अनलाइन भर्सनको पनि प्रभाव देखिँदैन अनलाइनमा।

प्रयास नभएको हैन, पहिले भन्दा अहिले सुधार भएको देखिन्छ तर अझै प्रभावकारी हुन सकेको छैन अंग्रेजी माध्यमको पत्रकारिता।

शासक जहिले मिडियासँग डराउँछ

फेरि महाभारतकै कुरा गरौँ,  द्रोण ऋषि हुन्छन्। उनी उनका छोरा  अश्वत्थामाको मृत्यु भएको सुन्न सक्दैनन्। श्रीकृष्णले  युद्ध जित्नलाई युधिष्ठिरलाई झुटो बोल्न लगाउँछन्। युधिष्ठिर सुरुमा नमाने पनि हात्तीलाई मारेर अश्वत्थामा मरे भन्न राजी हुन्छन्।

'मानिस वा हात्ती हो थाहा छैन अश्वत्थामा मरे' भन्दा  अश्वत्थामा भन्ने बेला शङ्ख फुकिँदैन तर अनि मानिस वा हात्ती भन्ने बेला शङ्ख फुकिन्छ। शङ्ख फुक्नुको अर्थ मानिस वा हात्ती भन्ने शब्द नसुनुन् र भ्रममा परून् भनेर हो।

धर्म युद्धमा त मिस इन्फरमेसन थियो भने अहिले  नहुने कुरै भएन। अहिले पनि राजनीति गर्नेहरूले उस्तै कुराहरू बोलिरहेका हुन्छन्। पत्रकारलाई भ्रममा राख्न शङ्ख फुकिन्छ।

पत्रकारको काम शङ्ख फुकेको बेलामा के बोलिएको थियो भन्ने खोज्ने हो न की शासकले जे बोल्छ त्यही लेख्ने। मिडियासँग सत्ता जहिले डराउँछ। जुन वादधारी भए पनि सत्ता आफ्नो आलोचना रुचाउँदैन। त्यसैले पत्रकार सत्ताको प्रिय हुनै सक्दैन।

समाजमा नयाँ कुरा आएपछि पक्ष विपक्षमा बहस हुनु स्वाभाविक हो। नयाँ खाले चुनौतीहरू आइरहन्छन्। तर समाज सधैँ अघि बढ्छ।

नेपालकै सन्दर्भमा घरमा रेडियो राख्न पनि लाइसेन्स चाहिन्थ्यो। अहिले सोसल मिडियासम्म आइपुगिसक्यौ। हिजो पनि मिडियाको आलोचना हुन्थ्यो नै अहिले पनि भएकै छ। यसरी हेर्दा सत्ता पक्षले जहिले आलोचना गर्छ तर समाजले त्यसको मूल्याङ्कन गरेर अगाडि बढ्छ।

पहिले सिक्ने माध्यम मिडिया थिएन, अहिले भएको छ। सामाजिक सञ्जाल र मेनस्ट्रिम मिडियाको टसल पनि यही हो।

अहिलेको अवस्था नयाँलाई पुरानोले स्विकारी नसकेको अवस्था हो। प्रिन्टमात्र भएको अवस्थामा रेडियो आउँदा होस् या, टेलिभिजन आउँदा तत्काल स्विकारेको देखिँदैन। अनलाइन मिडिया आउँदा ‘डटकम पत्रकार’ भनिएकै हो। अब अहिले अनलाइन पत्रकारिता स्वीकार्य भइसक्यो।

यसको अर्थ मेनस्ट्रिम मिडिया र सोसल मिडिया एकै हुन् भन्ने मेरो अर्थ हैन। तर सोसल मिडियाका कारण सूचनाकै लागि मेनस्ट्रिम मिडिया पढ्नै पर्ने अनि हेर्नै पर्ने बाध्यात्मक अवस्था अहिले छैन।

सोसल मिडियाका कारण कुन मेनस्ट्रिम मिडिया कुन सोसल मिडिया हो भन्ने नछुट्टिँदा मिडियाको विश्वसनीयता गुम्यो भन्ने पनि सुन्छु। यसका लागि सोसल मिडिया दोषी कि मिडिया? समीक्षा गर्न जरुरी छ।

विश्वसनीयता गुम्यो भनेर आरोप लगाउनु काम छैन

मिडियाबाट नै सूचना लिएर मिडियामाथि नै नानाभाँति भनिरहेका हुन्छन्, छन्। तर मिडियाले आफूमाथि प्रश्न उठ्यो भने उल्टो आरोप लगाउने हैन, स्व मूल्याङ्कन गर्ने हो। पपुलिष्टहरुले मिडियाबारे प्रोपोगाण्डा गरे भनेर आफू माथिको आरोपको वास्ता नगर्ने हो भने समस्या सुल्टिँदैन, झन् बल्झिन्छ।

लोकतन्त्रमा प्रश्न उठाउनु मात्रै हैन, उठेका जायज प्रश्नको जवाफ पाउनु पनि हो। प्रश्न सोध्ने पेसा हो पत्रकारिता। तर यो भन्दैमा पत्रकारिताबारे प्रश्न उठेमा उत्तर दिनै पर्दैन भन्ने पनि हैन। प्रश्न गर्ने पेसामा रहेकाहरूले आवश्यकताअनुसार उत्तर दिनु पनि पर्छ।

सत्ताका लागि मिडिया प्रिय चिज हुँदै हैन। एउटा कथा सुनाउँछु।

एक जना विद्यार्थी पोखरीमा डुब्यो। पौडी खेल्न नआउने उसलाई शिक्षकले देख्यो र निकाल्यो। पछि त्यो विद्यार्थी सम्पादक भयो। यो कुरा शिक्षकले थाहा पायो।  शिक्षकले आफ्नो लेख छपाउन त्यो विद्यार्थीकोमा गयो। विद्यार्थीले भन्यो ‘सर मलाई बरु त्यही पानीमा डुबाइदिनु’। अर्थात् यो तहको लेख मेरोमा छापिँदैन।

भन्न खोजेको ज्यानै बचाइदिनेको पक्षमा पनि पत्रकारले केही गर्न सक्दैन। पत्रकारिता निर्मम नै हुन्छ। उसले व्यक्ति हैन, तथ्य हेर्ने हो।

आज कसैको पक्ष जस्तो लागेको व्यक्ति भोलि त्यसको विरोधमा लागेको जस्तो देखिन्छ। त्यो तथ्यको आधारमा हुन्छ। मन लाग्दैमा पत्रकार पक्ष- विपक्षमा उभिने भन्ने हुँदैन। विना तथ्य कोही उभिन्छ भने उ पत्रकार हैन।

प्राध्यापकहरूको आश्चर्यजनक मौनता

पत्रकारिता सूचना मात्रै प्रवाह गर्ने नभएर बहस र विचार विनिर्माण गर्ने स्थान हो। तर हाम्रो मिडियाले बौद्धिक क्षेत्रमा काम गर्न पाएको देखिँदैन।

यसमा पत्रकारिताको दोष भन्दा पनि समग्र संरचनाले प्रभाव पारेको देख्छु म। स्वायत्त बौद्धिक मन्थन हुने स्थान हाम्रोमा कति छ? हाम्रो भू- राजनीति, अर्थनीतिदेखि सामाजिक आयामबारे खुला अनुसन्धान गरेका कति छन्?

सहजै भन्न सकिन्छ नगण्य। त्यसको प्रभावले पत्रकारितामा बौद्धिक बहस हुनै पाइरहेको छैन।

यसको मूल जरो शिक्षा नै हो। हाम्रा विश्वविद्यालयहरुले त्यो तहका जनशक्ति उत्पादन गर्न सकेको देखिँदैन। प्लसटुमा सामान्य सिद्धान्त, स्नातक तहमा सीप, स्नातकोत्तरमा ज्ञान अनि त्यहाँ भन्दा माथि दर्शनको तहमा पढाइ हुनुपर्ने हो। तर हाम्रोमा स्नातक तह र स्नातकोत्तर तहमा पढ्ने वस्तु र दायरा फराकिलो भएको देखिँदैन। यसको प्रभाव मिडियामा पनि पर्ने नै भयो। परिरहेकै छ।

मिडियाको विश्वसनीयतामाथि प्रश्न उठ्दा सम्पादकहरू चिन्तित देखिएका छन्। तर प्राध्यापकहरूले यस विषयमा गहिरो अनुसन्धान गरेको म पाउँदिन।

यो त प्राध्यापकहरूको आश्चर्यजनक मौनता हैन र?  प्राध्यापकहरूको काम कोर्समा भएको पढाउने मात्रै हैन नि, अनुसन्धान पनि गर्नुपर्ने होला।

नेपालमा दक्ष जनशक्तिको जताततै अभाव नै हो। त्यसको असर मिडियामा पनि पर्ने नै भयो। चाहे अंग्रेजी भाषाको मिडिया होस् या नेपाली भाषाको डेस्क इडिटरको होस्, एकदमै अभाव देखिन्छ।

भाषामा मात्रै हैन विषयवस्तु प्रतिको बुझाइमा पनि डेस्क अघि नै हुनुपर्ने हो, तर हाम्रोमा त्यसको ठुलो अभाव छ। त्यसको प्रभाव कन्टेन्टमा प्रस्टै देखिन्छ।

(जागरण मिडिया,एन्टेना फाउन्डेसनको डोको रेडियो, द हिमालयन टाइम्स, रिपब्लीकामा काम गरिसकेका ढुंगाना हाल डेमोक्रेशी मिडिया नेटवर्कमा आबद्ध छन्। उनीसँग प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला :

 

साउन २९, २०८१ मंगलबार २०:०१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।