चौथो अंग : अबको पुस्ताले सरकारले दिन चाहेको सूचनामा हैन नचाहेको सूचनामा समाचार लेख्ने हो

चौथो अंग : अबको पुस्ताले सरकारले दिन चाहेको सूचनामा हैन नचाहेको सूचनामा समाचार लेख्ने हो

छ वर्षअघि तराईका केही जिल्ला घुमेर केही साथीहरूको सहयोगमा ‘राजनीतिले निम्त्याएको विपद्’ भनेर लेखेका थियौँ हामीले। सतहमा प्राकृतिक विपद् देखिए पनि सयौंको ज्यान जानु र हजारौं विस्थापित हुने अवस्था आउनुमा अकर्मण्य राजनीतिक नेतृत्व दोषी छ। किनभने सुरक्षित हुनका लागि गर्न सकिने काम पनि नभएका कारण वर्षेनी सयौं व्यक्तिका ज्यान गइरहेको छ।

जुनसुकै समाचारको पनि हेर्नुपर्ने डिटेलिङ हो। प्राकृतिक विपद्लाई राजनीतिले निम्त्याएको विपद् देख्नका लागि हामीले गर्नुपर्ने नै समाचारको डिटेलिङ हो। तथ्याङ्क, फिल्ड भिजिट र क्षति त यो समाचारलाई चाहिन्थ्यो नै। हामीले त्यहीँ गर्यौँ। भन्न खोजेको डेप्थ स्टोरी गर्ने रिपोर्टरले यति त गरेकै हुन्छ तर हाम्रा अधिकांश रिपोर्टिङ सतही हुन्छन्।

विपद्का कुरा गरौँ न! गृहले दिने तथ्याङ्कमा भर परिदिन्छौँ हामी। किन यस्तो भयो? कारण के हो? भनेर खोज्न कन्जुस्याइँ गर्छौँ। एउटा उदाहरण दिन्छु, नेपालमा पानी पर्ने बित्तिकै पश्चिमी वायुले पानी पर्यो भनेर लेखिन्छ। तर, पश्चिमी वायु भनेको के हो कमैलाई थाहा हुन्छ।

सामान्यतः मनसुनका बेला बंगालको खाडीबाट पानीका कण बोकेर उडेको वायु झापा, मोरङ हुँदै भित्रिएपछि चुरे र महाभारतमा ठोक्किएर चिसिँदै गर्दा नेपालमा वर्षा हुन्छ। समग्रमा थोरै तर, छोटो समयमा धेरै वर्षा हुने देश हो नेपाल। यहाँ केही महिना त वर्षा नै हुँदैन। बर्षभरि हुने कुल वर्षाको करीब ८० प्रतिशत असारदेखि भदौसम्म हुन्छ।

वर्षा ठिक्क भए सहकाल आउँछ, बढी भए विपत्ति निम्तिन्छ। हामी समाचार त लेख्छौँ तर चुरो कुरा लेख्दो रैनछौँ। सरकारले दिने कोरा सूचनाका भरमा मात्रै समाचार लेख्ने हैन। अबको पुस्ताले सरकारले दिन नचाहेको सूचनामा समाचार लेख्ने हो। कतिपय समाचारहरू आएका पनि छन्। तर, हामीले अझै खोतल्नु पर्नेछ।

काम गर्नलाई नेपाली पत्रकारिता उर्वर भूमि हो। अलि मिहिनेत गर्ने, पीडितका कुरा सुन्ने र प्रतिवेदन पल्टाउन आनन्द मान्नेलाई नेपाली पत्रकारिता जति उर्वर क्षेत्र अन्त छ जस्तो लाग्दैन।

हेर्दै-सिक्दै 
२० वर्ष भयो मैले पत्रकारिता गरेको। रिपोर्टिङ गर्ने मेरो प्यासन हो। तर, नेपाल वान टेलिभिजनमा काम गर्दा केही महिना रिपोर्टिङ गरेपछि मेरो भूमिका फेरियो। त्यहाँको नेतृत्वले मलाई न्युज रुम समन्वय गर्न भन्नुभयो। कामको हिसाबले गरियो पनि। केही समय मधेश पोष्ट दैनिकमा त सम्पादक नै भएर काम गरियो।

त्यतिबेला रेडियोमा पनि काम गरियो। मधेशमा भएपछि भारतीय पत्रिका को कुनै अभाव थिएन। हेर्दै सिक्दै गरियो। हिमालमा काम गर्न थालेपछि भने मैले धेरै सिक्न पाएँ।

धेरै छलफल हुने विषमा केन्द्रित  हुने र लेखाइमा चखिलो कसरी हुने भन्नेमा बढी केन्द्रित भइयो। हिमालमा पनि रिपोर्टिङका लागि भनेर गए पनि फेरि समन्वय नै गरियो। तर, रिपोर्टिङ पनि बेला-बेला गरियो।

खासमा पत्रकारिता क्षेत्रमा रिपोर्टरलाई जसरी कन्टेन्ट इडिट गर्नेलाई ग्रुम गराउने चलन बसिसकेको छैन। केही मिडियाले गरेका छन् तर त्यो पर्याप्त छैन। लामो खोजमुलक रिपोर्ट होस् या डेप्थ स्टोरी होस् त्यो सम्पादन गर्नेले अझ धेरै जान्नुपर्ने हुन्छ।

प्रष्ट नभएका कुरा रिपोर्टरलाई सोध्ने, अपुग भए थप्न लगाउने गर्नुपर्छ कन्टेन्ट इडिटरले। मूल रूपमा रिपोर्टरको आफ्नो शैली मारिदिनुहुँदैन कन्टेन्ट इडिटरले। एङ्गल यो हुनसक्छ भनेर मिलाउन त सकियो तर सकेसम्म रिपोर्टरको शैली नबिगारेकै राम्रो।

पढ्नै पर्छ 
हाम्रो मिडिया क्षेत्रमा कन्टेन्ट इडिटरको खाँचो त छँदै छ। मेन्टरको पनि उस्तै छ खाँचो देखिन्छ। मेन्टरले रिपोर्टरलाई सो विषयमा प्रकाशित भएका समाचार, आवश्यक पुस्तकदेखि एङ्गलिङका लागि विदेशी समाचारहरूसम्म पढ्न सुझाव दिनु त पर्छ नै, कहिलेकाहिँ रिपोर्टरको बुताले नभ्याउने हुँदा फिल्ड रिपोर्टिङमा पनि जानुपर्छ।

रिपोर्टरले एकदमै ध्यान दिनुपर्ने कुरा एङ्गलिङ नै हो। अंग्रेजी अथवा हिन्दी पढियो भने कसरी फराकिलो तरिकाले रिपोर्ट लेख्छन् भन्ने कुरा प्रष्टै हुन्छ। त्यो सँग जोडिएका आयामहरू छर्लङ्ग आउँछ।

भारतमा चुनाव ताका नरेन्द्र मोदीमाथि भएका केही रिपोर्टिङ साँच्चै नै लोभलाग्दा थिए। ठूलो इश्युको स-साना कुरा समेत टिपोट गर्नाले समाचार एङ्गलिङमा मिठास त दिन्छ नै, डिटेल कुरा ल्याउने बानी पनि बस्छ रिपोर्टरको।

हामीले विदेशी मिडियाहरूबाट सिक्नुपर्ने भनेको नै एङ्गल र डिटेलिङ हो। कन्टेन्ट इडिटरले मात्रै हैन, रिपोर्टरले पनि सिक्नु पर्ने त्यही हो। एक जना व्यक्तिका लागि जागिर खान खोलिएका मिडियाले डिटेलिङ र इडिटिङ गर्न सक्ने कुरै आएन। यद्यपि टिम भएका केही मिडियाले काम गरेको पनि छन्।

अघि पनि भनेँ, नेपालका कन्टेन्ट इडिटिङका लागि भनेर छुट्टै तालिमहरू एकदमै कम भएका छन्। तर ‘नाम पनि जाँदैन, काम पनि देखिँदैन’ भनेर निराश हुने नै हैन। आफैँ काम गर्ने, आफैँ खुशी हुने पेशा हो पत्रकारिता।

मलाई के लाग्छ भने, अहिले नेपाली मिडिया क्षेत्रको स्वर्णिम काल हो। ३० वर्ष मात्रै भयो हामीले स्वतन्त्र भएर काम गर्न पाएको। यति समयलाई हेर्ने हो भने अहिले जति स्वर्णिम समय कहिल्यै आएको थिएन।

प्रविधि उस्तै सजिलो, सामान्य सूचनाहरू सजिलै पाइन्छन्। कोट नै लिन कुद्न पर्दैन। यस्तोमा केही पत्रकारहरूले लोभलाग्दो गरी काम पनि गरेका छन्। यद्यपि, अपेक्षा अनुसार हुन नसकेको चाहिँ हो।

नेपालका समाचार कक्ष चाहिँ खुम्चँदै गएको छ। त्यसमा धेरै कारणहरू छन्। मुनाफा मात्रै खोज्ने प्रकाशक, योजनै नबनाइ काम गर्ने रिपोर्टर अनि प्रकाशकले जे भन्यो त्यही मान्ने सम्पादक। यी तीन  कुराबाट नेपाली पत्रकारिता क्षेत्रलाई मुक्त गर्नैपर्छ।

खोज पत्रकारिता होस् या डेप्थ स्टोरी नै किन नहोस्, हाइपोथेसिस नबनाइ कसलाई भेट्छु भन्ने समेत योजना नबनाइ राम्रो समाचार लेख्न सकिँदैन। त्यसका लागि पढ्नै पर्छ।

मिडिया नाफामुखी संस्था हैन। मिडिया ब्रेक इभनसम्म जाला। मिडिया सञ्चालकले पनि यो कुरा बुझ्नुपर्छ व्यापारतिर मात्रै ध्यान दिएका मिडियाहरूको गुणस्तर खस्केको छ। आउनुपर्ने डिटेलिङका समाचारहरू आएका छैनन्।

सम्पादक साहुको हैन न्युजरुमको हो। कस्तो स्टोरी गर्ने, न्युजरुम कस्तो बनाउने भन्ने पहिलो प्राथमिकता हुन्छ, अरु त त्यसपछिका काम हुन्। सम्पादक प्रकाशकका अघि निरीह हुनुभएन।

(नेपाल वान टेलिभिजन, मधेश पोष्ट दैनिक, हिमाल मिडियामा काम गरिसकेका शर्मा अहिले खोज पत्रकारिता केन्द्रमा कार्यरत छन्। उनैसँग समाचार सम्पादनका विषयमा प्रजु पन्तले गरेको कुराकानीमा आधारित)

चौथो अंगका पुराना श्रृंखला :

असार १९, २०८१ बुधबार १९:३६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।