प्रधानमन्त्रीज्यू, ‘इमान विनाको जिन्दगी अन्नको शत्रु हुन्छ, पृथ्वीको भार हुन्छ’

प्रधानमन्त्रीज्यू, ‘इमान विनाको जिन्दगी अन्नको शत्रु हुन्छ, पृथ्वीको भार हुन्छ’

मानव जीवनमा चिनी (गुलियो) मन पराउने बानी विकास गर्यौं। किनकि यो ऊर्जाको दुर्लभ स्रोत पनि हो। तर, जब मानिसले यसलाई औद्योगिकस्तरमा उत्पादन गरेसँगै अतिभोग गर्न सिक्यौँ। अन्ततः त्यो स्वाद मानव शरीरका लागि समस्याको कारक बन्न थाल्यो। अर्थात रोगको घर।

कुनै बेला देश विकासका लागि ऊर्जा (मीठापन) अपेक्षा गरिएका दलहरू पनि आज रोगका घर समान भएका छन्। मीठा वचन र आदर्शले लोकतान्त्रिक युगसम्म नागरिकको विश्वासलाई अवतरण गराएका दलहरूले परिवर्तनलाई चासनीको स्वाद बनाएर मज्जा लिइरहँदा त्यहीबाट समस्या बनिरहेको छ।

नेताका चरित्र र चिन्तनले समाज, व्यवस्था र अवस्थामा मात्र नभएर समाजिक मानोग्रन्थीमा समेत समस्या निम्त्याएको छ।

वीपी कोइरालाले स्थापना गरेको पार्टी नेपाली कांग्रेस होस् वा पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीका हाँगाहरूमा होस्, आर्दश त परको कुरा, सामान्य नैतिकताको बोध समेत हुन छाडेको छ। नागरिक तह निरास छ।

समाजशास्त्री निर्मला ढकाल समाजिक सञ्जाल एक्समा लेख्छिन्, ‘नेपाली कांग्रेसको एउटा विशेषता भनेको हत्या आरोपी, अपहरणकारी, असुली गुण्डा, डन आदि इत्यादीलाई पनि मन्त्रि पदको लागि अवसर दिनु हो। यहाँ कुनै विभेद छैन, अझ ठूलो कुरा त यस्तो कार्यको विद्रोह गर्ने कुनै युवा नेता-कार्यकर्ता पनि छैनन्।’

उनको भनाइलाई नकार्न सक्ने अवस्था पनि छैन। लुम्बिनीमा मन्त्री बनेका बादशाह कुर्मी र सरोज थापा (रोज राणा) अनि बागमतीमा मन्त्री बनेका मीनकृष्ण महर्जनको पृष्ठभूमिले कांग्रेस आपराधिक पृष्ठभूमि भएकाहरूप्रति उदार छ भन्ने प्रमाण हुन्।

तर, उनले भनेजस्तो कांग्रेसभित्र विद्रोहको चेत नभएको शून्य अवस्था भने हैन। विद्रोही चेत भएकाहरू छन्। तर, त्यो पंक्ति दलीय बहुमतको तेजबोधमा मलिन छ।

कांग्रेसबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका बादशाह हत्यामा अनुसन्धानको दायरामा रहेका व्यक्ति हुन्। अर्का सरोज थापा आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका। बागमतीका मीनकृष्णको सार्वजनिक परिचय पनि गुण्डा नाइके नै त हो। यी सबैलाई देशको सबैभन्दा पुरानो दलले मन्त्री बनाएर ‘मन्त्री पद’ कै बेइज्जत गर्यो।

राजनीतिमा नैतिक शक्ति अर्थात इमान अपरिहार्य हो। त्यो शक्ति विलुप्त हुँदा संसदीय गणितमा दलहरू जति नै शसक्त भए पनि शासन व्यवस्थामा प्रभावकारिता रहँदैन।

लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले पार्टीका ४७ प्रदेश सदस्य रहेको अवस्थामा राणा र बादशाह जस्ता पात्रलाई मन्त्री बनाइएकोमा सभापति शेर बहादुर देउवा समक्ष रोदनपत्र पेश गरे पनि उनलाई फिर्ता गराउन सक्ने ल्याकत उनीसँग पनि छैन। किनकी वीपी कोइरालाले स्थापना गरेको पार्टीको जीवनमा नैतिक चरित्र दुर्लभ भइसक्यो।

दलगत मात्रै होइन, राज्यका अन्य अङ्गमा पनि नैतिकताको प्रश्न निकै कमजोर भइसकेको छ। त्यसको उदाहरण निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएर सुनुवाइमा रहेका पात्र कृष्णमान प्रधानै काफी छन्।

नेपालको संविधानको धारा २४५ को उपधारा ६ ले निर्वाचन आयोगको प्रमुख आयुक्त वा आयुक्त हुने व्यक्ति ‘उच्च नैतिक चरित्र भएको’ हुनुपर्ने व्यवस्था गरेको छ। भलै उनको सिफारिस वर्तमान सत्ता समीकरण नबदलिँदै भएको हो।

तत्कालिन प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख रहेको संवैधानिक परिषद्ले संविधानको मर्म विपरीत चरित्रहीन व्यक्तिलाई सिफारिस गर्यो। यो आफैँमा लज्जास्पद हो।

सुनुवाइका क्रममा गम्भीर प्रकृतिका उजुरीकर्ताको बयान सुनेर अवाक भएका सांसदहरू गम्भीर सवालमा श्रेष्ठको मौनतापछि पनि संसदीय सुनुवाइ समितिका माननीयहरूले उनलाई अस्वीकार गर्ने निर्णय गर्न सकेका छैनन्। उनीहरू शीर्ष नेताहरूको संकेत कुरेर बसेका छन्।

त्यसो त यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत संविधान प्रदत्त, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँविरुद्ध चरित्र र राष्ट्रियताका सवालमा उजुरी पर्दा पनि ती सबै तथ्यलाई निस्तेज बनाएर संसदीय सुनुवाइपछि नियुक्त गरिएको दृष्टान्त छँदैछ। यो पटक पनि त्यही नियति नदोहोरिएला भन्न सकिन्न।

दलहरूमा इमान र जमानका पक्का सत्धर्म निर्वाह गर्ने कार्यकर्ता हुँदै नभएका हैन। तर, तीनको संख्या निकै कम छ। उनीहरू निर्णायक तहमा छैनन्। जो निर्णय गर्ने तहमा छन्, उनीहरूलाई नैतिक प्रश्नले छुँदैन।

महात्मा गान्धीले भन्नुभएको छ- ‘साधन शुद्ध नभएसम्म साध्यमा पुग्न सकिँदैन।’ आजको शसक्त गठबन्धनको सरकार समक्ष साध्यमा पुग्ने साधन कति सात्विक छ, दलहरू स्वयंमले कसी लगाउन्। नागरिकका दृष्टिमा सरकार नैतिकहीनहरूको समूह बनेको देखिन्छ।

स्वर्गीय प्रदीप गिरिका शब्द सापटी लिएर भन्नु पर्दा, ‘दलहरूका तर्फबाट भएका विवेकहीन निर्णय सच्चाएर हदैसम्मको अपराध भए दण्डित हुनु र सामान्य भए प्रायश्चितको मार्ग अपनाउनु एक मात्र उपाय हो।’

यसपटक प्रधानमन्त्रीमा नियुक्ति हुनु केही दिनअघि मात्र युवा संघको कार्यक्रममा केपी शर्मा ओलीले भनेका थिए, ‘इमान विनाको जिन्दगी अन्नको शत्रु हुन्छ, पृथ्वीको भार हुन्छ।’

अवश्य प्रधानमन्त्रीज्यू, त्यो इमान यसपटक तपाईं मुलुकको कार्यकारी प्रमुख भैरहँदा स्थापित हुन सकोस्!

साउन १२, २०८१ शनिबार ०७:५६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।