विश्वासको मत पाएसँगै मनाङे र देवकोटालाई मन्त्री बनाए मुख्यमन्त्री पाण्डेले, मनाङेको सपथ पुग्यो आधा दर्जन

विश्वासको मत पाएसँगै मनाङे र देवकोटालाई मन्त्री बनाए मुख्यमन्त्री पाण्डेले, मनाङेको सपथ पुग्यो आधा दर्जन

पोखरा : मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तारहुँदा राजीव गुरुङ उर्फ दीपक मनाङे छैटौँ पटक मन्त्री भए। उनले मंगलबार भौतिक मन्त्रीको रूपमा शपथ लिए। नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको शपथ लिएका छन्।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि राप्रपा, मनाङे र देवकोटाको मत अनिवार्य थियो। मनाङे स्वतन्त्र सांसदको रूपमा चुनाव जितेपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। पछि पुन उनले स्वतन्त्र सांसदको हैसियत कायम राख्न प्रदेश सांसदमा निवेदन दिएर यस अगाडि पाण्डेलाई समर्थन गरेका थिए।

बीचमा एमाले नेतृत्वमा सरकार बनेपछि मनाङे यतै लागे। सर्वोच्चको परमादेशमा पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि उनी पुन पाण्डेतिर फर्किए। मङ्गलवारको शपथ समेत जोड्दा मनाङे दुई कार्यकालमा ६ पटक मन्त्री नियुक्त भइसके।

आपराधिक पृष्ठभूमिका उनी राप्रपाहुँदै एमालेमा गए पनि अघिल्लो प्रदेश सभामा टिकट नपाउने देखेपछि स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका थिए। यस पटक पनि उनी स्वतन्त्र उम्मेदवार बनेरै जितेका थिए।

उता देवकोटा नेसपाका नेता भए पनि उनी निर्वाचनमा माओवादीको चुनाव चिन्हमा उम्मेदवार बनेकाले कानुनी रूपमा उनी माओवादी सांसदको रूपमा गणना हुने र माओवादीको ह्विप उलङ्घन गरेर विश्वासको मतको पक्षमा मत दिएकाले उनीमाथि कारबाही हुने चर्चा पनि भइरहेको छ।

जेठ २९, २०८१ मंगलबार १५:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।