चौथो अंग : बेसक्याम्प पनि नटेकी हिमाल र आरोहणबारे समाचार लेख्न सुहाउँछ र!
समुद्री सतहदेखि ८ हजार मिटर भन्दा अग्ला १० वटा हिमाल मध्ये ८ वटा त नेपालमै पर्छन्। हिमाल फगत हिउँका चुचुरो मात्रै हैन। हिमाल त नेपालीहरूको सर्वोच्च चिज नै हो। विश्वले हामीलाई सगरमाथाको देश भनेर चिन्छन्। यताका हिमालका अनुसन्धान गर्न विदेशीहरू आउँछन्। सेलीब्रिटिहरु हिमाल हेर्न अनि चुम्न आउँछन्।
तर यसको जति महत्त्व छ नेपाली पत्रकारिताले हिमाललाई त्यति महत्त्व दिएको जस्तो लाग्दैन। कति मिडियाले ‘हिमाल बिट’ भनेर छुट्याएका छन्? पर्वतारोहण गर्दा कसैले सफलता पायो वा ज्यान गुमायो भने समाचार बन्छ। हद से हद अन्तर्वार्ता आउलान् तर अहिलेसम्म नेपालमा राम्रोसँग हिमालको रिपोर्टिङ भएकै छैन। फिल्डमा उत्रेर हिमालको रिपोर्टिङ गर्न त सायद नेपाली पत्रकारिताले कोल्टे नै फेर्नुपर्छ होला।
हिमाल बुझ्ने सम्पादक, लगानी गर्न नडराउने लगानीकर्ता अनि काममा जोखिम उठाउन सक्ने रिपोर्ट र फोटो पत्रकार भए नेपाली मिडियाको कन्टेन्ट फेरिने थिए। पाठक अनि दर्शकले पनि नयाँ कन्टेन्ट चाख्न पाउने थिए।
अब काठमाडौँको समाचार कक्षमा बसेर लेखिने समाचारले पाठकको मन छुन सक्दैन। समाचार त लेखिएला तर त्यसको प्रभाव हुन्न। प्रभाव नहुने समाचार सञ्चारमाध्यममा प्रकाशित गर्नु र नोटिस बोर्डमा राख्नु उस्तै त हो।
काठमाडौँमा मात्र बसेर हिमाल बुझिन्न
मैले पत्रकारिता सुरुवात गरेको सन् २०११ मा हो । खेलकुद पत्रकारिताबाट पत्रकारिता यात्रा थालनी भएको थियो। अहिले त फोटो पत्रकारिता गरिरहेको छु। केही महिना मात्रै भयो १० वर्ष काम गरेको कारोबार दैनिक छाडेको। अहिले फ्रिलान्सरको रूपमा काम गरिरहेको छु।
पत्रकारिता पढ्नुको कारण नै टेलिभिजनमा समाचार भन्नलाई थियो। टेलिभिजनमा काम गर्ने पत्रकार मलाई निकै आकर्षक लाग्थ्यो। पत्रकारिता नै सुरु गरिसकेपछि भने टेलिभिजनको मात्र मोह रहेन। चुनौतीपूर्ण काम गर्न मन भयो। फोटो खिच्ने काम चुनौतीपूर्ण लाग्यो अनि यता जोडिएँ।
सन् २०१७ मा एभरेस्ट म्याराथन भएको थियो। त्यहिबेला पहिलो पटक सगरमाथा बेसक्याम्प उक्लिने मौका पाएँ। मैले त्यति बेला नै योजना बनाइसकेकी थिएँ अर्को साल त सगरमाथा चढ्छु। नभन्दै मैले चढेँ पनि।
सगरमाथा चढेपछि गोरखाकै हिमाल किन नचढौँ भन्ने भयो, मनासलु पनि चढेँ । यसरी चढ्दा चढ्दै मलाई हिमाल बुझ्नुपर्छ भन्ने लाग्यो। अहिलेसम्म ८ वटा ८ हजार मिटर माथिका हिमाल चढेँ, त्यो पनि १२ पटक।
२०८१ जेठमा एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला समेत बनेँ। सगरमाथाको बेसक्याम्प पुगेपछि विदेशीहरूको हिमाल मोह र हिमालयको महत्त्व बुझेको थिएँ। नेपाली भएर जहाँ हिमालै हिमाल छ यस्तो देशमा किन हिमाल नबुझ्ने भनेर हिमाल चढ्न थालेको हुँ। अहिले म हिमालको फोटो पनि खिच्छु।
हिमालबारे नेपाली मिडिया गुमराहमा छ। फिल्ड रिपोर्टिङ गर्नुपर्छ, नत्र चुरो कुरा आउँदैन भन्ने हाम्रा सम्पादक तथा लगानीकर्तालाई थाहा नभएको पनि हैन। तर हिमालबारे फिल्ड रिपोर्टिङ हुनै सकेको छैन।
हाम्रै हिमालबारे विदेशी मिडियाले कति लेखिरहेका छन्। कस्ता लोभलाग्दा समाचार आउँछन्। तर हाम्रोमा हिमालबारे आउने समाचार भनेको हिमालमा भिड लाग्यो, यति जनाले सगरमाथा चढ्ने अनुमति पाए, यतिले चढे, यसले यस्तो रेकर्ड राख्यो भन्ने खालका मात्र आउँछन्।
हामी हिमालै हिमालले घेरिएका छौँ। तर हामी कुन हिमाल हो भनेर समेत छुट्याउन सक्दैनौँ। नेपाली पत्रकारिताले हिमाललाई चिनेकै छैन भन्न हिच्किच्याउन पनि पर्दैन। सत्य यही हो।
धेरैमा हिमालयबारे रिपोर्टिङ गर्ने हुटहुटी नभएर पनि यसबारे डिटेलमा रिपोर्टिङ नभएको हो कि जस्तो पनि लाग्छ। यो साहसको विषय पनि हो। आर्थिक पक्ष पनि जोडिन्छ। तर हिमालबारे रिपोर्टिङ गर्ने हुटहुटी भएको भए जसरी पनि स्रोत जुटाउँथे की!
हुन त हाम्रा मिडियाले सिंहदरबारमा हुने नेताहरूको टसलमसल बाहेक अन्यत्र समाचार देख्न पनि गाह्रो मान्छ। गाउँबारे लेख्न कन्जुस गर्छ। यहाँको नदी, यहाँ भइरहेको जलवायु परिवर्तनबारे हाम्रा मिडियाको मुख्य समाचार हुनुपर्ने हो नि तर अर्काको भर पर्नुपर्छ।
हिमाल चढ्दा जहिले हिमालबारे अरूले फैलाएका अफवाहको अनुभव हुन्छ। अनि नेपाली पत्रकारहरू त्यही अफवाहको पछि दौडिएको सम्झिएर दिक्क लाग्छ। हिमाल त हाम्रो हो। यसबारे सबैभन्दा धेरै जानकारी हामीलाई हुनुपर्ने हैन र ! तर छैन।
समस्या, काठमाडौँको समाचार कक्षमा बसेर हिमाल बुझिन्न। हिमाल बुझ्न हिमालसँग ठोकिनुपर्छ। यसको अर्थ चुचुरोमै पुग्नुपर्छ भनेको हैन, कमसेकम बेसक्याम्पसम्म त पुग्नै पर्ला नि। बेसक्याम्प पनि नटेकी हिमाल र आरोहणबारे समाचार लेख्न सुहाउँछ र!
जब सगरमाथा चढ्ने प्रमुख सिजन आउने बेला भयो अनि हिमाललाई विश्राम दिनुपर्छ भनेको सुन्छु। त्यस्तै समाचार छापिन्छन्, देखाइन्छन्। यो गलत लाग्छ मलाई।
सगरमाथाको लागि एकदमै राम्रो सिजन भनेको मे १० देखि ३० हो। यही अवधिमा खुल्छ। आउने र जाने एउटै बाटो हुँदा स्वाभाविक रूपमा जाम हुन्छ। यसैलाई हामीले आधार मानेर सगरमाथा धेरै थाक्यो अब विश्राम दिनुपर्यो भन्नु गलत हो।
सगरमाथामा फोहोर थुप्रियो भने सफा गर्ने हो। नचढौँ भन्ने पनि तर्क हुन्छ र? संसारमा अन्यत्र पनि हिमाल चढिरहेका हुन्छन्। चढिरहेकै छन्। तर कतै यस्तो छलफल भएको सुनेको छैन त! केही समस्या छ भने व्यवस्थित बनाउने हो, तर केही समयलाई चढ्न नै रोक लगाऊँ भन्ने धारणासँग म सहमत छैन।
हो, सगरमाथाको क्याम्प ४ अलि फोहोर देखिन्छ। त्यो पछिल्लो समय नेपाली सेना लगायतले सफा गरिरहेका पनि छन्। हिमाल फोहोर भयो भने सफा गर्ने हो। तर बन्द गर्ने हैन। यसबारे नेपाली पत्रकारितामा लेखिनुपर्छ।
संसारले नेपालको हिमाललाई डाइमण्ड मान्छ। तर हिमालबारे लेख्न अघिल्लो पुस्ता पनि चुक्यो, अहिले हामी पनि चुकिरहेका छौँ ।
काम आफ्नै लागि गर्ने हो
नेपाली पत्रकारितामा पछिल्लो समय आर्थिक सङ्कट अलि धेरै भएको हो या देखाइएको हो, चर्चा चैँ बढी नै हुन थालेको छ। पत्रकारिता यदि तपाईँको प्यासन हो भने काम गर्न छाड्ने हैन। काम त गरिरहनुपर्छ।
केही समय अघि न्युयोर्क टाइम्सका लागि फोटो खिच्न पाएँ। निरन्तर मिहिनेत गर्ने र काम आफ्नो सम्झिने हो भने यस्ता अवसरहरू पनि आउँछन्।
मलाई लाग्छ नेपाली मिडियामा फूल टाइमको भूत अलि धेरै नै चढेको छ। अफिसमा दिनभर बसेर फूल टाइम हुने नत्र नहुने भन्ने हैन। रिपोर्टर अथवा फोटो पत्रकारले एकस्ट्रा करियर पनि बनाउन पनि सकिन्छ। तर यसका लागि धुमधुमती समाचार कक्षमा बसेर फोनको भरमा रिपोर्टिङ गरेर त हुन्न। फिल्डमा उत्रिँदै पर्छ। अनि थाहा हुन्छ वास्तविकता। अनि बढ्छ ज्ञानको दायरा।
आफ्नो मिडियामा यस्ता फोटो जाँदैन भन्ने थाहा भए पनि म खिच्थेँ। किनकि पत्रकारले छापिने मात्र फोटो खिच्ने हैन। समाचार कक्षको मापदण्डमा समाचारमा पर्ने मात्र विषय रिपोर्टिङ गर्ने हैन। आज काम गरिरहेको समाचार कक्षका लागि अनुत्पादक लाग्ने तस्बिर या रिपोर्टिङ भोलि अर्को समाचार कक्षका लागि अमूल्य हुन पनि सक्छ।
चौथो अंगका पुराना श्रृंखला :
साउन २२, २०८१ मंगलबार १७:४९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।