चौथो अंग : लैङ्गिकताको सवालमा सम्पादकहरू ‘सुध्रिए’, घटना मात्रै हैन मुद्दा केन्द्रित हुन थाले रिपोर्टिङ

चौथो अंग : लैङ्गिकताको सवालमा सम्पादकहरू ‘सुध्रिए’, घटना मात्रै हैन मुद्दा केन्द्रित हुन थाले रिपोर्टिङ

डेढ दशक अघिसम्म देशमा रेडियोको प्रभावकारिता अति थियो। एउटा उदाहरण, कुबेतमा घरेलु कामदारमा जानुभएकी एक महिला हिंसामा परेको खबर आयो। विभिन्न संघसंस्थाले उद्धार गरेर नेपाल ल्याए। उहाँमाथि यतिसम्म यौन हिंसा भएको थियो कि जसकारण उहाँको विक्षप्त हुनुहुन्थ्यो। उहाँले आफूमाथि भएको यौन हिंसाका घटनाबारे बताउन सके पनि नेपालमा आफ्नो घर कहाँ हो भन्ने नै बिर्सिसक्नुभएको रहेछ। हामीले रेडियोमा उहाँसँगको अन्तर्वार्ता प्रस्तुत गर्यौँ। उहाँले रुँदै आफ्ना कुरा सुनाउनु भयो।

त्यो कार्यक्रम सुनेर उहाँको बुवा भेट्न आउनुभयो अनि लिएर जानुभयो। यस्ता धेरै उदाहरण छन् रेडियो प्रभावकारिताको। रेडियो भुइँ मान्छेदेखि सत्तामा बस्नेहरूको सम्म सूचना लिने माध्यम थियो कुनै बेला। सुन्न मात्रै सक्नेले पनि सूचनाबाट बञ्चित हुनु नपर्ने अवस्था रेडियोले बनाएकै हो।

साक्षरता कम भएको देशमा पत्रपत्रिकाले सूचना सम्प्रेषण गर्न सक्ने कुरै आएन। रेडियो पहुँचका हिसाबले र माध्यमका हिसाबले प्रभावकारी माध्यम थियो। अहिले पनि नेपालमा रेडियोका प्रभावकारिता घटेको छैन। गाउँ-गाउँका मानिसले सुन्ने रेडियो नै हो। बरु रेडियोमा परिवर्तनको आवश्यकता छ। कार्यक्रमको शैलीमा फरकपन ल्याउन जरुरी देखिन्छ।

रेडियोको प्रभावकारिता 
५८ सालतिर हो मैले पत्रकारिता शुरू गरेको। शुरूमै रेडियोमा काम गरेँ। अहिले पनि रेडियोमै आबद्ध छु। त्यतिबेलाको राजनीतिक अवस्था बिग्रँदो थियो। राजा ज्ञानेन्द्रले ‘कू’ गरे। त्यो बेला रेडियोको धेरै कार्यक्रमहरूमा प्रतिबन्ध लाग्यो। हामीले समाचारमा काम गर्न बञ्चित हुनुपर्यो। शुरूदेखि नै मैले महिला र मानवअधिकारका विषयमा धेरै कार्यक्रम गरेँ। अहिले म कार्यक्रम प्रोड्युसरको रूपमा कार्यरत छु।

रेडियो कान्तिपुरमा ‘भ्वाइस अफ नेपाल’ भन्ने कार्यक्रम चलाउँथ्यौँ। शुरूवाती ताका दण्डहीनता संक्रमणकालीन न्यायका बारे कार्यक्रम बनाइयो। नेपाली सेनाले द्वन्द्वका बेला बालिकामाथि गरेका बलात्कारका विषयमा कुरा उठाइयो। मलाई अहिले पनि एउटा भनाइले झस्काइरहन्छ।

द्वन्द्वका बेला महिलामाथि दोहोरो हिंसा हुन्छ। एक हिंसाले पार्ने क्षति जुन महिला र पुरुष दुवैलाई हुन्छ अनि महिलालाई हुने थप अर्को हिंसा भनेको यौन दुर्व्यवहार हो। १० वर्षे द्वन्द्व हुँदा धेरै निर्दोष महिला बलात्कारमा परे।

रिना रसाइलीलाई नेपाली सेनाले बलात्कार गरेर मार्यो।  संक्रमणकालीन न्यायमा काम गरिररहेकाले हामीले उहाँको परिवारलाई बोलाएर अन्तर्वार्ता गर्यौँ। उहाँहरूले ‘मेरो छोरीले एक दिन न्याय पाउलान् नि है!’ भनेर कार्यक्रममै रुनुभयो।

भन्न खोजेको रेडियोले जन-जनको आवाज बोल्ने काम गरेको छ। सत्तामा बस्नेहरूले कसरी लिए, आफ्नो ठाउँ छ। तर, यस्ता कार्यक्रमबाट आफ्नो कुरा अरुलाई सुनाउन र सत्तालाई घच्घचाउन सकिन्छ।

कतिलाई रेडियोको प्रभावकारिता सकियो भन्ने लाग्छ। तर, विपद्को बेला चाहिने रेडियो नै हो। २०७२ सालको भूकम्पका बेला सिन्धुपाल्चोककी एक महिलालाई अस्पतालमा राखिएको थियो। उहाँलाई परिवारले खोज्न आएन। धेरै नै क्षति भएको सिन्धुपाल्चोकमा सायद परिवार रनभुल्लमा थियो।

हामीले उहाँसँगको कुराकानी रेडियोमा बजायौँ। उहाँको छोरा आएर लिएर जानुभयो। भन्न खोजेको के भने आपतको बेला अन्य माध्यमहरू सहजै उपलब्धता हुन सक्दैन। तर, रेडियो हुन सक्छ।

रेडियोले एकै पटक धेरैलाई सूचित गराउन सक्छ। रेडियो सूचना दिने बाहेकको कामभन्दा माथि उठ्न नसकेको अवस्था पक्कै हो। तर, रेडियोको ‌औचित्य नै सकिएको भन्ने तर्कचाहिँ सत्य हो जस्तो लाग्दैन मलाई।

सत्य चाहिँ के हो भने अहिले जसरी युट्युबरहरू चर्चामा छन्, रेडियोकर्मीहरु त्यसरी नै चर्चामा थिए कुनैबेला। अधिकांश युट्युबरहरू पत्रकारिताको आचारसंहितामा छैनन्। तर रेडियोकर्मीहरूले पत्रकारिताको आचारसंहितामा रहेरै नाम कमाएका थिए।

मिडियाका वैकल्पिक साधनले सूचनामा प्रवाहमा सहजता त ल्याएको छ। तर, सूचना प्रोसेसिङमा नजाँदै प्रकाशन तथा प्रशारण हुँदा जनमानसमा अफवाह फैलिएको छ।

जस्तै बलात्कारका घटनाहरूको रिपोर्टिङ नै हेरौँ न! पहिले बलात्कारका घटनाहरूको संवेदनशिलता ख्याल गरिन्थ्यो। मेन स्ट्रिम मिडिया अहिले पनि गरेका छन्। तर, वैकल्पिक मिडियाले छरपष्ट पार्दा गोपनीयता कायमै रहन सकेको छैन। संवेदनशील विषयमा हाम्रो समाज असहिष्णु बन्दै गएको छ। घटना के हो महत्वपूर्ण त हुँदै हो, तर घटनालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा पनि कम महत्त्वपूर्ण हैन।

सम्पादकहरू ‘सुध्रिए’
मैले धेरैजसो लैंगिकता सम्बन्धी कार्यक्रमहरू उत्पादन गरेँ। मेरो अनुभव र प्रकाशन तथा प्रशारण भएका मिडियाका कन्टेन्टहरू हेर्दा सम्पादकहरू धेरै ‘सुध्रिए’। ‘सुध्रिए' यस अर्थमा की पहिले घटना विशेषलाई मात्र लिएर महिलाका विषयमा रिपोर्टिङ हुन्थ्यो। अहिले मुद्दा पनि उठाउने गरेका छन्।

नागरिकता, समलिंगी विवाह लगायत महिलामाथि हुने हिंसाका विषयमा मेन स्ट्रिम मिडियाले आफूलाई महिलाकै पक्षमा उभ्याएका छन्। पहिले-पहिले समाचार कक्षमा सहकर्मीले बोल्नै शैली स्त्रीद्रेषी हुन्थे। अहिले त्यो धेरै कम हुँदै गएको छ।

पहिले कुनै महिला रिपोर्टरले शक्तिशाली कुरा उठायो भने ऊ सरहका पुरुष रिपोर्टरसँग भेरिफाइ गरिन्थ्यो। अहिले पत्रकार महिलाका कुरा सहजै विश्वास गरिन्छ। सिनियर महिला पत्रकारले पाइला-पाइलामा आफूलाई प्रमाणित गरेका कारण अहिले महिला पत्रकारमाथिको विश्वास बढेको हो भन्न हिच्किचाउनु पर्दैन।

अहिले संख्या थोरै नै भए पनि महिलाहरूले खोजी पत्रकारिता तथा प्राय सबै बिटमा आफूलाई अब्बल सावित गर्दै लगेका छन्। यो खुशीको कुरा हो। पछिल्लो समय पत्रकार महिलाको संख्या त बढेको छ। तर, मिडियाको आर्थिक अवस्था सबल छैन। जसकारण यस क्षेत्रमा टिक्नै समस्या देखिएको छ।

मिडिया लगानीकर्ताले मिडियामा भन्दा धेरै अन्यत्र लगानी गरे। अनि टिक्न कै लागि पत्रकारले अन्य काम पनि गर्नुपर्ने बाध्यता छ। पत्रकारहरू आफैँलाई पनि थाहा छ पत्रकारिता गरेर अन्य पेशा जस्तो धन कमाइँदैन। तर, यो पनि थाहा छ काम गरेको श्रमको मूल्य पाउनुपर्छ।

धन कमाइँदैन भन्नुको अर्थ जिविका नै चलाउन नसक्ने अवस्थामा पुग्नु हैन। लगानीकर्ताहरूले मिडियाबाट भएको आम्दानी मिडियाका कन्टेन्ट बढाउन र सुर्धार्न लाग्नुपर्छ। पत्रकारिताको चिन्ता पत्रकारले मात्रै गरेर हुँदैन लगानीकर्ताले पनि गर्नुपर्छ।

पत्रकारले त विशेष गरी कन्टेन्टको चिन्ता गर्ने हो, लगानीको हैन। तर, यहाँ पत्रकारलाई बाहेक अन्यलाई चिन्ता भएको देखिँदैन। यो गलत हो। यसले मिडियालाई राम्रो गर्दैन।

(रेडियो कान्तिपुरकी वरिष्ठ कार्यक्रम निर्माता तथा प्रस्तोता र सञ्चारिका समूहकी पूर्व उपाध्यक्ष पन्थीसँग प्रजु पन्तले ‘लैंगिकता र नेपाली मिडिया’ विषयमा प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला :

साउन १, २०८१ मंगलबार १४:१६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।